Wednesday, May 14, 2025
28 C
Beni
28 C
Beni
Wednesday, May 14, 2025
Home Blog Page 1509

युरिक एसिड कसरी नियन्त्रण गर्ने ?

0

आधुनिक जीवनशैली एवं खानपानले धेरैजना युरिक एसिडको समस्याले पीडित छन् । दीर्घकालीन रोगका रूपमा लिइने युरिक एसिडबाट जोगिन निम्न उपाय अपनाउनुपर्छ।
–सर्वप्रथम शरीरको तौल नियन्त्रण गर्नुपर्छ । बढी तौल भएको शरीरमा युरिक एसिड थुप्रिएर बस्छ र रगतमा प्रसार हुन्छ।
–मासुजन्य खाद्यपदार्थमा प्युरिन हुन्छ, जसको सेवनले युरिक एसिड बढाउँछ । खासगरी रातो मासुको उपभोग कम गर्नुपर्छ । कलेजो, किड्नी, मुटु आदिको उपभोग सकेसम्म घटाउनुपर्छ । मासुको सुप, बियरजस्ता प्रशोधित तरल पदार्थको सेवन पनि कम गर्नुपर्छ । सिमी, तोरीको साग, पालुंगोको साग, खसी एवं हाँसको मासु, गंगटा, आइसक्रिम, पाउरोटी, केक आदिको सेवन पनि युरिक एसिडको कारक बन्न सक्छन्।
–मिर्गाैलाको संचालन प्रभावकारी नहुँदा युरिक एसिडको मात्रा बढ्छ । त्यसैले दिनहुँ कम्तीमा १० गिलास पानी पिउनुपर्छ।
–क्याल्सियमयुक्त खानाको सेवन बढाउनुपर्छ । केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदि नियमित रूपमा सेवन गर्नुपर्छ।
–अल्कोहल, कोक, फेन्टा, स्प्राइट, पेप्सी, मिरिन्डाजस्ता सफ्ट ड्रिंकको सेवन घटाउनुपर्छ।
–तारेको खानेकुरा कम खानुपर्छ । तारेको खानेकुरामा भएको तेल तथा फ्याट रेनसिडमा परिणत हुन्छ। रेनसिडको उपभोगले शरीरमा अन्तरनिहित भिटामिन ई नष्ट गरी युरिक एसिड प्रसार हुन्छ।
–शारीरिक व्यायाम नियमित गर्नुपर्छ।

 

बिशाल बुद्धुजाको उपचारमा सर्वोदय माविका शिक्षक र विद्यार्थीहरुले आर्थिक सहयोग

0

बंगरा अड्डाउने हड्डी खिईएपछि थलीएका अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका १७ वर्षिय बिशाल बुद्धुजाको उपचारका लागि शिक्षक र विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।

अन्नपूर्ण २ भूरुङ तातापोनीमा रहेको सर्वोदय माविका शिक्षकहरुबाट छ हजार ७० र विद्यार्थीहरुबाट पाँचहजार ४ सय ६५ गरि ११ हजार पाँचसय ३५ रुपैयाँ बिशालको उपचारका लागि सहयोग जुटाउन अभियान सञ्चालन गरेको ओमकुमारी शान्ति कोषलाई उपलब्ध गराइएको छ ।

विद्यालयका शिक्षक टेकवहादुर चोखालले कोषका अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गर्नुभएको थियो । १७ वर्षी विद्यार्थी बदुजाको जिवन रक्षा गर्ने दायित्व सवै शिक्षक र विद्यार्थीहरुको भएकाले आर्थिक संकलन गरिएको शिक्षक चोखालले बताउनुभयो ।

विश्वका बिरलै व्यक्तिहरुलाई लाग्ने रोगबाट थलीएका बुद्धुजाको काठमाडौ स्थित कान्तिपुर डेन्टल हस्पीटलमा उपचार भैरहेको छ । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि शान्ति कोषले सञ्चालन गरेको अभियानमा देश बिदेशबाट सहयोग जुट्ने क्रम जारी छ ।

नसा च्यापिने समस्याको कारण र उपचार विधि

0

नसा च्यापिएको भन्नासाथ हड्डीको बीचमा भएको नसालाई अर्को हड्डीले च्यापेको भन्ने सोच्दछन् । जुल गलत हो ।मानिसको शरीरमा हुने मेरुदण्डमा अनेकौ हड्डी हुन्छन् । प्रत्येक हड्डीको बीचमा एउटा कालो डिस्क हुन्छ । उक्त डिस्क एक प्रकारको तरल पदार्थ हो । यो नौनी घ्यु जस्तै हुन्छ ।

दुर्घटनाका कारण, हात खुट्टा भाँचिएमा वा हड्डी सर्ने समस्या भएमा दुईवटा हड्डीको बीचबाट उक्त डिस्क बाहिर निस्केर नसालाई च्याप्ने गर्छ ।

जसलाई हामी सामान्य भाषामा नसा च्यापिएको अर्थात् इनभर्टिब्रटल डिस्क प्रोल्याब्स अर्थात भन्ने गर्छौं ।नसा च्यापिदा शरीरमा सहि नसक्नु पीडा हुन्छ । यसको असर खुट्टा, पिढुलातिर पनि देखिन्छ । यदि शरीरको देब्रतिर नशा च्यापिएको छ भने त्यसको असर देब्रे खुट्टामा पर्छ । दाँयातिर छ भने असर पनि दायाँतर्फ नै बढी महसुस हुन्छ । दुखाई पनि त्यत्तिकै बढी हुन्छ ।

