कुनै समय राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समेत चर्चित म्याग्दीको भालेबास्ने ताल अहिले पुग्नै गार्‍हाे र देख्नै गार्‍हाे हुन थालेको छ। लोकसेवा आयोगले लिने परीक्षा र सामान्य ज्ञानका पुस्तकहरुमा सोधिने भालेबास्ने ताल कुन जिल्लामा पर्दछ ? भन्ने प्रश्नको उत्तर ‘म्याग्दी जिल्ला’ भए पनि म्याग्देलीहरुकै लागि भालेबास्ने ताल अदृश्य सम्पदा बन्दै जान थालेको हो ।

म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ को दुखुवेसीमा पर्ने यो ताल तीन वर्षअघि दुखु खोलामा आएको बाढीले पुरिएर साँघुरिएको छ । ताल सानो बन्दै गएको छ । जंगल विस्तारका कारण वरिपरिको क्षेत्रबाट देख्नै नसकिने र कठिन पहरोलाई छिचोलेर पुग्नै नसकिने ठाउँमा यो ताल खुम्चिँदै गएको छ ।

प्रशस्तै मिथक र किंवदन्ती सुन्न पाइने यो तालप्रति स्थानीय बृद्धबृद्धाको मात्रै होइन युवा पुस्ताको समेत अगाध विश्वास छ । या तालमा अझै पनि बिहान बिहानै कुखुराको भाले वास्छ भन्ने विश्वास स्थानीयलाई छ ।

मालिका गाउँपालिका ६ मा पर्ने दुखुवेसी गाउँ र मंगला गाउँपालिकाको २ मा पर्ने सहश्र्रधारा गाउँबाट यो ताल भएको क्षेत्रमा पुग्न सकिन्छ ।घना जंगलको विच भागमा दुखु लेकबाट छङछङ गर्दै दुखु झरना झरेकोको छ । झरनाको दायाँतर्फ पर्ने दुखु जंगलमा मालिका देवीको एउटा पुरानो मन्दिर छ ।

यही दुखु झरनाले मंगला र मालिका गाउँपालिकालाई छुट्याएको छ । दायाँतर्फ मालिका र बायाँतर्फ मंगल गाउँपालिका पर्दछ । दुवैतिर घना जंगल छ । झरनाको पुछारमा ताल र तालको शिरानमा मन्दिर छ । यही मन्दिरको वरिपरि बिहानको मिर्मिरेमा भाले बास्ने भएकाले दुई शताब्दी अघिदेखि यस तालको नाम नै ‘भाले बास्ने ताल’ रहेको मालिका गाउँपालिका वडा नं ६ दुखु गाउँकी ६२ वर्षिया देवी पुनले बताउनुभयो ।

यो ताल नेपालको आर्कषक तालको सूचीमा समेत रहेको छ । अपार पर्यटकीय सम्भावना हुँदाहुँदै पनि कठिन भूगोल र स्थानीय निकायको वेवास्ताका कारण यो ताल ओझेलमा परेको र पछिल्लो समय त ताल भएकै ठाउँ वरिपरिको जंगजमा पुग्दा समेत देख्न कठिन हुन थालेको दुखुवेसीका युवा प्रितम पुनले बताउनुभयो । “स्थानीय निकायले यो तालको संरक्षणमा ध्यान दिनुपर्छ,होइन भने लोकसेवा आयोग र सामान्य ज्ञानका पुस्तकहरुमा भालेवास्ने ताल कहाँ पर्छ होइन कहा पथ्र्यो ? भनेर सच्याउनु पर्छ” पुनले भन्नुभयो । उहाँका अनुसार अब यो ताल देखिनै छोडेकोले यहाँ छ भन्ने आधार नै समाप्त हुने भएको छ ।

यो तालको शिरानामा रहेको मन्दिर वरिपरिको जंगली क्षेत्रमा बिहान उज्यालो नहुँदै कुखुराको भाले कहाँबाट आउँछ अनि उज्यालो भए पछि त्यो भाले कहाँ जान्छ भन्ने विषयमा कसैलाई जानकारी नभएको स्थानीयवासिन्दाहरु बताउँछन् ।

