Friday, June 27, 2025
21.3 C
Beni
21.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 11

म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीलाई साइबर सुरक्षासम्बन्धी सचेतना

म्याग्दी बहुमुखी क्याम्पसको आइटी क्लवको आयोजनामा साइबर सुरक्षा, एआई टुल्स र बग बाउण्टीसम्बन्धी एकदिने सचेतनामूलक अभिमुखीकरण कार्यक्रमगरिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण प्रतिदिन बढ्दै गएका साइबर अपराधसम्बन्धी घटनाको न्यूनीकरणका लागि क्लवले आयोजना गरेको कार्यक्रमको क्याम्पस प्रमुख श्रीधर सुबेदीले उद्घाटन गर्नुभयो । प्रमुख अतिथि क्याम्पस प्रमुख सुबेदीले आधुनिक प्रविधिको प्रयोगसँगै सचेतनामुलक कार्यक्रमले विद्यार्थीहरुमा ज्ञान, सिप र क्षमताको विकासमा सहयोग पु¥याएको बताउनुभयो ।

उहाँले कृत्रिम बौद्धिकता अर्थात एआईको तीव्र विकासले चुनौती थपिएको अवस्थामा झनै जनशक्ति विकास, अध्ययन, अनुसन्धान, नवप्रवर्तन आवश्यकता रहेको बताउनुभयो । क्लवका अध्यक्ष सुनारले एआई टुल्सको प्रयोग, महत्व र सम्भावनाबारे प्रस्तुती गर्नुभएको थियो । 

त्यस्तै सूचना प्रविधिका विद्यार्थी बिबेक सापकोटाले साइबर सेक्युरिटी र बग बाउण्टीबारे जानकारी दिँदै अनलाइन सुरक्षाका चुनौती, ह्याकिङका प्रकार, तथा कसरी सामान्य प्रयोगकर्ताले पनि सुरक्षित इन्टरनेट प्रयोग गर्न सक्ने भन्नेबारे तथ्यपरक सहजीकरण गर्नुभएको क्लव सचिव सन्ध्या पौडेलले जानाकारी दिनुभयो ।

क्लवले ’कृत्रिम बौद्धिकता’ अर्थात् आर्टिफियिस इन्टिेलिजेन्स ( एआई )का बारेमा थप विभिन्न कार्यक्रम गर्ने जनाएको छ । क्लवका अध्यक्ष शेर बहादुर सुनारको अध्यक्षता तथा परिप्सा जिसीले स्वागत र सञ्चालन अविजित शाहीले सञ्चालन गर्नुभएको थियो ।

म्याग्दीका साहित्यकार सम्मान तथा कृति विमोचन

मुखिया जेमदग्नि पौडेल स्मृति सेवा केन्द्र बेनी नगरपालिका-५ मुलघरे पौडेल परिवारद्धारा कृति विमोचन एवं स्रष्टालाई सम्मान गरेको गरेको छ । बेनपा-४ सिंगामा आयोजित अक्षय कोष स्थापना,कृति विमोचन, सम्मान तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मदन पुरस्कार विजेता लेखक चन्द्रप्रकाश बानियाँ, प्रा.डा. हेमराज सुबेदी, गायक तथा साहित्यकार संरक्षक यादबप्रसाद शर्मा पौडेल, विश्व हिन्दु महासंघ म्याग्दीका निर्वतमन अध्यक्ष कृष्णप्रसाद शर्माले कृतिको संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो ।

सोही अवसरमा साहित्यकार एवम् लेखक चन्द्रप्रकाश बानियाँलाई ३१ हजार १११ रुपैयाँ, साहित्यकार नरबहादुर बिसी, डा.हेमराज सुबेदीलाई जनही २५ हजार १२५ रुपैयाँ, सम्मानपत्रले स्मृति सेवा केन्द्रका संरक्षक यादबप्रसाद शर्मा पौडेल,अध्यक्ष रामप्रसाद पौडेलले सम्मान गर्नुभएको थियो । सोही अवसरमा साहित्यकार अजयमिलन श्रेष्ठले कृतिको चर्चापरिचर्चा गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष अणबहादुर खड्का, मोहनबहादुर स्मृति साहित्य प्रतिष्ठानका अध्यक्ष केदारनाथ पौडेल, साहित्यकार धु्रबलाल शर्मा, रेखाकौशल रेग्मी, धौलागिरी माविका शिक्षक डण्डपानी सापकोटा,गणनाथ पौडेल, दिननाथ पौडेल, नारायणप्रसाद भट्टराई, म्याग्दी पुलाचौर समाज काठमाण्डौका अध्यक्ष डम्मरबहादुर केसीलगायतले बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो । सोही अवसरमा स्मृति सेवा केन्द्रले ११ लाख ११ हजार १११ रुपैयाँको कोष स्थापना गरेको छ ।

