जेनजी आन्दोलनका क्रममा सर्वाधिक क्षति बेहोरेको भाटभटेनी सुपरस्टोरका कुनै कर्मचारीले जागिर गुमाउनु नपर्ने भएको छ । आन्दोलनका क्रममा देशभरका २८ मध्ये २२ वटा शाखामा आगजनी, तोडफोड र लुटपाटबाट अरबौंको क्षति बेहोरेको भाटभटेनीले कर्मचारीलाई उल्टै दसैं भत्ता दिने घोषणा गरेको हो ।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले सबै स्टोरहरू पुनः सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै काठमाडौं उपत्यकाभित्रका स्टोरहरू चार महिनाभित्र र उपत्यका बाहिरका स्टोरहरू १० महिनाभित्र सञ्चालनमा ल्याइसक्ने बताए।
आक्रमणबाट काठमाडौंको नक्साल, महाराजगञ्ज, बौद्ध चुच्चेपाटी, कोटेश्वर र बालुवाटार तथा पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरानका १२ शाखा तत्काल सञ्चालनमा ल्याउने अवस्थामा छैनन् । अध्यक्ष गुरुङले ती शाखाहरु पुनर्निर्माणपछि मात्र खुल्ने अवस्थामा रहेको बताए ।
गुरुङले भने, ‘हामी खरानीबाटै भए पनि माथि उठ्छौँ, हाम्रा सबै स्टोरहरू खडा गरेरै छाड्छौँ।’ भाटभटेनीमा करिब १० हजार जनाले रोजगारी पाएको बताउँदै उनले सञ्चालनमा रहेका अन्य स्टोरहरूमा काम मिलाएर उनीहरूको रोजगारी सुनिश्चित गर्ने बताए ।
गुरुङले भने, ‘हामीसँग जोडिएका कसैको रोजीरोटी गुम्न दिँदैनौँ। स्टोरहरू सञ्चालनमा नआउन्जेल पनि उहाँहरूको रोजगारी गुम्दैन। ऋण नै गरेर पनि दसैँ मनाउने व्यवस्था पनि गर्छौँ।’