जसले गर्दा पिढुला दुख्ने, ढाड दुख्ने, धेरैबेर एकै ठाउँमा बस्न नसक्ने, बसेर उठ्दा झनै दुख्ने, हातखुट्टा झमझमाउने, शरीर भारी हुने, शरीरको कुनै भाग लाटो हुने, पोल्ने इत्यादि हुन्छ ।

यस्ता लक्षण समस्याको स्तर तथा समस्याको प्रकार अथवा ठाउँपिच्छे फरक हुन्छ ।

उपचार विधि

यस्ता समस्या भएमा औषधिले दुखाई गर्न केही मात्रामा सघाउ पुर्‍याउँछ तर त्यसले मात्र यो समस्या निको हुँदैन । यसको लागि फिजियोथेरापी नै आवश्यक पर्छ ।

बाहिर निस्किएको नशा कतिवटा ठाउँमा च्यापिएको छ भन्ने कुराले पनि यसको उपचारमा फरक पर्छ । यदि नशा आधामात्र बाहिर निस्किएको अथवा चेपिएको छ भने त्यसलाई फिजियोथेरापीद्वारा निको पारिन्छ । जुन पहिलो तथा दोश्रो चरण अन्तर्गत पर्दछ ।

तर यदि नशा पुरै बाहिर निस्किएको छ भने त्यसलाई अपरेशनमार्फत भित्र हाल्नुपर्छ । जुन तेश्रो र चौथो चरण हो । अर्थात ६० प्रतिशत भन्दा कम समस्या छ भने त्यसलाई फिजियोथेरापीले उपचार हुन्छ भने सोभन्दा बढीको लागि अपरेशन एकमात्र विकल्प हो ।

पहिलो तथा दोश्रो चरण फिजियोथेरापीमार्फत विरामीको उपचार गर्दा सबैभन्दा पहिले दुखाई कम गर्न उसलाई इन्जेक्सन दिइने गरिन्छ । त्यसैगरी, मेसिनद्वारा पनि विरामीको उपचार गरिन्छ । त्यसका लागि फिजियोथेरापिस्टले दुखाई कन्ट्रोल गर्ने मेसिनको प्रयोग गर्छन् ।

निश्चित एक्सरसाइजमार्फत नशा च्यापिएको ठाउँमा नकारात्मक दबाव सिर्जना गरेर पनि विरामीको उपचार गर्न सकिन्छ । त्यसरी उपचार गर्दा समस्या भएको ठाउँमा दबाव सिर्जना गर्दा त्यसको असर कम दबाव भएको ठाउँमा पर्छ । परिणामस्वरुप उक्त तरल पदार्थ बाहिर निस्किएर बीचमा गएर बस्दछ र नशालाई भित्र हाल्न मद्दत गर्छ ।

त्यसैगरी, ट्राक्सन लगाएर पनि विरामीको उपचार गर्न सकिन्छ । ट्राक्सन भनेको कम्मर तान्ने एक प्रकारको मेसिन हो ।

कहिलेकाहीँ ढाडको हड्डी खुकुलो भएर पनि नशा च्यापिने गर्छ । यो अवस्थामा ट्राक्सनको प्रयोगमार्फत दुईवटा हड्डीलाई दुईतिरबाट तानेर उक्त भागलाई खुकुलो बनाई तरल पदार्थलाई भित्र पठाउने काम गरिन्छ ।

त्यस्तै, हड्डी कसिएर समस्या भएमा त्यसलाई खुकुलो बनाई पुनः कसेर पनि त्यसको उपचार गर्ने गरिन्छ ।

सामान्यतयाः यो पद्दतिबाट विरामीको उपचार गर्दा त्यसलाई निको हुन कम्तीमा चार हप्ताको समय लाग्छ । कसैलाई राम्रो भएमा डेढ हप्तामा पनि निको हुन सक्छ । त्यो विरामीमा भर पर्छ ।
तर यदि विरामी राम्रोसित निको हुन चाहन्छ भने उसले चार हप्तासम्मको उपचार लिनु नै बुद्धमानी हुन्छ ।

यदि कुनै विरामी बेलुकी फिजियोथेरापी गर्छ तर भोलिपल्ट बिहान अफिस गएर १० देखि ५ बजेसम्म कुर्सीमा बसेर एकोहोरो काम गर्छ भने उसलाई निको हुन चार महिना पनि लाग्छ । त्यसमा उसको बसाइले पनि फरक पार्छ ।

यसबाहेक, नशा धेरै नै बाहिर आएको खण्डमा विरामीको अपरेशन नै पनि गर्नुपर्ने हुनसक्छ । तर अपरेशन गरिएका विरामीले अपरेशन पश्चात त्यसलाई सही अवस्थामा ल्याउन फिजियोथेरापी गर्न आवश्यक छ ।

अपरेशन पश्चात शरीरका मांसपेशी सुस्त हुनुका साथै नशा खुम्चन थाल्छ । जसले गर्दा हल्का काम गर्दा पनि पिढुला देख्ने, मांसपेशी दुख्ने लगायतका समस्या उब्जन्छ । त्यसबाट बच्नका लागि पनि फिजियोथेरापी आवश्यक पर्दछ ।

नशा च्यापिने प्रमुख कारण ?

