Saturday, June 28, 2025
22.2 C
Beni
22.2 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 33

गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता

गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ।

अबदेखि निजी चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बिमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने छन्। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रिपरिषद् बैठकबाट नियमावली पारित भएसँगै ‘राइड सेयरिङ’ले कानुनी मान्यता पाएको बताए।

मङ्गलबारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० पारित गरेको थियो। ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई समेत आधार मान्दै राइड सेयरिङ कम्पनीलाई वैधानिकता दिइएको छ, नियमावलीमा भएको व्यवस्थाअनुसार यो छिट्टै कार्यान्वयनमा जान्छ’, मन्त्री केसीले भने।

सर्वोच्च अदालतले यसअघि पठाओजस्ता राइड सेयरिङ कम्पनीलाई उपभोक्ताको हक, श्रम र रोजगारीजस्ता मौलिक हकसँग जोड्दै कानुनी व्यवस्था छिटो मिलाउन निर्देशनात्मक आदेश दिएको थियो।

अनधिकृत रूपमा सेवा दिइरहेका राइड सेयरिङ कम्पनीलाई लामो सयमको प्रयासपछि कानुनी दायरामा ल्याइएको मन्त्रीले केसीले बताए। नियमावलीका विषयमा यातायात व्यवसायीहरूसहित सरोकार भएका पक्षसँग चरणबद्ध छलफल गरिएको मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका उपसचिव प्रदीपकुमार रेग्मीले बताए।

‘राइड सेयरिङका विषयमा यातायात व्यवसायीहरूका केही फरकमत छन्, तर व्यापक छलफल र तयारीपछि नियमावली ल्याइएको छ’, उनले भने, ‘यातायात व्यवस्थापन प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेकाले आवश्यक कानुनी प्रबन्ध गरेर राइड सेयरिङलाई वैधता दिइएको हो।

यसअघि गत असारमा प्रदेश राजधानी पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्यलाई मन्त्रालयले रोक लगाएको थियो। यातायात व्यवसायीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ विपरीत रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु बोक्न नपाउने भन्दै विरोध जनाएका थिए।

प्रदेश सरकारले बनाएको नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बिमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ।

नियमावलीमा भएको व्यवस्थाअनुसार मापदण्ड र कार्यविधि बनेपछि मात्र निजी सवारीसाधन ‘राइड सेयरिङ’ कम्पनीमा दर्ता हुन पाउने छन्। राइड सेयरिङ सेवाका लागि प्रदेश सरकारका इजाजत लिनुपर्ने व्यवस्था छ।

दुईपाङ्गे सवारीको अनुमति लिँदा रु २५ हजार र चारपाङ्ग्रेको रु ५० हजार र दुवै सेवा दिने कम्पनीले रु ७० हजार तिनुपर्ने जनाइएको छ। अनुमति लिँदाको कुल रकमको ५० प्रतिशत नवीकरणमा तिर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ।

राइड सेयरिङ कम्पनीले सवारीसाधन दर्ता गरेबापत यातायात व्यवस्था कार्यालयमा छुट्टै सेवा शुल्क पनि तिर्नुपर्ने मन्त्रालयले जनाएको छ। सवारी धनीले पनि छुट्टै शुल्क तिनुपर्ने व्यवस्था छ। बिनाइजाजत राइड सेयरिङ सञ्चालन गरेमा कानुनी कारबाही र जरिवानाको व्यवस्था गरिएको छ।

सेवाको अनुगमनका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा छुट्टै समिति गठन हुने व्यवस्था नियमावलीले गरेको छ। नेपालमा पठाओ, इनड्राइभज, सजिलो, ट्याक्सीमाण्डुलगायत राइड सेयरिङ एप सञ्चालनमा छन्

