---Advertisement---

म्याग्दीको रानीभीर सामुदायिक वनमा डढेलो

On: April 24, 2024 10:51 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका वडा नं २ रणवाङको रानीभीर ठाडोपाखो सामुदायिक वनमा बुधबार साँझ (आज) ६ः३० बजे भीषण आगलागी भएको छ ।

जंगलको बीचभागमा लागेको डढेलो फैलिएर पुरै जंगलैभरी पुगेको छ । साँझपख हुरी बतास चलिरहेको समयमा जंंगलमा डढेलो लागेपछि वस्तीतिर समेत क्षति पुग्ने डरले स्थानीय त्रसित बनेका स्थानीयवासी श्रीराम पौडेलले जानकारी दिनुभएको छ।

पौडेलका अनुसार आगो नियन्त्रण गर्ने स्थानीयको प्रयास असफल भएको छ । सुरक्षाकर्मी र वन डिभिजन कार्यालयलाई जानकारी गराइसकेको उहाँले बताउनुभयो । आगो नियन्त्रणमा लिन सकिने कुनै सम्भावना नरहेको र वन नजिकको रहेको दरुङ वस्तीका वासिन्दाहरु त्रसित भएका उहाँले बताउनुभयो ।

खानेपानीको पाइप जडान गर्नका लागि हिटिङ तताउँदो जंगलमा आगोलागि भएको भन्ने सुनिए पनि अहिलेसम्म आगोलागिको कारण भने पत्ता नलागिसकेको उहाँले बताउनुभयो ।

गत फागुन दोस्रो सातादेखि म्याग्दीका जंगलहरुमा दिनहुँजसो डढेलो लागिरहेको र न्यूनिकरणको प्रयास गरिए पनि सफल हुन नसकेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लाहरुमध्ये डढेलोले सबैभन्दा बढी नोक्सान म्याग्दी जिल्लामा पु¥याएको छ । डढेलोले म्याग्दीको करिव सात सय हेक्टर वन क्षेत्र ध्वस्त वनाएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीका अनुसार गत फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय १२ ओटा वनमा डढेलो लागेको छ ।

डढेलोका कारण जिल्लाको ६ सय ९३ हेक्टर वन क्षेत्र ध्वस्त भएको छ । गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्ला मध्ये डढेलोका कारण म्याग्दीको वन क्षेत्र बढी नष्ट भएको जनाएको छ ।

साँझको समयमा भिरालो क्षेत्रमा लागेको डढेलोले वस्तीलाई नै त्रसित बनाएको स्थानीयले बताएका छन् । वन क्षेत्र डढेलोका कारण कालो देखिएको छ भने रुख,बोट विरुवा,वनस्पति र पंक्षी तथा जंगली जनावरहरु समेत डढेर खरानी भएका बताइएको छ ।

लामो समयसम्म खडेरी परेकाले जंगलको घाँस,बुट्यान पनि सुकेका छन् । पानीका मुहानहरु सुक्ने र डढेलोले पाइप जलेपछि गाउँहरुमा खानेपानीको हाहाकार भएको मालिका गाउँपालिका ६ का पदमबहादुर पुनले बताउनुभयो ।

जिल्लाको बेनी नगरपालिका लगायत मालिका,मंगला,रघुगंगा,धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न जंगलहरुमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्याल्य म्याग्दीका प्रमुख विष्णु अधिकारीले जानकारी दिनुभयाे ।

कतिपय वनहरुमा आगो नियन्त्रणमा आइसकेको छ भने कैयौं वनमा अझै पनि धुवा पुत्याइरहेको देखिन्छ । दैनिक रुपमा आगोलागी हुने क्रम वढ्दै गएको र आगलागी नियन्त्रणका लागि स्थानीय समुदाय,सुरक्षाकर्मीहरुलाई उपकरण वितरण सहितका कार्य गरिएको डिभिजन प्रमुख अधिकारीको भनाइ छ ।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।

1 thought on “म्याग्दीको रानीभीर सामुदायिक वनमा डढेलो”

  1. डढेलो लगाउने मान्छेलाइ कम्तीमा ३देखि७ बर्ष जेल ५ लाख देखि १० लाख सम्मको जरिवाना हुनुपर्ने कानुन नबने सम्म यो कन्ट्रोल हुने देखिदैन र डढेलो लगाउने मान्छेको बारेमा जान्कारी दिने मान्छेलाइ दुई लाख सम्म को पुरुस्कारको बेवस्ता गरिनु पर्छ अनि मात्र कन्ट्रोल होला सरकार 🙏🙏🙏

Comments are closed.