


बागलुङको धौलागिरी अस्पताल १५ वर्षपछि स्तरोन्नती भएको छ । २०६७ सालमा जिल्ला अस्पतालबाट ५० शैयाको धौलागिरी अञ्चल अस्पतालको रूपमा सञ्चालनमा आएको अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ वर्षपछि सय शैयामा स्तरोन्नती गरेको छ ।
२०६७ सालमा जिल्ला अस्पतालबाट अञ्चल अस्पताल भएपछि विशेषज्ञ सेवा दिदै आएको अस्पतालले स्तरोन्नतीसंगै विशिष्टीकृत सेवा दिन थालेको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ड डा. किरण तिवारीले जानकारी दिनुभयो ।
५० शैयाको अस्पतालबाट स्तरोन्नती नहुँदा अस्पतालमा अहिले सम्म दरबन्दी थपिन सकेको थिएन । गत वर्षनै नर्सिङ पढाउने गण्डकी प्रदेश सरकारको घोषणा भएपनि अस्पताल स्तरोन्नती नहुँदा नर्सिङ पढाउन समस्या भएको बताउदै स्तरोन्नती पश्चाता नर्सिङ पढाउन बाटो खुलेको डा. तिवारीले जानकारी दिनुभयो ।
“अहिलेपनि १२६ शैयामा विरामीको उपचार गरेका छौैं, तर नीतिगतरूपमा ५० शैयाको मात्रै हुँदा समस्या थियो, दरबन्दी बढ्दा सेवामा सहजता आउछ” तिवारीले भन्नुभयो “एक सय शैंयामा स्तरवृद्वि गरेपछि अस्पतालमा दरबन्दी थपिने छ भने स्वास्थ्य क्षेत्रमा गुणस्तर थपिने छ, मुख्यकुरा नर्सिङ पढाउनका लागि एक सय शैयाको अस्पताल हुँनुपर्ने थियो, स्तरोन्नती भएपछि सहज हुँनेछ ।”
तिवारीका अनुसार अहिले अस्पतालमा २२ जना विशेषज्ञ र १० जना मेडिकल अधिकृत कार्यरत रहेका छन् । विसं. २०१५ सालमा धौलागिरी अस्पताल डिस्पेन्सरीको रुपमा स्थापना भई २०१६ सालमा स्वास्थ्य केन्द्रमा स्तरोन्नती गरिएको थियो । पछि २०३३ सालदेखि यो अस्पतालले बागलुङ जिल्ला अस्पतालको रुपमा आफ्नो सेवा सञ्चालन गरेको थियो ।
अस्पतालको स्तरवृद्धि गरेपछि नर्सिङ कक्षा चलाउन आगमी वर्षमा बजेट समेत व्यवस्थापनको काम गरिने गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले ९ अस्पतालको एकमुष्ठ स्तरोन्नती गर्ने निर्णय अनुसार धौलागिरी अस्पताल स्तरोन्नती गरिएको छ ।
गण्डकी प्रदेशको २०८२ जेठ १२ गते बसेको बैठकले ९ वटा अस्पतालहरूको स्तरोन्नती गर्ने निर्णय गरेको हो । सरकारले अस्पतालहरूको कर्मचारी संरचना र शैया संख्यासमेत निर्धारण गरेको छ । धौलागिरी अस्पतालमा कर्मचारी दरबन्दी ९९ पुगेको छ ।
यस अघि बागलुङकै धौलागिरि आयुर्वेद अस्पताल र गण्डकी आयुर्वेद अस्पताल २५ शैयामा स्तरोन्नति गर्ने निर्णय भइसकेको छ । धौलागिरी आयुर्वेद अस्पताल स्तरोन्नती पशिछको सेवा दिने तयारीमा रहेको स्वास्थ्य मन्त्री कृष्ण पाठकले जानकारी दिनुभयो । नयाँ विश्व
२०७८ को पुस महिना पोखराको मणिपाल मेडिकल कलेजका विद्यार्थीहरूका लागि अविस्मरणीय बन्यो । तत्कालीन अनेरास्ववियु गण्डकीका अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा भएको ३१ दिने आन्दोलनले मेडिकल शिक्षा क्षेत्रमा ठूलो तरंग ल्याएको थियो ।
पोखरा स्थित मणीपाल मेडिकल कलेजले कोरोना महामारीपछिको संकटमा ८० भन्दा बढी विद्यार्थीहरूलाई प्रतिव्यक्ति ६ लाखभन्दा बढी शुल्क वृद्धिको बिल थमाएपछि विद्यार्थीहरू आक्रोशित बने अवस्था आएको थियो ।
यही अन्यायविरुद्ध पौडेलले सशक्त आवाज बुलन्द गरे, जसले गण्डकी प्रदेशको मेडिकल शिक्षा क्षेत्रमा एउटा नयाँ इतिहास लेख्यो । पौडेल त्यतिबेला गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधु अधिकारीसँग स्वास्थ्य क्षेत्र सुधारका माग राखिरहेका थिए । सोही बेला मणिपालका विद्यार्थीहरूले उनलाई फोन गरेर शुल्क वृद्धि र प्रशासनको दबाबको बारेमा जानकारी दिए ।
