Thursday, June 26, 2025
26.1 C
Beni
26.1 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 31

जलविद्युत आयोजनको निशानामा उत्तरी म्याग्दीका तातोपानी कुण्ड

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणसँगै त्यहाँ रहेका तातोपानी कुण्डको अतित्व मासिने भनेर अतित्व मासिने भनेर स्थानीय वासिन्दा चितिन्त भएका छन्।
जलविद्युतको निर्माणकार्य सुरु भएपनि प्रभावित क्षेत्रका बासिन्दासँग पाउद्धारको तातोापनी कुण्ड, भुरुङ तातोपानी कुण्ड र रातोपानी कुण्ड तथा आसपासका बस्तीलाई कुनै असर नपर्ने बारेमा सार्वजनिक बहस नै भएको छैन ।
आइएमई समूहको लागनीमा हाइड्रो सपोर्ट प्रालि प्रवद्र्धक रहेको आयोजनाको प्रभावित क्षेत्रमा रहेका तातोपानी कुण्ड सुरुङ मार्ग सहित अन्य भौतिक संरचनाका कारण सुक्ने गुनासो स्थानीय जनप्रतिनिधिलाई समेत आउने गरेको छ ।
गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बेनीअनलाइनसँग गरेको कुराकानीमा आयोजनापक्षले कुण्डलाई कुनै असर नगर्ने बताएपनि थप बहस आवश्यकता रहेको बताउनुभयो । ‘स्थानीय प्राकृतिक सम्पदालाई जोगाएर जलविद्युत बनाउनुपर्छ,हामीले सम्बन्धित जलविद्युत कम्पनीलाई समेत यस विषयमा जानकारी लिन्छौ,आवश्यक परे सार्वजनिक बहस नै राख्छौ’ अध्यक्ष पुनले भन्नुभयो ।
जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा रहेको तातोापनी कुण्डको हिउँदाको समयमा खोलाको सतह घट्दा पानी सुक्ने जोखिमका बारेमा पाउद्धार तथा भुरूङ तातोपानीका बासिन्दाले चासो देखाएका छन् ।

