Friday, June 27, 2025
26.3 C
Beni
26.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 483

आध्यात्मिक सन्देश दिन पहिलोपटक देउसीभैलो (फोटो फिचर)

आधुनिकीकरणका नाममा मौलिक संस्कृति नै धरापमा पदै गएको छ । मादल, मजुरा, खैजडीका तालमा भट्याउँदै देउसी र भैलो खेल्ने परम्परा हिजोआज म्याग्दीमा बिरलै देखिँदैन। युट्युब, मेमोरीकार्डबाट गीत बजाएर देउसी र भैलो खेल्न थालेपछि मौलिकपना हराउँदै गएको छ ।

विकृति र विसंगतिलाई निरुत्साहित गदैं देउसी र भैलो सिर्जनात्मक शैलीको हुनुपर्छ भन्ने सन्देश सहित म्याग्दीमा पहिलोपटक म्याग्दीको सदरमुकाम बेनीबजारमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बेनीले ईश्वरीय सन्देशमुलक अलौकिक देउसी भैलोको आयोजना गरेको छ ।

धनकी देवी लक्ष्मी र विद्याकी धनी सरस्वतीको वाहन, पहिरन सहित आध्यात्मिक ज्ञानका माध्यमबाट व्यक्ति, परिवार,समाज हुँदै विश्वमा शान्ति कामनाको सन्देश सहितका गीतमा नृत्य प्रस्तुत गरिएको थियो ।ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बेनीमा निर्माणधिन अवस्थामा रहेको सभाहलको सहयोगार्थ आयोजित देउसीभैलोको अवलोकन गर्नेको भिड थियो ।

तिहारको महत्वका बारेमा जानकारी सहित समुदायमा शान्ति, अमन चयन तथा सकारात्मक सोचका लागि ज्ञान वितरण गर्ने प्रयत्न गरिएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बेनी शाखाकी प्रमुख रिना दिदीले बताइन् ।

‘अर्थ संकलनभन्दा पनि सन्देश प्रवाहका लागि देउसीभैलो खेलेका छौ,‘हामीले मौलिकतामा आधारित भएर भैलो खेल्दा धेरैले चासो देखाउनुभयो’ केन्द्र प्रमुख रिनाले भनिन् ।

देउसीभैलोमा राजयोग शिक्षाले तनावमुक्त जीवनशैली अवलम्बन गर्न सहयोग पु¥याउने,व्यक्तिभित्र रहेको आध्यात्मिक जागृति र सशक्तिकरणद्वारा समाजमा शान्ति, सद्भाव, सहयोग र समृद्धिको स्थितिलाई पुनः स्थापना गर्न सघाउने जस्ता सन्देश भएको गीत र नृत्य प्रस्तुत गरिएको राजयोगिनी रिना दिदीको भनाई छ ।

मौलिकताको जर्गेना तथा कुलतमा फस्दै गएका यूवापुस्तालाई आध्यात्मिक ज्ञानको सन्देश फैलाउनका लागि समेत देउसीभैलो खेलिएको केन्द्रले जनाएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले समाजमा रहेका विभिन्न खालका विकृति र विसङ्गतिको न्यूनीकरणमा समेत राजयोग शिक्षा सहयोगी हुने उनले बताए ।

उनले देउसीभैलो उदेश्यमा केन्द्रित हुनुपर्ने बताए । उनले राजयोग केन्द्रको भवनमा मानवीय र भावनात्मक सहयोगका साथै आर्थिक सहयोगको आवश्यकता रहेको बताए । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बेनीले प्रस्तुत गरेको गीतले देउसी र भैलोको मर्म र संस्कृित बोल्छ ।

मौलिकतामा आधारित देउसीभैलो नयाँ सन्ततीलाई बुझाउन र सिकाउन ध्यान नदिए अबका केही बर्षमा मौलिकतामा आधारित देउसीभैलो एकादेशको कथा जस्तो हुने बुढापाकाको भनाई छ ।

बि.स २०६० सालमा बेनीमा स्थापना भएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको शाखाले जिल्लाका विभिन्न स्थानमा पुगेर आध्यात्मिक ज्ञान सहित सकारात्मक सन्देश दिने कार्यहरु गर्ने गरेको छ भने केन्द्रमा नियमित प्रर्वचन सहितका गतिविधि हुने गरेको छ ।

 

हराउँदै गयो तिहारको मौलिकता

चारैतिर शरदऋतुको उल्लासमय वातावरण । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैँ सिँगारिदिएका छन् । बिजुली बत्तीको झिलीमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ । प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । युवापुस्ता आयातीत संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएका संस्कृतिविद्को भनाइ छ।