पौडेल तत्काल मणिपाल शिक्षण अस्पताल पुगे र विद्यार्थीहरूसँग छलफल गरे । कलेज प्रशासनले चर्को शुल्क लिएर विद्यार्थीहरूलाई मानसिक दबाब दिएको तथ्य बाहिरिएपछि उनले आन्दोलनको नेतृत्व गर्ने निर्णय लिए । मणिपाल मेडिकल कलेजको गेटमा ३१ दिनसम्म चलेको आन्दोलनले देशैभर चर्चा पायो ।
पौडेलको नेतृत्वमा एकजुट भएका विद्यार्थीहरूले शुल्क वृद्धिको विरोधमा नारा लगाए, धर्ना दिए र प्रशासनको अन्यायपूर्ण कदमविरुद्ध सशक्त प्रदर्शन गरे । कलेज प्रशासनले आन्दोलन दबाउन विभिन्न दबाबका रणनीति अपनायो । पार्टी नेताहरूको प्रभावदेखि अन्य क्षेत्रका शक्तिशाली व्यक्तिहरूलाई प्रयोग गरेर पौडेलमाथि दबाब सिर्जना गरियो । तर, पौडेलले हार मानेनन् ।
उनले विद्यार्थीहरूलाई एकताबद्ध राख्दै आन्दोलनलाई निरन्तरता दिए । यो आन्दोलनको परिणाम स्वरूप मणिपाल मेडिकल कलेजले थमाएको अनावश्यक शुल्क खारेज गर्न बाध्य भयो । विद्यार्थीहरूले राहतको सास फेरे । पौडेलको नेतृत्वमा भएको यो आन्दोलन पछिल्लो दशककै मेडिकल कलेज सञ्चालकविरुद्धको सबैभन्दा सफल आन्दोलन मानिन्छ । यो घटनाले पौडेललाई मेडिकल क्षेत्रका विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनाएको छ ।
आज पनि मणिपालका विद्यार्थीहरू पौडेललाई सम्मानका साथ सम्झिन्छन् । उनको साहस र नेतृत्वले मेडिकल शिक्षामा व्याप्त शुल्कको मनपरीविरुद्ध लड्न सकिन्छ भन्ने सन्देश दिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,शिख पुख्यौली घर भएकी अभिनेत्री दीया पुनले युरोपको सबभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसको सफल आरोहण गर्नुभएको छ । मंगलबार बिहान १० बजे ५,६४२ मिटर उचाइको हिमालको शिखरमा पुगेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । त्यहाँ आरोही पुनले नेपालको झन्डा फहराउनुभएको छ ।
यसअघि दीयाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित अफ्रिकाको सबभन्दा अग्लो हिमाल किलिमन्जरो, दक्षिण अमेरिका महादेशको अकोनकागा हिमाल र नेपालकै मनास्लु हिमाल आरोहण गरिसक्नुभएको छ ।
सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली अभिनेत्री समेत रहेकी दीयाले आफू ७ महादेशका सबै अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहनुभएको छ ।
बेलायतमा नर्सिङ पेशामा समेत संलग्न आरोही पुनले नेपाली चलचित्रहरू ‘वीर विक्रम’, ‘ह्याप्पी डेज’, ‘मिस्टर झोले’, ‘दयारानी’ र ‘मन्त्र’मा अभिनय गरिसक्नुभएको छ । दीयाको पछिल्लो समय फिल्म ’दयारानी’ सुपरहिट बनेको थियो। दीया अभिनीत आगामी फिल्म ’एक्लो’ प्रदर्शनको तयारीमा छ। यो फिल्ममा अन्तरीक्षयात्रीको भूमिका निर्वाह गर्नुभएको छ ।
जापानमा शरीरमा रगत उत्पादन नहुने रोग (बोनम्यारो एनिमिया) बाट पीडित एक म्याग्देलीको थप उपचार भारतमा भइरहेको छ । म्याग्दीको मालिका गाउँपालिका–४, घर भएका २३ बर्षिय चोकबहादुर बुढाथोकी रगत सम्बन्धी समस्याबाट पीडित भएपछि जापानमा खर्चिलो उपचारका लागि आर्थिक अभाव भएसँगै भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा भर्ना गरी उपचार भइरहेको छ ।