नशा च्यापिने समस्या अनौठो समस्या हो । यो सबैलाई नहुन सक्छ । कहिलेकाहीँ दुईजना व्यक्तिले एउटै प्रकारको काम गर्दा समेत यो समस्या एउटा व्यक्तिमा मात्रै पनि देखा पर्न सक्छ । कसैको मेरुदण्ड अथवा हड्डी कमजोर छ भने पनि उसलाई यो समस्या देखिन सक्छ ।

त्यसैगरी, गाह्रौं काम गर्ने अथवा गह्रौं सामान उचाल्ने मानिसलाई पनि नशा च्यापिने समस्या हुन सक्छ । त्यसबाहेक तल उल्लेखित कुराले पनि नशा च्यापिने समस्या हुने गर्छ ।

· बसाई नमिलेमा
· महिलाहरुको हकमा प्रसव वेदनाको कारण
· शरीरमा अनावश्यक बल प्रयोग गरेमा
· भारी सामान उचालेमा
· गम्भीर प्रकारको हड्डी खिइने समस्या छ भने
· हात खुट्टा भाँचिएमा, हड्डी सर्ने समस्या भएमा र उमेर बढ्दै जाँदा नशा च्यापिने समस्या निम्त्याउन सक्छ ।
· जीवनशैलीको कारणः धेरै समय एकै ठाउँमा बसेर काम गर्दा

यसबाट बच्ने उपाय

· आहारविहारमा ध्यान दिने
· कुर्सीमा बस्दा अढेस लगाएर बस्ने
· खुट्टा टेकेर बस्ने
· बस्दा मेरुदण्डलाई सिधा बनाएर बस्ने
· व्यायाम गर्दा कम्मर सड्किन नदिने
· शरीरमा ज्यादा दखल नदिने
· त्यस्तै, जीवनशैलामा केही परिवर्तन गर्ने

(सुरज भुसाल एभरेष्ट नर्सिङ्ग होममा कार्यरत फिजियोथेरापिस्ट हुन् ।)

यस्ता छन् आत्महत्या रोकथाम गर्ने उपाय

0

१५ वर्षअघिको कुरा हो, मानसिक स्वास्थ्य समस्याबारे जनचेतना जगाउने उद्देश्यले कास्कीको एउटा चौकीमा महिला स्वास्थ्य स्वयम्सेविकाको समूहसंग म डिप्रेसन रोगका बारेमा कुरा गर्दै थिएँ । डिप्रेसन हुँदा मन नरमाईलो हुने, थकाई धेरै लाग्ने, बोल्न, हाँस्न मन नलाग्ने र निद्रा र भोक नलाग्ने हुन्छ । बिरामीले उपचार पाएन भने रोग बढ्दै जान्छ र आत्महत्या गर्ने संभावना हुन्छ भनेर मात्र भनेको थिएँ समूहकी एक महिला बरबर आँशु झारेर रुँदै हुनुहुन्थ्यो । हामी सबैको ध्यान उहाँतर्फ गयो । उहाँले भन्नु भयो– ‘५ महिना पहिले मात्र यो कुरा थाहा पाएको भए उहाँलाई बचाउन सक्थेँ ।’

पाँच महिना पहिले उहाँको श्रीमानले झुण्डिएर आत्महत्या गर्नुभएछ र आत्महत्या गर्नू पुर्व नखाने, नसुत्ने, नबोल्ने, टोलाएर बस्ने, रुन खोज्ने र मनमा कुरा खेल्यो भन्ने मात्र गर्नु हुन्थ्यो रे ।

डिपे्रसन रोग आत्महत्याको प्रमुख कारण मानिन्छ । त्यस्तै मदिरापानको लत लागेर उत्पन्न हुने पारिवारिक, आर्थिक , सामाजिक तथा स्वास्थ्य समस्याका कारण पनि आत्महत्या गर्ने सम्भावना धेरै हुन्छ । अन्य रोगमा मानसिक असन्तुलन, लागुपदार्थ दुव्र्यसन, एचआईभी÷एड्स, छारे रोग, निको नहुने खालका धेरै पीडा दिने शारीरिक रोग पनि पर्दछन् ।

सबै आत्महत्या रोगका कारण हुने भने होइनन् । आवेशमा आएर, प्रेममा आफुले भनेजस्तो नभएर, आफ्नो उद्देश्यमा असफल भएर, यातना खप्न नसकेर, आफ्ना गल्ती ढाकछोप गर्न र ठुलो मानसिक तनाव वा वेदनाका कारण पनि आत्महत्या गर्ने  मानिस हुने गर्दछन् । तर पनि आत्महत्याको प्रमुख कारण डिप्रेसन लगायतका केही मानसिक रोग र एचआईभी÷एड्सलगायत केही शारीरिक रोग नै मानिन्छन् ।

आत्महत्यामा जीवन समाप्त पार्ने इच्छा आफूभित्रै बाट उत्पन्न हुन्छ र जानीजानी , आफ्नै इच्छाले आफ्नो जीवन समाप्त पार्छन् । भनिन्छ–आत्महत्या गर्ने मानिसले आफ्नो जीवन समाप्त पार्ने बाटो मात्र देखेको हुन्छ, अरू सम्भावनाबारे उसले विचारै गरेको हुँदैन ।

आत्महत्या गर्ने प्रमुख तरिकामा विष सेवन, झुण्डिएर, आत्मदाह गरेर, पानीमा डुबेर, आफैँलाई गोली हानेर, अग्लो घर, छतबाट हाम्फालेर आदि पर्दछन् ।