गौशालाका लागि १७ रोपनी जग्गा प्रदान

बेनी नगरपालिका–२ मा गौशाला सञ्चालनका लागि स्थानीय दीपक मल्लले १७ रोपनी १४ आना जग्गा प्रदान गर्नुभएको छ । गौशाला सञ्चालन, आयुर्वेद अनुसन्धान केन्द्र स्थापना तथा गिरिराजको मूर्ति निर्माण गर्ने उद्देश्यले वैशाख १५ देखि ३० गतेसम्म यहाँ सञ्चालन भएको महायज्ञमा जग्गाबाहेक नगद एक करोड पाँच लाख सङ्कलन भएको आर्थिक सङ्कलन उपसमितिका संयोजक हिराबहादुर थापाले बताउनुभयो ।

बेनी नगरपालिका र वडा नं २ का जनप्रतिनिधिले गौस्वाराको पूर्वाधार निर्माणमा १५ लाख विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने ३८ फिट अग्लो गोवर्द्धन पर्वत आगामी छ महिनाभित्र पूरा गर्नेगरी निर्माण थालिएको छ । रासस

बाँझो बारीमा आलुखेती : प्रधानमन्त्री रोजगार कार्यक्रमको नयाँ पहल

मोदी गाउँपालिकाले आम्दानी बढाउन १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती सुरु गरेको छ। पालिकाले क्याङमा यो खेती थालेको हो। मोदी गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख अनमोल क्षेत्रीका अनुसार पहिलो पटक छ रोपनीमा परीक्षणका लागि गरिएको आलुखेती सफल भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नियुक्त श्रमिकलाई परिचालन गरेर यो खेती गरिएको हो।

व्यावसायिक आलुखेतीका लागि बीउ र मल खरिदमा पालिकाले ९५ हजार रुपैयाँ लगानी गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम निष्प्रभावी भएको गुनासो आइरहेका बेला पालिकाले कृषि उत्पादनमा श्रमिक परिचालन गरेको क्षेत्रीले बताए।

मोदी गाउँपालिकाको वडा नं १, ३ र ४ आलु उत्पादनका लागि ‘पकेट’ क्षेत्र मानिन्छन्। लामो समय बाँझो रहेको जमिन उपयोग गरेबापत पहिलो वर्ष निःशुल्क जग्गा प्राप्त भएको र आगामी आर्थिक वर्षदेखि भाडामा लिएर आलुखेती गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले बताए। उनले ५० क्विन्टलभन्दा बढी उत्पादन हुने अनुमान गरेको बताए।

पालिकाले हरेक वर्ष १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार नागरिकलाई न्यूनतम एक सय दिनको रोजगारी दिँदै आएको छ। उनीहरूलाई सडक मर्मत, गोरेटो, पदमार्ग, सार्वजनिकस्थल, चौतारी, पोखरी, मठमन्दिर मर्मत र निर्माणजस्ता काममा परिचालन गरिन्छ। रासस

गौस्वारामा गोर्वद्धन महायज्ञको दानले धार्मिक गन्तब्य बनाइने

बेनी नगरपालिका-२,गौस्वारामा सञ्चालित महायज्ञबाट ३८ फिट अग्लो गोर्वद्धन पर्वतको मुर्ती निर्माण सहित भौतिक संरचना बनाउने कार्य सुरु भएको छ । महायज्ञ समापन भएकै दिन मंगलबार शिलन्यास गरिएको छ । १५ दिनसम्म सञ्चालन भएको महायज्ञमा एक करोड पाँच लाख नगद र २४ रोपनी जग्गा सहयोग प्राप्त भएको आर्थिक संकलन उपसमितिका संयोजक हिराबहादुर थापाले जानकारी दिनुभयो ।

गौस्वारामा गौशाला सञ्चालन, आयुर्वेद अनुसन्धान केन्द्र बनाउने र धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न गोर्वद्धनको मुर्ती निर्माण गर्ने उद्देश्यले सञ्चालित महायज्ञमा स्थानीय दिपक मल्लले गौशालाका लागि १७ रोपनी १४ आना जग्गा निशूल्क उपलब्ध गराउनुभएको छ भने वडा नं–२ का जनप्रतिनिधीहरुले गौस्वाराको पूर्वाधार निर्माणमा रु. १५ लाख बजेट बिनियोजन गर्ने घोषणा गरिसकेका छन् ।