Hot Spring at Tatopani
तातोपानी कुण्डको तल्लो क्षेत्रमा भौतिक निर्माण गर्दा पानीको सतह भासिने यसअगाडी समेत देखिएको अवस्थामा जलविद्युतले कुण्ड नै तहसनहस हुने भन्दै तत्काल स्थानीयसँगको छलफलको वातावरण बनाउनुपर्ने जनप्रतिनिधिको माग छ ।
आयोजनास्थलमा परिचालित भएको सिभिल ठेकेदार रुसुवा मल्टी जेभीले प्रारम्भिक चरणको पूर्वाधार निर्माणको काम थालेको अवस्थामा पनि तातोपानी कुण्ड तथा आसपासका क्षेत्रमा रहेका जमिनमा हुने असरका बारेमा सम्बन्धित स्थानीय तहसँग समन्वय नगर्नु कमजोरी भएको जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख दिलकुमारी खत्रीले बताउनुभयो ।
‘केही जलविद्युतका कमजोरीका बारेमा मौखिक गुनासो आएको छ, हामीले यस विषयमा छिटैं छलफल गरी सम्बन्धित आयोजनापक्षलाई बोलाउँछौ’ कार्यवाहक प्रमुख खत्रीले बेनीअनलाइनलाई भन्नुभयो । जलविद्युतले बाँधदेखि सुरुङ निर्माणस्थलसम्म पुग्ने दुई सय मिटर लामो एप्रोच कल्भर्टबाट आयोजनाको भौतिक संरचना निर्माणको काम थालिसकेको छ।
सुकेबगरको इनलेट, नारच्याङ पुल नजिकैको अडिट र नौलीबगरको आउटलेटबाट सुरुङ निर्माण गरी चार किलोमिटर आठ सय मिटर लामो सुरुङबाट ल्याउने पानी अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । विद्युत्गृहदेखि आउटलेटको हेड एक सय पाँच मिटर अग्लो छ।
रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत बनाइने भएको छ । आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको कुल लागत १२ अर्ब ९३ करोड अनुमान गरिएको छ ।
स्थानीयको बिरोधले रोकिएको छ १२ मेगावाटको मिस्ट्री खोला–२
उत्तरी म्याग्दीको पाउद्धार तातोपानी कुण्डको अस्तित्व नै संकटमा पर्ने गरी १२ मेगावाटको मिस्ट्री खोला–२, जलविद्युत आयोजना अगाडी बढाउन खोजिएपछि स्थानीयको चर्को बिरोधले रोकिएको छ ।
प्राकृतिक उपचारकेन्द्रका लागि आर्कषित मानिएको अन्नपूर्ण गाउँपालिका वडा नं ५ कालिगण्डकी नदी नजिकै रहेको पाउद्धार तातोपानी कुण्डको नाम निसाना नै मेटिने अवस्थामा सर्वोच्च अदालतमा स्थानीय पुगेका थिए ।  सर्वोच्च अदालतले म्याग्दीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा असर पर्नेगरी आयोजना नबनाउन आदेश गरेको थियो ।
न्यायाधीशहरू कुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले तातोपानी क्षेत्रमा जलविद्युत आयोजनाको भौतिक संरचनाको काम नगराउन आदेशपछि रोकिएको छ । सर्वोच्च अदालतमा १७ जना स्थानीय बासीले गत बर्षको असारमा रिट निवेदन दर्ता गराएका थिए।
सर्वोच्चले स्थानीयको माग अनुसार तातोपानी वरिपरि जलविद्युत आयोजना बनाउन नपाउने गरी रिट जारी गरेको छ। यद्यपि सर्वोच्च अदालतले फैसला लिखित रूपमा जारी गरेको छैन। तर, निवेदकहरूले माग गरे बमोजिम ‘रिट जारी’ उल्लेख गरिदिएको छ। २०७९ साउन २३ मा तातोपानीको नजिक पर्ने मिस्ट्री खोला २ जलविद्युत आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरिएको थियो।
तातोपानी कुण्डको सम्बन्धमा भू–गर्भ विज्ञको रायसहितको वैज्ञानिक प्रमाणको ग्यारेन्टी नगरी पर्यटकीय क्षेत्रको रूपमा रहेको तातोपानी क्षेत्रमा जलविद्युत आयोजना बनाएमा तातोपानी सुकी अपूरणीय क्षति समेत हुने भन्दै चर्को बिरोध गरेका थिए ।
यहाँको तातोपानी कुण्ड वर्षौँदेखि कुण्डको रूपमा स्थापना भई दैनिक हजारौँ व्यक्तिले करिब ४५ देखि ७० डिग्रीसम्मको तातोपानीमा नुहाउँछन्। यसको प्राकृतिक उपचार हुने विश्वास मान्दै आएको छ। तातोपानीमा बस्दा हाडजोर्नी, नशा, छाला, पिनास, ग्याष्टिक सम्बन्धी रोगको उपचार हुन्छ भन्ने मान्यता छ।
तातोपानी कुण्डको नामबाट पर्यटन व्यवसाय समेत सञ्चालन भइरहेको छ। त्यस क्षेत्रमा कालीगण्डकीको दायाँबायाँ दुबैतर्फ तातोपानीको कुण्ड छन्। कालीगण्डकीको बायाँ पट्टि पाउद्धार तातोपानी कुण्ड छ। स्थानीयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय (सचिवस्तर) को मिति २०७९ साउन २३ को प्रारम्भिक वातावरणीय परीक्षणलाई समेत अस्वीकार गरेका छन् । यो जलविद्युत बनेमा कुण्ड आसपासको जमिन नै मासिन्छ ।

तारो खेलको उपाधी आयोजकलाई

म्याग्दी मगर समाज काठमाण्डौ उपत्यकाले आयोजना गरेको तारो (आर्चरी) खेल प्रतियोगितामा आयोजक नै प्रथम भएको छ । म्याग्दी मगर समाजले कुल १२० अंकमा १०२ अंक प्राप्त गरेको थियो भने उपविजेता नेपाल छन्त्याल तारो समितिले ९६ अंक र तृतिय म्याग्दी मगर संघ काठमाण्डौ उपत्यका बि समुह ९४ अंक प्रहार गरेकोे संघका अध्यक्ष कमलराज पुनले बताउनुभयो ।

विश्व शान्तिका अग्रदूतका भगवान् बुद्धको २५६९औँ बुद्ध जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश ५५ हजार, ३५ हजार र २५ हजार नगद पुरस्कार, ट्फी, मेडल तथा प्रमाण पत्र बितरण गरेका थिए । प्रतियोगितामा नेपाल छन्त्याल तारो समितिका दिलिप छन्त्यालले १२ खोल हान्दै उत्कृष्ठ खेलाडी घोषित हुनुभएको थियो । त्यसैगरी सर्वउथ्कृष्ट धनुधर पश्चिम म्याग्दी मगर समाज पोखराका बिनोद पुन हुनुभएको छ ।

प्रतियोगितामा खोल तिप्लु हान्ने खेलाडीहरु रमेश भटचन,मानेन्द्र छन्त्याल, थगेन तुलाचन र बिकाश शेर्पालाई सम्मान गरिएको थियो । म्याग्दी मगर समाज काठमाण्डौ उपत्यकाले खेलकुद सहित विभिन्न सामाजिक एवम् मानवीय सेवामा समेत सहयोग गर्ने गरेको छ । यो म्याग्दीमा जन्मिएर काठमाण्डौमा समस्यामा परेकाहरुलाई समेत सहयोग गर्ने संस्थाको स्पमा स्थापित छ ।