आत्महत्या उनको परिवारका लागि अचानक र कल्पनै नगरेको घटना हुन्छ र यसको असर परिवारले लामो समयसम्म या जिन्दगीभर नै भोग्नुपर्ने हुन्छ । आत्महत्या गर्ने व्यक्तिको परिवारलाई , छारोछोरीलाई वा बाबुआमालाई समाजले राम्रो परिवार हो भन्दैन । उल्टै यसको परिवारका मान्छे विष खाएर मर्छन् वा झुण्डिएर मर्छन् भन्ने कुरा चल्छ र परिवारलाई एकप्रकारको कलंक नै लाग्दछ ।

घरको मुल तथा आयआर्जन गर्ने व्यक्तिले आत्महत्या गर्दा परिवारमा ठुलो आर्थिक समस्यासमेत पर्न सक्दछ । परिवारका सदस्य जस्तै बालबालिकामा शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पर्न सक्छ । छोराछोरीको विवाहमा असर पर्न सक्दछ ।

अध्ययन तथा पेशा गर्न कठिनाई पर्न सक्छ । त्यसैले एउटा आत्महत्याले एक व्यक्तिको जीवन मात्र जाने होइन परिवारका पाँच–सात जनालाइ दीर्घकालीन नराम्रो असर पर्छ ।    आत्महत्याका कारण संसारमा बर्सेनि करिब आठलाख मानिस मर्छन् भन्ने विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । तर, आत्महत्याबाट बर्सेनि मर्नेको संख्या योभन्दा बढी रहेको अनुमान गरिएको छ । गरिब देशमा जनसंख्याको चाप बढी छ, आत्महत्या गर्नेको संख्या पनि बढी छ ।

भनिन्छ, संसारमा युद्ध, दुर्घटना वा विभिन्न प्राकृतिक प्रकोप जस्तै भुइँचालो, बाढी, सुनामीलगायतका घटनाबाट ज्यान गुमाउनेभन्दा आत्महत्या गरेर मर्नेको संख्या ढी छ ।  यी तथ्यांक हेर्दा आत्महत्या एउटा जनस्वास्थ्य समस्या हो र यसलाई रोकथाम गर्ने प्रयास गर्नुपर्छ भन्ने कुरा प्रस्ट हुन्छ ।

आत्महत्या रोकथाम गर्ने उपाय

व्यक्ति स्तरमा

आत्महत्या गर्न सक्ने सम्भावना भएका व्यक्तिको पहिचान गरी भेट्नुपर्छ । त्यस्ता व्यक्तिको कुरा ध्यानपूर्वक सुन्नुपर्छ । त्यसबाट खास समस्या के रहेछ भनेर जानकारी पाईन्छ र त्यो समस्याले उसको भावनामा कति गहिरो चोट पु¥याएको रहेछ भनेर अनुमान लगाउन सकिन्छ ।

– प्राय मानवीय स्वभाव अरुलाई सल्लाह दिने हुन्छ । भनिन्छ सबैजना सल्लाह दिन चाहन्छन्, तर लिन कोही पनि चाहदैँँनन । त्यसैले आत्महत्या गर्ने विचार गरिरहेका व्यक्तिलाई सल्लाह दिन नहतारिनुुस् । उसको कुरा राम्ररी सुनेर समस्याको समाधान गर्ने के–के तरिका छन्, के–के उपाय छन् त्यसबारे छलफल गर्नु उपयुक्त हुन्छ ।

– जीवनमा आशा हुँदासम्म मानिसले आफ्नो जीवन अन्त्य गर्नेबारे सोचेको हुँदैंन । आत्महत्या गर्र्ने निर्णय गरेको व्यक्तिको आशा पूरै मरिसकेको हुन्छ । केही आशा जगाउन सके आत्महत्यालाई टार्न सकिन्छ ।

– शारीरिक वा मानसिक स्वास्थ्य समस्या रहेछ भने उपचार गराउन सम्वन्धित विशेषज्ञकहाँ लिएर जाने, आवश्यकताअनुसार अस्पतालमा भर्ना गर्ने वा उपचार गर्ने गर्न सकिन्छ ।

– आत्महत्या गर्न सक्ने सम्भावना भएका व्यक्तिलाई एक्लै नछाड्नुस । उसको परिवार, केटाकेटी, साथीभाई, आफन्त मिलेर कुराकानी तथा अन्य सामान्य क्रियाकलाप गरेर भुलाउने, व्यस्त राख्ने प्रयास गर्नुहोस् ।

– आत्महत्या गर्ने धेरै सम्भावना भएको व्यक्तिको मनमा बारम्बार आत्महत्या गर्ने विचार आउँदासम्म संकट रहिरहन्छ , जब यस्ता विचार घट्दै जान्छन् तब मात्र संकट पनि घट्दै जान्छ । चिकित्सक वा मनोवैज्ञानिक परामर्शदाताले परीक्षण गरेर खतरा बढी छ वा छैन सल्लाह दिन सक्छन् ।

 परिवारबाट सहयोग

पारिवारिक  कलह, श्रीमानश्रीमतीबीचको सम्वन्धमा समस्या तथा विश्वासको कमी र पारिवारिक सहयोग नहुँदा पनि आत्महत्या गर्ने सोचाईको बिजारोपण हुनसक्छ । परिवारमा सहयोगको भावना, माया, प्रेम, विश्वास र राम्रो सम्वन्ध आत्महत्या रोक्नका लागि सहयोगी हुन्छन् ।