हिन्दु धर्मावलम्बीहरुका भगवान कृष्णले गोर्वद्धन पर्वत उचालेको मुर्ती निर्माण र आठ फिट अग्लो शंख राख्ने योजनालाई तिब्रता दिइने छ । मुक्तीनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको परिकल्पना अनुसार सञ्चालन भएको महायज्ञ बेनीको भाषा मंका खलको सभाहलमा महाप्रसाद वितरणमा समुन्द्रि सतहदेखि करिब दुई हजार मिटर उचाईमा रहेको गौस्वारालाई धार्मिक तथा पर्यटकीय गन्तब्य बनाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

महायज्ञमा पण्डीत सुर्दशन बडालले कथा बाचन गर्नुभएको थियो । गौस्वारामा आयुर्वेद औषधीय हिसाबले महत्वपूर्ण स्थानीय रैथाने गाई संरक्षण गर्न गौशाला सञ्चालन गरी गहुँत र गोवर आयुर्वेद औषधी तयार पार्न कच्चा पदार्थको रुपमा प्रयोग गर्ने योजना समेत रहेको छ । गौस्वारा नजिकैको जंगललाई जडिबुटीको भण्डार समेत भनिन्छ ।

त्यहाँ पाइने जडिबुटीहरुको अनुसन्धान गरी प्रयोगमा ल्याउन स्थानीयले अनुसन्धानको क्षेत्रमा सक्रिय रहेका संघसंस्थालाई समेत सहयोगमा अगाडी बढ््ने जनाइएको छ ।

विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापकलाई कारबाही

debilal sharma - 1

त्रिभुवन विश्वविद्यालयअन्तर्गत पृथ्वीनारायण क्याम्पस, पोखराका एक जना उपप्राध्यापक विद्यार्थीमाथि जातीय विभेद गरेपछि कारबाहीमा परेका छन् । क्याम्पस प्रमुख डा. हरिप्रसाद पाठकले मंगलबार उपप्राध्यापक डा. देवीलाल शर्मालाई व्यवस्थापन अनुसन्धान विभाग प्रमुखबाट हटाएका हुन् ।

डा. शर्माले एमबीए वित्ततर्फको शैक्षिक अवलोकन भ्रमणमा जाँदा विवाद भएपछि विद्यार्थी अमन परियारमाथि सोमबार अपमानजनक शब्द प्रयोग गरेर धम्क्याएका थिए । यसपछि पीडित विद्यार्थीले उपप्राध्यापक शर्मामाथि कारबाही हुनुपर्ने माग क्याम्पस प्रशासनसामु राखे । यस घटनालाई लिएर क्याम्पसमा सक्रिय स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, दलित विद्यार्थी समाज, तराई कानुन विद्यार्थी संघले क्याम्पस प्रमुखको ध्यानाकर्षण गराए ।

घटनाबारे बुझेपछि क्याम्पस प्रमुख पाठकले शर्मालाई व्यवस्थापन अनुसन्धान विभाग प्रमुखको जिम्मेवारीबाट विशेष परिस्थितिका कारण हटाइएको पत्र थमाएका हुन् । वैशाख २६ मा विभाग प्रमुख बनेका डा. शर्माको जिम्मेवारी ५ दिनमै खोसिएको हो ।उपप्राध्यापक शर्मालाई विभागीय जिम्मेवारीबाट मात्र नभई बर्खास्त नै गर्नुपर्ने विद्यार्थीको माग छ ।

