Sunday, June 29, 2025
21.1 C
Beni
21.1 C
Beni
Sunday, June 29, 2025
Home Blog Page 490

निलगिरी हाइड्रोपावरको सुरूङमा एक कामदारको ज्यान गयो

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको निर्माणधिन अवस्थामा रहेको निलगिरी हाईड्रोपावरको ७१ मेगावाट क्षमताको निलगिरी क्यासकेडमा एक मजदुरको दुर्घटनामा ज्यान गएको छ ।

बुधबार दिउँसो साढे २ बजे अडिट नं २ को काम गरिरहेको अवस्थामा दाङ जिल्ला घर भएका डोण बहादुर बुढामगरको सुरुङभित्र चिप्लिएर लड्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घटनास्थलमै ज्यान गुमाएका मजदुरको शव पोष्टमार्टमका लागि बेनी अस्पतालमा ल्याइएको छ । घटनाको अनुसन्धान गर्न प्रहरी निरिक्षक सम्मुनत अधिकारीको नेतृत्वमा प्रहरीको टोली पुगेर फर्किएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

यस कम्पनीले सोही ठाउँमा ३८ मेगावाट क्षमताको निलगिरिखोला जलविद्युत् आयोजना समेत निर्माणधिन अवस्थामा रहेको छ । यसअगाडी समेत बि.स २०७६ साल पुष महिनामा ३८ मेगावाटमा टिप्पर दुर्घटना हुदाँ चालक कुमार चौधरीको ज्यान गएको थियो ।

आयोजनास्थलमा हालसम्म ४ जनाको ज्यान गइसकेको अभिलेखमा देखिन्छ भने बि.स २०७६ भदौ महिनामा सडक खन्ने क्रममा भीरबाट खसेर नारच्याङका २० वर्षीय चुमबहादुर पुर्जा र २९ वर्षीय खिमबहादुर चोचाङ्गी घाइते भएका थिए । आयोजनाले निर्माणधिन अवस्थामा घाईते भएका मजदुरका बारेमा समयमै परिवारका सदस्यलाई खवर नगर्ने गुनासो मजदुरले गर्ने गरेका छन् ।

जनशक्तिको अभावमा बाँझिंदै उर्वर भूमि, झाडीमा परिणत हुँदै खेतबारी

युवाहरु विदेशिने क्रम बढ्दै गएपछि जनशक्तिको अभावमा म्याग्दीको खेती योग्य जमिन झाँडीमा परिणत हुँदै गएको छ ।सुविधा, रोजगारी र गुणस्तरीय शिक्षाको खोजीमा गाउँका व्यक्तिहरु बजार झर्दै गर्दा ग्रामीण बस्तीको उर्वर जमिन जंगलमा परिणत भएको हो। युवाहरुमा विदेश, शहरकेन्द्रित ब्यवसाय र जागिरमा केन्द्रित हुदाँ गाउँमा बस्ने बुवा आमा निर्वाहमुखी खेतीपातीमा सीमित छन् ।

पछिल्लो समय म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र बेनी नगरपालिका २ बगरफाँट को खेतीयोग्य जमिनमा अन्नबाली भन्दा बढी रुख विरुवा भरिएको छ । राखु भगवतीको खेतीयोग्य जमिनमध्ये ६० प्रतिशत भु–भाग बनजंगल, झाँडीले भरिएको स्थानीय वासी रामजी शर्माले बताउनुभयो ।

खेती गरिरहेको जमिनमा पनि रुखविरुवा भरिएपछि पहिलेको जस्तो उत्पादन हुन छोडेको उहाँको भनाइरहेको छ ।उर्भरभूमिमा धान, मकै, कोदो लगायतको रैथानीबाली लोप हुने अवस्थामा पुगेका छ । खेतीयोग्य जमिनमा टुनी, चिमल, मौवा, उत्तिस, बास लगायतको रुखविरुवा भरिएपछि बादरको आतंकपनि बढेको छ ।

बाँदरले कृषकले गरेको खेती खाने समस्या बढेको राखुका कृषक बताउछन् । पहिल्य बादर आउने थिएनन् पछिल्लो समय रुख विरुवा भरिएपछि बादर आउने क्रम बढेको राखु भगवतीका कृषक रामु खत्रीले बताउनुभयो । राखुका युवाहरु स्वदेशमा सुरक्षित नभएपछि शिक्षा तथा रोजगारको शिलशिलामा युरोप लगायतको खाडीमुलकमा पुगेका छन्, कमाएपछि सदरमुकाम बेनी, पोखरा, काठमाण्डौ लगायतको शहरमा बसाईसराई गर्छन् ।