नेपालीका लागि दशैँपछिको दोस्रो ठूलो चाड तिहार पशुपक्षी, प्रकृति र पुरुष (भाइ) पूजा गरिने एकमात्र चाड हो । दशैँमा बलि दिने प्रचलनले कहीँकतै कसैलाई नरमाइलो लाग्छ भने तिहारमा सबै उमेर, वर्ग र सम्प्रदायका मानिस रमाउने गर्दछन्।

हिन्दू संस्कृतिका अध्येता पं भीमनाथ पराजुलीका अनुसार तिहार प्रकृति, पुरुष र ऐश्वर्य ९लक्ष्मी०लाई खुशी बनाउने रोमाञ्चक चाड हो । तर पछिल्लो समय यो चाडमा पनि निकै विकृति भित्रिएकाले यसको सांस्कृतिक पहिचान नै ओझेलमा पर्दै जान थालेको उहाँ बताउनुहुन्छ ।

आधुनिकतासँगै तिहार पर्वमा पनि अनेक खालका विकृति देखिन थालेको पं पराजुलीले बताउनुभयो । “अरुबेला वास्ता नगरिने पशुपक्षीलाई पनि तिहारमा पूजा गरिन्छ, पं पराजुलीले भन्नुभयो, “यसले सबै प्राणीबीच समदृष्टिकोण राख्नुपर्दछ भन्ने सन्देश दिन्छ । काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाई ९दाजुभाइ० लाई तिहारमा पूजा गरेर सुख, शान्ति र ऐश्वर्यको कामना गरिने यस पर्व अहिले केबल औपचारिकतामा सीमित भएको उहाँको भनाइ छ ।

माटाको दियोबाट मैनबत्ती हुँदै बिजुलीको झिलीमिलीमा तिहार

पहिलापहिला माटाको दियो र अमिलाको पातमा बाति ९बत्ती० बालेर जिम फाल्ने चलन हराएको छ । घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मोठ, धनसार, गोठ, जुठेल्नो जतातलै बत्ती बालेर जिम फाल्ने चलन थियो । तर अहिले भने जताततै बिजुली बत्ती बालेर उज्यालो बनाइने गरिन्छ । माटाको दियो, अमिलाको पात र मैनबत्ती हुँदै अहिले बिजुलीको झिलीमिली बत्तीमा मनाइने तिहारको मौलिकता कुनै चिजमा पनि बाँकी नरहेको बूढापाकाको भनाइ छ ।

पहिलापहिला दियो माटोको हुन्थ्यो । अचेल बालिने कृत्रिम बत्तीका कारण मानिसलाई मनोरञ्जन त हुन्छ तर मौलिकता रहँदैन । अचेल माटोको पाला पूजाकोठामा सीमित भएको भन्दै उहाँले माटोको दियोपछि मैनबत्ती र मैनबत्तीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ ।

देउसीभैलो : पैसा असुल्ने माध्यम

तिहारको आकर्षणमध्येको एक मानिएको देउसीभैलो आजकल आशिष दिने, मनोरञ्जन लिने र साथीभाइसँग रमाउने माध्यम नभई पैसा असुल्ने माध्यम बन्दै गएको आरोप लाग्न थालेको छ ।केही सामाजिक सङ्घसंस्था र व्यक्तिले मेमोरीमा रेकर्ड गरिएका गीतको सहयोग लिइ बेतालको नृत्य (डान्स) देखाउँदै देउसीभैलोलाई पैसा असुल्ने माध्यम बनाइरहेका स्थानीय व्यापारीले बताएका छन् ।

हुन पनि आजकल गाइने देउसीभैलो र देखाइने नृत्यमा कुनै पनि मौलिकता देखिँदैन । अधिकांश भैली समूहले हिन्दी र नेपाली चलचित्रका गीत एवं एल्बममा राखिएका देउसीभैलो गीतमा नाच्ने गरेका छन् । न उनीहरुले मादल बोकेका हुन्छन् न मुरली र खैजडी नै । ठूलाठूला साउन्डबक्समा गीत घन्काउँदै हल्ला गर्दै देउसीभैलो समूहहरु हिँडेका देखिएका छन् ।यस्तै हो भने केही वर्षपछि लोकबाजा र भैलीको मोलिकता हराउने निश्चित छ ।  रासस

बेनी-मालढुंगा सडक स्तरोन्नतीको काम ठप्प

राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर आयोजनामा पर्ने बेनी–मालढुंगा सडक स्तरोन्नतीको काम ठप्प बनेको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकखण्ड अलपत्र पारेर ठेकेदार भागेका छन् ।

