Saturday, June 28, 2025
21.8 C
Beni
21.8 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 34

गौश्वाराको गोबर्धन महायज्ञ आज समापन हुने

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको गौश्वारामा पश्चिम नेपालमै पहिलो पटक सञ्चालित गोवर्धन महायज्ञ आज मंगलबार समापन हुदैछ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा यही वैशाख १५ देखि सुुरु भएको महायज्ञ ३० गते आज मंगलबार सदरमुकाम बेनीबजारमा फुलप्रसाद ग्रहण तथा यज्ञस्थलमा मन्दिरको शिलन्यास गरी समापन गरिने छ ।

महायज्ञबाट संकलन भएको आर्थिकबाट ३८ फिटको गोबर्धनको मुर्ती निर्माण गरिने महायज्ञ मुल आयोजक समितिका आर्थिक सयोजक एवम् वडा नं २ का पूर्व वडा अध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

महायज्ञमा दान दिइएको जग्गामा आयुवेर्दिक चिकित्सालयका लागि जुडीबुटी केन्द्र, स्थानीय गाईको प्रर्वधनका लागि गौशला, पर्यटन प्रवर्धन, योग, साधना तथा सनातन संस्कृतिको संरक्षण तथा विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधारहरु निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको आयोजक समितिका सदस्य दिर्घ रिजालले जानकारी दिनुभयो ।

महायज्ञका प्रमुख वाचक आचार्य सुदर्शन बडालले गर्नुभएको थियो ।बागलुङको प्रशिद्ध धार्मिक पर्यटकीय स्थल पञ्चकोटको नजिकै रहेको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले युक्त गौश्वारमा पश्चिम नेपालमा नै पहिलो पटक गोवर्धन महायज्ञ आयोजना गरिएको हो ।

पर्वतको फलेबासमा ‘आमा-बा स्वास्थ्य कार्यक्रम’ सुरु

पर्वतको फलेवास नगरपालिकामा आमा-बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ। ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्धवृद्धाको नियमित स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोगको सङ्क्रमणबाट बचाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

वृद्धवृद्धाहरूको रक्तचाप, मधुमेह, मुटु, मृगौला रोगको परीक्षण, रगत, दिसा, पिसाव, खकारलगायत जाँच, पोषण अवस्थाको लेखाजोखा, अन्य रोगको उपचार, परामर्श तथा सल्लाह दिनुका साथै गम्भीर स्वास्थ्य अवस्था देखिएकालाई उपचारका लागि अस्पताल पठाउन यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

गत शुक्रबारदेखि वडा नं १ कार्कीनेटबाट सुरुआत भएको कार्यक्रम ११ वटै वडामा सञ्चालन हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिए। चिकित्सकसहित स्वास्थ्यकर्मी नगरका सबै घरमा पुग्ने भएका छन्। उनका अनुसार वृद्धवृद्धाको नियमित स्वास्थ्य परीक्षण, दीर्घकालीन रोगीले उपचार तथा निदानका विकल्पसम्बन्धी परामर्श दिँदै औषधिको मात्रा, उपभोग्य मिति, उपभोग गर्ने समयलगायत जानकारी गराइने छ।

‘पछिल्लो समय गाउँमा युवापुस्ता शून्यप्रायः छन्। गाउँमा वृद्धवृद्धाहरू मात्र रहेको अवस्थामा उनीहरूलाई सामान्यदेखि जटिल रोग लागेमा पनि अस्पतालसम्म पुगेर उपचार सेवा लिन सक्दैनन्। जसका कारण लामो समयदेखि विभिन्न रोगले सङ्क्रमित भएर बसिरहनुपर्ने अवस्थाको अन्त्यका लागि चालु आर्थिक वर्षदेखि आमा–बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो,’ सापकोटाले भने।

उनका अनुसार कार्किनेटाबाट सुरु भएको अभियान थापाठाना, शङ्करपोखरी, मुडिकुवा, खानीगाउँ, देविस्थान, लिमिठाना, ठानामौला, भँगरा, कुर्घा र पाङ्राङमा पुगेर टुङ्गिने भएको छ।