जसले गर्दा गाउँको जंग्गा कमाउने मान्छे कमि भएको छ । ‘विस्तारै खेतीयोग्य जमिनमा अन्नपात लगाउने क्रम हट्दै गएको कृषि ज्ञान केन्द्रको तथ्याकंमा छ । उर्वर जमिनलाई असर गर्ने रुखविरुवा हटाउने र निर्वाहमुखी खेतीलाई परिवर्तन गरेर ब्यवासायी फलफूल खेती र तरकारी खेती गर्नतर्फ सबैका ध्यान जानुपर्ने राखु घट्टका सुन्तला कृषक बालकृष्ण कटुवालले बताउनुभयो ।

म्याग्दीमा युवाहरु विदेश नै नगई गाउँमा नै अवसरहरुको खोजी गर्ने युवाहरु भने नगण्य मात्रामा रहेका छन् । रोजगारीका लागि विदेश पसेका युवाहरुबाट रेमिट्यान्स भित्रिने गरेपनि घरायसी खर्च, घर घडेरीम लगानी गर्ने क्रम बढेको छ। उत्पादनमूलक क्षेत्रमा लगानी नगन्य मात्रामा रहेको छ ।

देशमा संघीय व्यवस्था लागु भएपछि दुर्गम गाउँमा सुविधा थपिएको छ, वस्ती वस्तीमा मोटरबाटो पुगेको छ । गाउँमा उत्पादन गरिएको वस्तु सहजरुपमा सवारीसाधनमार्फत बजारका पसलमा पु¥याउन सकिन्छ । रघुगंगा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले खेतीयोग्य जमिनको रुख विरुवा फडानीको अभियान संचालनमा उदासिनता देखाएका स्थानीयको भनाइरहेको छ । उत्पादनयोग्य जमिनलाई बाँझो नराखी ब्यावसायीक खेतीमा आकर्षित गर्ने योजना अघि ल्याउने जनदवाव आवश्यक देखिएको छ ।

प्राचिन कालिदेखि सुरक्षित आध्यात्मिक सम्पदा स्वर्गाआश्रम

बेनी नगरपालिका-३,भकिम्लीको मानब वस्तीदेखि करिव आधा घण्टाको उकालो उक्लिएपछि घनाजंगलको पूर्वतर्फको टुप्पोमा प्राचिन कालिदेखि सुरक्षित एउटा आध्यात्मिक सम्पदा छ । धार्मिकस्थल स्वर्गाआश्रमको अगाडीपट्टी चट्टानको माथि पानीको कुवा,धुपी सल्लाका सर्लक्क परेका रुख र ती रुखको विचमा ग्रामिण शैलीको ढुङ्गाले छाएको २ तले परम्परागत घर छ ।

बटुवा र ध्यान बस्न आउनेहरूलाई लक्षित गरी चिटिक्कको सत्तल बनाइएको छ भने तपस्यास्थलदेखि विश्रामस्थल, प्रवेशद्धार र चिटिक्क ढुंगा विच्छाइएको स्वर्गाआश्रम भने अहिलेसम्म गुमनाम रहेको छ ।

सप्तऋषि पहाडको रुपमा समेत चिनिने आश्रम आसपासको जंगलमा तत्कालिन समयमा ईश्वरानन्द सरस्वति एक्लै तपस्या र ध्यान बसेको ओडार सहितका अन्य भग्नाबसेस अहिले सम्म छ ।

धार्मिक र पर्यटकीय दृष्टिकोणले समेत म्याग्दीको सदरमुकाम बेनी नजिकै रहेको आर्कषक गन्तब्य स्वर्गाआश्रममा फाटफुट पर्यटक पुग्न थालेपछि गण्डकी प्रदेशले २० लाख, बेनी नगरपालिकाबाट २२ लाख र स्थानीय वडाबाट समेत पूर्वाधार विस्तार गरेको स्वर्गाआश्रम बेलढुंगा ब्यवस्थापन समितिका अध्यक्ष रत्न जिसीले बताए ।

‘प्राचिन कालिदेखि सुरक्षित एउटा आध्यात्मिक सम्पदा हो,‘यहाँ आएपछि धेरै देख्न पाइन्छ’ अध्यक्ष जिसीले भने। पाँच दशक अगाडी प्रमानन्द गुरू र छविलाल गुरू नाम गरेका स्वामीले समेत तपस्या गरेको उक्त स्थान आसपासमा रहेका पहाडलाई सप्त ऋषि पहाडको रुपमा समेत चिनिन्छन् ।