आत्महत्या गर्ने विचार भएको व्यक्तिले सिधा वा घुमाउरो तरीकावाट आफ्नो विचार पोखेका हुन्छन् । जस्तैः अब धेरै दिन बाँचिन्न होला, संगै बस्ने दिन सकिँदैछन्, हाम्रो यो भेट अन्तिम पनि हुन सक्छ आदि । यस्ता कुरालाई सामान्य  रूपमा लिनुहुँदैन ।  मानसिक वा शारीरिक उपचार गराईराखेका बिरामीलाई बेलाबेलामा चिकित्सकलाई देखाउने, सरसल्लाह लिने, औषधि उपचार गराउने आदि जिम्मेवारी परिवारको हो ।

 समुदायको सहयोग

आर्थिक समस्या, जनचेतनाको कमी, अन्धविश्वासलगायतका कारण मानसिक रोगीले उपचार गराएका हुँदैनन् । परिवारले सहयोग गर्नुको साटो अवहेलना, असहयोग गरिराखेका हुन्छन् । आत्महत्या घटाउनका लागि समुदायका चेतनशील वर्ग ले ठुलो सहयोग गर्न सक्छन् ।

आत्महत्या कुनै पनि समस्याको समाधान होइन । समस्यासँग लड्न, डटेर सामना गर्ने वा आत्महत्याको बदला अर्को बाटो पहिल्याउन सक्यो भने अकालमा जीवन जाँदैन । डा कपिलदेव उपाध्याय, वरिष्ठ मानसिक रोग विशेषज्ञ

मर्निङ वाक गर्नेले यी १२ कुरामा ध्यान दिनोस्

0

बिहान उठेर हिँड्नु स्वस्थ जीवनको एउटा सूत्र हो। शारीरिक रुपमा तन्दुरुस्त मानिसले पनि नियमित मर्निङ वाक गर्नु स्वस्थ र दीर्घ जीवनका लागि फाइदाजनक कुरा हो। रक्तचाप, मधुमेह, मुटुरोग, फ्याट्टी लिभर जस्ता रोग भएका बिरामीलाई त डाक्टरले नै नियमित मर्निङ वाक गर्न सुझाउँछन्। कडा शारीरिक व्यायाम गर्न नसक्नेहरुका लागि मर्निङ वाकले नै व्यायामको काम गर्छ। मर्निक वाकबाट मोटोपन घट्ने, तनाव कम हुने, दिनभरि काम गर्ने ऊर्जा मिल्ने, शरीर चुस्त र दुरुस्त रहने जस्ता फाइदा लिन सकिन्छ।

मर्निङ वाकमा जाँदा निम्न कुरामा ध्यान दिऊः

१. सबेरै उठ्ने: बिहानको साढे ४ देखि ८ बजेभित्र मर्निङ वाक गरिसक्दा राम्रो मानिन्छ। सुरुसुरुमा बिहान सबेरै उठ्नका लागि अलार्म वा मोबाइलको प्रयोग गर्न सकिन्छ। कम्तिमा आधा घन्टा हिँड्नुपर्छ। सुरुका दिनमा लागातार ३० मिनेट हिँड्न सकिएन भने एकैछिन बिसाएर फेरि हिँड्न सुरु गर्दा पनि हुन्छ। सुरुमा बिहान सबेरै उठ्न गाह्रो भए पनि बिस्तारै बानी परेपछि सहज हुँदै जान्छ।

२. हिँड्ने तरिका: मर्निङ वाक भन्दैमा बिहान उठेर सिधै दौडने वा सरासर हिँड्ने होइन। सुरुमा बिस्तारै पाइला अगाडि बढाउने हात पनि बिस्तारै अगाडि पछाडि लैजाने। त्यसपछि छिटो-छिटो हिँड्ने र हात पनि छिटोछिटो चलाउने। हिँड्दा निउरेर, कुप्रो परेर होइन छाति फुलाएर ढाड सिधा पारेर हिँड्नु पर्छ। देब्रे खुट्टा अगाडि हुँदा दाहिने हात पछाडि, दाहिने खुट्टा अगाडि हुँदा देब्रे हात पछाडि हुनुपर्छ। हिँडाइको गति छिटोछिटो हुन थालेपछि बिस्तारै दौडिन सुरु गर्दा हुन्छ। कहिल्यै पनि सुरुमै छिटो हिँड्ने वा डौडिने गर्नु हुँदैन।

३. कपडाको छनौट: मर्निङ वाक जाँदा मौसम अनुसार सजिलो, हलुका तर लामा बाउला भएको कपडा लगाउनु उपयुक्त हुन्छ। प्रायः मर्निङ वाक खोलाको किनार, एकान्त ठाउँ, घाँसे मैदान जस्ता ठाउँमा गरिन्छ। जहाँ किरा, फट्यांग्रा, जुका, लामखुट्टे, सर्प आदिले टोक्ने वा चिल्ने खतरा हुन सक्छ। त्यसैले, लामो बाउला भएको कपडा लगाउनुपर्छ। ‘ग्रिप’ भएको नचिप्लिने जुत्ता अनिवार्य मानिन्छ। छोटा लुगा लगाएर हिँड्नु सुरक्षाको दृष्टिले राम्रो होइन।

४. गीतसंगीत: मर्निङ वाकमा गीत-संगीतले पनि महत्वपूर्ण भूमिका खेल्छ। सकेसम्म आध्यात्मिक गीत र ‘इन्स्ट्रुमेन्टल’ धुन सुन्नु राम्रो हो। यस्तो संगीतले मर्निङ वाक गर्दा ध्यान एकाग्र हुनुका साथै हिँड्नमा ऊर्जा थपिन्छ।