हरेक छ/छ महिनामा नियमित स्वास्थ्य परीक्षणका लागि यो अभियान थालिने नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिए। उनका अनुसार ज्येष्ठ नागरिकसँगै ३० वर्षभन्दा माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण गरिनेछ।

उपचारका क्रममा निःशुल्क औषधिसमेत वितरण गरिनुका साथै जटिल रोग लागेका बिरामीलाई नगरपालिकाकै एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्याउने व्यवस्थासमेत गरिने नगप्रमुख तिवारीले बताए।

आर्थिक अभावका साथै अस्पतालसम्म लैजान आफन्तको अभावमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका वा अन्य असहाय नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने नगरपालिकाको मुख्य उद्देश्य रहेको उनको भनाइ छ। यो कार्यक्रममार्फत नगरका १० हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।

‘नगरपालिका भए पनि अधिकांश ग्रामीण बस्ती रहेको फलेबासमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव भएकाले नियमित परीक्षणको दायरामा सबैलाई ल्याउन अभियान सञ्चालन गरेका हौँ,’ नगरप्रमुख तिवारीले भने।

नगरका अधिकांश वडामा रहेका स्वास्थ्य चौकीमा अहेबका भरमा सञ्चालित छन्। सरकारले निःशुल्क ९८ प्रकारका औषधि वितरण गर्ने भनिए पनि ४० प्रकारका औषधिमात्र स्वास्थ्य संस्थामार्फत वितरण हुने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

वडाबाट प्रभावकारी स्वास्थ्य सेवा प्रवाह नभइरहेका बेला चिकित्सकसहितको टोली घरघर र टोलटोलमा पुगेर ज्येष्ठ नागरिकसहित ३० वर्षमाथिका सबैको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमले नगरवासीलाई स्वास्थ राख्न मद्दत पुग्ने फलेवास–८ ठानामौलाका वडाध्यक्ष मनबहादुर कुँवरले बताए। रासस

मालिकाधुरीमा ४ हजारबढी भक्तजनले दर्शन गरे, ९० हजार भेटी संकलन

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा वैशाख पूर्णिमामा करिब ४ हजार भक्तजनले दर्शन गरेका छन् । म्याग्दीको मालीका गाउँपालिका–७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रमा अवस्थित मन्दिरमा पदैल र यातायातका सवारीसाधनमा पुगेर भक्तजनले पूजआजा गरेको मालिका क्षेत्र विकास संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाईजाले बताउनुभयो ।

‘अघिल्लो बर्षसम्म बास बसरे विहानै पूजा गर्नेको संख्या धेरै हुुन्थ्यो, यसपटक दिउँसोमा धेरै भक्तजन आउनुभयो’ अध्यक्ष पाइजाले भन्नुभयो । मन्दिरमा करिब ९० हजार दानभेटी संकलन भएकोमा भक्तजनले ल्याएको बोकाको बली दिने कार्यमा खटिएका सहित अन्य खर्च गरी बाँकी रहेको ६७ हजार ६४० रुपैयाँ समितिमा प्रतिनिधित्व गर्ने ठाडाखानीका सदस्यलाई जिम्मा लगाइएको छ। उक्त भेटीबाट मन्दिरमा आवश्यक पर्ने विभिन्न क्षेत्रमा खर्च गरिन्छ ।

मन्दिरमा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, रघुगंगा गाउँपालिका अध्यक्ष भबहादुर भण्डारी सहितको टोली समेत मन्दिरलाई सामुहिक प्रयासमा अगाडी बढाउने प्रतिबद्धता जनाएका थिए । एउटै थुम्कोमा त्रिदेवी मालिका, कालिका र जालपा रहेको मालिकाधुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ ।

त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि भक्तजनहरू मालिकाधुरी पुग्छन् । कालिका र जालपकाको बीचमा मालिका मन्दिर छ । एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ।मन्दिर नजिकै चट्टानमा गणेशको पूजा गरिन्छ ।

समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमश्रृंखला त्यहाँ पुग्ने पर्यटकभन्दा होेँचा देखिन्छन् ।

मन्दिरको चारैतिरबाट सडक सञ्जाल छोडेर करीब साढे तीन घण्टाको यात्रामा पुगिने मालिका मन्दिरलाई धार्मिकसँगै पदयात्राका लागिसमेत सुन्दर गन्तव्यका रुपमा विकास गर्न मालिका र रघुगंगा गाउँपालिकाले सडक सञ्जाल विस्तार गरेकाले करिब एक घण्टाको पैदलयात्रामा पुगिन्छ ।

