नेपाल पत्रकार महासंघले सोमबार आफ्नो ७१औं स्थापना दिवस देशैभर विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाएको छ । महासंघ केन्द्रले गरेको परिपत्र अनुसार नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले पनि एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसर पारेर म्याग्दीमा सञ्चार क्षेत्रमा आबद्ध दुई जना व्यक्तिलाई खाद्यान्न सामग्री वितरण गरी पत्रकार महासंघको ७१औं स्थापना दिवस मनाइएको पत्रकार महासंघ म्याग्दीले जनाएको छ । जिल्लाको छापा सञ्चारमाध्यमका कार्यरत हकर सन्त नेपाली र पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय सहयोगी मनकुमारी परियारलाई दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु प्रदान गरिएको थियो ।
दुवै जनालाई पत्रकार महासंघ म्याग्दी शाखाको तर्फदेखि एकएक बोरा चामल, दाल, नुन, खानेतेल, मस्यौरालगायत खाद्यान्न सामग्री वितरण गरी स्थापना दिवस मनाइएको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण शर्मा गौतमले जानकारी दिएका छन् । खाद्यान्न सामग्री वितरण गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष प्रकाश पौडेलले पत्रकार महासंघको स्थापना दिवसले आगामी दिनमा सञ्चार क्षेत्रको उन्नति र दिगोपनका लागि सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्नुपर्नेमा जोड दिए ।
उपाध्यक्ष पौडेलले पत्रकार तथा सञ्चारकर्मीहरुको हकहितका लागि वर्तमान सरकारको पनि गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताउँदै पछिल्लो समय सञ्चारमाध्यम र पत्रकारमाथि चौतर्फी हमला भैरहेकाले पत्रकारले सत्यतथ्य एवं खोजमूलक समाचारजन्य सामग्री सम्प्रेषण गर्नुपर्ने बताए । पत्रकार र सञ्चारकर्मीले दुव्र्यवहार तथा धम्कीहरु खेप्नुपरिरहेको वर्तमान अवस्थामा पत्रकार आचारसंहिताको पूर्ण रुपमा ख्याल गरेर पत्रकारहरु सञ्चार कर्ममा लाग्नुपर्ने उनको भनाइ छ ।
पत्रकार महासंघ म्याग्दीका अध्यक्ष गौतमले कार्यक्रमको समापन गर्दै महासंघ म्याग्दी शाखामार्फत जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको दुर्घटना, बीमा, म्याग्दीका पर्यटकीय क्षेत्रहरुमा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन, पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न समयमा तालिम तथा गोष्ठीहरुको आयोजनालगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रम पत्रकार महासंघ म्याग्दीका अध्यक्ष गौतमको अध्यक्षता, उपाध्यक्ष अमित विश्वकर्माको स्वागत र सचिव ठाकुरप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो












