म्याग्दीको सदरमुकाम बेनीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले युवा शक्तिलाई जोडेर अर्थतन्त्र सुधार गरी देशको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बेनीको विरेन्द्रचोकस्थित चौतारीमा उभिएर सडकमा समाचार संकलनका लागि जम्माभएका पत्रकार र उम्मेदवार पुनको कुरा सुन्न आएका सर्वसाधारणसँग उम्मेदवार पुनले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

पुनले पुराना राजनीतिक दलहरुले देशको अर्थतन्त्र र समग्र सुधारका लागि काम गर्न नसकेकाले देशमा सुधार ल्याउन आफुँले उम्मेदवारी दिएको बताउनुभएको छ ।
शिक्षा क्षेत्रमा आमसुधार ल्याएर देशलाई समृद्ध बनाउन नगरी नहुने र आफूले ल्याउन खोजेकोतीनवटा अध्यादेश र चारवटा नियमावलीमा जालझेल भएपछि नसोचेको निर्णय गरी चुनावी मैदानमा उत्रिएको उहाँको भनाइ थियो ।

डा.पुनले शिक्षा सहित नेपालको अर्थतन्त्रको सुधारमा अब युवापुस्ताको सक्रियता आवश्यक रहेको बताउनुभयो । डा पुनले युवाहरुको सक्रियता बिना अब केही सम्भव नभएकाले आफुँले यूवाहरुलाई जोड्ने प्रयास गर्ने बताउनुभयो । नेपालमा धेरै काम गर्न सकिने भएकाले यसपटकको आफ्नो उम्मेदवारी देशलाई सन्देश भएको उहाँको दावि थियो । बलियो विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने योजनासँगै चुनावमा होमिएको डा. पुनले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले त्रिभुज निर्वाचन चिन्ह प्रदान गरेसंगै पुनले शनिवार चौतारीमा अभिएर सडकमा पत्रकार सम्मेलन गरी आफ्ना भनाइहरु राख्नुभएको हो ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहनुभएका निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पुनले मन्त्री पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
उहाँले आफू शिक्षा मन्त्री हुँदा नेपालको विद्यालय शिक्षा, व्यावसायिक शिक्षा र विश्वविद्यालय शिक्षामा रहेका बेतिथि हटाउन र सुधार गर्नका लागि अध्यादेश मार्फत कार्यान्वयन गर्ने गरी तयार गरेका तीन वटा ऐन र चार वटा नियमावली अलपत्र परेकाले त्यसलाई आगामी संसदबाट कार्यान्वयन गराउन मन्त्रीबाट राजीनामा दिएर साँसदमा उम्मेदवार बनेको बताउनुभयो ।
‘‘पहिले राष्ट्रपतिले अध्यादेश ल्याउन सकरात्मक देखिनुभएको थियो, अन्तिममा दुई महिना लगाएर विज्ञ टोली समेतको सहयोगमा तयार गरेका ऐन र नियमावलीका मस्यौदा अघि बढ्ने स्थिति रहेन, निर्वाचन आचार संहिताको कारण पनि आगामी संसदबाट मात्रै त्यसलाई अघि बढाउन सकिने भएकाले म निर्वाचनमा होमिएको हुँ’’– पुनले भन्नुभयो । नेपालको शिक्षा क्षेत्र राजनीतिक हस्तक्षपले अस्तव्यस्त बनेकाले त्यसलाई सुधार गर्न विद्यमान कानुन र ऐनहरुलाई परिमार्जन गर्न आबश्यक रहेकाले आफुले त्यसलाई टुङ्गोमा पुर्याउने कोसिस गरेको बताउनुभयो ।
उहाँले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थालाई हटाउनुपर्ने र हरेक विश्वविद्यालयको फरक फरक शिक्षा सेवा आयोगलाई खारेज गरेर एउटै विश्वविद्यालय शिक्षा आयोग बनाउन आबश्यक रहेको समेत बताउनुभयो ।
पुनले नेपालमा प्रविधि र नवप्रवद्र्धनलाई प्राथमिकतामा राखेर उद्यमीलाई प्रोत्साहन गरी आर्थिक विकास गरेर युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको समेत बताउनुभयो । उहाँले आफुले म्याग्दी र नेपालको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।







