पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ बेनी–दरबाङ सडकखण्डको फापरखेतमा निरन्तर सुख्खा पहिरो खस्दा शनिबारदेखि अवरुद्ध भएको छ। सडकमा सुक्खा पहिरो खस्न थालेपछि स्थानीय प्रशासनले यातायात सञ्चालन बन्द गराएएको छ भने बैकल्पिक मार्गबाट यात्रा गर्न अनुरोध गरेको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमासुक्खा पहिरो खस्न थालेपछि तातोापानी हुदैं बरंजाको बाटो प्रयोग गरी पश्चिम क्षेत्रमा सवारीसाधन आवतजावत तथा पखेर हुदैंको पुरानो झोलुङे पुलको प्रयोग गरी सर्वसाधारण आवतजावत गर्ने गरेका छन् ।

निरन्तर पहिरो खस्न थालेपछि तत्काल मर्मतको सम्भावना समेत छैन । ‘सुख्खा पहिरो खसिरहेको छ, अहिले मर्मतका लागि पनि जोखिम छ, बैकल्पिक मार्गहरुका बारेमा यात्रुलाई जानकारी दिने गरेका छौ’ तातोपानीका यूवा सुदिप खत्रीले बेनीअनलाइनलाई भन्नुभयो । सडकखण्ड आसपासमा पैदल यात्राका लागि समेत अत्यन्त जोखिम रहेकाले बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, म्याग्दीले सार्वजनिक सूचनामार्फत शनिबार जानकारी गराएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पहिरो खस्न रोकिएपछि सडक मर्मत गरेर यातायात सञ्चालन गरिने बताउनुभयो । बेनी–दरबाङ म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ ।
यो सडकले बर्खामा सताउने गरेको छ भने हिउँदमा सुख्खा पहिरो खसेर सर्वसाधारणलाई हैरानी खेप्नुपरेको छ । दशैंको मुखमा सडक अवरुद्ध हुदाँ सर्वसाधारणलाई सास्ती भएको छ । सडकको बिकल्पमा पक्की पुल बनाउने योजना बनाएपनि हालसम्म प्रक्रिया निकै सुस्त गतिमा छ । पक्की पुलका लागि संघीय, प्रदेश सरकारका मन्त्रीसहितको टोलीले अनुगमन गरेपनि प्रक्रियामै रोकिएको छ । फापरखेतमा विस २०५८ मा सडकको मार्ग खोल्नुअघिदेखिकै पहिरो रोकथाममा करोडौ खचिएको छ ।