५. इयरफोन कानमा नराख्ने: मर्निङ वाक गर्दा हेड सेट वा इयर फोन कानमा हाल्नु हुँदैन। सधैँ इयर फोन राखेर हिँड्दा कानमा असार पुग्न सक्छ। मोबाइलको स्पिकर लाउड मोडमा राखेर गीत-संगीत सुन्नु राम्रो हो। बरु प्राकृतिक संगीत जस्तै, चराको चिरबिर, खोलाको कलकल आवाज सुन्दै हिँड्नु उपयुक्त हुन्छ।

६. गफ गरेर नहिँड्ने: मर्निङ वाक गर्दा साथीसँग जिस्केर, गफ्फिएर हिँड्नु राम्रो होइन। साथी सँगै भए पनि गफ नगरी आफ्नै धुनमा हिँड्नु राम्रो हो। गफको तालमा गरिने मर्निङ वाकको उद्देश्य पूरा हुँदैन। वास्तवमा मर्निङ वाक भनेको गफ गर्ने समय नै होइन।

७. एकान्तमा नहिँड्ने: मर्निङ वाकमा जाँदा मान्छेहरु नहुने एकान्त ठाउँमा हिँड्नु हुँदैन। रक्तचाप बढ्ने, मुटु दुखेर थला पर्ने जस्ता आकस्मिक दुर्घटना भयो भने तुरुन्त उद्धार हुन सक्ने ठाउँमा हिँड्नुपर्छ। मुटुरोग, मधुमेह, रक्तचाप जस्ता रोगका बिरामीले त एक्लै एकान्त ठाउँमा हिँड्नै हुँदैन।

८. समाचार नसुन्ने: मर्निङ वाक गर्दा धेरैले रेडियोमा समाचार सुन्दै हिँडेको पाइन्छ। तर, मर्निङ वाकमा यसलाई राम्रो मानिँदैन। समाचारमा लडाइँ, आतंक, तनाव जस्ता नकारात्मक कुरा प्रमुख विषय बनेका हुन्छन्। मर्निङ वाकमा नकारात्मक कुराहरु कानमा पर्दा तपाईंको दिन कसरी सकारात्मक होला? त्यस्ता समाचारले मनको एकाग्रता भंग गरिदिन्छन्। बरु मर्निङ वाकबाट फर्केपछि पत्रपत्रिका पढ्ने वा समाचारका लागि रेडियो-टिभी सुन्ने हेर्ने गर्नु उपयुक्त हुन्छ। किनकि बिहानको हिँडाइमा अनेक कुरा सुनेर मन विचलित बनाउनु हुँदैन।

९. धूमपान-मद्यपान नगर्ने: मर्निङ वाकमा कहिले पनि धूमपान गर्नु हुँदैन। यसै पनि धूमपानले आफूलाई मात्रै होइन अरुलाई समेत हानी पुग्छ। मद्यपानले शरीर र मनलाई एकाग्र बन्न दिँदैन। वरिपरि हिँड्नेले पनि धूमपान गरेको देख्दा वा मद्यपान गरेको थाहा पाउँदा नराम्रो दृष्टिले हेर्छन्।

१०. कुकुरलाई साथै लिई नहिँडौं: मर्निङ वाकमा जाँदा कुकुर पनि सँगै लिएर हिँड्नेहरु धेरै भेटिन्छन्। एक त कुकुरसँगै हिँड्नुपरेपछि मर्निङ वाकको आनन्द लिने कि कुकुरको गोठालो लाग्ने? त्यसमाथि कुकुरलाई मान्छे हिँड्ने बाटोमा दिसा गराइरहेकाहरु पनि धेरै हुन्छ। कुकुरलाई दिसा-पिसाब गराई बाटो फोहोर पार्न मर्निङ वाक जाने हो कि आफ्नो स्वास्थ्यका लागि हिँड्न जाने हो? त्यो विचार पुर्‍याउनुपर्छ।

११. खानपानमा ध्यान: मर्निङ वाक सुरु गरेपछि खानपानमा पनि ध्यान दिनु जरुरी हुन्छ। सागपात र पोषिलो खानेकुरामा बढी जोड दिनुपर्छ। फ्रेस जुस पिउँदा हुन्छ। राति अबेरसम्म नबसी ठीक समयमा सुत्नुपर्छ। खानामा सबै प्रकारको खनिज तत्व पाइने खालका खानेकुरा छान्नुपर्छ। हिँडेर फर्केपछि दुई गिलास पानी पिउनु राम्रो हुन्छ।

१२. नुहाउने तरिका: मर्निङ वाक गरिसकेपछि नुहाउनु अनिवार्य मानिन्छ। पसिनाको गन्धलाई हाटाउन र शरीरमा स्फूर्ति ल्याउन पनि नुहाउनु जरुरी छ। मर्निङ वाकबाट फर्किनासाथ सीधै ‘सावर’ लिनु हुँदैन। केहीबेर बसेर पसिना ओभाइसकेपछि मात्र नुहाउनुपर्छ। तपतप पसिना चुहिएको अवस्थामा नुहाउँदा शरीरमा हानि पुग्न सक्छ।swasthyakhabar.com

पेटको बोसो घटाउने ९ घरेलु उपाय

0

१. कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात

दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।

२. खैरो चामलको भात खानुहोस्

यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस्, त्यसको स्थानमा खैरो चामलको भात खानुहोस् । यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् । (खैरो चामलको भात भने नेपालको सन्दर्भमा त्यति सम्भव नहोला)

३. गुलियोबाट टाढा रहनुहोस्

यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस् । मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् ।

४. पानी धेरै पिउनुहोस्

पेटको बोसो काम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ । नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।

