Saturday, June 28, 2025
22.4 C
Beni
22.4 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 489

म्याग्दीमा शुक्रबार राति भूकम्पको धक्का महसुस

म्याग्दीमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ।  राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । ५‍‍. ४ रेक्टर स्केलकाे भूकम्प महसुस भएकाे हाे । भूकम्पबारे विस्तृत विवरण आइसकेकाे छैन् ।

म्याग्दीमा गैरआवासीय नेपालीले पाउन थाले नागरिकता

जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण सुरु गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले दुई गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गरेका हुन् ।

म्याग्दीको घवलागिरी गाउँपालिका वडा नं ६ मराङ घर भई हाल अष्टे«लियामा बस्ने दिपक भण्डारी र सोही गाउँपालिकााको वडा नं ७ ताकम घर भई हाल अमेरिका बस्ने ऋषिनाथ सुवेदीलाई नागरिकता प्रदान गर्दै म्याग्दीबाट गैरआवासीय नागरिकता वितरणको सुरुवात गरिएको प्रजिअ पौडेलले बताए ।

उनले संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता वितरण गरिएको बताए । म्याग्दीमा गैरआवासीय नेपालीका पक्षमा सरकारले सकारात्मक भूमिका निर्वाह गरिरहेको र थप सहकार्यमा समेत सहज हुने प्रजिअ पौडेलको भनाई थियो ।

सोही अवसरमा एनआरएनको हैसियतमा पहिलो नागरिकता लिएपछि अष्टे«लियाका दिपक भण्डारीले जन्मभुमीमा हुने सामाजिक एवम् विभिन्न कार्यहरुमा प्रत्यक्ष संलग्न हुन कुनै समस्या नहुने बताउँछन् ।

आर्थिक र सामाजिक हैसियतमा सधै जन्मभूमिमा सक्रिय हुने बताउँदै नागरिता वितरणमा भएको सहयोगप्रति आभार व्यक्त गरे । गैरआवसीय नेपाली समुदायका लागि गौरव, हर्ष र सफलताको क्षण भएको समेत बताएका छन् ।

हालसम्म उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दाना घर भएका किर्तिमानी पर्वतरोही निर्मल पूर्जाले समेत गैरआवासीय नागरिकताका लागि आवेदन दिएका छन् भने अन्य गैरआवासीयहरूले समेत बंशजको नागरिकता परित्याग गरी गैरआवासीय नेपाली नागरिकताका लागि प्रक्रिया बुझ्न थालेको बताइएको छ ।

एनआरएन नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउने ब्यवस्था रहेको छ। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा छ।

नेपाली नागरिकता लिएको सम्बन्धित जिल्लामै गएर वडाको सिफारिससहित नेपाली नागरिकले नेपालको नागरिकता त्यागेको र विदेशी नागरिकता लिएको प्रमाणसहित आवश्यक कागजात पेश गर्नुपर्नेछ। गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने सहायक प्रजिअ धिरेन्द्रराज पन्तले बताए ।

बोयर बाख्रापालनले बनायो ‘अगुवा कृषक’

बेनी, १७ कात्तिक । वैदेशिक रोजगार त्यागेर बाख्रापालन गरेका बेनीका एक व्यक्तिको पहिचान फेरिएको छ ।

विदेशबाट फर्किएर बाख्रापालनमा आबद्ध भएका बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीका उनले करिब १२ वर्षको अवधिमा आफ्नो पहिचान ‘अगुवा कृषक’को रुपमा स्थापित गराएका थिए ।

खाडी मुलुकमा गरिएको रोजगारीबाट आर्थिकरुपमा सबल नबनेपछि श्रीस गाउँमै पौरख गर्ने अठोट लिएर खालीहात स्वदेश फर्केका थिए । गाउँ फर्किएपछि विसं २०६८ मा जग्गा धितो राखी ऋण लिएर व्यावसायिक बाख्रापालन सुरु गरेका उनले अहिले स्वरोजगार बन्नाका साथै अन्य व्यक्तिलाई समेत रोजगार बनाएका छन् ।

विगत १२ बर्षदेखि बाख्रापालन गर्दै आएका श्रीसले बोयर जातको बाख्रापालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेका उनले बोयर जातका पाठापाठी उत्पादन गरेर देशका विभिन्न भागमा बिक्री गर्दै आएका छन् ।