तालको अवलोकनका लागि स्थानीयको सहयोगमा रासस प्रतिनिधि ताल नजिकको जंगल र तालको शिरानमा रहेको मन्दिरमा पुग्दा पनि स्पष्टसँग ताल देखिएन । ताल भएको ठाउँ (दुखु झरनाको पुछार) मा पहरामा झुण्डिएर,अत्यन्तै जोखिम मोलेर मात्र पुग्न सकिने स्थानीय तिजा पाइजाले बताउनुभयो । जंगलको विचमा जंगली जनावरहरु प्रशस्तै देखिए ।

मन्दिरमा बिहान भाले बास्ने समयमा पूजाआजा तथा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । धामीझाँक्रीले तालमा स्नान गरेर मन्दिरमा आई पूजाआजा गर्ने र आफ्नो शक्ति प्राप्तिका लागि साँढेको बली दिने पाइजाले बताउनुभयो । ताल आसपासमा देवताको शक्ति रहेको धार्मिक विश्वास छ ।

यस्तो छ तालको जनश्रुति (अलिखित इतिहास)

किंवदन्ती दुइ शताब्दी अघिको हो । दुखु गाउँका ९ भाइमध्ये एक भाइले भरिया लिएर तालको अवलोकन गर्न गएछन् । ताल नजिकै एउटा घर देखिएछ । त्यही घरमा राती विश्राम गरेछन् ।बिहान कुखराको भाले बासेछ । कुखुराको भालेको आवाजले उनीहरु बिहान विउझिँदा ती व्यक्ति र उनको भरिया ढुंगामा सुतेको अवस्थामा आफूलाई पाएछन् । आफ्नो भाकल र पूजाआजा गर्न गएका ती व्यक्ति र भरिया डरले भागेर गाउँमा आएछन् र गाउँलेहरुलाई उक्त घटना सुनाएछन् । उक्त घटनाकै आधारमा तालको नामकरण गरिएको स्थानीयहरु बताउँछन् । ती व्यक्ति तालबाट फर्किएपछि लामो समयसम्म बली लिएर पूजा गर्ने गरेको भनाइसमेत छ ।

बेनीबाट बेनी–दरवाङ सडकखण्ड अन्तर्गत पर्ने सहस्रधारा, दुखुबेसी, दरुङ गाउँबाट यो ताल पुग्न सकिन्छ । बेनीबाट करिव एकघण्टामा सवारीसाधनमार्फत सहस्रधारा पुगिन्छ । त्यहाँ केही समय आराम गरी स्थानीय युवाको पहलमा निर्मित बाटोबाट तालमाथिको जंगलसम्मसम्म पुग्न सकिन्छ । नियालो र घाँसको सहायतामा आवतजावत गर्नुपर्ने हुन्छ । दरवाङको दुखुबेसी त्यहाँ पुग्ने छोटो दूरीको मार्ग रहेको स्थानीय तिलु पुर्जाले बताउनुभयो ।

जंगलभित्र रहेका नियालोको सहारामा तालभन्दा माथिपर्ने जंगलसम्म पुगे पनि ताल भएको ठाउँमा भने जान सकिदैन । जंगलका वन्यजन्तुसँग धेरैपटक जम्काभेट हुँदा बचेर अगाडी बढ्नुपर्ने वाध्यता रहेको छ । केही साहसी व्यक्तिहरुले नियालोलाई डोरी बनाएर तालसम्म पुग्छन् । पछिल्लो समय ग्रामीण क्षेत्रमा विस्तार भइरहेका सडकबाट बग्ने लेदोले तालको अस्तित्व संकटमा पारिदिएको छ ।

भालेबास्ने तालको संरक्षणका लागि गाउँपालिकाले पहल गरिरहेको मालिका गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । उहाँका अनुसार खोलामा आएको बाढीले तालको धेरै भाग पुरिएकोले ताललाई टाढाबाट देख्न नसकिएको हो । दुखुखोलाको छेउछाउ भएर तालसम्म पुग्ने गोरेटोबाटो निर्माण गर्न वडाले पहल गरिरहेको उहाँले बताउनुभयो ।

Leave a Reply