दलित विद्यार्थी समाजका अध्यक्ष अमृत विकले शैक्षिक स्थलमा जातीय विभेदका घटना पटक-पटक हुनु आपत्तिजनक भएको बताए । डा. शर्मालाई बर्खास्त गरिनुपर्ने उनले माग गरे । निष्कासनको सिफारिस गर्न क्याम्पस प्रशासनले तदारुकता नदेखाए स्ववियुले यो मुद्दालाई गम्भीर ढंगले लिने स्ववियु सचिव विराट दुवाडीले बताए । दलित विद्यार्थी समाज पृथ्वीनारायण क्याम्पसले डा. शर्माविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराएको छ। उजुरी दर्ता अघि समाजले क्याम्पस प्रमुखलाई ज्ञापनपत्रसमेत बुझाएको थियो।

 

स्व. श्रीमानको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

म्याग्दीको बेनी नगरपालिका ५ बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयमा आफ्नो स्वा. श्रीमानको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ ।
बेनपा ६ चुत्रेनीका हिरा कुमारी बानियाँले आफ्नो स्व. श्रीमान भिमबहादुर बानियाँको सम्झनामा एक लाख एक हजार एक सय एघार रुपैयाँको अक्षयकोष स्थापना गरिएको विद्यालयका प्र.अ धनबहादुर क्षत्रीले जानकारी दिनुभयो ।
विद्यालयमा स्व. भिमबहादुर बानियाँ स्मृति कोष स्थापना गरेर त्यहाँबाट आउने ब्याजबाट वार्षिक रुपमा अतिविपन्न, गरिब तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।
मंगलबार विद्यालयमा आयोजित कार्यक्रमका बीच परिवार एकबर्षको पुन्यतिथिको अवसर पारेर परिवारले कोषको रकम विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्नुभयो ।
बौद्धिक अपागंता भएको विद्यार्थीहरुले कक्षा पाँच सम्म अध्ययन गर्ने विद्यालयमा स्थापना भएको कोषले विद्यार्थीहरुलाई अध्ययनमा सहज हुने अपेक्षा गरिएको छ ।

म्याग्दीमा पुर्व जनमुक्ती सेना नेपाल गठन

बेनी, ३० वैशाख । म्याग्दीमा पुर्व जनमुक्ति सेनाहरु आवद्ध भएर संस्था गठन गरेका छन् ।

तत्कालीन नेकपा माओवादीको नेतृत्वमा वि.स. २०५२ देखि २०६२ सम्म नेपालमा सञ्चालन भएको जनयुद्धमा जनमुक्ती सेनामा रहेकाहरुको मंगलबार बेनीमा भएको भेलाले संस्था र तदर्थ समिति गठन गरेका हुन् ।

पूर्णबहादुर पुन (अशिम)को अध्यक्षतामा गठन भएको संस्थाको उपाध्यक्षमा भुपेन्द्र बुढाथोकी (मिलन), सचिवमा भोजबहादुर थापा (कुमार) सहसचिवमा मनमाया बिक (प्रेरणा) र कोषाध्यक्षमा दुर्गा छन्त्याल (झरना) रहनुभएको छ । प्रेम गिरी (अबिरल) र गोविन्द पुन (गोविन्द सि) सदस्य रहनुभएको संस्थाको आगामी मंसिरमा प्रथम साधारणसभा तथा अधिवेशन आयोजना गर्ने निर्णय भएको छ ।

पुर्व जनमुक्ति सेनाहरुलाई संगठित गरि समाजमा उनिहरुको योगदान र भूमिकाको बारेमा जानकारी गराउने, राजनीतिक परिवर्तनमा योगदान गरेका जनमुक्ति सेनाहरुको विषयमा फैलाइएका नकारात्मक धारणा हटाउन सचेतना अभियान चलाउने, विभिन्न सामाजिक र रचनात्मक क्रियाकलाप गर्ने तथा अप्ठ्यारो परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले संस्था गठन गरिएको अध्यक्ष पुनले बताउनुभयो ।