श्रीसको फार्मबाट वार्षिक करिब रु २५ लाख बराबरको बोयर बाख्रा बिक्री हुने गरेको छ । केही वर्षअघिसम्म बोयर बाख्राको मूल्य राम्रो पाएपछि अहिले बोयरको उत्पादन बढाइएकामा अहिले भने यसको आकर्षण घटेका कारण आम्दानीमा गिरावट आएको उनको गुनसो छ ।

“दुई वर्षअघिसम्म बोयर बोका र पाठीलाई दुई लाखसम्म पथ्र्यो, मैले मेरै फार्मबाट वर्षमा ६० लाखसम्मको कारोबार गरेको थिएँ तर अहिले मूल्य घटेको छ, एउटैको ८० हजार आउन पनि कठिन छ”, श्रीसले भने । बाख्रापालनबाटै नमूना कृषकको रुपमा पहिचान बनाउनुभएका उहाँले बाख्रापालनबाट भएको आम्दानीलाई फार्मको पूर्वाधार निर्माणमा लगानी गर्दै आएका छन् ।

हाल उनको फार्ममा करिब दुई करोड लगानी भइसकेको छ । छिटो–छिटो हुर्कने बोयर जातका बाख्रापालन गर्दै आएको श्रीसको फार्ममा अहिले ३५ वटा बाख्रा छन् । तीमध्ये पाठा जन्माउने १५ वटा माउ बाख्रा छन् । अन्य साना पाठापाठी छन् । अहिले नश्ल सुधारका दुईवटा बोका फार्ममा रहेको उनले बताए ।

बाख्राको घाँसका लागि ६० रोपनी जग्गामा घाँस खेती गरेका श्रीसले तीन जनालाई नियमित रोजगार दिएका छन् । व्यवस्थितरुपमा दुईवटा खोर बनाएर बोयर बाख्रापालनको स्रोत केन्द्र नै स्थापना गरेका उनको फार्म अवलोकन गर्न विभिन्न जिल्लाबाट कृषक आउने गरेका छन् । रासस

ऐतिहासिक जितसहित नेपाल टि-२० क्रिकेट विश्वकपमा छनोट

ऐतिहासिक जितसहित नेपाल आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको छ। आज भएको सेमिफाइनल खेलमा युएईमाथि शानदार जित हात पार्दै नेपालले आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको हो।

१३५ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।

नेपालको जितमा ओपनर ब्याट्सम्यान आशिफ शेखले सर्वाधिक ६३ रन जोडे। त्यस्तै कप्तान रोहित कुमार पौडेलले ३५ रन बनाए। जबकी कुशल भुर्तेलले २४ रन बनाउँदा गुलशन झाले २२ रन बनाए।

गोरु पाइन छोड्यो, हाते ट्र्याक्टरको भरमा किसान

कृषिमा आधुनिकीकरण र युवा जनशक्ति विदेश पलायनका कारण ग्रामीण क्षेत्रमा खेतबारी जोत्न र दाइँ गर्नका लागि गोरु पाल्ने चलन हट्दै गएको छ । त्यसको ठाउँमा दाइँ लगाउन पनि हाते ट्र्याक्टरको प्रयोग बढ्न थालेको छ ।

म्याग्दीका ग्रामीण क्षेत्रमा पछिल्लो समय परम्परादेखि नै चल्दै आएको गोरुको सहायताले दाइँ लगाउने प्रचलन लोप हुने अवस्थामा पुगेको छ । गाउँघरमा गाईगोरु पाल्नेहरु घटेसँगै प्रविधिको प्रयोग बढ्दै गएको बेनी नगरपालिका–२ खबराका अगुवा किसान चन्द्रबहादुर कार्कीको भनाइ छ ।

दाइँ गर्नका लागि डम्मरा र चुत्रेनीसम्म पुगग्दा पनि गोरु नपाइएपछि ट्र्याक्टर प्रयोग गरिएको बेनी नगरपालिका–२ बगरफाँटका किसान तोपबहादुर जिसीले बताए । जिसी मात्रै होइन म्याग्दीका धेरै किसानले खेतबारी जोत्नदेखि लिएर धान पराल गर्न र अन्य कृषि कार्यमा समेत अहिले कृषि औजारको प्रयोग गर्न थालेका छन् ।

बगरफाँटका किसान टेकबहादुर कार्कीले भने, “गोरु पाल्नै छोडे, धान झाँटेपछि दाइँ पराल गर्नै प¥यो, एक घण्टाको आठ सय तिरेर ट्र्याक्टर प्रयोग गरी दाइँ गरेँ ।”