धौलागिरी मावि सिंगा,जनकल्याण मावि पुलाचौरलाई शैक्षिक तथा खेलकुद साम्रागी वितरण, जेष्ठ नागरिक दधिलाल पौडेल र कमलकुमारी भट्टचनलाई कदरपत्र र दोसल्लाले सम्मान गरिएको थियो । स्मृति सेवा केन्द्रका संरक्षक यादबप्रसाद शर्मा पौडेलको अध्यक्षता,सचिव देवीप्रसाद पौडेल स्वागत, अध्यक्ष रामप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा साहित्यकार, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि गरी २ सय जनाको सहभागिता रहेको थियो ।

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए ।

लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको छ । अहमदाबादको मेघानी क्षेत्रमा यात्रुसहितको विमान दुर्घटना भएको टाइम्स अफ इण्डियाले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

भारतको सरकारी समाचार एजेन्सी पीटीआईले सरदार बल्लभ भाइ पटेल विमानस्थल नजिक आगोको मुस्लो र धुवाँ उडिरहेको भिडिओ सार्वजनिक गर्दै विमान दुर्घटनाको पुष्टि गरेको छ ।

अनेरास्ववियुको २४औं महाधिवेशनमा सरकारी लिस्टविरुद्ध ‘जेन जी पुस्ता’ को विद्रोह

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुदै छ।

तर, यो महाधिवेशनमा एमालेको संस्थापन पक्षले डा। सुजन कडरियाको नेतृत्वमा तयार पारेको ‘आधिकारिक लिस्ट’ लाई लिएर तीव्र विवाद चर्किएको छ।

पार्टी नेतृत्वको निर्देशनमा आधारित उक्त लिस्टविरुद्ध अनेरास्ववियुका प्रतिनिधि र जेन जी पुस्ताले खुला विद्रोह शुरू गरेका छन्।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले पार्टी नेतृत्वको दबाब र निर्देशनले विद्यार्थी संगठनको स्वायत्तता र आन्दोलनको मर्ममाथि आघात पुगेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

विशेषगरी, अनेरास्ववियुमा भएका पदाधिकारीहरूले प्रकाश पौडेलले उमेरहदको मुद्दा उठाएकैकारण आफुहरू अनेरास्ववियुबाट विदाहुनुपरेको भन्दै प्रकाश पौडेल बिरूद्द घेराबन्दी गरेका छन् ।

जेन जी पुस्ताका विद्यार्थी कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूले आन्दोलनबाट नेतृत्व निर्माण हुनुपर्नेमा पार्टीको हस्तक्षेपले अनेरास्ववियुको साखमाथि नै प्रश्न उठेको बताएका छन्।

“हामीलाई नेतृत्व आन्दोलन र सङ्घर्षबाट चुन्ने अधिकार छ, पार्टीको निर्देशनबाट होइन,” एक प्रतिनिधिले भने।

उनीहरूले सरकारी लिस्टको बहिष्कार गर्दै स्वतन्त्र र सक्षम नेतृत्व चयनको माग राखेका छन्। पार्टी नेतृत्वले डा. कडरियाको टिमलाई आधिकारिक उम्मेदवारका रूपमा अगाडि सारे पनि प्रतिनिधिहरूले यो कदमले विद्यार्थी आन्दोलनलाई कमजोर बनाउने र दुर्घटनातर्फ लैजाने चेतावनी दिएका छन्।
“हामीले सङ्घर्षबाट बनाएको संगठनलाई पार्टीको स्वार्थको साधन बनाउन दिँदैनौं,” जेन जी पुस्ताका एक कार्यकर्ताले भने।

यो विद्रोहले अनेरास्ववियुको आन्तरिक लोकतन्त्र र स्वायत्तताको मुद्दालाई थप पेचिलो बनाएको छ। मतदान प्रक्रिया अगाडि बढ्दै गर्दा सरकारी लिस्टविरुद्धको यो अभियानले महाधिवेशनको परिणामलाई कसरी प्रभावित गर्छ, त्यो चासोको विषय बनेको छ। news24nepal.tv

मालिकाधुरी: यात्रा छोटियो, सास्ती घट्यो

आधा दशक अगाडीसम्म ओडार, सत्तल तथा टेन्टमा रात विताएर विहानै लाइनमा बसेर म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा पूजाआजा गर्नुपर्ने बाध्यता थियो । सडक र पैदलयात्रा गरी मालिकाधुरी पुगेर फर्किन दुई दिन लाग्थ्यो । भौगोलिक रूपमा विकट र दुर्गम मालिकाधुरीमा निर्मित सत्तल र ओडारमा बस्ने ठाउँ पाउनै मुस्किल हुन्थ्यो ।