दक्षिण कोरियामा पहिलोपटक प्रोढ भलिबल हुने

म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाले पहिलोपटक प्रोढ भलिबल आयोजना गरेको छ । ‘स्वास्थ्यका लागि खेल, सद्भाव र समन्वय’ भन्ने नाराका साथ आगामी मे महिना २५ तारिकका दिन प्रतियोगिताको आयोजना गरिएको मोना दक्षिण कोरियाका सचिव दिनेश कार्कीले जानकारी दिनुभयो ।

‘३५ बर्ष नाघेका भलिबल प्रेमीलाई लक्षित गरी यो प्रतियोगिताको आयोजना गरिएको हो, यूवा भलिबलमा छुटेकाले यहाँ सहभागिता जनाउनुहुने छ’ सचिव कार्कीले भन्नुभयो । प्रतियोगिताका लागि मे महिनाको १८ तारिकका दिनसम्म टिम दर्ता गर्न पाउनेछन् ।

प्रतियोगितामा नागरिकता वा पासपोर्टमा उमेर ३५ बर्ष नाघेको हुनुपर्ने छ । कोरियामा लामो समयदेखि रोजगारी, ब्यापार र शिक्षाको सिलसिलामा बसोबास गरिरहेका ३५ बर्ष उमेर पूरा भएका नेपालीलाई यो प्रतियोगिताले जोड्ने मोना दक्षिण कोरियाका अध्यक्ष दुर्गा भण्डारीले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्धितियले क्रमश १० लाख कोरियाली वोन, ५ लाख कोरियाली वोन, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै्र सर्वोत्कृष्ट खेलाडीले ५० हजार कोरियाली वोन प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको टिम शुल्क २ लाख कोरियाली वोन तोकिएको छ ।

 

आन्द्राको रोगबाट पीडित घर्तीको उपचारमा अमेरीकाबाट साढे दुई लाख सहयोग

वैदेशिक रोजगारका सिलसिलामा अमेरीकामा रहेका म्याग्देलीहरुले आन्द्राको रोगबाट पीडित एक पुरुषलाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँका ३८ वर्षीय पूर्वराज घर्ती मगरलाई उपचारका लागि अमेरिकामा रहनुभएका समाजसेवीद्वय बिरेन्द्र किसान र दिनेश पुनको पहलमा संकलित दुई लाख ५० हजार ६८१ रुपैयाँ आर्थिक सहयोग गरिएको किसानले जानकारी दिनुभयो ।

उक्त रकम आइतबार  बिरामीको घरमै पुगेर एक कार्यक्रमका बीच पत्रकार धनिलाल गर्बुजाले घर्ती मगर र उहाँको परिवारलाई हस्तान्तरण गर्नुभयो। सहयोग रकम ग्रहण गर्दै घर्ती मगरले सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफ्नो रोग जतिल र खर्चिलोे भएकोले थप उपचारका लागि देशबिदेशमा रहेका विभिन्न संघसंस्था लगायत सम्पूर्णलाई आर्थिक सहयोग गर्न अपिल समेत गर्नुभएको छ ।

बेनी नगरपालिका–७ ,मंगलघाटमा अस्थायी रूपमा भाडामा बस्दै आउनुभएका घर्ती विगत तीन महिना अगाडी बैदेशिक रोजगारीका लागि युएई पुगे लगत्तै कार्य क्षेत्रमा प्रवेश गर्न नपाउँदै पेटमा समस्या आएपछी युएई स्थित SSMC अस्पतालमा २ महिना उपचार पश्चात नेपाल आएको उहाँले जानकारी दिनुभयो “Intestine Obetration” रोगबाट ग्रसित घर्ती मगर हाल पाटन अस्पतालमा उपचाररत हुनुहुन्छ ।

उहाँको आन्द्रामा प्वाल परेको र दिशामा समस्या भएकोले पेट बाहिर किड ब्याकमा राखिएको छ । युएईको अस्पतालमा उपचार गरेको रिपोर्ट नभएकोले सुरुबाटै चेक जाँच गरेर रिपोर्ट आएपछि मात्रै आन्द्रा भित्र राख्न मिल्ने वा नमिल्ने थाहा हुने अस्पतालले जनाएको छ  ।