सामाजिक उद्देश्यले गठन गरिएको संस्थालाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने र सबै राजनीतिक बिचारमा आवद्ध पुर्व जनमुक्ति सेनाका सदस्यहरुलाई आवद्ध गराउने उहाँले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य गोविन्द पौडेल, नेकपाका पोलिटब्युरो सदस्य धु्रब घिमिरे (विप्लप), माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, माओवादीका प्रदेश सहसचिव टेकबहादुर विश्वकर्मा लगायतको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

विकास पत्रकारिता पुरस्कारबाट म्याग्दीका तीन पत्रकारहरू सम्मानित

नेपाल टेलिभिजन म्याग्दीका संवाददाताद्वय प्रताप बानियाँ र राकेश शर्मा आज सम्मानित हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको वार्षिक समीक्षा तथा दशौं जिल्ला सभाको अवसरमा विकास पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको हो ।
म्याग्दी जिल्लामा पत्रकारिताको माध्यमबाट समग्र जिल्लाको विकासमा प्रचारप्रसार गरी सहयोग पु¥याएको भन्दै संवाददाता बानियाँ र शर्मालाई जनही ११ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको जिल्ला समन्वय समिति म्याग्दीले जनाएको छ । दुईजना संवाददातासँगै राष्ट्रिय समाचार समिति म्याग्दीका प्रतिनिधि दलप्रसाद विश्वकर्मालाई सम्मान गरिएको थियो ।
जिल्ला संवाददाताहरुलाई संविधानसभा सदस्यहरु गोविन्द पौडेल, नवराज शर्मा, नरदेवी पुन, रेशमबहादुर बानियाँ, गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले सम्मान गर्नुभएको थियो । नेपाल टेलिभिजन म्याग्दीको संवाददाताद्वय विगत एक दशकभन्दा बढी म्याग्दीको पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक ट्र्याक खुलेको १५ वर्षपछि स्तरोन्नति

म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नम्बर–१० पात्लेखेत जोड्ने सडक ट्र्याक खुलेको १५ वर्षपछि स्तरोन्नति भएको छ ।

बेनी–पाखापानी सडकको नेप्टेचौर–पात्लेखेत खण्डको वैकल्पिक छोटो दूरीको २०६७/६८ सालमा ट्र्याक खुलेपछि सामान्य मर्मत गरेर गाडी सञ्चालन हुँदै आएको थियो ।

चालू आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिकाले सञ्चालन गरेको बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजनामार्फत प्रवेशविन्दु, रातोपहिरो, नेप्टेचौर, काउरा, आरते, गिठीनी र आखेत क्षेत्रको अप्ठ्यारो गाउँमा सडक फराकिलो पार्ने, ग्याबियन पर्खाल, नाली र ढलान गरेर स्तरोन्नति भएको हो ।

सडक स्तरोन्नतिपछि यात्रा सहज भएको बेनी नगरपालिका–९ काउराका विनोद चोखालले बताउनुभयो । बेनी नगरपालिकाको प्राविधिक शाखाका प्राविधिक मिलन केसीका अनुसार विभिन्न ठाउँमा नौ सय आठ मिटर सडकलाई भित्ता काट्ने, पहिरो पन्छाएर फराकिलो पार्ने, टेवा पर्खाल, नाली निर्माण र ढलान भएको छ ।

तीन करोड रुपैयाँ बजेट विनियोजन भएको योजना कार्यान्वयन गर्न २०८१ पुस १९ गते दुई करोड नौ लाख रुपैयाँमा विकेश–दुप्चेश्वर–शुभम् जेभीले ठेक्का सम्झौता गरेको थियो ।

२०८२ साल असार २५ गतेसम्म ठेक्काको म्याद भएको योजना तीन महिनाअघि नै सम्पन्न भएको हो । निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै पर्याप्त मजदूर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना निर्माण गरेको बताउनुभयो ।

सडक, यातायातको सुविधासँगै मालिकाधुरीको यात्रा सहज बन्यो

सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित मालिका जाने भक्तजन र पर्यटकलाई आवागमन सहज भएको छ।