सडकखण्डलाई तिब्रता दिन बेनी नगरपालिका–९ गलेश्वरबाट आवश्यक निर्माण सामाग्री लगेपनि अन्यत्रा प्रयोग गरेपछि अहिले फेरीनिर्माण सामाग्रीको अभाव देखाउँदै निर्माण ब्यवसायीले सडक ठप्प पारेर क्षर्तीपुर्तीका लागि अदालत जाने चेतावनी दिएसँगै सडकखण्डको काम लामो समयसम्म अलपत्र पर्ने देखिएको छ ।

१३ किलोमिटर दुरिको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि विस २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएपनि अहिले सम्म ४२ प्रतिशत मात्र काम भएको छ । सम्झौता अनुसार समयमै काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने हजारौ यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर आयोजना अतर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत १३ किलोमिटर दुरिको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि वि.स. २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु.५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

कालीगण्डकी करिडोर आयोजना जोमसोमका इन्जिनियर तथा साईड इन्चार्ज अच्युत विलाश पन्तका अनुसार ०८० पुससम्म म्याद थप भएको बताए। ‘थप गरिएको अवधि समेत अब दुई महिना मात्र बाँकी छ,‘गत वर्षनै सम्पन्न हुनुपर्ने सडक भएपनि ठेक्का सम्झौता अुनसार निर्माण सामाग्रीको प्रयोग गर्न नपाएपछि ढिलाई भएको हो‘ पन्तले भने ।

गत माघदेखि ठप्प बनेको काम असारदेखि शुरु भएको भएपनि फेरी दशैदेखि ठप्प बनेको इन्जिनियर पन्तले बताए । ठेक्का सम्झौतामा नजिकै रहेको कालीगण्डकी नदीबाट निर्माण सामाग्री उत्खनन गरेर सडक निर्माणमा प्रयोग गर्ने उल्लेख भएपनि निर्माण कम्पनीलाई नदिजन्य बस्तु उत्खनन् गर्न नदिईएपछि समयमै काम सम्पन्न हुन नसकेको ठेकेदारको तर्क छ।

पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण सामाग्रीको अभाबमा रोकिएको हो । १३ किलोमिटर लामो उक्त सडकमा अहिले यात्रा गर्न सकस हुने गरेको छ । सडकमा रहेका ठुला ठुला खाडल, हिलो र ढुंगा तथा पहिरोका कारण जोखिमपुणर् बनेको छ । म्याग्दी सदरमुकाम बेनी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधनहरु हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे हुने गरेका छन् ।

मालढुंगादेखि वेनी सम्मको १३ किलोमिटर पार गर्न २० मिनेटको गन्तब्य अहिले करिब १ घण्टा समय लाग्ने गरेको छ । सडकखण्डको प्रयोग धेरै म्याग्दीबाट हुने भएकाले म्याग्दीका सरोकारवाला निकायले ठेकेदारको बदमासीप्रति सतर्कता हुदै निर्माण साम्रागीका लागि सहज वातावरण बनाउनुपर्ने देखिन्छ ।

निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीले पटक पटक बेनी –जोमसोम–कोरल्ला सडक आयोजनालाई पत्र लेख्दै निर्माण सामाग्रीको व्यवस्थापन गरिदिन आग्रह गरेपनि कुनै सुनुवाई नभएपछि निर्माणकार्यले गति लिन नसकेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक कम्पनी ओमकारेश्वरका प्रतिनिधी अमृत दाहालले बताए । सडकको धेरै ठाउँमा सबबेस र बेस बिच्छाउने अबस्थामा पुगेको तर क्रसर उद्योगका लागि चाहिने कच्चा पर्दाथ नदीबाट निकाल्न नदिइएका कारण काम रोक्नु परेको दाहालको भनाई छ ।

 

यमपञ्चक सुरु, आज काग तिहार

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ।कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ।

कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ। यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो। ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो’–उनले भने।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ। यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ। तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतमले बताए। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ।

कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ। बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए। आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ। यसलाई नरक स्नान भनिन्छ। यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ।

गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ। गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म  (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ।

भाइटीका कात्तिक २९ गते १०: ५१ बजे उत्तम 

कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। यस दिन बिहान १०:५१  बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाए। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ। भाइपूजा र नेवारी भाषामा किजापूजा  कात्तिक २९ गते नै गरिन्छ। बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ। परम्परा अनुसार नेवार समुदायका केही मानिसले भने कात्तिक २८ र ३० गतेसमेत किजापूजाका नाममा यो पर्व मनाउने घोषणा गरेका छन्।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानी लगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ। बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ। केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन्।

यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ। जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ। नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ। तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पडक्न भने छोडेको छैन।

लोकवार्ता परिषद् नेपाल: पुराना कला, संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड

हाम्रो परम्परा : हाम्रो पहिचान भन्ने मूल नारासहित लोकवार्ता परिषद् नेपालको १२औं सङ्गोष्ठी शुक्रवार म्याग्दीको बेनीमा सम्पन्न भएको छ । लोकवार्ता परिषद् नेपालको आयोजना, जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको सहआयोजना र लोकवार्ता परिषद् नेपाल १२औं सङ्गोष्ठी म्याग्दीको स्थानीय संयोजनमा कार्यक्रम सञ्चालन गरिएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसमा भएको १२औं सङ्गोष्ठीको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले हिमाली जिल्ला म्याग्दी कला, संस्कृति र भेषभूषाले सुसज्जित जिल्लाको रुपमा रहेको बताउनुभयो ।

उहाँले लाहुरेको जिल्लाको रुपमा चिनिएको म्याग्दीमा रेमिट्यान्स भित्रिनुका साथसाथै विदेशी संस्कृति पनि भित्रिएको बताउँदै परम्परागत कला, संस्कृतिको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्राज्ञिक तथा बौद्धिक क्षेत्रको कार्यक्रममा आम शिक्षक तथा विद्यार्थीहरुलाई पनि सहभागी बनाउनुपर्ने बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले म्याग्दीमा आयोजित लोकवार्ता परिषद् नेपालको १२औं सङ्गोष्ठीले जिल्लाको कला, साहित्य, लोक, संस्कृतिको संरक्षणमा सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले लोक, संस्कृति, परम्परा, इतिहास र धर्म संस्कृतिलाई पर्यटनसँग जोड्ने गरी लोकवार्ता परिषद्ले प्रकाशन गर्ने पुस्तक तथा लेख, रचनाहरु स्थानीय तहलाई पृष्ठपोषण र सहयोगी बन्नुपर्ने बताउँदै मौलिक कला तथा संस्कृतिको जगेर्नाका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रमको अवसरमा लोकवार्ता परिषद् नेपालले इतिहासकार प्राध्यापक डाक्टर कर्णबहादुर बानियाँ, अमूर्त संस्कृति झाँक्री परम्पराका संरक्षक थार्इँला झाँक्रीका नामले परिचित यामबहादुर पूर्जा, थालीनाचका सुरुवातकर्ता हरिमाया पुन र लोकगायिका धनकुमारी थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्व प्रा.डा. बानियाँ र म्याग्दी बहमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा लोकवार्ता परिषद् नेपालका महासचिव ध्रुव भट्टराईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रम लोकवार्ता परिषद् नेपाल १२औं सङ्गोष्ठीका संयोजक प्रतिभा पुनको अध्यक्षता, म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोरखबहादुर जिसीको स्वागत र सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय कलाकारबाट थालीनाच प्रस्तुत गरिएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सञ्चालित कार्यक्रमको मुख्य प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ । यसैगरी स्थानीय सहआयोजकहरुमा बेनी नगरपालिका, अन्नपूर्ण, मालिका, धवलागिरि र मंगला गाउँपालिका तथा म्याग्दी बहुमुखी क्याम्पस रहेका छन् । यसअघि लोकवार्ता परिषद् नेपालको १२औं सङ्गोष्ठी बुधवार मालिका गाउँपालिकाको विम र बिहीबार अन्नपूर्णको राम्चेस्थित काफलडाँडामा आयोजना गरिएको थियो ।

पोखरेबगरमा अन्नपूर्णको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक समिक्षा, २०८०/०८१ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरको छ । शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरिएको कार्यक्रममा पालिकाका प्रशासन शाखा, आर्थिक प्रशासन, स्वास्थ्य, कृषि, पशु, शिक्षा, युवा तथा खेलकुद, पूर्वाधार तथा भवन निर्माण, राजस्व, याजना लगायत विभिन्न १४ वटा शाखाहरुले गत आवको वार्षिक तथा चालु आवको पहिलो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सार्वजनिक सुनुवाई कार्यक्रममा राजाराम बरुवाल, रामकृष्ण खड्का, राम बहादुर पूर्जा, याम बहादुर पुन, दुर्गादत्त सुवेदी लगायतका सहभागीहरुले गाउँपालिकाको सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणका विषयमा विभिन्न गुनासा तथा सुझावहरु राखेक थिए । सहभागीहरुले गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्तीमा ढिलासुस्ती भएको, रातोपानीको तातोपानी कुण्ड ठेक्का प्रक्रियामा जान नसक्दा वेवारिसे जस्तै बनेको, घारको मूक्तिमार्ग क्याम्पसमा पालिकाको आर्थिक सहयोग प्रयाप्त नभएको, पोखरेबगर, घार चित्रे घोडेपानी सडक निर्माण कार्य ढिलासुस्ती भएको, अध्यक्ष कप खेलकुदमा अतिथि सत्कारका लागि धेरै बजेट खर्च गर्ने गरेको, प्रदेश र संघका योजनाहरको पालिकाबाट प्रभावकारी अनुगमन नभएको, सरकारी विद्यालयमा अध्यापन गर्ने शिक्षकले आफ्नो सन्तानलाई नीजि विद्यालयमा अध्ययन गराउदा सरकारी विद्यालयमा विद्यार्थी घटेको लगायतका गुनासाहरु राखेका थिए ।

त्यस्तै सहिभागीहरुले जेष्ठ नागरिकहरुलाई वितरण गर्ने न्यानो कपडा यहि जाडोको समयमा तत्काल वितरण गर्न, कृषि र पशु शाखाबाट अनुदानमा वितरण हुने कृषि विउविजनहरु उपयुक्त समयमा वितरण गर्ने व्यवस्था गर्न, अन्नपूर्ण आधार शिविरमा पर्यटनको आगमन बढेकाले थप पूर्वाधार निर्माणका लागि बजेट व्यवस्थापन गर्न समेत आग्रह गरेका थिए । घोरेपानी र कास्कीको अन्नपूर्ण गाउँपालिका ११ को सिमानामा रहेको धरमडाँडामा कास्कीले सिमा मिच्दै गएको प्रति पालिका वेखवर बनेको प्रति सहभागीले चिन्ता व्यक्त गरेका थिए । सहभागीहरुले उठाएको प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष भरत पुनले अन्नपूर्ण गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलहरुको प्रवर्धनमा पालिकाले चासो दिएको बताउनुभयो ।

अन्नपूर्ण आधार शिविरमा थप पूर्वाधार विस्तारका कार्यहरु संचालन गर्ने योजना बनाएको भन्दै उहाँले त्यसका लागि संघ तथा प्रदेश सरकार संग पनि बजेटको माग गरिने बताउनुभयो । दोवामा निर्माण सम्पन्न भएको ५ शैयाका अस्पताल संचालनका लागि संघ सरकार संग आवश्यक पहल गरिएको र सरकारले पहिलो चरणमा १०० वटा अस्पताल संचालन गर्ने तयारी गरेकोमा दोवाको पनि त्यसैभित्र पर्ने बताउनुभयो ।

घारमा रहेको क्याम्पस संचालनका लागि पालिकाले सधै सहयोग गर्ने बताउँदै उहाँले सरकारी विद्यालयमा पढाउने शिक्षकहरुले आफ्ना बालबच्चाहरुलाई पनि सरकारी विद्यालयमै पढाउने वातावरण सृजना गर्न कस्तो नीति बनाउने भन्ने विषयमा छलफल भईरहेको बताउनुभयो । नागरिकको स्वास्थ्य, शिक्षा, आवास, विपत व्यवस्थापन, रोजगार सृजना लगायतका क्षेत्रमा पालिकाले जिम्मेवारपूर्ण ढंगले अभिभावकत्वको भूमिका निभाउने बताउदै जनभावना र जनचासो अनुरुपका विकासमा पालिका सधै तत्पर रहेको प्रतिवद्दता जनाउनुभयो ।


गाउँपालिकाका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले अन्नपूण गाउँपालिका र कास्की संग सिमा जोडिएको धरमडाँडा स्थित मुल्डी भ्यु पोइन्ट क्षेत्रमा सिमा निर्धारण र त्यहाँको पर्यटन प्रवर्धनका लागि दुई पालिकाकै प्रतिनिधिहरु बसेर छलफल गरिने बताउनुभयो । उहाँले पालिका, संघ र प्रदेशका योजनाहरुको अनुगमन प्रभावकारी बनाईएको तर कतिपय योजनाहरु पालिकालाई समेत जानकारी नभई संचालन हुनेुहँदा त्यस्ता योजनाहरुको अनुगमन पालिकाबाट नभएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि पोखरेबगरमा प्राप्त भएको निशुल्क जग्गा ३ रोपणी भएको तर उक्त जग्गा माथि विद्युतको राष्ट्रिय प्रसारण लाईन परेकाले प्राविधिक रुपमा प्रयोग हुने जग्गा १ रोपनी ८ आना मात्रै भएको बताउनुभयो ।

