पोखराको पाखिलेचोकस्थित प्रतिभा माध्यमिक विद्यालयका ५ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उच्चतम् ४.० जिपिए ल्याएका छन् । विद्यालयका प्रिन्सिपल किरण सापकोटाका अनुसार विकल्प बास्तोला, ग्लोरी राना, लक्षिता राना, प्रसन्न ढकाल र स्विकार पौडेलले सो सफलता हात पारेका हुन् । गत वर्ष यस विद्यालयबाट १ जनाले मात्र ४.० जिपिए ल्याएका थिए ।
यस वर्षको परीक्षामा विद्यालयबाट कुल १०७ विद्यार्थी सहभागी थिए । तीमध्ये ३.६ जिपिएभन्दा माथि ल्याउने ४७ जना र ३.२ जिपिएभन्दा माथि ल्याउने ४५ जना छन् । यस्तै १४ जनाले २.८ जिपिएभन्दा माथि र १ जनाले २.४ जिपिए ल्याएको सापकोटाले बताए । नतिजाअनुसार विद्यालयका सबै विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् ।
सोमबार सार्वजनिक भएको नतिजाबाट विद्यालय सन्तुष्ट रहेको सापकोटाले उल्लेख गरे । उनले गुणस्तरीय शिक्षामा जोड दिँदै आएकाले यस्तो सुखद परिणाम सम्भव भएको बताए । उनले भने, ‘अघिल्ला वर्षको तुलनामा उत्कृष्ट नतिजा हात पार्न सफल भएका छौँ ।’ विद्यालयले कक्षा १२ को नतिजामा पनि अहिलेसम्म निरन्तर उत्कृष्टता हासिल गर्दै आएको उनले जानकारी दिए ।