म्याग्दीको मालीका, रघुगंगा र मंगला गाउँपालिकाका विभिन्न पदैलमार्गबाट मन्दिरमा जाने भक्तजनको ताँती देखिन्थ्यो । सडक सञ्जालबाट छोडेर साँधुरो बाटोमा घाँसको सहायतामा मन्दिरसम्म उक्लिने भक्तजनहरूलाई अहिले सडक सञ्जाल र पदमार्गको विस्तारसँगै निकै सहज भएको छ ।

आधा दशक अगाडीसम्म जोखिम मोलेर यात्रा गर्ने भक्तजनलाई अहिले निकै सहज भएको छ ।रातभरी खुल्ला आकाशमा विताएर पूजाआजा गर्नेहरु अहिले सडक सञ्जाल, पदमार्गका कारण उत्साहित छन् ।

विहानै सदरमुकाम बेनीबजार, जिल्लामा अन्य ग्रामिण क्षेत्रबाट मालिकाधुरी नजिकै पुगेको सडकसम्म सवारीसाधन राखेर करिब एक घण्टाको पैदलयात्रामा मन्दिरमा पुगेर पूजाआजा गरेसँगै फर्किन सकिन्छ । समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीमा मालिका गाउँपालिका–७,बिम र वडा नं ६ दरबाङको दुखु, रघुगङ्गा गाउँपालिका–६, ठाडाखानीबाट मालिकाधुरी नजिकै सडक पुगेको छ ।

‘सडक सञ्जाल छोडेर करिब एक घण्टाको पैदलयात्रा पछि मन्दिरमा पुग्न सकिन्छ । सडक बनेपछि रातमा आउने भन्दा धेरै पूजाकै दिन आउने गरेका छन्’मालिका क्षेत्र विकास संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाईजाले बताउनुभयो ।

अध्यक्ष पाईजाका अनुसार ज्येष्ठी पूर्णिमामा पूजाका लागि भक्तजनहरु बाहिरी जिल्लाबाट समेत उही दिन आएर फर्किएका थिए । मंगला गाउँपालिकाको कुहुँ, पुर्णगाउँ र थाईवाङ र हिँदीबाट पैदलमार्गको प्रयोग गरी आउने बाहेक अन्य रुटबाट आउने भक्तजनलाई सडक सञ्जालले मालिकाधुरीमा रात विताउनुपर्ने बाध्यता हटेको अध्यक्ष पाईजाको भनाई छ।

मालिकाधुरीमा पूजाआजाका लागि पुगेका बेनीका किरन कार्कीले अघिल्लो रात बास बस्नेभन्दा धेरै पूजाकै दिनमा पुग्नेको भिड रहेको बताउनुभयो । पहिले सडक छोडेर ३ घण्टासम्म पैदलयात्रा गर्नुपथ्र्यो, यसपटक एक घण्टामै मन्दिरमा पुगियो’ यूवा कार्कीले भन्नुभयो ।

मालिकाधुरीलाई मालिका गाउँपालिका र रघुगंगा गाउँपालिकाले प्राथमिकतामा राखेर सडक, खानेपानी सहित अन्य पूर्वाधार विस्तार गरेका छन् । अहिले मन्दिरमा मालिका र रघुगंगाले खानेपानी तथा अन्य पूर्वाधार समेत विस्तार गरिरहेको छ । मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले मालिकाधुरीका लागि हरेक बर्ष गाउँपालिकाले बजेट विनियोजन गर्ने गरेको बताउनुभयो ।

मालिकाधुरी जाने पर्यटकलाई सडकसँगै बिममा रहेको प्रभुचेला धुरी सहित अन्य धार्मिकस्थलको अवलोकनका लागि समेत गाउँपालिकाले प्राथमिकता दिएको छ ।त्यस्तै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले समुदायको समेत लगानीमा सडक सञ्जालको विस्तार तथा बजेटमार्फत मालिकामा जान सहज बनाइएको बताउनुभयो ।

मन्दिरमा सरकारी बजेट बाहेक ब्यक्तिगत रुपमा समेत लाखौं खर्चिएर मन्दिर तथा अन्य पुर्वाधार विस्तार भइरहेको छ । हाल पाखापानीकी थममायाँ पाईजाको परिवारबाट करिब २२ लाखभन्दा बढीको लगानीमा मन्दिर बनाउने काम भइरहेको छ । पुजाआजा बाहेक पर्यटक समेत घुम्न मालिकाधुरी पुग्ने गरेका छन् । एउटै चट्टानमा त्रिदेवी मालिका, कालिका र जालपा रहेको मालिकाधुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ। त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि भक्तजनहरू मालिकाधुरी पुग्छन् ।