प्राकृतिक रुपमा अत्यन्त रमणीय,आध्यात्मिक आस्थाको केन्द्र,पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रमको प्रचारप्रसार नहुदाँ ओझेलमा परेको बेनपा–३ का वडाध्यक्ष पदम पुनले बताए ।स्वर्गाआश्रमस्थलबाट स्वर्गाश्रमको ढोकाबाट पूर्वतर्फ सुन्दर बेनीबजारसंगै कालीगण्डकी,महारानी थान,उत्तरतर्फ गलेश्वरधाम,जगन्नाथधाम,मुक्ति क्षेत्र लगाएतका तीर्थस्थलहरुको अवलोकन गर्न सकिन्छ ।

तपस्वीनी ईश्वरानन्द सरस्वतीले २० वर्षसम्म कठोर तपस्या गरी सिद्धिप्राप्त गरेपछि देवघाटमा गएपछि पनि नियमित प्रचारप्रसार र पूर्वाधार विस्तारमा सहयोग गर्ने गरेकी छन् ।

स्वार्गाआश्रमको क्षेत्रमा दैनिक श्रमदानदेखि भक्तजनलाई स्वागत तथा सम्मानमा स्थानीय आमा समुहले समेत आफ्नो घरको घरायसी काम समेत छोडेर सक्रिय हुने गरेको भकिम्लीको भुकभुके आमा समुहकी पूर्णकला जिसीले बताईन् । हरेक वर्षको वैशाख १ गते स्वार्गाआश्रममा विश्व शान्तिको कामना गदैं रथयात्रा सहित भब्य पूजा गरिन्छ ।

रिगलको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर

सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गरेको छ ।न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।

इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ भनेको छ । आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

रिटमाथि सुनुवाइ गर्दै अदालतले बिहीबार कैद सजाय मिनाहाको निर्णय बदर हुने आदेश सुनाएको हो । सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती १७ असोजदेखि अनशन समेत बसेकी थिइन् । दशैंका बेला स्थगित अनशन उनले फेरि सुरु गरेकी थिइन् भने १३ कात्तिकमा अनशन स्थलमै उनी बेहोस समेत भएकी थिइन् ।

 

बेलढुङ्गा : ‘कस्तो थियो पहिले, यस्तो भयो अहिले’

करिब एकदशक अगाडीसम्मअक्करे भीरमा बुट्यान र लहरामा झुण्डिदै बेलढुङ्गाको फेददेखि शिरसम्म पुग्न निकै दुःख हुन्थ्यो । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाकोसिमा क्षेत्रमा रहेको पर्यटकीयस्थलमा जोखिम मोलेर भिरबाट उक्लिनुपर्थो ।

समुद्री सतहदेखि दुई हजार ६ सय ८७ मिटर उचाइको बेलढुङ्गामा पुग्न र फर्किन स्थानीयलाई निकै समस्या हुन्थ्यो। पर्यटकको नजरसम्म नपरेको बेलढुंगामा पुगेर फर्किने भकिम्लीबासीहरू अहिलेपनि ति दिनलाई सम्झिन्छन् । भकिम्लीका वडा अध्यक्ष पदम पुनले बेलढुंग आसपासमा क्षेत्रमा चरनका लागि जाने स्थानीयलाई सहज हुने गरी अघिल्लो कार्यकालमा १ लाख विनियोजन गरेर सामान्य गोरेटो बाटो बनाए ।

म्याग्दी र बागलुङ क्षेत्रका बासिन्दाले चरन क्षेत्रका लागि प्रयोग गर्ने बेलढुंगा अहिले धेरै हिमाल देखिने एक सुन्दर गन्तब्य बनेको छ । पहिले पुग्नै मुस्किल र फर्किदा चोटपटक लाग्ने बेलढुंगाको घाँटीमै सडक पुगेको छ । बेलढुंगाको प्रवेशद्धार देउराली धुरिदेखि बेलढुङ्गासम्म स्लेट ढुङ्गाको ५ सय २५ सिँडीले पर्यटकलाई निकै सहज भएको छ ।पदमार्ग बनाउन स्थानीय तारामिलन छन्त्याल सहित यूवाहरु करिब एक साता जंगलमै बसेर काम गरेका थिए ।भकिम्लीका वडा अध्यक्ष पदमबहादुर पुन, वडा सदस्य रत्न जिसी, स्थानीय अगुवा पृथबहादुर पुन लगायतले बागलुङको कोठेखोला गाउँपालिकाका जनप्रतिनिधिहरुसँग सहकार्य गरी अहिले आर्कषक पूर्वाधार बनेको छ ।

सडक सञ्जालबाट उकालो छिचोलेपछि करिब १० मिनेटमा बेलढुङ्गामा पुगिन्छ । बेनी नगरपालिका–३ भकिम्लीका वडा अध्यक्ष पदमबहादुर पुनले एकदशक अगाडीको बेलढुंगा र अहिलेको बेलढुंगमा धेरै फरक छ ।

