अति सङ्क्रामक रोग दादुरा रुबेलाविरुद्ध सरकारले देशभरका बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गरेको छ ।पछिल्ला वर्षहरूमा दादुराले विभिन्न जिल्लामा महामारीको रूप लिन थालेपछि सरकारले ५७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालनमा ल्याएको हो । अभियान फागुन १३ देखि चैत ७ गतेसम्म चल्नेछ ।

सरकारले खोप अति जोखिममा रहेका तराईका २१ र काठमाडौँ उपत्यकाका तीन जिल्लामा नौदेखि १५ वर्षमुनिका बालबालिकालाई र अन्य ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ ।

परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार दादुरा एक जना सङ्क्रमित व्यक्तिबाट १८ जनामा सर्छ । सङ्क्रमितमध्ये १० प्रतिशत बालबालिकाको मृत्यु हुनसक्ने डा. गौतम बताउनुहुन्छ । आर्थीक वर्ष २०७९–८० मा एक हजार तीनसय ४९ जनामा दादुरा संक्रमण भएको थियो । एक जनाको मृत्यु भएको तथ्याङ्क छ ।

सङ्क्रमित दादुरा के हो ?

वरिष्ठ बालरोग विशेषज्ञ डा. कल्पना उपाध्याय सुवेदीका अनुसार दादुरा रोग मिजल्स भाइरसबाट हुने अति छिटो सर्ने सङ्क्रमण रोग हो । रुबेला भाइरसबाट हुने दादुराजस्तै देखिने सङ्क्रामक रोग रुबेला हो ।

दादुरा रुबेला पाँच वर्षमुनिका बालबालिकामा छिटै फैलिएर महामारीको रुप लिनसक्ने डा. गौतमको भनाइ छ । डा. गौतमका अनुसार दादुरा एक जना सङ्क्रमित व्यक्तिबाट १८ जनामा सर्ने गर्छ । उहाँ भन्नुहुन्छ, “ एउटा टोलमा कसैलाई दादुरा भएमा टोलमा कसैले पनि खोप लगाएका छैनन् भने लगभग सबै बच्चामा दादुरा सर्छ ।”

 

दादुरा बाल मृत्युको कारणमध्ये एक हो । दादुरा रुबेला भाइरस सङ्क्रमित व्यक्तिबाट सर्ने गर्छ । दादुरा सङ्क्रमित बिरामीले खोक्दा हाच्छ्युँ गर्दा निस्कने छिटामार्फत एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने डा. गौतम बताउनुहुन्छ । यी भाइरस सङ्क्रमण भएमा नाक, घाँटी, श्वासनलीमा सङ्क्रमण गर्दछ ।

लक्षण 

डा. सुवेदीका अनुसार दादुरा भएमा ज्वरो आउने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने, आँसु बग्ने, शरीरमा राता बिमिरा देखापर्नु जस्ता लक्षण देखिन्छन् । सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएको सातदेखि २१ दिनभित्र देखा पर्दछ ।

समयमै स्वास्थ्यकर्मीको परामर्श नलिएमा निमोनिया, झाडापखाला, अन्धोपन इन्सेफलाइटिस, कानको समस्या श्वासप्रश्वासको समस्या आदिजस्ता जटिलता देखिने र समयमा नै उपचार नपाएमा बालबालिकाहरुको ज्यानै जान सक्ने डा. सुवेदी बताउनुहुन्छ ।

रुबेला रोगको असरहरु दादुराभन्दा सामान्य प्रकारको हुने डा. सुवेदीको भनाइ छ । उहाँका अनुसार गर्भावस्थामा रुबेला सङ्क्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मिने, गम्भीर प्रकारको जन्मजात हुने, विकलाङ्ग समस्या देखिने गर्दछ ।

डा. सुवेदी भन्नुहुन्छ, “रुबेलाको सङ्क्रमणबाट हाडजोर्नी सुनिने, दुख्ने, मस्तिष्कमा कडा खालको सङ्क्रमण हुने, गर्भपतन हुने वा मृत शिशु जन्मिने, अन्धोपना, बहिरोपना, मुटु, मस्तिष्कमा विकृतिजस्ता जन्मजात विकलाङ्ग हुने र यस प्रकारका जटितलाका कारण बिरामीको मृत्यु पनि हुनसक्छ ।”

डा. सुवेदीका अनुसार गर्भावस्थामा रुबेला सङ्क्रमण भएमा गर्भमा भएको बच्चामा गम्भीर असर गर्छ । उहाँ भन्नुहुन्छ, “बच्चा जन्मिँदा विभिन्न विकृति हुन सक्दछ, जसलाई कन्जेनाइटल रुबेला सिण्ड्रोम भनिन्छ । यस्तो अवस्थामा गर्भपतन हुने, मृत बच्चा जन्मिने ,जन्मिँदै कान नसुन्ने आँखा नदेख्ने, मुटुमा गम्भीर समस्या हुने, मानसिक विकासमा अवरोध हुने, कलेजो फियोमा असर हुनेजस्ता जन्मजात जटिलता देखिन्छन् ।”

 

डा. अभियान गौतमका अनुसार दादुरा रुबेला रोगको निश्चित औषधी उपचार हुँदैन । यी रोगको लक्षणको मात्र उपचार गर्न सकिन्छ । यसबाट सुरक्षित रहन एक मात्र उपाय भनेको दादुरा रुबेलाविरुद्धको खोप लगाउन चिकित्सकको सुझाव छ ।  सरकारले दादुरा रुबेलाविरुद्धको खोप नियमित खोपमा समावेश गरी नि:शुल्क प्रदान गर्दैआएको छ ।

चिकित्सकका अनुसार यो खोप नौ महिना र १५ महिनाको उमेरमा २ मात्रा लगाउनै पर्दछ । दादुरा रुबेला खोपको दुई मात्रा खोप लगाए ९५ प्रतिशतभन्दा बढी सुरक्षा प्रदान गर्ने डा. गौतमको भनाइ छ । चिकित्सकका अनुसार खोपले रोग प्रतिरोधात्मक शक्तिको विकास गर्दछ ।  खोप लगाएका बच्चाहरूमा रोगको सङ्क्रमण दर कम हुने बच्चालाई सर्ने सम्भावना कम हुने डा. गौतमको तर्क छ ।

सरकारले खोप अभियानमा दिइरहेको खोपले विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त खोप हो । खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्कसँग खोप लगाउन उहाँको सुझाव छ । gorkhapatraonline.com

Leave a Reply