५. काँचो लसुन खानुहोस्

बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।

६. मांसाहारबाट टाढै रहनुहोस्

मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् ।

७. धेरै सागसब्जी खानुहोस्

खानामा फल र सागसब्जी सामेल गर्नुहोस् । बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ ।

८. खाना पकाउने तरिका परिवर्तन गर्नुहोस्

खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस् । दालचिनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस् । यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।

९. बदामको प्रयोग गर्नुहोस्

बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन । स्वास्थ्य खबरपत्रिका

‘स्वाइन फ्लु होइन, कडा रुघाखोकी’ : यस्ता छन् लक्षण र बच्ने उपाय

0

अप्रिल २ मा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको उपचारक्रममा ज्यान गयो । उनको मृत्यु ‘एच१ एन१ पिडिएम ०९ टाइप ए’ नामको भाइरसका कारण उत्पन्न हुने कडाखाले मौसमी रुघाखोकी (यसलाई स्वाइनफ्लु भन्ने गरिएको छ) बाट भएको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ । उनी मधुमेहबाट समेत पीडित थिइन् ।

-जुलाई २४ मा त्यस्तै प्रकृतिको अर्को घटना भयो । कडाखाले रुघाखोकी लागेपछि ढिलो गरी अस्पताल पुगेका बूढानीलकण्ठका २५ वर्षीय युवकको उपचारक्रममा मृत्यु भयो । मृत्युको पृष्ठभूमि खोज्दै जाँदा अत्यधिक मदिरा सेवन गर्ने गरेको भेटियो ।

-पोखराका ७६ वर्षीय एक पुरुषको उपचारक्रममा त्यस्तै रुघाखोकीले ज्यान गएको चिकित्सकले बताएका छन् । उनलाई पनि दमको समस्या पहिल्यै भएको र यो रोग लाग्दा ज्यान बचाउन नसकिएको चिकित्सकको भनाइ छ । यो रोग फैलाउन मुख्यतः चार प्रकारका भाइरसमध्ये ‘एच १ एन १’ सबैभन्दा खतरनाक मानिने चिकित्सक बताउँछन् ।

-१६ जुलाईमा झापाका ४७ वर्षीय पुरुषको पनि त्यस्तै प्रकृतिको रुघाखोकीबाट भारतमा उपचारक्रममा मृत्यु भएको थियो । चिकित्सकले उनलाई पहिले ‘लिम्फोमा क्यान्सर’ बाट पीडित भएको र रुघाखोकीले मृत्युमा सहयोग पुगेको बताएका छन् ।

पछिल्लो तथ्यांकअनुसार यो वर्ष कडा रुघाखोकीबाट १० जनाले ज्यान गुमाइसकेका छन् भने तीन सय ५६ जना बिरामी परेका छन् । पाल्पा, स्याङ्जा, पोखरा, बुटवल र झापामा यो समस्या विकराल बनेको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडौं, ललितपुर र पोखराका तीन जनाको मृत्यु यो रोगबाट भएको पुष्टि गरेको छ । महाशाखाले बाँकी मृत्युलाई शंकास्पद भनेको छ । महाशाखाका अनुसार त्यसमा थप अनुसन्धान गर्न बाँकी छ ।

नेपालमा पछिल्लो ६ वर्षयता हरेक वर्ष मौसम परिवर्तनका बेला यो रोग फैलिन थालेको छ । सरकारी तथ्यांकअनुसार सन् २०१२ यता यो रोगका बिरामी घट्ने÷बढ्ने भइरहेका छन् । डा. शर्माका अनुसार तापक्रममा परिवर्तन आउने समय खासगरी जनवरीदेखि अप्रिलसम्म र जुलाईदेखि अगस्टसम्म यो रोग फैलाउने ‘भाइरस’ मौलाउने गरेको छ ।

कस्ता व्यक्तिलाई असर गर्छ ?
-टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसिएन डा. अनुप बास्तोलाका अनुसार यो रोगले खासगरी मिर्गौला, क्यान्सर, मुटु, फोक्सोको समस्या भएका, मधुमेह, थाइराइड र एचआईभी संक्रमण देखिएका व्यक्तिमा छिट्टै आक्रमण गर्छ ।
-अत्यधिक अल्कोहल सेवन गर्ने, धूमपान गर्ने व्यक्ति, बालबालिका, गर्भवती महिलालगायत पनि यो रोगको जोखिममा पर्ने गरेका छन् ।

कसरी सर्छ ?
-प्रभावित व्यक्तिको सम्पर्कमा आउँदा हावाको माध्यमबाट सबैभन्दा छिटो सर्ने यो रोगले फोक्सोको ‘टिस्यु’ मा असर गरी अपर्झट श्वाप्रश्वासमा बाधा पुर्‍याउन सक्छ । -यसलाई चिकित्सक ‘एक्युट रेस्पिराटरी डिस्ट्रेस सिन्ड्रोम’ भन्छन्, यसले गर्दा बिरामी अझ गम्भीर बन्ने गरेका छन् ।

स्वाइनफ्लुको नाममा आतंक
-विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग सबैभन्दा पहिले सन् २००९ मा मेक्सिकोको बेराक्रुज इलाकाको सुँगुर फार्ममा देखिएको थियो ।
-त्यो बेला यो रोगलाई ‘स्वाइन फ्लु’ को नाम दिइएको थियो ।
-विस्तारै यो संसारका धेरै देशमा फैलिएको पाइन्छ, त्यसैकारण संगठनले त्यसलाई ‘एच १ एन १ पेन्डेमिक ०९’ नामकरण गरेको छ ।