बेलढुंगामा घुम्न जानेलाई बनभोजस्थल समेत बनाइएको छ भने मेला समेत सञ्चालन गरिन्छ । २०७७ साल भदौमा बेल आकारको ढुङ्गा दुई हजार ११८ मिटरको उचाइमा थियो। २०७२ सालको भूकम्पको पटक–पटकको धक्काले माथिल्लो भाग भत्किएपछि अहिले नयाँ अकारमा सहजै करिब १ सय जना पर्यटक बस्ने मिल्ने संरचना बनेको छ । पूरानो संरचनामा करिब २० जना मात्रै बस्न मिल्थो ।

बेलढुङ्गाबाट संसारकै सातौं अग्लो धौलागिरी हिमाल, १० औं आग्लो अन्नपूर्ण हिमाल सहित पूर्बी रुकुम र म्याग्दीको सिमानमा अवस्थित पुथा हिमाल, म्याग्दीको गुर्जा,निलगिरी, मानापाथी, गणेश हिमाल,कास्कीको माछापुच्छे«, गोरखाको मनास्लु, गंगा पूर्व, लमजुङ लगायतकालोभलाग्दो हिमालको लस्करसिधै आँखामा ठोकिन्छ । म्याग्दीका अन्य पर्यटकीयस्थलबाट यति धेरै हिमाल देख्न मुस्किल हुन्छ ।

सेता हिमालको तल बादल, स्वच्छ पहाड, आसपासमा बनजंगलको मनोरम दृश्य देखिन्छ । म्याग्दी र बागलुङबाट सहजै पुग्न सकिने नयाँ र सुन्दर गन्तब्य बेलढुंगा बनेको छ । बेलढुंगामा बार्षिक ६ हजारको हाराहारीम आन्तरिक पर्यटक पुग्ने गरेका छन् । म्याग्दीको सदरमुकाम बेनीबाट करिब १८ किलोमिटरको दुरीमा छ भने बागलुको सदरमुकामबाट करिब साढे दुई घण्टाको यात्रा गरेपछि प्राकृतिक भ्यूटावर बेलुढुंंगा पुगिन्छ ।

   

लयमा फर्कन सकेन घोडेपानीको पर्यटन व्यवसाय

केही वर्षअघिसम्म असोज–कात्तिक र चैत–वैशाखको याममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको होटल व्यवसायी जुली ठकुुरी पुनलाई खाना खाजा खाने फुर्सद हुने थिएन् । पर्यटकको ‘पिक सिजन’ असोज–कात्तिकको याममा पछिल्लो पाँच वर्षयता उनलाई पहिलेको जस्तो भ्यानभ्याइ छैन् । घोडेपानीकै होटल व्यवसायी सपना गुरुङ पनि जुली जस्तै फुर्सदिलो छन् । कोरोना भाइरसको महामारी फैलिएपछि सुस्ताएको घोडेपानीको पर्यटन आगमन र होटल व्यवसाय अझै लयमा फर्कनसकेको छैन् ।

विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको विभिन्न गन्तव्यमा जाने नाकामा रहेको घोडेपानी नेपालकै प्रसिद्ध पर्यटकीयस्थल हो । कोरोनाले थला परेको पर्यटक आगमन पुरानोलयमा फर्कन नसक्दा होटल व्यवसाय प्रभावित बनेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताइन् । “पहिला याममा सबै होटल पाहुनाले भरिभराउ हुन्थे । अहिले दुई चार वटामा मात्र पाहुना छन् । त्यही पनि नियमित छैन,” उनले भनिन्, “कोरोना महामारीको समयको तुलनामा अहिलेको पर्यटक आगमन राम्रो त हो तर कोरोना शुरु हुनु अघिको जस्तो छैन् ।”

घोडेपानी आसपासको उल्लेरी, तिखेढुङ्गा, चित्रे, शिख क्षेत्रका होटल व्यवसायीको अवस्था झन नाजुक छ । घोडेपानीमा दैनिक एक हजार जना बास बस्न सक्ने क्षमताका साना ठूला गरी ३० होटल छन् । दसैँ–तिहारको याममा घोडेपानीमा स्वदेशी पर्यटकको चाप पनि उत्तिकै हुने गरेको थियो । घोडेपानीको होटल व्यवसायी ज्ञानबहादुर पुनले कोरोना महामारीपछि विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दिको असर पर्यटक आगमन र होटल व्यवसायमा परेको बताए । “कोरोनाले सबैको आम्दानीमा असर गरेको छ । आम्दानी कम हुँदा घुमघाम गर्न निस्कने घटेका हुन,” उनले भने “आएकाले पनि खर्च र भ्रमण गर्ने समय छोट्याएका छन् ।”