कालिका र जालपकाको बीचमा मालिका मन्दिर छ । एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ। मन्दिर नजिकै चट्टानमा गणेशको पूजा गरिन्छ । आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा,चुरेन,पुथालगायतका दर्जनौँ हिमश्रृंखला देखिन्छन् । विसं १९१० देखि पूजाआजा हुने गरेको इतिहास रहेको मालिकामा पछिल्लो समय बलिको विकल्पमा नरिबल चढाउने चलन बसाइएको छ । भगवान् शिव र पार्वती भ्रमणमा आएका बेला पार्वतीको माला खसेकाले मालिका नाम रहन गएको किंबदन्ती रहेको छ।

 

विद्यार्थीलाई कपाल काट्ने तालिम

बेनी सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने तालिम सञ्चालन गरेको छ । बेनी नगरपालिकाको “हामी सक्छौँ, हामी गछौँ” कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सिप सिकाइएको हो । कक्षा ८, ९ र ११ मा पढ्ने २५ जना विद्यार्थीलाई उनीहरूको रुची अनुसार १५ दिने कपाल काट्ने तालिम सञ्चालन गरेको विद्यालयका प्रधानअध्यापक दीपक श्रेष्ठले बताउनुभयो ।

“विद्यार्थीको माग र रुची अनुसार कपाल काट्ने तालिम छनोट गरिएको हो,” उहाँले भन्नुभयो, “यही जेठ २६ गतेदेखि सुरु भएको तालिम असार १० गतेसम्म सञ्चालन गर्छौँ ।” विद्यार्थीलाई बेनीका अभिशेक श्रेष्ठले कपाल काट्ने तालिम दिइरहनु भएको छ ।

दिउँसो ४ बजे विद्यालयको नियमित कक्षाको पठनपाठन सकिएपछि दुई घण्टाका दरले तालिम सञ्चालन गरिएको छ । तालिममा सहभागी कक्षा ११ का छात्र सुयोग रेग्मीले घरपरिवारका सदस्यको कपाल काटेपनि खर्च बचत हुने र भविष्यमा व्यवसाय सञ्चालनका लागि सिकेको सिपले सहज हुने बताउनुभयो ।

प्रअ श्रेष्ठका अनुसार बेनीमा सार्वजनिक बिदाका दिनमा सैलुनमा कपाल काट्न घण्टाैँसम्म कुरेर पालो पर्खनुपर्छ । विद्यार्थीले सिकेको सिपको सदुपयोग गरेर सामुहिक व्यवसाय सञ्चालन गर्न चाहेमा विद्यालयले सटर उपलब्ध गराउने प्रअ श्रेष्ठले बताउनुभयो ।

“गत वर्ष प्लम्बिङ र अघिल्लो वर्ष कपाल काट्ने तालिम दिइएको थियो,” उहाँले भन्नुभयो “विद्यालयले प्लम्बिङ, हेयर कटिङ र वायरिङसम्बन्धी सेवा दिन आफ्नै भवनको सटरमा पसल खोल्ने योजना छ ।”

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सिप सिकाएर विद्यार्थी र शिक्षालाई श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा हामी सक्छौँ, हामी गर्छौँ कार्यक्रमका लागि एक/एक लाखका दरले १६ लाख बजेट विनियोजन गरेको छ ।

बिहान बेलुकी विद्यार्थीको अनुकुल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब ५०० जना विद्यार्थी सिपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ । रासस

जेष्ठी पूर्णिमामा मालिकाधुरीमा ४ हजारबढी भक्तजनले दर्शन गरे, ८२ हजार भेटी संकलन

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा जेष्ठी पूर्णिमामा ४ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । म्याग्दीको मालीका, रघुगंगा र मंगला गाउँपालिकाको सिमानामा समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीमा म्याग्दीका साथै बागलुङ, पर्वत, कास्की, बुटवल लगायतका क्षेत्रबाट भक्तजनले पदैल र यातायातका सवारीसाधनमा पुगेर भक्तजनले पूजआजा गरेको मालिका क्षेत्र विकास संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाईजाले बताउनुभयो ।

‘अनुकुल मौसम भएकाले भक्तजनहरुको भिड थियो, भक्तजनलाई आवतजावतमा सास्ती नभएकाले पनि बर्षेनी बढ्दै छन्’ अध्यक्ष पाईजाले भन्नुभयो ।