हिमाल घर्ती मगरको ‘माया मेरी’को म्युजिक भिडियो बजारमा

उत्तरी अन्नपूर्ण गाउँपालिकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खोप्रामा छायांकन गरिएको मौलिक लोकभाका गीत “माया मेरी”को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

बेनी नगरपालिका–३, भकिम्लीका शिशिर राम्जाली रोका र पाउद्वारकी अस्मिता तिलिजा पुनले अभियन गर्नुभएको म्यूजिक भिडियोको खोप्राको प्राकृतिक सौन्दर्य, पाउद्वार गाउँको मौलिक संस्कृति तथा सामाजिक परम्पराहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ।

स्थानीयपन झल्किने दृश्यावलोकनसहितको यो भिडियो सांस्कृतिक संरक्षण तथा प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।  गीतमा हिमाल घर्ती मगर र प्रतिमा केसीको स्वर, निर्देशन नारायण मगर शब्द संकलन सुनिल गिरीको रहेको छ । म्यूजिक भिडियो हेरर प्रतिक्रिया दिन कलाकार शिशिर राम्जालीले दर्शकस्रोतालाई अनुरोध गर्नुभएको छ । म्यूजिक भिडियो मायाँ प्रेमसँग सम्बन्धित रहेको छ ।

ज्यामरुककोट क्षेत्रका दुई दर्जनबढी कुवा र पधेरा नासिए

विगत ३२ वर्षयता म्याग्दीको ऐतिहासिक स्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनबढी कुवा र पधेराहरु नासिएका छन् ।तत्कालिन पर्वत राज्य अन्तर्गतको शक्तिशाली थुम मानिएको ज्यामरुककोटमा १७ औँ शताव्दीमा ज्यामरुके राजा भर्दिवम मल्लले निर्माण गर्न लगाएका चारओटा कुवा र अन्य ऐतिहासिक सम्पदाहरुको अहिले नामोनिसान मेटिएको स्थानीय जेष्ठ नागरिकहरुले बताएका छन् ।

त्यसका साथै स्थानीयले पानीको स्रोत खोजी गरि निर्माण गरेका २० ओटा भन्दा बढी कुवा र पधेराहरु गाउँ गाउँमा मोटरबाटो र विकासका अन्य पूर्वाधारहरु निर्माण गर्ने क्रममा नासिएका ज्यामरुककोटका ८५ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

“२०५० सालसम्म गौश्वारा,तमाने,सानालेख,भकुण्डे,फापरखेत,रोहोटे,खबरा,बगरफाँट लगाएतका ठाउँहरुमा देखिएका कुवा र पधेराहरुको अहिले नामोनिसान मेटिएको छ । बाँकी रहेका पुराना केही कुवा र पधेराहरु पनि पुरिन थालेका छन्” उहाँले भन्नुभयो । “खानेपानीको संकट बढ्दै गएको छ तर सयौं वर्ष पहिले निर्माण गरिएका कुवाँ र पधेराहरु भने नासिदै गएका छन् । यिनको संरक्षण गर्न सक्ने हो भने मूलको चिसो र सफा पानी खान पाइने थियो”उपाध्यायले भन्नुभयो ।

बेनी नगरपालिका वडा नं २ मा पर्ने ज्यामरुककोट प्राकृतिक सुन्दरता,जैविक विविधता,ऐतिहासिक सम्पदाहरुले सम्पन्न भएकोले पछिल्लो समय भ्रमणका लागि यहाँ आएने पर्यटकहरु बढ्न थालेका ज्यामरुकोटका स्थानीय समाजसेवी भीमबहादुर पौडेलले बताउनुभयो ।

उहाँका अनुसार गाउँगाउँमा मोटरबाटो लगाएतका अन्य विकासका पूर्वाधारहरु निर्माण हुन थालेपछि कुवा,पधेरा लगाएतका प्राचिन सम्पदाहरु नासिदै गएका हुन् । ज्यामरुककोटको फापरखेत घर भै हाल काठमाण्डौंमा बस्दै आउनुभएका डा.भविन्द्र घिमिरे (भवभिन्न) ले वाल्यकालमा आफूले पानी बोकेका,नुहाएका र कपडा धोएका कैयौं कुवाहरु अहिले नरहेका बताउनुभयो ।

“मैले आँफै प्रत्यक्ष देखेका र पानी उवाएर खाएका ढाँडपानीको उपल्लो कुवा, ढाँडपानीको तल्लो कुवा, डौँडाराको कुवा,माझथरको कुवा,सात्ले पानीको कुवा अहिले मोटरबाटोले पुरेको छ” उहाँले भन्नुभयो “यी कुवाहरुका साथै नाङ्लाको कुवा,गरापानीको तल्लो कुवा,गरापानीको उपल्लो कुवा,खेतघरपरिको कुवा,कोटको कुवा,रोहोटेको कुवा,पानी खोरको कुवा,बिरायाको कुवा,सानालेख कुवा,तमाने कुवा,गौश्वारा कुवा,कमेरे पानीको कुवा,ठुलो पँधेराको कुवा,सिमे कुवा,मजुवाको कुवा,दारिमपाट, पीपलडाँडा, अम्बोट र बगरफाँटको कुवाको नामोनिसान मेटिएको छ ।”