विसं २०८० सुरु भएयता म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रमा पन्ध्र हजार जना विदेशी पर्यटकले भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । पर्यटक प्रहरी हबल्दार रामबहादुर खत्रीका अनुसार विसं २०७९ मा २६ हजार तीन सय ११ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका थिए । कोरोना अघि वार्षिक ६० देखि ७० हजार पर्यटक आउने गरेका थिए । समुद्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् ।

पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्य अवलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विषेशता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ ।

अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी हुँदै र नागी–महरे हुँदै गरी चारवटा नाकाबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । म्याग्दीको पोखरेबगर घार शिख चित्रे हुँदै घोडेपानी सडकमा सवारीसाधन भएर पुग्न सकिन्छ । घोडेपानीमा बास बस्ने पर्यटक एका बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । विदेशी पर्यटक आगमन कम भएकाले नेपाली पर्यटकलाई आकर्षित गराउन छुटको कार्यक्रम ल्याएका छन् । घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्रको अन्तिम चरणमा रहेकाले सडक मार्गबाट आउने स्वदेशी पर्यटक बढ्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।

युवापुस्ताको आकर्षणसँगै पञ्चेबाजाको प्रयोग बढ्दै

नेपाली मौलिक संस्कृतिको धरोहर पञ्चेबाजाप्रति युवाहरुको आकर्षण बढेसँगै म्याग्दीमा पञ्चेबाजाको प्रयोग पनि बढ्दै गएको छ ।

विवाह, ब्रतवन्ध जस्ता मांगलिक कार्यहरुमा मात्रै होइन स्वागत, समारोह वा जिल्लामा हुने प्रायः सबै कार्यक्रमहरुमा पञ्चेबाजाको प्रयोग हुन थालेपछि सांगीतिक माहोलमा कार्यक्रमहरु सम्पन्न हुन थालेका छन् ।

विसं २०५० देखि २०७० सालको दुई दशकको अवधिमा देशमा जारी द्वन्द्व, आधुनिकीकरणको प्रभाव र युवा पुस्ताको उदासिनताको कारण लोपोन्मुख अवस्थामा पुगेको पञ्चेबाजा २०७० सालपछिको एक दशकमा फेरि लोकप्रिय हुन थालेको म्याग्दीका लोकगायिका धनकुमारी थापाले बताउनुभयो ।

पछिल्लो समय जिल्लामा बिवाह, ब्रतबन्धका साथै विभिन्न महोत्सव, अतिथि सत्कार, सभा समारोहहरुमा पनि यसको प्रयोग बढ्दै गईरहेको अर्का पुराना लोकगायक नेत्रबहादुर महतले बताउनुभयो ।

“५०को दशक अघि निकै लोकप्रिय रहेको पञ्चेबाजा देशमा उत्पन्न भएको द्वन्द्व,आधुनिकीरणको प्रभाव, जनशक्ति र इच्छाशक्तिको अभाव जस्ता कारणले केही समय प्रयोग विहीन जस्तै बनेको थियो” लोकगायिका थापाले भन्नुभयो “तर,पछिल्लो समय यसको प्रयोग बढेको छ, युवा पुस्ता पनि पञ्चेबाजाप्रति आकर्षित छ, स्थानीय तहले पनि यसको प्रवर्द्धनका लागि आवश्यक सहयोगसहित प्रोत्साहन गर्न थालेको छ ।”

नेपाली लोक संस्कृतिको अभिन्न चिनारी मानिएको पञ्चेबाजा संरक्षण र सम्वर्द्धनमा स्थानीय तहको भूमिका पनि महत्वपूर्ण हुने बेनी नगरपालिका-२ का वडाअध्यक्ष यामबहादुर कार्की बताउनुहुन्छ । पञ्चेबाजाको सर्वाेपरी विकास र यसको मौलिक पक्षलाई जीवन्त राख्नु अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ ।

वडादसैंको नवदुर्गा अवधीभरी ज्यामरुककोट स्थित ऐतिहासिक खड्गभवानी कोटमा स्थानीय पञ्चेवाजा समूहका कलाकारहरुले पञ्चेबाजा बजाएर दसैंलाई सांगीतिक उत्सवको रुपमा मनाए ।

त्यसैगरी गएको असोज २८ गते बेनी नगरपालिका ३ भकिम्लीमा विदेशमा रहेका भकिम्लीवासीको आर्थिक सहयोगमा निर्माण गरिएको २२ कोठे विद्यालय भवनको उद्घाटन कार्यक्रममा विदेशबाट गाउँ फर्किएका प्रवासीहरको स्वागतमा पञ्चेबाजासहित गरिएको स्वागतले गाउँ फर्किएका प्रवासीहरु प्रशन्न भए ।

