नेपाल विद्युत प्राधिकरणले भारतबाट शुक्रबार राती २० मेगावाट विद्युत आयात गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ। टनकपुर स्टेशनमार्फत् भारतबाट उक्त विजुली नेपाल ल्याइएको हो। अब बुटवलदेखि महेन्द्रनगरसम्मको क्षेत्रमा साताको ४० घन्टा लोडसेडिङ घटेर २५ घन्टा मात्र हुने जानकारी विद्युत प्राधिकरणको भार सम्प्रेषण विभागका निर्देशक शेरसिंह भाटले दिए
सरकारको स्वामित्व रहेको नेपाल विद्युत प्राधिकरणले भारु ४।५० प्रति युनिटका दरले भारतसँग विजुली खरिद गरेको हो। जुन भारतको बजार मूल्य भन्दा निकै सस्तो हो। प्राधिकरणले यसअघि नै टनकपुरबाट थप २० मेगावाट विद्युत आयात गर्दै आएको छ ।
यसैवर्ष काठमाडौंमा भएको उर्जा सम्मेलनमा गरिएको सम्झौता अनुसार नेपालले शुक्रबारदेखि थप २० मेगावाट विजुली भारतबाट ल्याएको हो। सम्झौता अनुसार नेपालले भारतबाट कूल ६० मेगावाट विद्युत ल्याउनेछ। ४० मेगावाट विजुली पूर्वबाट नेपाल भित्र्याउने सम्झौता भए पनि कोशीले भत्काएका विजुलीका टावर मर्मतमा भइरहेको ढिलाइका कारण त्यो सम्भव हुन सकेको छैन। मर्मतमा भइरहेको ढिलाइले गर्दा विगतमा त्यहाँबाट नेपाल भित्रिरहेको ६० मेगावाट बिजुली समेत हाल आउन सकेको छैन।