मन्दिरमा ८२ हजार दानभेटी संकलन भएकोमा पूजाआजामा खटिएका सहित विविध खर्च कटाएर बाँकी रहेको ३६ हजार ५ सय बैंक खातामा जम्मा गरिने अध्यक्ष पाईजाले बताउनुभयो । मन्दिरमा दर्शन गर्न आउनुभएका बागलुङङा अर्जुन सापकोटाले खानेपानीका लागि २५ हजार र बुटबलबाट दिलकुमारी तुलाचनले ६ हजार सहयोग गर्नुभएको छ ।

मन्दिरमा संकलन भएको भेटीबाट मन्दिरमा आवश्यक पर्ने विभिन्न क्षेत्रमा खर्च गरिन्छ ।एउटै चट्टानमा त्रिदेवी मालिका, कालिका र जालपा रहेको मालिकाधुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ ।

त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि भक्तजनहरू मालिकाधुरी पुग्छन् । कालिका र जालपकाको बीचमा मालिका मन्दिर छ । एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ।मन्दिर नजिकै चट्टानमा गणेशको पूजा गरिन्छ ।

आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमश्रृंखला देखिन्छन् ।मन्दिरको चारैतिरबाट सडक सञ्जाल छोडेर करीब साढे तीन घण्टाको यात्रामा पुगिने मालिका मन्दिरलाई धार्मिकसँगै पदयात्राका लागिसमेत सुन्दर गन्तव्यका रुपमा विकास गर्न मालिका र रघुगंगा गाउँपालिकाले सडक सञ्जाल विस्तार गरेकाले करिब एक घण्टाको पैदलयात्रामा पुगिन्छ ।

नेपालको चुनौतिपुर्ण विद्युत ब्यापारको अवसर

इ. बिनोद शर्मा
नेपालमा उर्जा आपूर्तिको अवस्थाः
नेपालमा सन् २०२३ मा झण्डै १८ अर्ब युनिट बराबरको भएकोऊर्जा खपतमा झण्डै ६४% ऊर्जा खपत परम्परागत इन्धनः काठको दाउरा, पशुको गोबर र कृषि अवशेषहरूको नै भएको देखिन्छ । त्यस्तै व्यावसायिक जीवाश्म ईन्धन करिब २६% खपत हुदा विद्युत भने जम्मा ७% खपत भएको देखिन्छ । नवीकरणीय ऊर्जाः सौर्य, वायु, लघुजलबिधुत, जैविक ग्यास लगायत कुल खपतको झण्डै ३%मा पुगेको छ ।

नेपालको ऊर्जा आपूर्ति को मिश्रण अरु देशको तुलनामा पृथक देखिन्छ । हाम्रो जीवाश्म ईन्धनको खपत घटाउनु त छदैँछ त्यो भन्दा पनि हामीकहाँ परम्परागत ऊर्जा खपतलाई आधुनिक नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर्ने मुख्य चुनौती रहेको छ । करीब करीब शतप्रतिशत विद्युत नवीकरणीय ऊर्जाबाट उत्पादन गर्ने नेपालले अझै पनि आवासीय, उद्योग तथा यातायात क्षेत्रमा ठूलो मात्रामा जीवाश्म ईन्धन प्रयोग गरिरहेको छ । देशको कुल ऊर्जा खपतमा करिब ६१% आवासीय प्रयोजनमा खपत हुने हुँदा हाम्रो ऊर्जा रूपान्तरण हाम्रो जीवनशैलीमा प्रत्यक्ष निर्भर रहिरहेको छ ।त्यसैले पनि हाम्रो ऊर्जा रूपान्तरण थप चुनौतीपूर्ण बनिरहेको छ ।

नेपालको उर्जा निर्यात सम्भावना
नेपालले सन् २०२३ मा कुल आयात करिब १६१२ अरब नेपाली रुपैँया मध्ये ३४५ अरबको ऊर्जा तथा ऊर्जा स्रोत भारतबाट आयात गरेको देखिन्छ । जुन कुल आयातको २१।४% हो । ऊर्जा आयातमा सबैभन्दा बढी ३०७ अर्ब बराबरको पेट्रोलियम आयात भएको देखिन्छ जुन कूल ऊर्जा आयातको ८९% हो । विगतका वर्षहरूमा कम आयात हुने कोइला सन् २०२१ को तुलनामा झण्डै ४ गुणाले बढि करिब २१ अरब पुगेको देखिन्छ । नेपालले १६।८ अर्बको विद्युत आयात र इतिहासमै पहिलो पटक करिब १६।९ अर्ब को विद्युत भारत निर्यात पनि गरेको थियो । यसरी सन् २०२३ मा नेपालको कुल व्यापारको झन्डै २०।४५% व्यापार ऊर्जाको रहेको देखिन्छ ।