उहाँले प्रशासकीय भवन निर्माणका लागि जग्गाको मापदण्ड ६ रोपनी हुनुपर्ने भन्दै जग्गा अपुगै कारण आडैमा रहेको सार्वजनिक जग्गा समेत गरि भवन निर्माण गर्ने कि नयाँ ठाउँमा जग्गा खरिद गर्ने भन्ने विषयमा छलफल भईरहेको बताउनुभयो ।

रातोपानी स्थित तातोपानी कुण्डमा ३ पटक सम्म सुचना जारी गर्दा पनि ठेक्का प्रक्रियाका लागि टेण्डर नपरेकाले हाल ३ लाख भनिएको रकमलाई घटाएर टेण्डर आव्हान गर्ने कि भन्ने विषमा राजस्व परामर्श समितिको वैठक वेसेर टुंगो लगाईने बताउनुभयो ।

पालिकाका पर्यटकीय स्थलहरु प्राप्त भएको रोयल्टी खर्च गर्ने प्रावधान कस्तो छ भन्ने सहभागीको जिज्ञासाको जवाफमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले रोयल्टी वापत उठेको रकमको ५० प्रतिशत पालिकामा, २५ प्रतिशत सम्वन्धित वडामा र २५ प्रतिशत नजिकको वडालाई दिने प्रावधान बनाईएको तर यसमा हेरफेर हुन सक्ने बताउनुभयो । पालिकाले आयोजना गर्ने अध्यक्ष कप खेलकुद प्रतियोगितामा अनावश्यक खर्च कटौती गर्दै लगिएको पनि सुवेदीले बताउनुभयो ।

जेष्ठ नागरिक र अपांग व्यक्तिका लागि न्यानो कपडा वितरण गर्न यस वर्ष ५ लाख बजेट विनियोजन गरिएको बताउँदै उहाँले प्रत्यक वडाबाट १५ जनाका दरले लाभग्राहीको तथ्यांक संकलन कार्य र न्यानो कपडा खरिद कार्य प्रक्रियामा रहेकाले मंसिरको पहिलो सातामानै वितरण गरिने बताउनुभयो । साथै उहाँले कृषि र पशु संग सम्वन्धित अनुदानका सामग्रीहरु कृषकलाई उपयुक्त समयमानै वितरण गर्ने प्रतिवद्दता समेत जनाउनुभएको छ ।

कार्यक्रमा उठेका सवालहरुको अन्नपूर्ण गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष राम बहादुर खड्काले पनि जवाफ दिनुभएको थियो । पालिका अध्यक्ष भरत पुनको अध्यक्षता तथा प्रशासकीय अधिकृत भगवति खड्का कटुवालको संचालनमा रहेको कार्यक्रममा सार्वजनिक सुनुवाई खण्डको सहजीकरण संचारकर्मी अमित विश्वकर्मा र अमृत वास्कुनेले गर्नुभएको थियो ।

भूकम्प पिडितलाई म्याग्दीबाट सहयोग

मानव अधिकार तथा शान्ति समाज म्याग्दीले जाजरकोट,रुकुम जिल्लामा विनाशकारी भुकम्पकनठ पीडितका लागि आर्थिक सहयोग गरेको छ । भुकम्पबाट भएको जन र धनको क्षतीप्रति दुख ब्यक्त गदैं शान्ति समाज म्याग्दीले सदस्यतहरुको सहभागितामा सम्बन्धित जिल्ला विपद् ब्यवस्थापन समितिमार्फत सहयोग गर्ने गरी १८ हजार ६२० रुपैयाँ सहयोग गरेको हो।

जिल्ला शाखा म्याग्दीका सभापति हरिप्रसाद पौडेलका अनु्सार जाजरकोट जिल्ला विपद् ब्यवस्थापन समितिमा १० हजार र रुकुम पश्चिम जिल्ला विपद् ब्यवस्थापन समितिमा ८ हजार ६२० रुपैयाँ सहयोग गरेको छ ।

पीडितहरुको सहयोग र पुनः स्थापनाका लागि सरकारी अभियानमा सहयोग गर्न समेत अपिल गरेको छ । मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय उपाध्यक्ष रामजीप्रसाद सुबेदीले प्राकृतिक वा अन्य विपत्तिवाट सुरक्षाका लागि उद्धार र राहत प्रभावकारी एवं स्थायी संयन्त्र निर्माणमा जोड दिए ।