गाउँघरमा पहुँचवालाहरुले सरकारी अनुदानमा ल्याएका कृषि उपकरणहरुको वास्तविक किसानसँग महँगो शुल्क लिएर काम गरिदिने गरेका किसान खड्गबहादुर थापाले गुनासो गरे । हाते ट्र्याक्टर प्रयोग गरी एक घण्टा जोतेको वा दाइँ गरेको ट्र्याक्टर मालिकले आठ सय लिने गरेको उनले सुनाए । पछिल्ला चार वर्षयता म्याग्दीमा पनि धान स्याहार्न हाते ट्र्याक्टर, ट्र्याक्टर र थे्रेसरको प्रयोग बढेको बगरफाँटका अर्का कृषक क्षेत्रबहादुर केसीले बताए ।

गोरु नै पाइन छोडेपछि अहिले दाइँ लगाउने प्रचलन पनि हराउँदै गएको ८८ वर्षीय बेदप्रसाद उपाध्यायले बताए । “पराल र धान स्याहार्न खलो वरिपरि मान्छे हुन्थे, मियो वरिपरि पाँच/सातवटा गोरु घुमाएर रातभर दाइँ गरिन्थ्यो, अहिले ती सबै कुरा सम्झना मात्रै भए”, उनले भने ।

पहिले हरेक घरमा कृषि कामको सहायताका लागि गाईगोरु पाल्ने चलन थियो तर अहिले उक्त चलन हराउँदै गएको मङ्गला–५ छिसबाङका किसान प्रेमबहादुर पुनले बताए । म्याग्दी पहाडी क्षेत्र भएकाले खेतबारीका फोहोटाहरुमा पनि प्रयोग गर्न सकिने हाते ट्र्याक्टर किसानले प्रयोग गर्ने गरेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि प्राविधिक जगत बानियाँले गाउँ छिटो र सजिलोका लागि जोत्नका लागि ट्र्याक्टर, सडकको पहुँच नपुगेको स्थानमा हाते ट्र्याक्टरको प्रयोग बढेको बताए । रासस

घारखोलामा पुल निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ। पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो।

अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले घारखोलामा निर्माण भएको मोटरेबल पुलमा यातायातका साधन सञ्चालन हुन थालेका जानकारी दिए। ‘मोटरेबल पुल र पहुँचमार्ग निर्माण सकिएपछि सवारीसाधन आवतजावत गर्न थालेका छन्’, उनले भने, ‘यो पुल बनेपछि पोखरेबगर–पाउद्धार सडकमा बाह्रै महिना नियमित सवारी चल्ने भएको छ। बर्खामा खोला बढ्दा यातायात अवरुद्ध हुने समस्या हटेको छ।’

घारखोलामा पुल नहुँदा दुई सय परिवारको बसोबास भएको सात वर्षअघि सडक पुगेको पाउद्धार गाउँ बर्खामा यातायात सम्पर्क विच्छेद हुने गरेको थियो। पुल नहुँदा बर्खामा पैदलयात्रा गर्न र घोडा खच्चरबाट ढुवानी गर्नुपर्ने बाध्यता हटेको वडा सदस्य पूर्ण पाइजाले बताए। फेवा–बिएम जेभी पोखराले २०७६ माघमा रु दुई करोड ८२ लाखमा निर्माणको ठेक्का लिएको थियो।

तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले ठेक्का लगाएको आयोजना प्राधिकरण खारेज भएपछि सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमा हस्तान्तरण भएको थियो।

वि.सं.२०७८ साउन २४ गते सम्पन्न गर्ने सम्झौता भएको पुल परामर्शदाताले गरेको गलत डिजाइनका कारण सम्झौता गरेको करिब एक वर्षपछि निर्माण सुरु भएको थियो। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन्।

भूकम्प प्रभावित सडकअन्तर्गत प्राधिकरणले पोखरेबगर–चित्रे सडक र घारखोला मोटरेबल पुल योजना छनोट गरेको थियो। पोखरेबगरबाट घार खिवाङ शिख हुँदै चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न २०७५ मङ्सिरदेखि सुरु भएको आयोजना अन्तिम चरणमा पुगेको छ। रासस

ओझेलमा परेका पर्यटकीय गन्तब्य चिनाउन मोनाले सघाउने

म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यकारी समितिले म्याग्दी जिल्लाभित्रका पर्यटकीयस्थलको प्रचार–प्रसारमा समेत सघाउने भएको छ ।