जापानस्थित फुकुओका इन्टरनेशनल अनिमेसन कलेजमा अध्ययनरत बुढाथोकीलाई अचानक शरीरमा रगत उत्पादन नहुने समस्याबाट देखिएपछि मोना जापान सहित नेपालीहरुको आर्थिक सहयोगमा फुकुओकास्थित हारा सानसिन हस्पिटलमा उपचार गरिएको थियो । उक्त अस्पतालमा उपचार महँगो भएसँगै बुढाथोकीलाई भारत ल्याइएको आफन्तको भनाई छ ।
हाल उपचारको क्रममा एलर्जि र ज्वरोले समस्या भएको आफन्तको भनाई छ ।
जापानबाट भारतमा ल्याएको समेत करिब २ महिना वितिसक्न लागेको छ । बुढाथोकीको उपचारका लागि १५ लाख भारु जम्मा गरेपछि उपचार प्रक्रिया अगाडी बढेपनि थप उपचारका लागि आर्थिक समस्या भएकाले सहयोग गर्न आफन्त एवम् मोना यूएईका महासचिव काजिमान बुढाथोकीले बताउनुभयो ।
हालसम्म आफन्त र सहयोग जुटाएर उपचार भइरहेको भएपनि थप आर्थिकको आवश्यकता रहेकाले उपचारमा सघाउन अनुरोध गरिएको छ । बोनम्यारो ट्रान्सप्लान्ट गर्ने पर्ने भएकाले उक्त उपचारका लागि ३० देखि ४० लाख नेपाली रुपैयाँ लाग्न सक्ने अनुमान गरिएकाले बुढाथोकीको जीवन रक्षाका लागि मोना जापानले समेत अपिल गरेको छ ।
नेपालमा सहयोगको लागी
दिदि
निर्मला बुढाथोकी
प्रभु बैंक
-०७६०२८०२०३८०००११
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोतको उचित व्यवस्थापन र परिचालन गरेर मुलुकमा आर्थिक परिर्वतन ल्याउन सकिने धारणा राख्नुभएको छ ।
म्याग्दी हुँदै मुस्ताङ जाने क्रममा आज बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ–तातोपानी, रुप्से झरना र अन्धगल्छीको अवलोकनपछि जनप्रतिनिधि र स्थानीयसँग अन्तर्क्रिया गर्दै उहाँले प्राकृतिक स्रोतलाई उचित व्यवस्थापन गरी पर्यटन प्रवर्धनको आधार बनाउन सकिने सम्भावना रहेको बताउनुभयो ।
“चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको कालीगण्डकी काेरिडोर सडकको अवस्था, प्राकृतिक स्रोतको सम्भावना र परिचालनका विषयमा छलफल, पूर्वाधार विकासको आवश्यकता तथा जनताका समस्या बुझ्न पोखराबाट सडक मार्ग हुँदै मुस्ताङ जाने निर्णय गरेको हुँ”, उहाँले भन्नुभयो, “म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका मुहानलाई संरक्षण, प्रवर्धन र व्यवस्थित गरेर स्वास्थ्य पर्यटनको विकास गराउन सकिने सम्भावना देखेको छु ।”
कालीगण्डकी र आसपासका नदीहरूमा निर्माण भइरहेका जलविद्युत् आयोजनामा रोजगारीका अवसर सृजना हुनुका साथै हिमाल, झरना र रमणीय दृष्यावलोकनमा पर्यटकको आकर्षण बढाउन प्राकृतिक सम्पदाको पहिचान, प्रवर्धन र विकास गर्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभयो । पर्यटन प्रवर्धनमार्फत नागरिकको आर्थिक अवस्थामा परिवर्तन ल्याउन सकिने उहाँको भनाइ छ ।
भुरुङ–तातोपानी कुण्डमा स्नान गरी अध्यक्ष दाहालले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, पूर्वअध्यक्ष डमबहादुर पुन, स्थानीयवासीलगायत नेताकार्यकर्तासँग अन्तर्क्रिया गर्नुभएको थियो ।
अन्तर्क्रियाका क्रममा स्थानीयवासीले बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रण तथा कटान रोकथाम गरेर सुरक्षित रूपमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन माग गरेका थिए ।
अध्यक्ष दाहालले रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिलाई पूर्णता दिन, पहिरो तथा नदी कटान रोकथाम गर्न र कोरला नाका व्यापारिक रूपमा सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभयो ।