यी केही उदाहरणहरु मात्रै हुन् । संस्कृति हराए देशको पहिचान मेटिने भन्दै यसलाई जोगाइराख्न म्याग्दीका स्थानीय तह र समुदाय जुर्मुराउन थालेका छन् । बेनी नगरपालिका-३ ले त पञ्चेबाजा संरक्षणका लागि बजेट नै विनियोजन गरेर प्रोत्साहित गरेको छ भने मालिका गाउँपालिकाले पनि हरेक वडामा पञ्चेबाजा संरक्षण र प्रवर्द्धनका लागि पोशाक,बाजा,भत्तालगाएतका आवश्यक सहयोग गर्दै आएको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगरले बताउनुभयो ।

पाँच बाजाको समूहलाई पञ्चेबाजा भनिन्छ । पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन । पञ्चेबाजा, नेपाली धार्मिक एवं सांस्कृतिक बाजाको रुपमा प्रयोग हुँदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजालगायतमा बजाइने गरिन्छ ।

विशेषगरी पञ्चेबाजा नेपालको पहाडी भेगमा बजाउने गरिएपनि पछिल्लो समय यो बाजा शहरी क्षेत्रहरुमा पनि लोकप्रिय हुँदै गएको छ । पञ्चेबाजा दलित समुदायमा पनि विशेष गरी दमाई र परियार जातिको मौलिक बाजा भनिएता पनि अहिले बाहुनदेखि लिएर सबै जातजातिका मानिसहरुले वजाउने गरेको म्याग्दीका प्रशिद्ध सहनाइवादक रामबहादुर दर्जीले बताउनुभयो ।

अहिले पञ्चेबाजा नेपालमा मात्रै सीमित नरहेर भारतको सिक्किम तथा दार्जलिङ तथा अमेरिका,हङकङ,बेलायत,जापानलगाएतका देशमा बसोवास गर्ने नेपालीहरुले समेत बजाउन थालेका म्याग्दीका लोकगायक तथा संचारकर्मी अमित विकले बताउनुभयो ।

मोटो भ्लगर्स बिबिद र सुरक्षाले बालगृहमा ४५ हजार बराबरको सहयोग

म्याग्दीको सदरमुकाम बेनीमा अभिभावकाविहिन(अनाथ) बालबालिकाको आश्रय र शिक्षादीक्षाका लागि सञ्चालित धौलागिरि क्षेत्रकै एकमात्र ‘म्याग्दी बालगृह’का अनाथ बालबालिकालाई मोटो भ्लगर्स, बिबिद जंग थापा र सुरक्षा केसीको पहलमा करिब ४५ बराबरको खाद्यान्न सहयोग गरिएको छ ।

बुधबार बालगृहमा Rice Spice Dice मार्फत ४४ हजार ७२५ बराबरको खाद्यान्न साम्रागी बाल संगठनका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरिएको हो । बालगृहमा रहेका बालबालिकालाई चावपर्वमा समेत सहज हुने गरी उक्त सहयोग गरिएको मोटो भ्लगर्स सुरक्षा केसीले बताइन् । चामल, हर्लिस, सहित विभिन्न खाद्यान्न साम्रागी र फलफलु समेत वितरण गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बालसंगठनका अध्यक्ष शाक्यले सहयोगबाट सञ्चालित बालगृहलाई भौतिक पूर्वाधार थप गरी संख्या बढाउने लक्ष्य रहेको बताए ।उनले बालबालिकाको सुविधा र सहजताका लागि पूर्वाधार विस्तार गर्न लागिएकाले मनकारी व्यक्ति, संघसंस्था तथा विभिन्न निकायको खोजीमा रहेको बताए । कार्यक्रममा म्याग्दीका पप गायक सन्दिप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

बालगृहमा हाल ९ बालबालिका आश्रित छन् ।बुवाआमा दुवै नभएका बालबालिकालाई बालगृहमा आश्रय दिएर एसइईसम्मको शिक्षाको व्यवस्था मिलाइएको छ ।२०४८ सालमा स्थापना भएको बालगृहमा आश्रय लिएर हालसम्म २० भन्दा बढी अनाथ बालबालिकाले एसइईसम्मको अध्ययन गरेको संगठनले जनाएको छ ।

बालगृह भवनको सटर भाडा, अक्षयकोषको ब्याज, विभिन्न व्यक्ति तथा संघसंस्थाले उपलब्ध गराउने नगद तथा जिन्सी सामग्री सहयोगको भरमा बालगृह सञ्चालन हुँदै आएको छ ।