क) जलविद्युतको राम्रो सम्भाव्यता
नेपालको जलस्रोतका आधारमा नेपालमा करिब ४३,००० मेगावाट जलबिद्युतको सम्भाव्यतो रहेको भनिन्छ । एक अनुसन्धान पत्रको आधारमा उच्च आर्थिक वृद्धि कायम रहने तथा विभिन्न क्षेत्रमा विद्युतको व्यापक प्रयोग हुदैजाने उच्च वृद्धिको परिदृश्य अनुसार पनि सन् २०५० सम्ममा नेपालको कुल ऊर्जा माग ८४७ पेटा जुल (करिब २८,६०० मेगावाट बराबर) मात्रै पुग्ने देखिन्छ । तसर्थ आर्थिक तथा प्राविधिक रुपमा सम्भव जलविद्युत आयोजनाहरु निर्माण गर्न सकेमा ठुलो मात्रमा अन्तर्राष्ट्रिय ऊर्जा निर्यात व्यापार सम्भव देखिन्छ ।
ख) समिपमा ऊर्जाको ठूलो अतृप्त माग
बिश्वकै सबैभन्दा बढी जनसंख्या भएका देश चीन र भारतमा उर्जा मागको वृद्धिदर तुलनात्मक रूपमा बढि देखिन्छ । यी देशहरुमा अमेरिका र युरोप भन्दा नवीकरणीय ऊर्जा, आणविक उर्जा र प्राकृतिक ग्यासबाट उत्पादित विद्युत कम छ ।आफ्नो अधिकांश विद्युत माग कोइला बाट परिपूर्ति गरिरहेका विश्वकै ठूला देश हाम्रा छिमेकमा रहेकोले नवीकरणीय ऊर्जा व्यापारका लागि एउटा राम्रो सम्भावना देखिन्छ । विश्वको ऊर्जा रूपान्तरणको लक्ष्य प्राप्तिकै सूचकहरुमा ठुलो प्रभाव पारिरहेका चीन र भारतको ऊर्जा रूपान्तरण सहज छैन । तसर्थ नेपालका लागि नवीकरण ऊर्जा निर्यातको व्यापार दिगो बन्न सक्ने सम्भावना देखिन्छ ।
ग)सीमित ऊर्जा बजार
देशको उर्जा खपतमा देशको अर्थतन्त्र, प्रतिव्यक्ति आय, विद्युत विस्तार, आधुनिक जीवनशैलीको ग्राह्यता, व्यापारिक तथा औद्योगिक क्षेत्रको बिस्तार, यातायात तथा कृषिको विद्युतीकरणले मुख्य प्रभाव पारिरहेका हुन्छन । नेपाल हाल प्रतिव्यक्ति ऊर्जा खपतका आधारमा एक न्यून ऊर्जा खपत गर्ने देशमा पर्दछ ।वास्तवमा राजनीतिक अस्थायित्व, पर्याप्त लगानी पुँजीको अभाव, युवा तथा दक्ष जनशक्तिको वहिर्गमन जस्ता विविध विषयले देशमा उद्योगधन्दा, व्यवसाय चलायमान हुन नसक्दा विद्युतको माग अपेक्षाकृत रूपमा बढ्न सकिरहेको छैन । अझ सन् २०२२ को तुलनामा सन् २०२३ मा कुल ऊर्जा खपत झण्डै १७%ले घटेको देखिन्छ ।
घ)नविकरणीय ऊर्जा बाध्यात्मक
वायुमण्डलमा हरितगृह ग्यासको उत्सर्जन सीमित गर्न तथा जलवायु परिवर्तन सम्बन्धी लक्ष्यहरूको प्राप्ति नवीकरणीय उर्जाको प्रयोगबाट मात्रै संभव भएको महसुस गरी अन्तर्राष्ट्रिय नीति नियमहरू बाध्यात्मक बनिरहेका छन्। वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जनलाई सीमित गर्न तथा जलवायु परिवर्तन नियन्त्रण गर्न विश्वले राखेका लक्ष्यहरूको प्राप्तिको कार्यसम्पादन निरन्तर अपेक्षित नभएपछि नवीकरणीय ऊर्जामा अन्तर्राष्ट्रिय निकायहरु थप कठोर बन्न सक्नेछन् ।
उर्जा निर्यातमा चुनौतिहरुः
क) कमजोर अर्थतन्त्र
ऊर्जा क्षेत्र एक ठूलो लगानी चाहिने र प्रतिफल बिस्तारै आउने क्षेत्र हो । एउटा प्रतिवेदनका अनुसार प्रति मेगावाट जलविद्युत उत्पादनका लागि करिब २२ करोड नेपाली रुपैयाँ लाग्ने देखिन्छ । जलाशययुक्त आयोजनामा यो रकम अझ बढी हुने गर्दछ । त्यसकारण कमजोर अर्थतन्त्र भएको नेपालका लागि पर्याप्त लगानी जुटाउनु नै ऊर्जा उत्पादनको प्रमुख चुनौती रहेको छ ।
ख) जलवायु परिवर्तनको प्रभाव
जलवायु परिवर्तनको असर उर्जाका स्रोतहरु मध्ये सबैभन्दा बढी जलविद्युतमा पर्ने देखिन्छ । जलवायु परिवर्तनले अनावृष्टि, अतिवृष्टि तथा बेमौसमी झरी गराई हाइड्रो पावरको उत्पादन तथा नदि किनारमा हुने भौतिक संरचनामा ठूलो असर पर्ने देखिन्छ । विशेषगरीप्रमुख नदीहरु हिमालबाट नै आउने हाम्रो देशमाउच्च तापक्रम वृद्धिले हिमालमा हिउँको मात्रा घट्दै गई नदीमा जल प्रवाह क्रमश कम हुने देखिन्छ। एउटा अध्ययनका अनुसार पृथ्वीको उच्च तापक्रम वृद्धिले तीव्र गतिमा हिउँ पग्लिएका कारण यो शताब्दीको अन्त्यसम्ममा उच्च उत्सर्जन परिदृष्टिमा हिमालबाट हालको तुलनामा ८०% हिउँ पग्लने देखाएको छ ।
ग) भौगोलिक अवस्थिति
नेपालको भौगोलिक अवस्थितिका कारण पनि नेपालको ऊर्जा व्यापार चुनौतीपूर्ण छ । भूपरिवेष्ठित राष्ट्र नेपालले तेस्रो मुलुकसँग कुनै प्रकारका व्यापारिक सम्झौता गर्न भारतको सहमति आवश्यक रहन्छ । त्यसकारण पनि नेपालको अन्तर्राष्ट्रिय ऊर्जा व्यापारको बजार भारतमा सिमित छ ।
घ) परनिर्भरता
नेपालसँग जल बिद्युत उत्पादनमा झन्डै सय वर्ष बढीको अनुभव भएता पनि ठूला जलविद्युत परियोजना निर्माण नहुदा दक्ष जनशक्ति तथा पुँजीमा पूर्णतया बाह्य देशमा निर्भर रहदा समयमा परियोजना सम्पन्न नहुने, लगानी सुनिश्चितता नहुने, प्रविधि हस्तान्तरण उचित ढंगले समयमा नहुने जस्ता समस्याहरु देखिरहेका छन् । दूरदर्शी राजनीतिक नेतृत्व र अभ्यासको कमिका कारण दीर्घकालिन सम्झौताहरुमा चुक्न पुग्दा पनि विद्युत उत्पादन थप सुस्त बनेको छ ।

