---Advertisement---

पुलाचौरमा उद्घोषण तथा भाषणकला तालिम : सक्रियतापूर्वक तालिम लिएर व्यवहारमा उतानुपर्नेमा जोड

On: March 31, 2026 10:35 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका-५ पुलाचौरमा मङ्गलवारदेखि उद्घोषण तथा भाषणकला तालिम सुरु भएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ, समृद्ध बेनी नगरपालिकाको मूल आधार’ भन्ने मुख्य नारासहित बेनी नगरपालिका वडानम्बर ५ पुलाचौर अन्तर्गत गरिबसँग विश्वेश्वर कार्यक्रमको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

बेनी नगरपालिका ५ नम्बर वडा कार्यालय पुलाचौर, म्याग्दीको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा, म्याग्दीको प्राविधिक सहयोगमा उक्त तालिम सञ्चालन गरिएको छ । खासगरी ५ नम्बर वडाको विभिन्न टोलमा क्रियाशील आमा समूहमा आबद्ध महिलाहरुलाई उद्घोषण तथा भाषणकला सिकाएर दक्ष बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको जनाइएको छ ।

तालिममा उद्घोषण र भाषणकला सिकाएर व्यवहारमा उतार्ने र सहभागीहरुलाई आगामी दिनमा कार्यक्रम आयोजना तथा सञ्चालन गर्न सक्ने बनाउने लक्ष्य रहेको छ । तालिमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा, म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले उद्घोषण तथा भाषणकला तालिम दैनिक जीवनमा समेत व्यवहारिक हुने बताउनुभयो ।

विभिन्न संघसंस्था, राजनीति, सामाजिक तथा शैक्षिकलगायत क्षेत्रमा लाग्ने व्यक्तिहरुलाई उद्घोषण र भाषणकला सम्बन्धी तालिम अति आवश्यक भएको बताउँदै उहाँले सक्रियतापूर्वक तालिममा सहभागिता जनाउन सहभागीहरुलाई सुझाव दिनुभयो । अध्यक्ष गौतमले पत्रकार महासंघ म्याग्दी र आफ्नो व्यक्तिगत रुपमा जिल्लाको विभिन्न ठाउँहरुमा पुगेर विविध क्षेत्रमा आबद्ध मानिसहरुलाई क्षमता अभिवृद्धि र नेतृत्व विकासका धेरै तालिमहरु सञ्चालन गरिएको बताउनुभयो ।

पुलाचौरमा सञ्चालित तालिमले पनि व्यक्तित्व र नेतृत्वको विकासमा सहयोगी भूमिका खेल्ने बताउँदै अध्यक्ष गौतमले आउँदा दिनहरुमा पुलाचौरमा व्यवहार परिवर्तनका तालिमको साथै सचेतना र शिक्षा सम्बन्धी तालिमहरु सञ्चालनमा पत्रकार महासंघको आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

तालिमको समापन गर्दै बेनी नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष गोविन्द बानियाँले वडा कार्यालयको तर्फदेखि स्थानीयको चाहना र माग बमोजिम सचेतनामूलक विभिन्न किसिमका तालिम, गोष्ठीहरु सञ्चालन गरिएको बताउनुभयो । उहाँले बोल्ने कला र भाषण गर्ने क्षमता सबैलाई आवश्यक पर्ने भएकाले व्यक्ति स्वयं आफूले कुनै पनि किसिमको डर नलिइकन आफूलाई लागेको विषयमा राम्रोसँग बोल्नुपर्नेमा जोड दिनुभयो ।

तालिमको उद्घाटनसत्रमा वडा सचिव चिनुमाया पौडेल, वडा सदस्यद्वय डम्मबहादुर बानियाँ र दुर्गाकुमारी शर्मा पौडेलले वडा कार्यालयको पहलमा सञ्चालित तालिमका सहभागीहरुलाई प्रभावकारी रुपमा तालिम लिएर त्यसलाई दैनिक व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । उद्घाटनसत्रको कार्यक्रम वडा अध्यक्ष बानियाँको अध्यक्षता र वडाका कर्मचारी हिरा जिसी बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

दुई दिनसम्म चल्ने तालिममा पुलाचौर क्षेत्रका ४५ जनाको सहभागिता रहेको छ भने नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष गौतम, उपाध्यक्ष अमित विश्वकर्मा, सहसचिव प्रताप बानियाँ र पत्रकार कृष्णबहादुर कार्कीले सहजीकरण गरिरहनुभएको छ ।

तालिममा उद्घोषण, भाषणकला, यसको परिचय, उद्घोषक, प्रभावकारी उद्घोषण, कार्यक्रम सञ्चालनका चरणहरु, भाषणका शैलीलगायत विविध विषयहरुमा सैद्धान्तिक ज्ञान दिनुका साथै प्रयोगात्मक अभ्यास समेत गराइएको छ ।

Leave a Comment