आगामी वैशाख २ गतेदेखि म्याग्दीमा आर्थिक गणना सुरु हुने भएको छ । जिल्ला आर्थिक गणना कार्यालय म्याग्दीको कार्यालय स्थापनापछि मंगलबार सदरमुकाम बेनीबजारमा आयोजित जिल्लास्तरीय अन्तरक्रिया तथा सचेतना गोष्ठीमा आर्थिक क्रियाकलाप हुने सबै प्रकारका ब्यवसाय तथा सेवाहरूको आधारभूत विवरणहरू संकलन गरी तथ्यांक प्रकाशन गरिने भएकाले सघाउन अनुरोध गरिएको थियो ।

म्याग्दीका राजनीतिक दलका प्रमुख,जनप्रतिनिधि, सरकारी निकायका प्रमुख,उद्योगी तथा ब्यापारीका साथै अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले आर्थिक गणनाले अर्थतन्त्रलाई व्यवस्थापन गर्न सहज बनाउने विश्वास ब्यक्त गरेका छन् ।

म्याग्दीका आर्थिक गणना अधिकारी घनश्याम सापकोटाले कार्यक्रमको उदेश्य, विधि र प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै बागलुङ जिल्ला आर्थिक गणना अधिकारी चन्द्रकान्त सुवेदीले आर्थिक गणनाले अर्थतन्त्रलाई सघाउने भएकाले बास्तविक विवरण उपलब्ध गराउन अनुरोध गरेका थिए । पहिलो आर्थिक गणनापछि अहिलेको अवस्थासम्म आर्थिक गतिविधिमा भएको प्रगति, चुनौतिहरुको समेत पहिचान हुने र समाधानमा समेत सहज बनाउने विश्वास गरिएको सुबेदीको भनाई थियो ।

जिल्ला समन्वय अधिकारी निलकण्ठ शर्माले गणनाले राज्यको वास्तविक गार्हस्थ उत्पादन पत्ता लगाउन सघाउने बताए ।

म्याग्दीमा १९ जना गणक र ३ जना सुपरभाइजरले जिल्लाभर १५ खण्डमा विभाजित प्रश्नावलीबाट तथ्याङक संकलन गर्नेछन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको अध्यक्षता, आर्थिक गणना अधिकारी सापकोटाको स्वागत तथा बागलुङका अधिकारी सुबेदीको प्रस्तुतीकरणमा सम्पन्न भएको थियो । २०७५ सालमा लिइएको तथ्यांकमा म्याग्दीमा ५ हजार ६३ दर्ता भएका फर्म तथा प्रतिष्ठानमा १६ हजार ६ सय ५२ जना संलग्न रहेको गणना गरिएको थियो । आर्थिक गणनाले व्यवसाय, कृषि उत्पादन, आय तथा व्यय र आंशिक तथा दिर्घकालिन रोजगारीका बारेमा हालको अवस्थालाई तथ्यांकले देखाउने छ ।