दुख पीडामा परेको खबर प्राप्त हुनासाथ अमेरकिामा रहेका दाजुभाइ दिदीबहीनीहरुले आफ्नो कमाइबाटै क्षमता अनुसार सहयोग गर्दै आएकाले पीडितहरुलाई सहयोग गर्न सकिएको समाजसेवी दिनेश पुनले बताउनुभयो । समाजसेवीद्वय किसान र पुनले आफुहरुको पहलमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्तगर्नुभएको छ ।

पछिल्लो समय भुकम्पपछिको पूननिर्माण, बाढी पहिरो जस्ता दैवि प्रकोपबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथै म्याग्दीको शिक्षा, स्वास्थ्य, खानेपानी र सञ्चार सम्बन्धि पूर्वाधार बिकास तथा प्रवद्र्धनमा समेत सहयोग गर्दै आएका छन्  ।

सहयोग गर्न इच्छुक सहयोगीहरुले निम्न ठेगनामा सम्पर्क गरी सहयोग गर्न सक्नुहुने छ ।

Purba Raj Gharti Magar

A/c 04807010059997

Global IME Bank , मोबाइल नम्बर 9866350563

विद्यार्थी लक्षित एक महिने भलिबल प्रशिक्षण सकियो

माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई विद्यार्थीलाई लक्षित भलिबल प्रशिक्षण समापन भएको छ । जिल्ला भलिबल संघ म्याग्दी म्याग्दीको आयोजनामा सञ्चालित एक महिने तालिम समापन भएको छ ।

परीक्षापछि फर्सदको समयमा खेलकुद गतिविधिमा आर्कषित गर्ने उदेश्यले जिल्ला भलिबल संघ म्याग्दीको आयोजना, गण्डकी प्रदेश खेलकुद परिषद्को आर्थिक तथा जिल्ला खेलकुद विकास समितिको समन्वयमा गत चैत्र २४ गतेदेखि बैशाख २८ गतेसम्म सञ्चालित प्रशिक्षणको आज सम्पन्न गरिएको हो ।

प्रशिक्षणको समापन कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले म्याग्दी जिल्लाले भलिबलमा छोटो समयमै प्रगति गरेको बताउनुभयो ।

उहाँले म्याग्दी जिल्लाले राष्ट्रि महिला भलिबलको कप्तान पाएको बताउँदै महिला र पुरुष भलिबलमा म्याग्दीले फरक पहिचान गराएको बताउनुभयो। भलिबल प्रशिक्षणमा सहभागि विद्यार्थीलाई प्रमुख अतिथि शर्माले पढाईसँगै खेलकुदलाई समेत निरन्रता दिन अनुरोध गर्नुभयो ।

समापन कार्यक्रममा जिल्ला भलिबल संघका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका सचिव कुमार किसान, सदस्य नगेन्द्र मल्ल, सम्मानित भएका भलिबल खेलाडी सम्राट भण्डारी, ज्ञान कटुवाल लगायतको उपस्थिती रहेको थियो ।भलिबल प्रशिक्षण माउण्ट एभरेष्ट आवासीय माविमा सञ्चालन गरिएको थियो ।

तालिममा भलिवल खेलका आधारभूत ज्ञान, सीप, उपलब्ध गराई अनुशासित रुपमा खेलकूदमा सहभागी गराउने भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

तालिममा प्रदेश खेलकुद परिषद्को १५ दिने र जिल्ला भलिबल संघले १५ दिन सञ्चालन गरेको थियो । समापन कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष बानियाँ र सञ्चालन सचिव कुमार किसानले गर्नुभएको थियो । जिल्ला भलिबल संघले नियमित खेल अभ्यासका लागि कबड हल समेत बनाउने तयारीमा जुटेको छ ।