देशका विभिन्न ठाउँमा पुग्दा जनताले सुशासन, समृद्धि र राजनीतिक स्थायित्व चाहेको बताउँदै उहाँले सबैको सहकार्य र समन्वयमा अहिलेको व्यवस्थालाई सुधार गरेर लैजानुपर्ने धारणा राख्नुभयो ।
“राजनीतिक नेतृत्वले जनता केन्द्रित प्रभावकारी काम गर्न नसक्दा जनतामा केही हदसम्म असन्तुष्टि बढ्ने गरेको छ । जनताको असन्तुष्टिलाई आधार मानेर केही तत्व मुलुकलाई पुनः निरङ्कुशतातर्फ फर्काउन खोजिरहेका छन् । यसका विरुद्ध सबै गणतन्त्र पक्ष एकजुट हुनु जरुरी छ”, उहाँले भन्नुभयो, “जनतामा गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र हो भन्ने चेतना जागिसकेका देश अहिलेको व्यवस्थाबाट पछाडि फर्कन सक्ने अवस्था छैन ।” रासस
म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले कलाकार भेटघाट तथा सम्मान कार्यक्रम गर्ने भएको छ । सांगीतिक यात्राका लागि जापानमा रहनुभएका म्याग्देली गायक राम गगन, गायिका सोना केसी र रामशरण रसाईलीको स्वागत तथा सम्मानमा लाइभ दोहोरीको आयोजना गरिएको हो । मोना जापानले जुन १५ तारिक साँझ ६ बजे बारकाँडे रेष्टुरेन्ट शिनओकुबोमा कार्यक्रम राखिएको मोना जापानले जनाएको छ ।
उक्त कार्यक्रममा १५ बर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय लोकदोहोरी गायक समेत रहनुभएका राम गगनलाई सम्मान समेत गरिने छ । म्याग्देली कलाकार संघ काठमाण्डौका सचिव समेत रहनुभएका गायक राम गगनले जापानमा रहेका नेपालीको न्यायो स्वागत र सम्मानबाट उत्साहित भएको बताउनुभयो । मोना जापनका अध्यक्ष बिशाल केसीले सांगीतिक क्षेत्रबाट नेपाली कला र संस्कृतिको संरक्षण गर्ने कलाकारलाइ सम्मान सहित म्याग्देलीको जमघट हुने बताउनुभयो ।
कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीमा चक्रपथ (रिङरोड) स्तरोन्नतिको काम पूरा भएपछि बजार सुरक्षित हुनुका साथ सुन्दर देखिएको छ ।
नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसिसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनीबजार सुरक्षित हुनुका साथ चिटिक्क देखिएको छ ।
नेपाल सरकारको देशभर १० वटा नमूना नगरपालिका बनाउने कार्यक्रमअन्तर्गत रु तीन करोड १९ लाखको लगानीमा बेनीबजारस्थित चक्रपथ स्तरोन्नतिको काम पूरा भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।
बेनी नगरपालिका–८, कालीपुलदेखि दोभान हुँदै खुलामञ्चको पश्चिमतर्फ बहुउद्देश्यीय मैदान छेउसम्म करिब ९०० मिटर लम्बाइ र पाँचदेखि छ मिटर चौडाइको सडकमा नालीसमेत निर्माण गरिएको छ ।
यसरी बेनी बजारको बाहिरी क्षेत्र कालीगण्डकी र म्याग्दी नदीको किनारैकिनार चक्रपथ बनेपछि सवारीसाधन आवागमनमा सहज भएको र बजार क्षेत्रको भित्री भागमा सवारीसाधनको चाप घटी दुर्घटनाको जोखिम पनि कम भएको नगरप्रमुख केसीले स्पष्ट गर्नुभयो ।
बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम बेनीबजार संरक्षणका लागि ‘आरसिसी’ तथा ‘मेसिनरी’ तटबन्ध निर्माणको कामले निरन्तरता पाइरहेको छ । विसं २०७३ मा कालीगण्डकी नदी किनारमा पक्की र म्याग्दी नदी किनारमा मेसिनरी पर्खाल लगाउने गरी जल उत्पन्न प्रकोप नियन्त्रण सव–डिभिजन कार्यालय बागलुङले बेनी बजार संरक्षण आयोजना सुरु गरेको थियो ।