 

म्याग्दीलाई पूर्ण विद्युतीकरण गर्ने योजना कार्यान्वयन

म्याग्दीलाई पूर्ण विद्युतीकरण गर्ने योजना कार्यान्वयन भएको छ । नेपाल विद्युत प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रमअन्तर्गत जिल्लाका १४ स्थानका दुई हजार एक सय ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार गर्न लागिएको हो ।

यो योजनामार्फत म्याग्दीको भौगोलिक र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको गुर्जा बाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत सुविधा पुग्ने भएको छ । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका इन्जिनियर शिवराज शर्माले विद्युत विस्तार गर्न ठेक्का सम्झौता भई काम सुरु भएको जानकारी दिनुभयो ।

“पोल गाड्न, तार तान्न र ढुवानीका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीको प्राविधिक टोलीले फिल्ड भेरिफिकेसन गर्न स्थलगत अध्ययन गरिरहेको छ,” उहाँले भन्नुभयो “प्राविधिक रिपोर्टको आधारमा कम्पनीले पोल, तारलगायत लाइन विस्तारको सामग्री माग्ने र प्राधिकरणको प्रदेश कार्यालयले उपलब्ध गराउने सम्झौता छ ।”

चार सय सात दशमलव छ किलोमिटर मुख्य र एक सय २६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न लागिएको इन्जिनियर शर्माले जानकारी दिनुभयो । पोल गाड्ने र तार तान्ने काम गर्न गत असोज तेस्रो हप्ता रवीन्द्र-ढुङ्गाना जेभीसँग तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सामग्री, उपकरण खरिद, ढुवानीसहित सबै काम गर्न कूल बिस करोड ५३ लाख ३६ हजार दुई सय ७८ लागत अनुमान गरिएको छ । एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडा फूलबारीका २०, रघुगङ्गा गाउँपालिकाको पात्लेखर्कका ५५, धवलागिरि गाउँपालिकाको मल्कवाङ, मराङ, बुलका चार सय, लुलाङका चार सय २५, खिवाङ नाउराको दुई सय घरधुरीमा लाइन विस्तार गर्न लागिएको प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताउनुभयो ।

यसैगरी मालिका गाउँपालिकाको छिस, घोर्सी, कोदालीवाङका ९५, घयाङलेपानीका ८०, बेम, बेली, दिलिवाङका दुई सय ३०, लुक्सिपार, पात्लेका एक सय ४५, ओखरबोटका ९०, महभिर चिउरीबोटका एक सय ८८, छापका ६०, सिस्नेरीका ६५ र जुग्जाका एक सय ३० घरमा पनि आयोजनामार्फत विद्युत विस्तार गरिने प्राधिकरणले जनाएको छ । मालिकाको घङ्लेपानी बाहेक बस्तीमा लघुजलविद्युत परियोजनाको विद्युत प्रयोग भएको छ ।

विद्युतको कुनै स्रोत नभएको घङ्लेपानीका बासिन्दाले सोलार र टुकी प्रयोग गर्छन् । यो आयोजनामार्फत म्याग्दीको धवलागिरि गाउँपालिका-१ मा पर्ने गुर्जा बाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत सुविधा पुग्ने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेसमबहादुर जुग्जालीले बताउनुभयो ।

“उज्यालो म्याग्दी बनाउने अभियानअन्तर्गत हामीले प्रधानमन्त्रीसँग अनुरोध गरेर र विद्युत प्राधिकरणले आफ्नै स्रोतबाट बजेट व्यवस्थापन गरेर सुरु गरिएको आयोजना हो,” उहाँले भन्नुभयो “विद्युत सुविधा विस्तारसँगै जनजीवनका साथै पर्यटकीक्षेत्रमा पनि सहज हुने अपेक्षा गरेका छौँ ।” गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीमा विद्युतीकरणका लागि हालसम्मकै ठुलो बजेटको आयोजना भित्रिएको बताउनुभयो ।

निर्माण कम्पनी रवीन्द्र-ढुङ्गाना जेभीका सञ्चालक दिनेश ढुङ्गानाले प्राधिकरणले उपकरण र सामग्री भनेको समयमा उपलब्ध गराएको अवस्थामा निर्धारित समयमै विद्युतीकरणको काम सक्ने बताउनुभयो ।