मुस्ताङ लैजादै गरेको गुणस्तरहीन मासु जफत गरी नष्ट

म्याग्दीबाट मुस्ताङको सदरमुकाम जोमसोम ल्याउँदै गरेको गुणस्तरहीन राँगाको मासु सिमा क्षेत्रबाट घाँसा प्रहरीले नियन्त्रणमा लिएको छ । बेनी–जोमसोम सडकखण्डमा सञ्चालन हुने ना ७ ख ७२७० नम्बरको बसको डिक्कीमा दुई बटा बोरामा राखिएको १ सय १४ केजी राँगाको मासु जफत गरिएको थियो ।

घाँस प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालय मुस्ताङले भेटेनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङमा समन्वय गरी चेकजाँच गर्दा खान अयोग्य प्रमाणित गरेपछि नष्ट गरिएको प्रहरी निरीक्षक बिशाल अधिकारीले बताउनुभयो ।उक्त मासु जोमसोमका ब्यवसायी देब तामाङले म्याग्दीका ब्यवसायीबाट ल्याएको प्रहरी निरीक्षक अधिकारीको भनाई छ ।

भेटेनिरी अस्पताल तथा पशु सेवा विज्ञको कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय सहित अन्य सरोकारवाला निकायको उपस्थितीमा नष्ट गरिएको थियो ।गुणस्तरहिन मासु ल्याउने ब्यवसायी तामाङलाई कानुन अनुसार कारवाही गरिने विज्ञ केन्द्रले जनाएको छ । जोमसोम बजारमा करिब २५ वटा मासु पसलका सञ्चालकलाई अस्वस्थ्यकर मासुले मानव शरीरमा रोग निम्त्याउन भन्दै व्यवसायीलाई मापदण्डहरु पालना गर्न पटकपटक सचेत गराउने गरिएको छ । मुस्ताङमा खपत हुने खसी, कुखुरा, राँगा, बंगुर र माछा जिल्ला बाहिरबाट आयात हुने गरेको छ ।

 

 

जिल्ला भलिबल संघ म्याग्दी र राष्ट्रिय भलिबल टिमकी कप्तान शाही सम्मानित

म्याग्दी भलिबल संघ उत्कृष्ट संघ अवार्डबाट सम्मानित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आयोजित नवौं स्पोर्टस् अवार्ड २०८१ ले म्याग्दी भलिबल संघलाई उत्कृष्ट संघ घोषणा गरेको हो ।

योसँगै म्याग्दी भलिबल संघले सम्मानस्वरुप नगद रु ३५ हजार प्राप्त गरेको छ । यसै अवसरमा नेपाली राष्ट्रिय भलिवल टोलीकी कप्तान अरुणा शाही स्कुटरसहित वर्ष खेलाडी अवार्डबाट सम्मानित भएकी छन् ।

myagdi-2-1747037126.jpg
म्याग्दी जिल्लाबाट महिला र पुरुष दुवै राष्ट्रिय भलिबल टिममा दुई\दुई जनाले प्रतिनिधित्व गर्दै आएका छन्। यस कारण पनि म्याग्दीलाई भलिबलको उर्भर भुमिका रुपमा चिनिँदै आएको छ ।

म्याग्दी भलिबल संघ उत्कृष्ट संघ अवार्डबाट सम्मानित भएपछि संघका अध्यक्ष तेजेन्द्र बानियाले म्याग्देलीहरुसँग खुसी साटेका छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन् – ‘म्याग्दी भलिबल संघ उत्कृष्ट संघ अवार्डबाट नगद रु ३५ हजारसहित र म्याग्देली चेली अरुणा शाही स्कुटरसहित वर्ष खेलाडी अवार्डबाट सम्मानित हुँदा खुसी र गर्व व्यक्त गर्न चाहन्छौँ ।’

म्याग्दी जेसीजले विविध कार्यक्रम गरी जेसीज सप्ताह मनाउने

यूवाको नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले २७ औं स्थापना दिवसको अवसरमा साताब्यापाी जेसीज सप्ताह मनाउने मनाउने भएको छ । सोमबार जेसीज सचिवालयमा सम्पन्न भएको चोथो बोर्ड बैठकबाट आगामी जेठ ९ देखि १५ गतेसम्म स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