गएको असोजमा सम्पन्न भएको पाँचौ महाधिवेशनबाट निर्वाचित अध्यक्ष ददिवल खड्काले म्याग्दी जिल्लामा ओझेलमा परेका पर्यटकीयस्थलको भ्रमणसँगै स्थानीय सरोकारवाला निकायसँगको भेटघाट र पूर्वाधार विस्तारमा समेत सहकार्य गर्ने बताए ।

‘बार्षिक कार्ययोजनाको तालिक बनाउँदैछौ, हामीले पर्यटकीयस्थलसम्म पुगेर प्रचारप्रसारको अभियानलाई समेत जोड्छौ’ अध्यक्ष खड्काले भने । उनले प्रवासबाट आएका म्याग्देलीलाई पर्यटकीयस्थलसम्म पुग्ने क्षेत्रहरु पहिचान गरी मोनामार्फत घुम्न जाने वातावरण समेत बनाउने बताए ।

म्याग्दीमा थुप्रै पर्यटकीयस्थल ओझेलमा परेको अवस्थामा प्रवासबाट घरमा आएको अवसरलाई पर्यटकीयस्थलको प्रचारप्रसार तथा नियमित कार्यतालिकाहरु समेत बनाउन स्थानीय सरकारसँग समेत सहकार्य गरिने बताए ।

मंगला गाउँपालिका, बेनी नगरपालिका र उत्तरी रघुगंगा गाउँपालिकाको सीमानामा अवस्थित प्रशिद्ध पर्यटकीय एवं धार्मिकस्थल टोड्केमा पुगेका अध्यक्ष खड्का, उपाध्यक्ष दिपक केसी सहितको टोलीले स्थानीयसँग सम्भावनाका बारेमा समेत छलफल गरेका थिए ।

मोना अन्तराष्ट्रियका उपाध्यक्ष केसीले राम्रा पर्यटकीयस्थलहरु समेत अहिले सुनसान देखिनु दुखद् भएको बताउँदै मोनाको पर्यटकीयस्थल घुमाघामको अभियानलाई पुर्वाधार र प्रचारप्रसारसँग जोडेर लैजानुपर्ने बताए । उनले टोड्के विश्वभरकै पर्यटकलाई भित्राउने आर्कषक गन्तब्य बन्न सक्ने भएपनि ब्यवस्थित सडक सञ्जाल नहुदाँ समस्या रहेको बताए ।

सरोकारवालाहरुले पदमार्ग विस्तार र पूर्वाधार निर्माण गरी प्रर्याप्त प्रचारप्रसार गर्न सक्ने हो भने टोड्के म्याग्दीको पुनहिल र घोडेपानी जत्तिकै चर्चित पर्यटकीय स्थल बन्न सक्ने सम्भावना रहेको बताइएको थियो ।

समुद्री सतहदेखि झण्डै २ हजार पाँच सय मिटरको उचाइमा बनको विचमा रहेको टोड्केबाट उत्तरतर्फ आँखा डुलाउँदा धौलागिरि, अन्नपूर्ण, मानापाथी, निलगिरीलगायत मनोरम हिमश्रृङ्खलाको दृष्यावलोकन गर्न पाइन्छ।

दृष्यावलोकन तथा सूर्योदय हेर्नका लागि निकै उपयुक्त मानिने पर्यटकीयस्थल यहाँ टोड्के हिल रिसोर्ट प्रालिद्वारा ३ करोडको लागतमा आधुनिक सुविधासम्पन्न सामुदायिक लज सञ्चालनमा ल्याएपनि सडक र प्रचारप्रसारको अभावले प्रभावकारी बन्न सकेको छैन् ।

पर्यटकलाई कोसेली बन्दै टोड्केको ‘अर्गानिक’ मुला

पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन हुँदै आएको मुला स्थानीयको पहिचान बन्दै गएको छ । हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुलाले टोड्केको पहिचान बनाएको हो । उत्तरी म्याग्दीको पर्यटकीय क्षेत्र टोड्के धौलागिरि क्षेत्रमै मुला खेतीका लागि प्रसिद्ध मानिन्छ ।

जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा अवस्थित टोड्केमा परम्परागत रुपमा स्थानीय जातको मुला लगाउने गरिएको छ । पछिल्लो समय टोड्के पर्यटकीय गन्तव्य बन्दै जान थालेपछि मुला खेती पनि पर्यटकको आकर्षण बनेको हो ।