ज्यामरुककोटबासी कुवाको पानीमा भर पर्न छोडेको तीन दशक वितिसकेको छ । रहेबचेका केही कुवाहरु पनि जीर्ण अवस्थामा रहेका छन् । ती कुवाहरुको संरक्षण गर्न कसैको पनि चासो नगएको र त्यस्तो महत्वपूर्ण सम्पदाहरु अहिले अलपत्र अवस्थामा रहेका अर्जन मावि भकुण्डेका पूर्व प्रधानाध्यापक टीकाबहादुर कार्कीले बताउनुभयो ।

नेपाल एकिकरण हुनुपूर्वको तत्कालिन पर्वत राज्य अन्तर्गतको शक्तिशाली भूगोल भित्र समेटिएको यस क्षेत्रमा विकासको नाममा प्राकृतिक र ऐतिहासिक सम्पदाहरुको नास हुँदै गएकाले पाको पुस्ता चिन्तित बेनी नगरपालिका २ खबराका चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

सम्पदा संरक्षणको चेतना विकसित नहुँदा ज्यामरुककोटका मात्रै होइन जिल्लाका ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक,पुरातात्विक,प्राकृतिक र धार्मिक महत्वका सयौं वर्ष पुराना सम्पदाहरु लोप हुँदै जान थालेका उहाँले बताउनुभयो। कुवा र पधेरा मात्रै होइन गाउँघरबाट देवल,मुर्ति,चौतारी,पोखरी,मठ,मन्दिर, ढिकी जाँतो,घट्ट,ठेकाठेकी,घुमाउने घर, ढुङ्गे धारा लगाएतका कैयौं रैथाने सीप र ऐतिहासिक सम्पदाहरु हराएर गएका उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “सन्तानहरुले आफ्नै पुर्खाका पाइलाका डोबहरुलाई विर्सेका छन् । खर र ढुंगाले छाएका घरका धुरीहरु भत्केका छन् । पींडि र आँगनमा झार बढेर झाडी बनेका छन् । वाँझै रहेका खेतबारीमा बनमारा र उन्यू भm्याङ्गिएको छ ।

कंक्रिण र फलामे रडका भवन ठडिएका छन् । सडक बनेर मोटर गुडेका छन् । तर,गाउँलेहरु भने खुसी भएका हुन् की दुःखी भएका हुन् छुट्टाउनै नसकिने अवस्थामा देखिन्छन ।”

१७ औं शताब्दीदेखि वस्तुविनिमयको प्रमुख व्यापारिक केन्द्र रहेको म्याग्दीमा पहिलो पटक तत्कालिन पर्वते राजा राजबमले व्यापारिक अक्कल लगाएका ऐतिहासिक तथ्य रहेको छ । मुस्ताङ, बागलुङ र रुकुमको चौबाटो पर्ने भएकाले राजा राजबमले व्यापारको अक्कल लगाए ।खानीहरु सञ्चालनमा आए ।

ज्यामरुककोटबाट ल्याइएका कालीगडहरुले तामा र फलाम निकाल्न थाले । तामा र फलामबाट सुरु भएको बेनीको व्यापार सुन,नुन र ऊन हुँदै अहिले सूचना प्रविधि र विकास निर्माणका सामानहरुको व्यापारिक केन्द्र नै बनेको छ । तर अहिले यहाँको अवस्था फेरिएको छ । पैदल हिड्ने बाटोको नामोनिसान छैन । फराकिलो सडक बनेको छ । सडकमा मोटर गुडेका छन् तर पुर्खाका पाइलाको डोव मेटिएका छन् ।

म्याग्दीको धौलागिरी हिमालको आरोहण दिवस पोखरामा मनाइयो

गत बैशाख ३० धौलागिरि हिमाल आरोहण भएको ६५ वर्ष पूरा भएको अवसरमा गण्डकी प्रदेशको पोखरामा धौलागिरी आरोहण दिवस तथा धौलागिरी पदयात्रा, समस्या र चुनौती विषयक कार्यक्रम गरियो ।

म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीमा रहेको विश्वको सातौँ अग्लो धौलागिरि हिमालका बारेमा आयोजित कार्यक्रमका बारेमा म्याग्दीबाट निर्वाचित संघीय, प्रदेश तथा गाउँपालिकाका जनप्रतिनिधिलाई खवर गरिएन् ।

दिवसको अवसरमा धौलागिरी हिमालका बारेमा धौलागिरि पदमार्गका समस्याका बारेमाअनेक बहस भएपनि त्यहाँ तयार भएका पूर्वाधारका बारेमा कम छलफल भएको छ ।