मोटरसाईकल दुर्घटनामा जर्मन पर्यटकको मृत्यु

बेनी हुदै जोमसोम तर्फ मोटरसाईकलमा सवार जर्मन नागरिक म्याट्रेड वि (Mantred B)को दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ । बेनी–जोमसोम सडक अन्र्तगत पर्ने अन्नपूर्ण गाउ“पालिका, ३ काप्रेभीरबाट मोटरसाईकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको थियो ।

उद्धारमा संलग्न जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक कुमार गुरुङका अनुसार चालक सडकदेखी अन्दाजी ६० मिटर तल भीरमा अल्झेका थिए । उद्धारकर्मीले फेला पार्दा म्याट्रेडको मृत्यु भैसकेको उनले बताए । बिहिबार साझ ७ बजे तिर भएको दुर्घटनामा मृत्यु भएका म्याट्रेड विको शव राती २ बजे बेनी अस्पतालमा ल्याईएको थियो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले दिएको जानकारी अनुसार चार जना स्पेनिस र ११ जर्मन गरी १५ जना मोटरसाईकल राईडरहरु विहिवार पोखराबाट बेनीहु“दै मुक्तिनाथ यात्रामा हिडेका थिए ।

चालक मृतक जर्मन नागरिकका अन्य साथीहरु मुस्ताङको लेते पुगेको र शुक्रवार विहान बेनी अस्पतालमा आएका थिए । दुर्घटनामा उद्धार गर्न मुस्ताङबाट आएको सेना, बेनीबाट गएको प्रहरी तथा शसस्त्र र बाग्लुङबाट विपद उद्धार टोली परिचालन भएको थियो ।

म्याग्दीका विभिन्न विधामा ५ जना सर्जक सम्मानित

म्याग्दीमा सम्पन्न भएको लोकवार्ता परिषद् नेपालको १२औं सङ्गोष्ठीमा फरक–फरक विधामा पाँचजना सम्मानित भएका छन्। जनजीवनमा प्रचलित संस्कृति,लोककला,साहित्य,संस्कार, रितिथीति आदि परम्परागत ज्ञानको अध्ययन र संरक्षणमा योगदान पुर्याएकालाई लोकबार्ता विशेष समितिले गरेको निर्णयानुसार प्राज्ञिक कार्यद्वारा सम्मान गरिएको हो ।

शुक्रबार म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा म्याग्दी जिल्लालाई चिनाएका इतिहासकार कर्ण बहादुर बानियाँ, अमूर्त संस्कृति झांक्री परम्पराका संरक्षक थांइला झांक्रीका नामले परिचित यमबहादुर पुर्जा,थालीनाचकी पहिलो कलाकार हिरामायाँ पुन र लोक गायिका धन कुमारी थापालाई जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापालेसम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए ।

सम्मानित थालीनाचकी सर्जक डेनमार्क रहेकाले उनकी छोरी अनिता श्रीष थापालाई हस्तान्तरण गरिएको थियो । यानीमायाँ लोकभाकाको सर्जक लालदेवी गर्बुजालाई मालिका गाउँपालिका–७, बिममा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले सम्मान गरेका थिए ।

सम्मानित भएपछि म्याग्दीका इतिहासकार बानियाँले सम्मानका लागि छनौट गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।मौलिकता बोक्ने सांस्कृतिहरुलाई उत्थानमा सक्रिय रहेको लोकवार्ताको सङ्गोष्ठी ७ प्रदेशका प्राज्ञिक व्यक्तित्वहरूको उपस्थितिमा म्याग्दीको मालिका गाउँपालिका–७ बिम, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा र म्याग्दी बहुमुखी क्याम्पसमा आयोजना गरिएको थियो ।

लोक वार्ताका सामग्रीको सङ्कलन, संरक्षण, संवद्र्धन, अध्ययन, विश्लेषण, प्रचारप्रसार र प्रकाशन गर्नु, जातजाती, धर्म तथा भाषाभाषीको पारस्परिक सद्भाव लोकवार्तासँग सम्बद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय विद्वान् तथा संघ–संस्थाबीचको सम्बन्धमा गाढा तुल्याउन सफल भएको संयोजक प्रतिभा पुनले बताइन् ।नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आयोजित उक्त सङ्गोष्ठीको सह–आयोजकमा जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठान र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको थियो ।

थाली नाचकी पहिलो अभ्यासकर्ता हिरामायाँ पुन श्रीष सम्मानित

लोकप्रिय थाली नाचकी सर्जक हिरामायाँ पुन श्रीसलाई सम्मान गरिएको छ । लोकवार्ता परिषद् नेपालको १२औं सङ्गोष्ठीको अवसरमा शुक्रबार म्याग्दीको सदरमुकाम बेनीस्थित म्याग्दी बहुमुखी क्याम्पसमा विश्वमै लोकप्रिय थाली नाचको पहिलो अभ्यासकर्ता तथा संरक्षक हाल डेनमार्कमा रहेकी पुन श्रीषलाई सम्मान गरिएको हो ।