अतः दुई ठूला देशहरूको बिचमा रहेको नेपाल ऊर्जा व्यापारका लागि पनि राजनीतिक तटस्थताको सिद्धान्त आत्मसात गर्दै कूटनीतिक हुनुपर्ने बाध्यता छ ।तसर्थ सम्भव देखिने जलबिद्युतको सुनौलो भविष्यको सपनालाई ध्यानमा राखी विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आजको आवश्यकता रहेको छ ।

अध्यक्ष प्रचण्डद्वारा मुस्ताङमा पार्टी भवन शिलन्यास

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङमा पार्टीको भवन शिलन्यास गर्नुभएको छ । दुई दिने भ्रमणका लागि मुस्ताङ आउनुभएका अध्यक्ष प्रचण्डले  घरपझोङ गाउँपालिकाका–४,जोमसोममा दुई तले पार्टी भवनको शिलन्यास गर्नुभएको हो । पार्टी भवन शिलन्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले मुस्ताङको समस्यालाई सम्बन्धित निकायको ध्यानार्कषण गराउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मेरो मुस्ताङ भ्रमण अविस्मरणीय रह्यो, यहाँका जनताले भोगेका समस्याका बारे मैले निरन्तर खवरदारी गर्ने छु ।’’ अध्यक्ष प्रचण्डले जलवायु परिवर्तनको असरलाई मुस्ताङमा आएर नजिकबाट महसुस गर्न पाएको बताउनुभयो । उहाँले पार्टीको गतिविधिलाई सहज बनाउन समेत भवनसहितको संरचना आवश्यकता हुने बताउनुभयो ।

