म्याग्दीको सदरमुकाम बेनीबजारबाट बेवारिसे अवस्थामा भेटिएका चार जनालाई नगरपालिकाले उद्धार गरी मानव सेवा आश्रम बागलुङ पठाइएको छ । बेवारिसे अवस्थामा बस्दै आएका ३ पुरुष र १ महिलालाई बेनी नगरपालिकाको टोलीले उद्धार गरेको नगर प्रहरी प्रमुख शंकर पौडेलले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।
सडक तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताइरहेका उनीहरूलाई सुरक्षित व्यवस्थापनका लागि मानव सेवा आश्रम, बागलुङ पठाइएको नगर प्रहरी प्रमुख पौडेलको भनाई छ । नगरपालिकाका अनुसार सामाजिक दायित्वअन्तर्गत उनीहरूको स्वास्थ्य, सुरक्षा र पुनःस्थापनालाई ध्यानमा राख्दै उद्धार कार्य गरिएको हो ।

उद्धारपछि आवश्यक समन्वय गरी आश्रममा जिम्मा लगाइएको बेनी नगरपालिका अल्पकालिन केन्द्रकी प्रमुख साधना केसीले बताउनुभयो । बेनीबजारमा भारतीय सहित तराईबाट मानसिक सन्तुलन गुमेका प्रवेश गरी सडक आसपासका क्षेत्रमा बस्दा जोखिम बढेपछि उद्धार तथा पुर्नस्थापना र सम्भव भएकालाई परिवारको जिम्मा लगाउने गरिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।
मेयर केसीले भन्नुभयो,“समाजमा कोही पनि बेवारिसे र असहाय अवस्थामा बस्न नपरोस् भन्ने हाम्रो जिम्मेवारी हो। यस्ता व्यक्तिहरूको उद्धार र व्यवस्थापनमा नगरपालिका सधैं सक्रिय रहनेछ।”बेनी नगरपालिकाले आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने जनाएको छ । म्याग्दीका स्थानीय तहमार्फत एकल तथा वेवारिसेलाई मानवसेवा आश्रममा लैजाने सहमति समेत रहेको छ ।