पदमार्गमा खोल्साखोल्सीमा सामान्य पुल नभएको, बाटो देखाउने चिह्न, हिउँपहिरो भएका ठाउँको पहिचान लगायत साधारण पूर्वाधार पनि नहुँदा पर्यटकलाई सास्ती हुने गरेको पोखराका पर्यटन ब्यवसायीको तर्कमा संघीय, प्रदेश र स्थानीय तहको प्रयासमा विगत ७ बर्ष यता तयार भएको पदमार्ग सहित अन्य पूर्वाधारका बारेका बोल्ने अवसर स्थानीयले पाएनन् ।

Exif_JPEG_420

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीले आयोजना गरेको कार्यक्रमका बारेमा कुनै जानकारी नभएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो। ‘यो हामीलाई गरिएको अपमान हो, हाम्रो गाउँपालिकाभित्र रहेको धौलागिरी हिमालको दिवस जिल्ला बाहिर मनाउनु नै गलत हो’ अध्यक्ष पुनले भन्नुभयो ।

धौलागिरी पदयात्रामा जाने पर्यटकलाई सडक, पदमार्ग तथा त्यस क्षेत्रमा तयार भएका पूर्वाधारका बारेमा जानकारी गराउने अवसरबाट बन्चित गरिएको भन्दै यस विषयमा प्रदेश सरकारसमक्ष लिखित गुनासो गरिने अध्यक्ष पुनको भनाई छ । अध्यक्ष पुनले धौलागिरी हिमालको आरोहण दिवस अव गाउँपालिका बाहिर मनाउन नदिने गरी आगामी बर्षको निति तथा कार्यक्रममा नै समावेश गरिने बताउनुभयो ।

Exif_JPEG_420

टानले आयोजना गरेको दिवसमा गण्डकी प्रदेशका पर्यटन सचिव इन्द्रप्रसाद बस्याल, नेपाल पर्यटन बोर्ड गण्डकीका वरिष्ठ अधिकृत युवराज गुरूङ लगायत पर्यटन क्षेत्रका संघसंस्था,टे«किङ ब्यवसायी लगायतको उपस्थिती रहेको थियो । विश्वमा ८ हजार मिटर अग्लो १४ हिमालमा नेपालमा ८ वटा छन् जसमा सातौं अग्लो धौलागिरी र १० औं अग्लो अन्नपूर्ण हिमाल म्याग्दीमा पर्छ भने अर्कोे मनास्लु हिमाल गोरखामा छ ।

म्याग्दीको पर्यटन क्षेत्रका कार्यक्रमहरु विभिन्न बाहनामा जिल्ला बाहिर गर्ने गरिएकाले म्याग्दीको पर्यटन प्रवद्र्धन, संरक्षण र विकासका कार्यमा समेत बाधा पुगेको छ ।

धौलागिरि हिमाल आरोहण गर्न सर्वप्रथम अर्जेन्टिनाको आरोहण दलले सन् १९४५ मा सुरूआत गरेको थियो। उक्त टोलीका एक जना सदस्यको आरोहण क्रममा मृत्यु भयो। आरोहण दल धौलागिरि चुचुरा नटेकी फर्किएको थियो। निरन्तर पाँच वटा टोली आरोहणमा असफल भएपछि सन् १९६० मे १३ मा स्विट्जरल्यान्डको आरोहण दलले पहिलो पटक धौलागिरि चुचुरा टेक्यो। सन् १९५० मा मोरिस हर्जोगको धौलागिरि चढ्ने प्रयास असफल भएपछि उनी अन्नपूर्णतिर लागेका थिए।

त्यसको १० वर्षपछि सन् १९६० मा आएर मात्र स्वीस तथा अष्ट्रियन टिमका कुर्त डाइमवर्गर, पिटर डाइनर, अर्नष्ट फोरेर, अल्विन शेल्वर्ट, नीमा दोर्जे र ङावाङ दोर्जेले धौलागिरिको सफल आरोहण गरे। २००९ सम्मको ४९ वर्षमा चार सय १३ जना आरोही मात्र धौलागिरिको शिखरमा पुग्न सफल भएका थिए। त्यस यताको गरी आरोहणको ६५ वर्षमा ६ सय ८० जना भन्दा बढीले धौलागिरि चुचुरो टेकिसकेका छन्। आरोहण क्रममा ९० जना भन्दा बढीले ज्यान गुमाइसकेको छन् ।