मुस्ताङ भ्रमणको क्रममा उहाँले पार्टीको जिम्मेवारी सम्हालेकालाई सपथग्रहण, कार्यकर्ता प्रशिक्षण, जनभेटघाट, अवलोकनसहित जिल्लामा भइरहेका विकास निर्माणका बारेमा अवलोकन गर्नुभएको थियो । अध्यक्ष प्रचण्ड आजै फर्किने कार्यक्रम रहेको छ ।  उहाँसँग नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, उपमहासचिव शक्ति बस्नेत, नेकपा (माओवादी केन्द्र)का सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज दीनानाथ शर्मा लगायतका नेताहरू रहनुभएको छ ।

दूध र मह बिक्रीबाट मनग्य आम्दानी

बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जस्को कृषि कर्म साँच्चिकै लोभलाग्दो छ । आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा व्यावसायिक घाँसखेती । यसैबाट गाउँमै सम्भावना खोजिरहनुभएको छ, रघुनाथ पौडेल ।

उमेरले ६२ वर्ष पुग्नुभएका पौडेल र उहाँका ३३ वर्षीय छोरा राजन पौडेल दिनभर गाईभैँसीको स्याहार र दूध व्यवस्थापनमा व्यस्त हुनुहुन्छ । गाईभैँसीपालन, तिनको मलबाट व्यावसायिक घाँसखेती गर्दै आउनुभएका पौडेल परिवारसँग प्लाष्टिक टर्नेलदेखि तोरी पेल्ने र कुटानी–पिसानी गर्ने मिलसमेत छ ।

बाउछोरा मिलेर पाँच वर्षयता दूध र मह उत्पादन गर्दै आउनुभएको छ । गाउँमा बसाइँसराइले बाँदर आतङ्क भएपछि अन्नबालीसमेत कम उत्पादन हुन थालेको छ । परम्परागत कृषिकर्म गरेर छोराछोरीलाई हुर्काउनुभएका रघुनाथ भने छोराकै साथले कृषि र पशुपालन कर्मलाई व्यावसायिक बनाइराख्नुभएको छ ।  “गाउँ रित्तियो, सम्पत्ति भएका त सहरबजार सरे, हामी बाउछोरा यही गाउँमा केही गर्नुपर्छ भनेर लागेका छौँ”, बुबा रघुनाथले भन्नुभयो, “हाल छवटा मुर्रा भैँसी र तीनवटा गाईपालन गरेका छौँ । आँगनमा ३० वटा मौरीका घार छन्, दुई प्लाष्टिक टनेल, १० रोपनी जग्गामा घाँसखेती र तेल पेल्ने र कुटानी–पिसानी गर्ने मिल छ । यीमध्ये मासिक एक लाख २० हजार त दूध बिक्रीबाटै कमाइन्छ ।” गाईभैँसी र पाडापाडीका लागि आवश्यक अन्न कुट्न र पिस्नका लागि घरमै कुटानी–पिसानी मिल सञ्चालन गरिरहेको उहाँले सुनाउनुभयो ।

पाँच वर्षअघिसम्म चितवनमा जग्गा भाडामा लिएर माछापालन गर्दै आउनुभएका ३३ वर्षीय छोरा राजनलाई गाउँका अन्य युवा जस्तै विदेश हिँड्न मन लागेको छैन, बरु गाउँमै व्यावसायिक कृषक बन्ने सोच आएको छ । बुबाको परम्परागत कृषि र पशुपालनलाई व्यावसायिक बनाउने सोचका साथ काममा खटिएको उहाँको भनाइ छ । “हाल दैनिक ४० लिटर दूध बागलुङ बजारमा पठाउँदै आएका छौँ । छिस्ती पाडापाडी तथा भैँसीपालन फार्म स्थापना गरेर कृषि र पशुलापन गर्दै आएका छौँ । यसले पाडापाठीको संरक्षण र आम्दानी दुवै भइहेको छ, यसैमा खुसी छु”, राजनले भन्नुभयो ।  हाल फार्ममा छ पाडी, एक पाडो र दुई गाईका बाच्छा हुर्कंदै गरेका छन् । यी सबै हुर्किए र उत्पादान सुरु भएमा थप व्यवसाय विकासमा योगदान पुग्ने उहाँको विश्वास छ ।

बाँदरको आतङ्कपछि स्थानीयले खेतमा बाली लगाउन छाडेका छन् । त्यसैले पौडेल बाउछोराले १० रोपनी जग्गामा व्यावसायिक बहुवर्षे घाँसखेती गर्नुभएको छ । यसबाहेक वार्षिक डेढ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्दा रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको राजनले जानकारी दिनुभयो । रासस