पारिवारिक भेटघाटको सिलसिलामा डेनमार्कमा रहेकी हिरामायाँको सम्मान उनकी छोरी अनिता श्रिष थापा र आफन्त गणेश पुनलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र बेनी नगरपालिका मेयर सुरत केसी लगायतले सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए । वि.स २०२८ सालमा चिमखोलाकी पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गरेकी थिइन् ।

वि.स २०४४ सालमा काठमाडौमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थालीनाच राष्ट्रिय र अन्तराष्ट्रियकरण भएसँगै म्याग्दीबाट विश्वभर छरिएकाले अहिले थाली नाच प्रस्तुत गर्ने गरेका छन् ।

पुन र लोक गायिका धनकुमारी थापा सहितको ४ जनाको टोलीले वि.स २०४२ मा बिरगञ्जमा भएको तेस्रो राष्ट्रिय लोक नृत्य प्रतियोगितामा सामुहिक थाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हाँसील गरेका थिए ।

वि.स. २००८ सालमा चिमखोलामा जन्मिएकी हिरामायाँले सुरुवात गरेको थाली नाच म्याग्दीबाट विश्वभर छरिएका कलाकारहरुले प्रस्तुत दिदाँ विदेशी र नेपालका अन्य जिल्लाबासी समेत दंग पर्ने गरेका छन् ।

बाबा सक्त बहादुर र आमा नन्दिका पुनको ६ भाई छोरा र २ बहीनी छोरी मध्ये कान्छी छोरीको रुपमा जन्मिएकी हिरामायाँ जन्मिएकी हिरामाँयाले खाना खाएको भाँडा बाझेर धारोदेखि घरभित्र जाँदा हातमा थाल घुमाउने गर्दै गर्दा त्यसलाई नाचमा रुपान्तरण भएको थियो ।

हिरामायाँले तत्कालिन समयमा थाली नाच देखाउँदा बोक्सी र टुनामुना गर्ने मान्छे सम्मको आरोपको सामना गर्दा समेत हिरामायाँ नाचलाई फैलाउने अभियानमा निरन्तर लागिन् । बि.स २०३५ सालमा शान्ति पुन र थापाले थाली नाच सम्बन्धि गित रेकर्ड गराएपछि झनै यसको लोकप्रियता चुलिएको थियो ।

उक्त गितको वि.स २०७३ मा म्युजीक भिडीया छायांकन गरिएको थियो । लोकवार्ता परिषद् नेपालबाट शुक्रबार सम्मानित भएकी हिरामायाँ सँगै थाली नाचको संरक्षणमा सक्रिय धनकुमारी थापाले २०४२ सालको नाच राम्रो मानेर २०४४ सालको सार्क सम्मेलनमा समेत थाली नाचका लागि निम्नो आएको बताईन् ।

थाली नाचको कलाकार उत्पादन भएको र गित समेत तयार भएकाले यसको प्रचारप्रसारमा सहयोग पुगेको लोक गायिका थापाको भनाई छ । हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाएको र नाचेको दृष्य निकै रोचक हुन्छ।सावधानीपूर्वक गरिने थाली नृत्य मौलिक, आकर्षक र संयमित हुने भएकाले लोकप्रिय बनेको हो।

????????????????????????????????????

लोकवार्ता परिषद नेपालले १२ औं लोकवार्ता सङ्गोष्ठीको अवसरमा म्याग्दी जिल्लालाई चिनाएबका इतिहासकार कर्ण बहादुर बानियाँ,अमूर्त संस्कृति झांक्री परम्पराका संरक्षक थांइला झांक्रीका नामले परिचित यम बहादुर पुर्जा, यानीमायाँ लोकभाकाका संरक्षण तथा प्रवर्द्धनमा सक्रिय लालदेवी गर्बुजा र लोकगायिका धन कुमारी थापालाई समेत सम्मान गरिएको थियो ।

मौलिकता बोक्ने सांस्कृतिहरुलाई उत्थानमा सक्रिय रहेको लोकवार्ताको सङ्गोष्ठी ७ प्रदेशका प्राज्ञिक व्यक्तित्वहरूको उपस्थितिमा म्याग्दीको मालिका गाउँपालिका–७ बिम, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा र म्याग्दी बहुमुखी क्याम्पसमा सम्पन्न भएको संयोजक प्रतिभा पुनले बताइन् । उक्त कार्यक्रममा ३८ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।