मालिका-७ बिम नागीथला र रघुगङ्गा-६ ठाडाखानीबाट देउरालीसम्म सवारीसाधन सञ्चालन हुन थालेपछि मालिकाधुरीमा पूजाआजा र दृश्यावलोकन गर्न जानेहरूलाई सहज भएको हो।

समुन्द्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको मालिकामा हरेक वर्ष चण्डी (वैशाख पूर्णिमा), भाइटीका र बालाचर्तुदर्शीका दिन धार्मिक मेला लाग्ने गर्दछ। सडक र यातायातको सुविधाका कारण भक्तजनको आगमन बढेको मालिका क्षेत्र संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए।

‘मालिकामा पूजाआजा, दर्शन र दृश्यावलोकन गर्न आउनेहरू अब पहिला यहाँ पुगेर टहरा, ओडारमा बास बस्नु पर्दैन,’ उनले भने, ‘बिहान घरबाट गाडी चढेर आएका भक्तजन मालिकामा पूजा गरेर दिउँसै घर पुग्न सक्ने अवस्था बनेको छ।’

सोमबार बिहानदेखि दिउँसो २ बजेसम्म चार हजार ५०० भन्दा बढी भक्तजनले मालिकामा पूजा गरेका अध्यक्ष पाइजाले जानकारी दिए। उनका अनुसार यहाँ म्याग्दीको साथै पर्वत र बागलुङ जिल्लाबाट भक्तजनहरू बढी आउने गर्दछन्। यसअघि मालिका दर्शनका लागि भक्तजनहरू अघिल्लो दिन नजिकै गएर जङ्गलको ओडार र टहरामा बास बस्ने गर्दथे।

दुई वर्षअघि मालिका दर्शनका लागि दुई दिन लगाएर पुगेकी बेनीकी सानु शर्माले यसपालीको चण्डी पूर्णिमामा बिहान ६ बजे बेनीबाट गएर दिउँसो ३ बजे पुनः बेनी फर्किएको बताए।

मालिका गाउँपालिकाको बिमतर्फबाट नागीथलासम्म पहुँच विस्तार भएको सडकबाट ३० मिनेट पैदलयात्रा गरेपछि मालिकाधुरीमा पुगिन्छ। रघुगङ्गा गाउँपालिकाको ठाडाखानीतर्फबाट देउरालीसम्म सवारीसाधनमार्फत र त्यसपछि ४० मिनेट पैदलयात्रा गरेपछि मालिकाधुरीमा पुगिन्छ।

यहाँबाट २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पशुपक्षीको अवलोकन गर्नुका साथै मालिकाधुरीमा पूवा गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको मालिका क्षेत्र विकास समितिका सचिव ओमकार रोकाले जानकारी दिए। यी विशेषताका कारण यस क्षेत्रको धार्मिक महत्त्व रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा मालिकाधुरी पर्ने गरेको उनले बताए।

‘मालिकाधुरीमा मालिका, कालिका र जाल्पादेवीको मूर्ति छ। मालिका थानमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ। विसं १९१० देखि मालिकामा पूजाआजा हुन थालेको इतिहास छ,’ सचिव रोकाले भने।

चण्डी पूर्णिमामा आएका भक्तजनहरूबाट रु ९० हजार भेटी सङ्कलन भएको जनाउँदै सबै खर्च कटाएर रु ६७ हजार बचत भएको समितिका अध्यक्ष पाइजाले जानकारी दिए। उनका अनुसार मालिकाधुरीमा रघुगङ्गा-६ पाखापानीका भक्तीप्रसाद पाइजाले व्यक्तिगत लगानीमा शिव र जालपाको मन्दिर निर्माण गरेका छन्। मन्दिर निर्माणमा पाइजाले करिब रु ३४ लाख खर्चिएको उनले उल्लेख गरे। रासस