आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीका दल तथा स्वतन्त्र उम्मेदवार चुनावी अभियान लिएर मतदाताका घर–घरमा पुग्न थालेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयका विभिन्न कार्यक्रमहरुमा सहभागितासँगै चुनावी योजना बनाउन ब्यस्त उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्न थालेपछि गाउँमा चुनावको माहोल देखिन थालेको छ ।

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बन्नुभएका कर्णबहादुर भण्डारी रघुगंगा गाउँपालिकास्तरीय भेलामार्फत चुनावी अभियान सुरु गरिएको छ । निवर्तमान प्रतिनिधिसभा सदस्य एवम् पार्टी सभापति खमबहादुर गर्बुजा, संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापति हरिकुमार श्रेष्ठ सहितका नेताहरुको उपस्थितिमा निर्वाचन परिचालन समितिमार्फत चुनावी अभियान सुरु गरिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।
त्यसैगरी नेकपा एमाले म्याग्दीको तर्फबाट उम्मेदवार हरिकृष्ण श्रेष्ठ रघुगंगा गाउँपालिका क्षेत्रमा घरदैलो अभियानमा ब्यस्त हुनुहुन्छ । उम्मेदवारहरु चुनावी प्रतिबद्धता सहितका कार्यहरु समेत सञ्चालन गरिरहनुभएको छ ।शनिबार र आइतबार दुई दिन रघुगंगा वडा नं २ र ३ क्षेत्रमा मतदातालाई घरदैलोमै गएर आफ्नो प्रतिबद्धता सहितको अभियानमा जुट्नुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापा जिल्लाका विभिन्न स्थानमा पुगेर मतदाता भेटघाट सहित चुनाव केन्द्रित अभियान सञ्चालन भइरहेको नेकपाले जनाएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले सदरमुकाम बेनीमा सम्पर्क कार्यालय स्थापना गरी सोमबारदेखि पश्चिम म्याग्दी हुदै रघुगंगा पुग्ने योजना रहेको छ ।

एउटा मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको म्याग्दीमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी, नेकपा ९माओवादी० बाट क्षेत्रबहादुर घिमिरेले सामूहिक र व्यक्तिगत रुपमा मतदातासँग भेटघाटलाई तिव्रता दिनुभएको छ। जिल्लामा प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० बाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद लामा, राष्ट्रिय जनमोर्चाबाट क्षेमबहादुर विक चुनावी अभियानमा हुनुहुन्छ ।
उम्मेदवार गाउँमा देखिन थालेपछि चुनावी प्रचारप्रसारसँगै मतदाता भेटघाटका कार्यतालिका बनाउन स्थानीयस्तरका नेताहरु ब्यस्त छन् । निर्वाचनका लागि म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।