बच्ने उपाय
– संक्रमितको सम्पर्कबाट बच्नु
– सफा रहनु
– स्तरीय मास्क प्रयोग गर्नु
– खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु
– हाच्छिउँ गरेपछि साबुनपानीले हातमुख धुनु

लक्षण
– रुघाखोकी लाग्नु
– भोक नलाग्नु
– शिथिलता बढ्नु
– हल्का ज्वरो आउनु
– टाउको दुख्नु
– घाँटी दुख्नु,
– वाकवाकी लाग्नु

कडा रुघाखोकी
– कडा रुघाखोकीबाट यो वर्ष १० जनाको मृत्यु, ३५६ बिरामी
– पाल्पा, स्याङ्जा, पोखरा, बुटवल र झापामा समस्या विकराल
– काठमाडौं, ललितपुर र पोखराका तीन जनाको मृत्यु ‘कडा रुघाखोकीबाट’ भएको सरकारी दाबी
– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बरुण प्रयोगशाला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशाला र भरतपुर अस्पतालको प्रयोगशालालाई मात्रै यो रोग जाँच्ने अधिकार
– नेपालमा ६ वर्षयता हरेक वर्ष मौसम परिवर्तनका बेला यो रोगको संक्रमण
– जनवरीदेखि अप्रिलसम्म र जुलाईदेखि अगस्टसम्म यो रोग फैलाउने ‘भाइरस’ संक्रमण बढी
– मिर्गौला, क्यान्सर, मुटु, फोक्सोको समस्या भएका, मधुमेह, थाइराइड र एचआईभी संक्रमण देखिएकामा छिट्टै आक्रमण
– अत्यधिक अल्कोहल सेवन गर्ने, धूमपान गर्ने व्यक्ति, बालबालिका, गर्भवती महिलालगायत पनि जोखिममा

शिशुलाई आमाको दुध पोसिलो, आमालाई आफ्नो रुप नै प्यारो

0

नेपालमा पूर्ण स्तनपान दर घट्दै गएको खबर आजको कान्तिपुरमा छ ।

कारण
स्तनपान गराए सुन्दरतामा ह्रास आउने, तौल बढ्ने, स्तनको आकार बिग्रने जस्ता भ्रम र कामकाजी आमासँग बच्चालाई दुध चुसाउने समय नहुँदा आधुनिक आमाहरुले आफ्नो दुधको सट्टा बजार।मा पाइने कृत्रिम दुध खुवाउने प्रवित्तिका कारण पूर्ण स्तनपान दर घट्दै गएको हो ।

न्यूनपोषण भई मृत्यु
हरेक एक सय जना शिशुमा ५३ जना आमाको दुध खान नपाएर न्यूनपोषण भई मृत्यु हुनेको बालस्वास्थ्य महाशाखाका प्रमुख राजकुमार पोखरेलले बताए ।

मानसिक विकास
विश्व स्वास्थ्य संगठनका अनुसार, जन्मेको एक हजार दिनभित्र शिशुको ८० प्रतिशत मानसिक विकास हुन्छ । त्यसबेला आमाको दुधभन्दा पोसिलो अरु केही हुँदैन ।

कोरियामा जुट्यो विशाला बचाउ अभियानमा ६५ हजार

0

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका १७ बर्षिय बिशाल बुदुजाको उपचारमा दक्षिण कोरियामा आर्थिक सहयोग संकलन गरिएको छ । मुखको हड्डीमा गम्भीर समस्या देखिएपछि उपचार गराइरहेका बुदुजाको उपचारमा दुर्गा फगामीको पहलमा ६५ हजार संकलन भएको ओमकुमारी शान्ति कोषका सचिव लोकेश पुनले बताए ।

विगत एकबर्ष देखी मुखकोे बङगारा दुख्ने, दाँया तर्फको गालामा खाडल र हड्डी समेत खिजिएपछि आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका थिए । मुखको हड्डीमा समस्या देखिएकाले नियमित उपचार र अप्रेसन सहित धेरै खर्च लाग्ने चिकित्सकले बताएका छन् । अमेरिकाबाट सुरु भएको अभियानमा कुवेत, कतार, कोरिया, जापान लगाएतका देशमा आर्थिक संकलन भइरहेको छ ।

 

विशला बचाउ अभियानमा जापानबाट ७२ हजार सहयोग

0

मुखको हड्डीमा गम्भीर समस्या देखिएपछि उपचार गराइरहेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका १७ बर्षिय बिशाल बुदुजाको उपचारमा जापानमा आर्थिक सहयोग संकलन गरिएको छ । नारच्याङकी जुना पुनको संयोजनमा ७२ हजार २९२ रुपैयाँ आर्थिक सङ्कलन भएको ओमकुमारी शान्ति कोषले जनाएको छ ।

कोषले अभियान सुरु गरेलगत्तै विश्वभर रहेका नारच्याङबासीले अभियान सुरु गरेका थिए । विगत एकबर्ष देखी मुखकोे बङगारा दुख्ने, दाँया तर्फको गालामा खाडल र हड्डी समेत खिजिएपछि आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका थिए । मुखको हड्डीमा समस्या देखिएकाले नियमित उपचार र अप्रेसन सहित धेरै खर्च लाग्ने चिकित्सकले बताएका छन् । अमेरिकाबाट सुरु भएको अभियानमा कुवेत, कतार, कोरिया, जापान लगाएतका देशमा आर्थिक संकलन भइरहेको छ ।