लोपोन्मुख मारुनी नाचको संरक्षणमा दरवाङबासी

दरबाङमा अवस्थित के।वि एकेडेमीको १९ औं स्थापना दिवस तथा सातौं करिवीर मेमोरियल फुटसल प्रतियोगिताको समापनको अवसरमा स्थानीय मगर समुदायका अगुवाहरुले प्रस्तुत गरेको लोपोन्मुख मारुनी नाचको प्रदर्शन गरेका छन् ।

पुसको चिसोको पर्वाह नगर्दै साँझपखको समयमा दर्शक श्रोताहरुले खचाखच भरिएको विद्यालय प्राङ्गणमा सवैले निकै उत्साहका साथ सो नाच अवलोकन गरेका थिए ।

पश्चिम म्याग्दीका मगर समुदायमा परम्परादेखि नै विभिन्न शुभकार्यमा देखाइने मारुनी नाचलाई अहिलेको पुस्ताले पनि नभुलोस् भन्नका लागि स्थानीय अगुवाहरुले बेलाबेलामा यो नाँच देखाउँदै आएका छन् ।

समुदायका विभिन्न शुभकार्य न्वारान, व्रतबन्ध, विवाहलगायत शुभकार्यमा देवीदेवताको आराधना गर्दै यो नाच नचाउने गरिन्छ । मगर समुदायको बसोबास रहेका पश्चिमी र उत्तरी म्याग्दीका विभिन्न गाउँहरुमा यो नाच प्रचलित छ । राम, सरस्वतीको आराधना गरेर गीत गाउने तथा मारुनी नचाउने गरिन्छ ।

पुरुषलाई महिलाको भेषमा सजाएर पौराणिक कथामा आधारित गीतका साथ मादलको तालमा नाचिने मारुनी नाच लोपोन्मुख अवस्थामा छ ।मगर समुदायमा यो नाच परम्परागत समयदेखि नै नचाइदै आएको र पछिल्लो पुस्ताले यसलाई जीवितै राख्न समय समयमा नचाउने गरिएको छ ।

मारुनी नाचमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुरसिङ्गे र छदेखि १० जनासम्म गायक हुन्छन् । गायकमा एक गुरु हुन्छन्, जसलाई मारुनी नाचका बारेमा सबै जानकारी हुन्छ । मारुनी नाचको मुख्य पात्र पुरुषलाई सिङ्गारपटार गरी महिलाको कपडा एवम् गहना लगाइदिइन्छ । मारुनी मादलेको अघि र पछि घुमेर नाच्छन् । नाचको पूरा अवधिसम्म एउटै मारुनीले मात्र नाच्छन् ।

पुरसिङ्गेले महिलाको कपडा लगाएको हुँदैन । यदि मारुनी नाचमा तीन मादले अथवा एक मात्र मारुनी छन् भने त्यहाँ पुरसिङ्गेलाई एक मादलेसँग नाच्ने जिम्मा दिइन्छ । पुरसिङ्गे एकपछि अर्को गर्दै नाच्न सक्छ । मादले कम्मरमा मादल भिरेर मारुनीसँगै नाच्छ । मारुनी नाच नेपालको परम्परागत नाच हो । पुरुषलाई महिलाको कपडा पहिराएर मारुनी बनाएर मादलको तालमा पुराना पौराणिक कथामा आधारित गीत गाएर नाचिने यो नाच नेपालका मगर, गुरुङ, तामाङ, लिम्बू जातिको मुख्य संस्कृति पनि हो ।

पछिल्लो समयमा युवा पुस्ता यसको संरक्षणमा लागेका छन् । संरक्षणसँगै गाउँमा पुगेका अतिथिलाई मारुनी नाचबाटै स्वागत गर्ने चलनसमेत बढ्दै गएको छ । मगर समुदायमा निकै लोकप्रिय मानिएको मारुनी नाच संरक्षणका लागि आफूहरु लागिपरेको जनप्रिय टोल विकास समितिका अध्यक्ष समेत रहनुभएका के।वि एकेडेमीका संचालक निर्देशक हिराबहादुर पुनले बताउनुभयो । जनप्रिय टोल विकास समूहले उक्त नाँच प्रदर्शन गरेको थियो ।

यस नाचमा पुरुषलाई चोलिया, कण्ठीया, टिकीया, सारी, फरिया, घलेकजस्ता परम्परागत भेषभूषाले सिँगारेर मारुनी तयार गरिन्छ । मारुनीसँगै नाच्ने पुरुषलाई पुर्छुङ्गे भनिन्छ । मारुनी नाचको गीत गाउने मुखियालाई रौरा भनिन्छ ।

मारुनी नाचको गीतमा ख्याली, मझौटे, झुमरी, डाँडी, रम्भायण, कृष्ण चरित्रलगायतका गीतहरू फरक–फरक लय र भाखामा गाउने गरिन्छ । ख्याली गीत रमाइलो गर्ने खालको गीत हो । यो गीतमा माया पिरतीका कुरा, राजामहाराजका गाथा, देवी देउताका कुरा, स्थान विशेषका कुरालाई जोडेर गाउने प्रचलन रहेको ७९ वर्षिय डकवहादुर पाइजा मगरले बताउनुभयो ।

मारुनी नाच नाच्ने घरको मुखियालाई गीत र नाचबाटै आशिष् दिने चलन छ । घरको मुखियाको जयजयकार गर्दै भलो चिताउँदै गीतका माध्यमबाट रमाइलो पारामा आशिक दिने परम्परा रहेको उहाँले बताउनुभयो ।