हिमाल आरोहणको तथ्याङ्क भएपनि पदमार्गमा जाने पर्यटकको तथ्याङ्क राख्ने निकाय समेत अहिलेसम्म छैन् । लामो समयदेखि धौलागिरी क्षेत्रको पर्यटनका लागि सक्रिय धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले धौलागिरी हिमालका गतिविधि जिल्ला बाहिर सञ्चालन गर्ने कार्यले नै यहाँ काम गर्न समस्या भइरहेको बताउनुभयो । जिल्लाका सरोकारवाला निकायलाई चासो छैन, त्यहाँ गर्नुपर्ने उत्सव र छलफल अन्य जिल्लामा गर्नु म्याग्दीबासीको अपमान भएको पर्यटन क्षेत्रका जानकारहरु बताउँछन्

मंगला शिक्षा क्याम्पसको अक्षय कोषमा सहयोग

मंगला गाउँपालिका-२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको मुद्दती÷अक्षयकोष तथा आर्थिक सङ्कलन अभियानमा धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले सहयोग गरेका छन् ।

क्याम्पसको ‘एक घर एक दान’ अभियानमा गाउँपालिका उपाध्यक्ष रेशम पुनले १० हजार, प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल, वडा सदस्य रामबहादुर खत्री, लेखा सहायक विनिता मल्ल, समाजसेवी पामन रोका र प्रेमबहादुर नेपालीले सहयोग गरेको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै धवलागिरी गाउँपालिका उपाध्यक्ष पुनले पश्चिम म्याग्दीको शैक्षिक हब बनाउन क्याम्पसलाई आगामी दिनमा पनि रचनात्मक सहयोग हुने बताउनुभयो ।

सोही अवसरमा क्याम्पसको हालसम्मको प्रगतिका बारेमा संरक्षक एवम् मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जानकारी गराउनुभएको थियो । क्याम्पस अध्यक्ष याम थापाले प्रवासमा रहेका म्याग्देलीबाट क्याम्पसको जग्गा खरिद, शैक्षिक तथा भौतिक गतिविधिमा उल्लेखनीय सहयोग भएको बताउनुभयो ।

क्याम्पसले पहिलो चरणमा गाउँपालिकाभित्रका ३७ सय घरधुरीबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट क्याम्पसको शैक्षिक कोषमा सहयोग जुटाउने अभियानमा जिल्लाका अन्य स्थानीय तहबाट समेत सहयोग आउन थालेको छ ।

समुदायबाटै प्राप्त सहयोगबाट सञ्चालित क्याम्पसले यो अभियानमार्फत पूर्व कालिन प्राध्यापकलाई तलब सुविधा, क्यूएए प्रक्रियाका पूर्वाधारहरू तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन घरदैलोमा पुगेको टोलीले क्याम्पसका हालसम्मको गतिविधिका बारेमा समेत जानकारी गराउने गरेको छ ।

क्याम्पसले १२ लाख सहयोग गर्नेलाई संरक्षक, ७ लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, १ लाख सहयोग गर्नेलाई आजीवन सदस्य, ५० हजार सहयोग गर्नेलाई वरिष्ठ सदस्य र ५० हजारभन्दा कम सहयोग गर्नेलाई क्याम्पस सभा सदस्य प्रदान गरेको छ ।

पश्चिम म्याग्दीमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न क्याम्पसको पूर्वाधार अभियानमार्फत संकलित आर्थिकबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गासमेत खरिद गरी क्याम्पसको भवन, प्रशासनिक भवन, छात्रावास सहितको संरचना समेत बनेको छ।

हाल शिक्षा शास्त्र सङ्कायमा स्नातक तहमा २४० जना विद्यार्थी अध्ययनरत छन्।सहरमा पढ्न जान खर्च नभएर छाडेका धेरै छोरी बुहारीलाई वरदान साबित भएको क्याम्पस समुदायको जगमै स्थापित भएको क्याम्पसले विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तिको अभियानमा समेत जुटेको छ।

रत्नेचौर–भकिम्ली सडक कालोपत्र हुँदै

रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक रु. २३ करोड ३२ लाखको लागतमा कालोपत्र हुने भएको छ । यसका निम्ति आवश्यक तयारी भइरहेको छ ।‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको तयारी थालेको हो ।

सडक फराकिलो पार्ने, टेवा पर्खाल लगाउने, वर्षाको पानी निकासका निम्ति नाली बनाउनेलगायत काम धमाधम भइरहेको छ । आगामी एकदुई दिनमा कालोपत्र थालिने इञ्जिनियर अरुण सेढाईंले बताउनुभयो । सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिमा कालोपत्र र दुई किलोमिटर आरसिसी ढलान गरिने छ । “ग्राभेल गर्ने, बेस बिछ्याइएको छ, अब कालोपत्रका लागि तयारी अवस्थामा छौँ”, सेढाईंले भन्नुभयो ।

पहिलो चरणमा उपल्लाचौरदेखि तोराखेतसम्म नौ किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर ३०० मिटर कालोपत्र र ३०० मिटर सडक ढलान भइसकेको छ । रासस

