म्याग्दीको सदरमुकाम बेनीमा आइतबार सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई लक्षित गरेर आधारभूत आँखा स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको आयोजना, नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दी र बेनी नगरपालिकाको सहयोग तथा आईकेयर फाउन्डेशनको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

बेनी नगरपालिकाको सभाहलमा आयोजित आधारभूत आँखा स्वास्थ्य तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले नेत्रज्योति संघले सञ्चालन गर्दै आइरहेको आँखा शिविर कार्यक्रम अत्यन्तै सराह्रनीय रहेको बताउनुभयो ।
उहाँले समुदायबाट अन्धोपन निवारण गर्ने अभियानमा बेनी नगरपालिकाले पनि आवश्यक सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि नेत्रज्योति संघ र हिमालय आँखा अस्पतालसँग सहकार्य गरेर अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले मानव शरिरमा रहेको सबैभन्दा महत्वपूर्ण अङ्ग आँखा भएकाले आँखा स्वास्थ्यको विशेष रुपमा हेरचाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले बेनी नगरपालिकाले पनि आँखालगायत स्वास्थ्यको क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै नगर क्षेत्रमा आँखा सम्बन्धी शिविरलगायत कार्यक्रम सञ्चालन गर्नका लागि नेत्रज्योति संघ म्याग्दीसँगको सहकार्यमा गरिने बताउनुभयो ।

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँको अध्यक्षता, उपसभापति राजेन्द्रकुमार श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रम नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराका नेत्र अधिकृत तथा तालिमका प्रमुख प्रशिक्षक गोविन्दनाथ योगीको सञ्चालनमा सम्पन्न भएको थियो ।
तालिमको उद्देश्यमाथि नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराका बाह्य कार्यक्रम संयोजक तथा तालिमका प्रशिक्षक सुभास नेपालले प्रकाश पार्नुभएको थियो । एक दिनको आधारभूत आँखा स्वास्थ्य तालिम कार्यक्रममा बेनी नगरपालिका क्षेत्र भित्रका विभिन्न ४२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको सक्रिय सहभागिता रहेको थियो ।

तालिममा आँखा सम्बन्धी प्राथमिक चिह्न, सुरक्षाका उपायहरु, प्रारम्भिक परीक्षणका तरिका, उपचारका विधि, आँखा सम्बन्धी समस्या देखिएमा रिफर गर्ने प्रक्रियालगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।
नेत्रज्योति संघ म्याग्दी शाखाले जिल्लाको विभिन्न स्थानमा पुगेर आँखा शिविरलगायत तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । संघमार्फत स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा आँखा शिविर एवं मोतियाविन्दुको निःशुल्क अप्रेशन शिविर समेत सञ्चालन गर्ने गरिएको नेपाल नेत्रज्योति संघ म्याग्दीमार्फत सञ्चालित आँखा उपचार केन्द्र बेनी म्याग्दीका प्रमुख नेत्र अधिकृत दिनेश बानियाँले जानकारी दिनुभयो ।