बहराइनमा ज्यान गुमाएका पाईजा परिवारलाई मोनाको सहयोग

रोजगारको शिलसिलामा बहराईनमा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका हिराबहादुर पाईजाको परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले रु ५० हजार आर्थिक सहयोग गरेको छ । मोनाले स्थापना गरेको आपतकालिन राहतकोषबाट पाइजाको परिवारको राहतका लागि उक्त सहयोग गरिएको हो ।

मंगलवार बेनीमा मोनाका सचिब सुबोध बरुवालले स्वर्गीय पाईजाकी श्रीमती आसमायाँ पाईजा, छोरी एनिसा र छोरा अमितलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । स्वास्थ्यमा समस्या आएपछि गत मंसिरमा ५७ बर्षिय पाईजाको बहराइनमा नै निधन भएको थियो । सामाजिक कार्यमा समेत सक्रिय रहनुभएका पाईजा मोना बहराईनको सल्लाहकार समेत हुनुहुन्थ्यो ।

घरमुलीको प्रवासमै निधन भएको र आम्दानीको स्रोत गुमेपछि घरपरिवारको राहतका लागि मोना अन्तराष्ट्रियको बैठकबाट सहयोग उपलब्ध गराउने निर्णय भए बमोजिम उक्त सहयोग हस्तान्तरण गरिएको सचिब बरुवालले बताउनुभयो । आपतकालिन कोषबाट यस अघि कोरोना महामारीको समयमा जिल्लामा स्वास्थ्य सामाग्री सहयोग र प्रवासमा अलपत्र परेका जिल्लाबासीलाई नेपाल फर्काउने कार्यमा समेत सहयोग गरिएको मोनाले जनाएको छ