कालीगण्डकी नदी सुकाएर विद्युतको चलखेल

पवित्र कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्न फेरी चलखेल सुरू भएको छ। म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठूलो पहिरोमा बाँध राख्ने गरी बेनी कालीगण्डकी जलविद्युत आयोजनाको ५०.५ मेगावाट क्षमताको विद्युत आयोजना निर्माणका लागि विद्युत विकास बोर्डले सूचना जारी गरी आयोजना विकास गर्न इच्छुक व्यक्ति वा कम्पनीलाई प्रतिस्पर्धाका लागि आह्वान गरेको छ ।

बैशाख २७ गतेको गोरखापत्र दैनिकमा आयोजना विकास गर्न इच्छुक व्यक्ति वा कम्पनीले विद्युत ऐन, विद्युत नियमावली र निर्देशकाको दस्तुर सहितको प्रक्रिया पूरा गरी आयोजनालाई अगाडी बढाउन विद्युत विकास बोर्डले सूचना प्रकाशित गरेको छ ।

यो आयोजनालाई नेपाल सरकारले नै अगाडी बढाउन बि.स २०७७ सालमा अध्ययनलाई बजेट बिनियोजन गरेको थियो । उर्जा, जलस्रोत मन्त्रालयले प्रारम्भिक सर्वेक्षण सहितका कार्यका लागि ३९ लाख ९४ हजार बजेट बिनियोजन गरेको थियो । गुपचुप सरकारी संयन्त्रबाटै आयोजनालाई अगाडी बढाउन खोजेपछि तत्कालिन समयमा बेनी नगरपालिकाले बिरोध गरेको थियो भने जिल्लाका राजनीतिक दलले समेत जिल्लासभाबाट आयोजनाले बेनीबजारलाई नै असर गर्ने भन्दै रोक्न सर्वसम्मत निर्णय गरेका थिए ।

केही महिना अगाडी उर्जा मन्त्री दिपक खड्कालाई नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदी, बेनी नगरपालिकाका मेयर सुरत केसीले ज्ञापनपत्र नै बुझाएर कालिगण्डकी सुकाउने गरी प्रस्तावित आयोजनालाई अगाडी बढाउन कुनैपनि हालतमा सहमत हुन नसकिने भन्दै स्थगतको माग गर्नुभएको थियो ।

हाल उर्जा तथा जलश्रोत राज्यमन्त्री खमबहादुर गर्बुजाले आयोजनाका बारेमा अध्ययन गरी जिल्लाबासीको हितविपरित भए अगाडी बढाउने कार्य रोक्ने बेनीअनलाइनसँग बताउनुभएको छ । १० औं जिल्लासभाले समेत कालिगण्डकी नदीलाई नै असर गर्ने आयोजना रोक्ने विषयमा चर्चा भएको थियो ।

आयोजनाको गलेश्वर मन्दिर भन्दा १.२ किलोमिटर तल बेनी नगरपालिका वडा नं ६ ठुलाखोला र जलजला गाउँपालिका वडा नं २ को सिमानामा बाँध निर्माण गरि तीन हजार ५३७ मिटर लामो सुरुङबाट पानी लगेर जलजला ४ मा पर्ने शेराफाँटमा रहने विद्युतगृहमा खसालेर विद्युत निकाल्ने गरि विभागले आयोजनाको प्रस्ताब गरेको छ ।

एक टोलीले एक बर्ष अगाडी ठूलोपहिरोमा चौतर्फी विरोध भएपछि अहिले प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम र राम मन्दिर आसपासका क्षेत्रमा प्राविधिक टोलीले सम्भाव्यता अध्ययनमा जुटेको थियो ।

रन अफ द रिभर प्रकृतिको यस आयोजनाका लागि तीन मिटर अग्लो र ९० मिटर लम्बाईको बाँध रहने प्रस्तावित यस आयोजनाको ग्रस हेड ९४.८३ मिटर अग्लो छ। आठ अर्व २० करोड सात लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको काम अगाडी बढेमा कालिगण्डकी नदीमा हिउँदको समयमा करिब ३० प्रतिशत मात्रै पानी बग्ने छ । हालसम्म यस्ता प्रस्तावमा सम्पन्न भएका आयोजनाले नदी नै सुरुङमा हालेर लगेका प्रसस्त उदाहरणहरु छन् ।

यता वातावरण संरक्षण ऐन, २०५३ र वातावरण संरक्षण नियमावली, २०५४ मा विद्युतको ड्याम रहेको क्षेत्रबाट तल्लो क्षेत्रमा निकुञ्ज, संरक्षित क्षेत्र, घाट रहेमा २५ प्रतिशत पानी नदीमा नियमित बग्न दिनुपर्ने र अन्य साधारण क्षेत्रहरूमा भने १० प्रतिशत पानी अनिवार्य नदीमा नियमित बग्न दिने व्यवस्था भएपनि कालिगण्डकी नदीमा लागु गर्न असम्भब भएको भन्दै आवश्यक परेमा कडा आन्दोलनमा उत्रिने बेनीबजारबासीको भनाई छ ।