“मैले ठेक्का लिएको सबै योजना अहिलेसम्म लक्ष्य अघि नै सम्पन्न गरेको छु,” उहाँले भन्नुभयो “प्राधिकरणले पोल, तार, ट्रान्सफर्मरलगायत सामान मागेको समयमा दियो भने यो योजना पनि निर्धारित समयभित्र सम्पन्न गर्छौ ।” नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्र अन्तरगत २२ हजार विद्युतका ग्राहक छन् । गत आर्थिक वर्ष २०७९/८० मा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए । साउनयता करिब दुई सय घरधुरीमा नयाँ लाइन विस्तार भएको छ । रासस 

पुनहिलबाट नेता थापाको सन्देश-‘पदमार्गलाई धुवा र धुलोमुुक्त बनाउनपर्छ’

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गहरुलाई धुुवाँ र धुलोमुुक्त बनाउनुुपर्ने बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीय स्थल पुुनहिलमा बुधबार बिहान पत्रकारहरुसँग कुुराकानी गर्नुहुदै प्रतिनिधिसभा सदस्य समेत रहनुभएका थापाले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदलमार्गहरु मासिन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

“कास्कीको नयाँपुल देखि म्याग्दीको घोडेपानी आउँदा सडकमा धुुलो खाँदै पर्यटकहरु नमज्जा मानेर हिडिरहेको देख्दा दुुःख लाग्यो,” उहाँले भन्नुुभयो “नेपालको पर्यटनको विशिष्टता बोकेको पदमार्ग हुुन् । पर्यटनको विशिष्टता मासिन दिन नहुन सचेत बन्नुपर्ने देखिएको छ ।”

पर्यटकीय क्षेत्रमा नयाँ सडक निर्माण गर्दा पदमार्ग र प्राकृतिक सम्पदालाई असर नपर्ने बनाउन नीतिगत पहलका गर्ने पुर्व मन्त्री समेत रहेका थापाले बताउनुभयो । शान्त, एकान्त वातावरण, वन पैदावार, वन्यजन्तुको संरक्षणका साथै पदमार्गलाई धुवाँ र धुलो मुुक्त बनाउनुपर्ने थापाको भनाई छ ।

काठमाडौ देखि पोखरा नयाँ पुल उल्लेरी हुुदै हवाई, गाडी र पैदलयात्रा मार्फत एकै दिनमा घोडेपानी आउनुभएका थापाले नेपालीलाई विदेश भन्दा नेपालकै पर्यटकीय स्थल घुम्न प्रोत्साहन गर्नुपर्ने बताउनुुभयो ।

“विदेशी पर्यटक नेपाल आउँदा भन्दा नेपालबाट विदेश घुम्न जानेहरु धेरै हुदा नेपालको पैसा बाहिरिएको छ,” उहाँले भन्नुभयो “नेपालमै धेरै घुम्नलायक ओझेलमा परेका ठाउँहरुको पहिचान, प्रर्वद्धन गरेर विदेशिने पैसा रोक्न नीतिगत रुपमा पहल गर्नुपर्ने महशुस गरे ।”

समुन्द्रि सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुुनहिलबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी लगायतका हिमशृृङखला, सुुर्योदय, पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ । लालीगुराँसको जंगलको टाकुरामा रहेको पुनहिलको सौन्दर्यले मोहित बनाएको थापाले बताउनुभयो ।

घोडेपानीबाट करिब ४५ मिनेट उकालो हिडेपछि पुनहिल पुुग्न सकिन्छ । असोज कात्तिक पर्यटकको याम हो । गत वर्षको तुुलनामा पर्यटक आगमन बढेपनि कोभिड अगाडीको अवस्थामा पाहुुनाहरु आउन नसकेको र प्रर्वद्धनमा जोड दिनुुपर्ने अन्नपूूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष समेत रहनुुभएका घोडेपानीका होटल व्यवसायी डमबहादुुर पुनले ध्यानाकर्षण गराउनुभयो ।

घोडेपानी पुुनहिल अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुुख गन्तब्य हो । कोभिड अगाडी छ महिनामा ३० हजार जना भन्दा बढी पर्यटक आएकोमा यो वर्ष बैशाख देखि कात्तिक दोस्रो हप्तासम्म चौध हजार जना मात्र पर्यटक आएका छन् । घोडेपानीमा २५ वटा सुविधायुक्त होटलहरु छन् ।

कोभिड अगाडी भरिभराउ हुने होटलमा आधा मात्रै पाहुुनाहरु रहेका घोडेपानी होटल टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुुरी पुनले बताउनुभयो । थापाको टोली घोडेपानी देखि बुुधबार कास्कीको पर्यटकीय स्थल घान्द्रुकतर्फ गएको छ । पुुनहिलमा थापाले घोडा चढेर फोटो खिचाउनुभयो । थापासँग फोटो खिचाउने नेपाली पर्यटकहरुको भिड लागेको थियो ।