बेनी–जोमसोम–कोरला सडक खण्डमा सुख्खा पहिरो खसेपछि मुस्ताङ जाने र फर्किने करिब डेढ सय यात्रुलाई मुस्ताङका इन्द्रसिङ शेरचनले पिठ्युँमा बोकेरै सडक पार गराउनुभयो । सडक खण्डमा दैनिकजसो अग्रपङ्क्तिमा उभिने शेरचनले सोह्रश्राद्धमा कागबेनी गएका र मुक्तिनाथ दर्शन गर्न आएका भारतीय बालबालिकादेखि बृद्धबृद्धासम्मलाई ज्यानै जोखिम मोलेर उद्धार गर्नुभयो । सडकमाथिबाट निरन्तर पहिरो खस्दा समेत शेरचनले बोकेर यात्रुलाई वारपार गराउँदा सबै दंग पर्छन् ।
मुस्ताङको थासाङ गाउँपालिका–२,नाउरीकोटका ५५ बर्षिय शेरचनले विथत १७ बर्षदेखि उद्धार तथा सडक खुलाउँदा मृत्युलाई नजिकबाट हेरेर फर्किएको धेर्रै अनुभव रहेको बताउनुहुन्छ । समाजसेवी शेरचनले भन्नुभयो,‘‘पहिरो तथा चट्टान खस्दा शेरचनले जीवन फेरि उपहार पाएको छु,अलपत्र परेकालाई उद्धार गर्दा आनन्द लाग्छ,जोखिमपूर्ण बाटोमा भारतीय पर्यटकलाई उद्धार गर्दा सन्देश राम्रो गएको छ’’शेरचनले भन्नुभयो ।

सडकखण्डमा सिकिस्त बिरामीलाई उद्धार तथा मध्यरातमा समेत एक्लै पुगेर सडक पन्छाउने गरेको शेरचनले बताउनुभयो । अहिलेसम्म ५ हजारभन्दा बढी यात्रुलाई बोकेर उद्धार गरेको शेरचनले बताउनुभयो । जोखिम मोलेर उद्धार गरेकाले अहिले पनि सामाजिक सञ्जालबाट सम्झिने गरेको शेरचनको भनाई छ । भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावटकै कारण सडकखण्डमा काम गर्ने क्रममा पहिरोमा समेत फसेको अनुभव छ ।

विहानै सडकमा खटिने शेरचन मध्यरातसम्म भोकभोकै र सडकमै यात्रुले दिएको खाना खाएर सेवामा जुट्ने गर्नुहुन्छ । सडकखण्डमा प्राकृति विपत्ती बाहेक अलपत्र परेका यात्रुलाई समेत उनले आफ्नो होटलमा निःशुल्क समेत राखेर गन्तब्यमा पटाउने गरेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित ज्ञानप्रकाश माविका प्रधानध्यापक शान्तबहादुर नेपालीले बताउनुभयो ।
प्रअ नेपाली भन्नुहुन्छ,‘‘उहाँलाई विपद्का सारथीको परिचयले चिनिन्छ,ज्यान हत्केलामा राखेर यात्रुको सेवामा खटिने शेरचनका बारेमा शब्दमा बयान गर्न सकिदैन ।‘‘ हरेक दिन ज्यान नै जोखिममा राखेर उद्धारमा खटिने शेरचनलाई संविधान दिवसमा विभुषण, गण्डकी प्रदेश सरकार, नेपाल जेसीज सहित विभिन्न संघसंस्थाबाट करिब ५० भन्दा बढी सम्मान पाउनुभएको छ । धौलागिरी हिमाल, अन्नपूर्ण हिमालमा ज्यान गुमाएका पर्यटक, भरियाको उद्धार तथा पदयात्रामा फसेकाको खोजीमा समेत खटिने शेरचनलाई मुस्ताङमा सरकारी निकायले समेत सडकको रक्षक भनेर विभिन्न कार्यक्रममा समेत बोलाएर सम्मान गर्ने गरिएको छ ।