विसं २०७२ मा कालीगण्डकी किनारमा रु एक करोड ८८ लाखको लागतमा १२४ दशमलव पाँच मिटर र २०७० सालमा ६३ मिटर पक्की पर्खाल निर्माण गरिएको थियो । यसैबीच सिँचाइ मन्त्रालयले बेनीबजार संरक्षण कार्यक्रमको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेको थियो ।
कालीगण्डकी र म्याग्दीको सङ्गमस्थलमा रहेको बेनीबजार १७ औँ शताब्दीमा बस्ती विस्तार भएको एक ऐतिहासिक एवं रमणीय बस्ती हो । इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार १६३१ सालमा पर्वत राज्यको विखण्डन भएपछि पर्वत सातौँ राजा मलेबम मल्लले पर्वत राज्यको राजधानी बेनीमा सारेपछि व्यावसायिक यात्राको सुरुआत र बस्ती विस्तार भएको हो ।
अन्नपूर्ण सर्किटअन्तर्गत प्रमुख पर्यटकीय आकर्षण र बासस्थान बनेको बेनी बजार राजधानी काठमाडौँदेखि करिब ३०० किलोमिटर पश्चिममा अवस्थित छ । सदरमुकाम बेनी र आसपासका क्षेत्रबाट अन्नपूर्ण, धौलागिरि, नीलगिरि, चुरैन, मानापाथी र गुर्जासहित एक दर्जनभन्दा बढी हिमशृङ्खला देख्न सकिन्छ । रासस
सदरमुकाम बेनीमा रहेको सरकारी अस्पतालमा पछिल्लो एक वर्षभन्दा बढी समयदेखि एम्बुलेन्स नहुँदा बिरामी मर्कामा परेका छन् । बेनी अस्पतालमा रहेको बा.२ झ ३१०१ नम्बरको एम्बुलेन्स पछिल्लो १४ महिनादेखि बिग्रेर थन्किएको छ । अस्पतालको आफ्नो एम्बुलेन्स बिग्रिएपछि मर्मत नगरी त्यसै राखिएको छ भने अर्को ल्याउनेतर्फ प्रयास भए पनि त्यो हुन सकेको छैन ।
बेनी अस्पतालको एम्बुलेन्सको २०७९ सालमा पहिलो पटक इन्जिन बिग्रेको थियो । उक्त समस्या देखिएपछि नयाँ इन्जिन हालेर केही समय चले पनि राम्रोसँग सञ्चालन नभएपछि पुनः इन्जिन मर्मत गरिएको थियो । त्यसपछि २०८० चैत २१ गते बागलुङमा पुग्दा बिग्रेको एम्बुलेन्सचालक गोपी गौतमको भनाइ छ । बागलुङमा बिग्रेको एम्बुलेन्सलाई तानेर ल्याई पार्क गरी राखिएको उहाँले बताउनुभयो । अस्पतालको एम्बुलेन्स नहुँदा बिरामीलाई अन्य अस्पताल लैजानका लागि समस्या हुने गरेको बेनी नगरपालिका–४, सिगाका गणेश पौडेलले बताउनुभयो ।
बेनी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रविरञ्जन प्रधानले एम्बुलेन्स नयाँ ल्याउने प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही निश्चित प्रक्रियाका कारणले रोकिएको हो, जति सक्यो चाँडो एम्बुलेन्स ल्याउने प्रयास भइरहेको छ । हालै पनि टेन्डर आह्वान गरिएको थियो तर कसैले पनि टेन्डर नहाल्दा रोकिएको हो ।” एम्बुलेन्स खरिदका लागि ३० देखि ३५ लाख रुपियाँ भएकाले त्यसमा मिल्ने गरी टेन्डर खुलाउँदा कतैबाट पनि टेन्डर नपरेको उहाँले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुुक पुुरानो व्यवस्थामा नफर्कने बताउनुभएको छ । अन्नपूूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुुक पछाडि नफर्कने बताउनुभएको हो ।
“यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघिबढ्नुपर्छ । राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । साथै उहाँले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदौलोमा पुुग्ने गरेको बताउनुुभयो । कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न आफ्नातर्फबाट हरसम्भव प्रयास हुने अध्यक्ष दाहालले बताउनुुभयो । रासस