कालीगण्डकी अथवा गण्डकी नदी नेपालको दोस्रो ठूलो तथा संसारको सबै भन्दा गहिरो गल्छी बनाएर बग्ने नदी हो। कालीगण्डकीको नदी तिब्बतमा उत्तरपत्ती भएर मुस्ताङ, म्याग्दी, पर्वत हुदै बग्छ।

जलविद्युतको सेयर लगानीमा जिल्लालाई नै प्रभावित क्षेत्र बनाउन माग

म्याग्दी जिल्लामा निर्माणधिन अवस्थामा रहेका जलविद्युत कम्पनीको सेयर लगानीमा जिल्लाबासीलाई अवसर दिने गरी प्रभावित क्षेत्र कायम गर्न माग गरिएको छ ।

मंगलबार सम्पन्न १० औं जिल्लासभामा जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीलाई असर नगर्ने गरी जिल्लाका ६ वटै स्थानीय तहका ४५ वटै वडालाई प्राप्त गर्ने अग्राधिकार प्रदान गर्ने ब्यवस्था मिलाउन नेपाल सरकारमार्फत प्रर्बद्धक कम्पनीलाई अनुरोध गर्ने निर्णय भएको छ ।

जिल्लासभाले गरेका निर्णयका बारेमा जानकारी बेनीअनलाइसँग कुराकानी गदैं जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्रीले जिल्लाबासीको जलविद्युतमा अपनत्व आवश्यक रहेकाले यो निर्णयका बारेमा जलविद्युत आयोजना पक्षसँग समेत छलफल गरिने बताउनुभयो ।

म्याग्दीको रघुगंगा, अन्नपूर्ण, मालिका र धवलागिरी गाउँपालिकामा ४ सय ५६ भन्दा बढी मेगावाटका १२ जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । हाल जलविद्युत आयोजना प्रभावित क्षेत्रका वडालाई मात्रै सेयर निष्कासन गर्ने गरेपनि विभिन्न बाहना बनाएर सिमित ब्यक्तीको चलखेल हुने गुनासो गर्ने गरिएको छ ।

यसैबीच सभाबाट विभिन्न ११ निर्णयहरू गरिएकोमा प्राथमिकीकरणमा परेका ५८ योजनाहरूका बारेमा प्रदेश र संघीय सरकारलाई बजेट माग गर्ने, म्याग्दी जिल्ला हिमाली जिल्ला घोषणा भएको आधा दशक वितिसक्दा समेत पूर्णरुपमा कार्यान्वयन नभएको भन्दै नेपाल सरकारलाई दबाब सिर्जना गर्ने, कालिगण्डकी करिडोर अन्तरगत बेनी जोमसोम कोरला सडक नाका समयमै सम्पन्न अनुरोध गर्ने निर्णय भएको शाखा अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो ।

यसैगरी म्याग्दीमा सिप विकास तालिम केन्द्रको कार्यालय स्थापनाका लागी सम्बन्धित निकायमा पत्रचार गर्ने, म्याग्दीमा कार्यालय रहेको संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय पोखरा स्थानान्तर गर्ने तयारी भएकाले जिल्लामै कार्यालय काम गर्ने डेलिगेसन जाने र जिससले स्थानीय तहहरुसँगको साझेदारीमा आयोजना सञ्चालन गरेकालाई रकम विनियोजन गर्ने र सुस्त गतिमा रहेका आयोजनाको अनुगमन गरी दबाब दिने लगायतका निर्णयहरु भएका छन् ।

अष्ट्रेलियामा नेपालीहरुबिच फुटसल प्रतियोगिता : खुकुरी फुटबल क्लव विजयी

अष्ट्रेलियामा रहेका म्याग्देलीहरुको संस्था द रियल म्याग्दी क्लवले एभरेष्ट ग्लोवल एजुकेशनको मुख्य प्रायोजकमा आयोजना गरेको प्रथम फाइभ ए साइड फुटसल प्रतियोगिा सम्पन्न भएको छ ।

मातृभूमीप्रतिको माया र परदेशमा रहेका नेपालीहरुबिच सद्भाव बृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त फुटसल प्रतियोगितामा खुकुरी फुटबल क्लव क्यानबेरा विजयी भएको छ ।

त्यसैगरी आयोजक संस्था द रियल म्याग्दी क्लब उपविजेता बनेको छ । विजेता र उपविजेताले चार हजार र दुई हजार डलर पुरस्कार प्राप्त गरेका त्यहाँबाट सुशिल कार्कीले जानकारी दिनुभएको छ ।

सुमन बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली संस्कृति झल्कने नृत्य पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा अभिशेक चापागाइँलाई वेष्ट प्लेयर,अनिल तामाङलाई वेष्ट किपर र मनिष थापालाई हाइ स्कोरेर घोषणा गरिएको थियो ।