सप्ताहको उद्घाटनको पहिलो दिन अन्तर विद्यालय निबन्ध प्रतियोगिता, जेठ १० गते जेसीज र पत्रकार बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता, जेठ ११ गते तातोपानी आमा समुह र यूवा क्लवलाई उद्धघोषण तालिम, जेठ १२ गते मेरो विद्यालय कार्यक्रम, जेठ १३ जेसीज परिवार बिच हाजिरीजवाफ प्रतियोगिता, जेठ १४ रक्तदान कार्यक्रम, जेठ १५ गते २१ औं लोक नृत्य प्रतियोगिता गरी समापन गरिने शाखा अध्यक्ष बिनोद घर्ती क्षत्रीले जानकारी दिनुभयो ।

जेसीज सप्ताहमा वरिष्ठ कार्यकारिणि उपाध्यक्ष सञ्जन श्रेष्ठको मुल संयोजकत्वमा कार्यक्रम तय गरिएको छ । म्याग्दी जेसीजले सदस्यको ब्यक्तिगत तथा संस्थागत विकास बाहेक समुदायस्तरमा विभिन्न रचनात्मक कार्यहरु गरी मनाउने गरेको छ ।

 

समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ

सञ्चारमन्त्री गुरुङ भेरीगङ्गा (सुर्खेत), २९ वैशाखः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सोमबार हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवन उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै । तस्बिरः टेकराज केसी÷ रासस

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै मन्त्री गुरुङले हुलाक सेवा पुरानै ढर्राबाट चलिरहेकाले अब यसको सेवालाई व्यापक परिवर्तन गर्नेगरी ऐन ल्याउन लागिएको जानकारी पनि दिनुभयो ।

प्रविधिले फड्को मारिरहेको बेलामा पुरानै कानुन रहन नसक्ने उल्लेख गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने स्पष्ट पार्नुभयो ।

“हुलाक सेवाको विकास हुन नसकेको, हुलाक पुरानै तरिकाले चलिरहेको अवस्था छ”, उहाँले भन्नुभयो, “अब यसको सेवालाई थप प्रभावकारी बनाउनका लागि नीति नै परिवर्तन हुन्छ, यसका लागि हामीले ऐन ड्राफ्ट गरिरहेका छौँ । ऐन बनिसकेपछि सङ्घीयताको मर्मअनुसार आधुनिक रूपमा हुलाक सेवा सञ्चालन हुन्छ ।”

देश सङ्घीय गणतन्त्रमा पूरानो ऐनबाट हुलाक सेवा चलाएर प्रतिफलको आशा गर्नु गलत हुने बताउँदै उहाँले भन्नुभयो, “कानुन छ राजा महेन्द्रको पालाको अनि हामीले परिवर्तनको अपेक्षा गरेर हुन्छर रु यतिका वर्षसम्म कति सरकार परिवर्तन भए, कानुन बनाउनुपर्छ भन्ने हेक्का किन नराखेको रु” अहिले भ्रामक सूचनाले समाज भाँडिरहेको भन्दै मन्त्री गुरुङले सरकारले यसका नियमन गर्नेगरी ल्याएको सञ्चारसम्बन्धीको विधेयक छिट्टै कानुनका रूपमा ल्याउने जानकारी गराउनुभयो ।

विकासका काम अध्ययन नगरीकन गरिँदै आएको उल्लेख गर्दै मन्त्री गुरुङले देशको खर्बौं रकम खेर गइरहेको बताउनुभयो । “बसाइसराई शहर केन्द्रित हुँदैछ, प्रविधिको विकास तीव्र रूपमा अगाडि बढिरहेको छ, तर सनकको भरमा अध्ययन नगरी विकासका कामहरू गर्ने प्रवित्तिले राज्यको खर्बौं रकम नोक्सान भएको छ । विकास आवश्यकता र औचित्यका आधारमा हुनुपर्ने हो, तर त्यसो भएको छैन, यसलाई बदल्नुपर्छ ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई प्रभावकारी बनाउनका लागि माग गरिएका सबै विषयलाई सम्बोधन गर्न प्रयास गरिने बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगतिश्वर उपाध्यायलगायतले नवनिर्मित भवनसँगै सेवालाई प्रविधिमैत्री बनाउन सुझाव दिनुभयो ।

कार्यक्रममा हुलाक सेवालाई प्रभावकारी बनाउन योगदान गर्ने विभिन्न निकाय तथा व्यक्तिहरूलाई सम्मानितसमेत गरिएको थियो । रासस