बिहिबार टोड्केको भ्रमणमा पुगेका म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष ददिवल खड्का र उपाध्यक्ष दिपक केसीले टोड्ेको मुलाको बजारीकरणसँगै यहाँ आउने पर्यटकलाई समेत आर्कषित गर्न सकिने बताएका थिए । मोनाका अध्यक्ष खड्का र उपाध्यक्ष केसीले त्यहाँ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरुले मुला र आलु खरिद गर्ने गरेकाले स्थानीय समेत उत्साहित भएको बताए ।

टोड्केमा पुग्ने पाहुना तथा पर्यटकहरुलाई स्थानीयवासीले मुलाबाट बनाएको परिकारहरु अचार, मुलाका चाना, धजरा, सिन्कीलगायत उपहार तथा मायाको चिनो कोसेलीको रुपमा उपहार दिने गरिएकोमा खुसी ब्यक्त गरे । हरेक पर्यटकले त्यहाँबाट अनिवार्य मुला किनेर आउने ब्यवस्था मिलाउन सकेमा बजारको अभाव नहुने स्थानीयको भनाई छ ।

टोड्केका स्थानीयबासीले स्थानीय जातको सेतो र रातो रङको मुला लगाउँदै आएका छन् । उनीहरुले आफ्ना बाबु–बाजेको पालादेखि लगाउँदै आएको मुला खेतीलाई अहिले पनि निरन्तरता दिएका हुन् ।

पाँच घरधुरी बसोबास रहेको टोड्केवासीको मुख्य पेशा मुला तथा आलुखेती रहेको छ । स्थानीयले मुला, आलु, र फापरको साथमा भेडापालन गर्दै आएका छन् । टोड्केमा उत्पादित मुलाले स्थानीय पहिचान बनाउनुका साथै पर्यटकका लागि कोसेली समेत बनेको छ ।

भैंसी र भेडाको मल हालेर उत्पादन गरिने हुँदा लोकल मुला खोज्दै ग्राहकहरु किन्न आउने गरेको स्थानीय महिला उद्यमी तीजमाया पाइजाले बताइन् । एक सिजनमा उत्पादित मुला बेचेर झण्डै एकलाख रुपैयाँ आम्दानी गर्दछन् ।

मुला किन्न आउनेलाई बारीमै ठूलो मुलालाई ५० र सानालाई २५ रुपैयाँका दरले गोटाअनुसार बिक्री वितरण गर्ने गरिएको छ ।टोड्केका बारी तथा पाखोमा उत्पादन भएको एउटै मुलाको तौल झण्डै ५ किलो सम्म हुने गरेको मुला व्यवसायीले अनुभव सुनाएका छन् । टोड्केका स्थानीयले मुलाबाट जस्तैः धजरा, चाना, सिन्की (गुन्द्रुक) बनाएर राख्ने गर्दछन् । स्थानीयले मुलाबाट यस्तै खालका परिकारहरु बनाइ बिक्री वितरण समेत गर्दै आएका छन् ।

सन्तान लाखापाखा लागेपछि दिन कटाउने ठाउँ आफ्नै थातथलो

पचासी वर्ष पार गरेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैँका पाँच दिन छोराबुहारी र नातिनातिनीसँगै रमाएर बसे।

पोखरामा बसोबास गर्ने छोराबुहारी दसैँपछि पोखरा हिँडेपछि अहिले उनी अहिले घरमा एक्लो छन्। श्रीमतीको मृत्युपछि एक्लै रहँदै आएका घिमिरेलाई खान लाउन र खर्च गर्न कुनै कुराको कमी छैन। पोखरामा बस्ने छोराबुहारीले पनि कुनै कुराको कमी हुन दिएका छैनन्। एउटै मात्र कमी भनेको आफ्ना सन्तान आफूसँग नहुनुको पीडा हो। छोराबुहारीले घिमिरेलाई आफूसँगै पोखरामै बस्न निकै कर गरे पनि उनी आफ्नो थाँतथलो छोडेर पोखरा बस्न मान्नुभएन।

सोही गाउँका ८६ वर्षीय खड्गबहादुर घिमिरे, ८८ वर्षीय बेदप्रसाद उपाध्याय, ९९ वर्षीय खड्गबहादुर थापा र ७९ वर्षीय टेकबहादुर कार्कीको पनि त्यस्तै अवस्था छ। उनीहरुका सन्तान कोही वैदेशिक रोजगारीमा छन् भने कसैले जवान छोरो गुमाउनुपर्दाको पीडा बोकेर बाँचिरहेका छन्।

चारवर्ष अघि आफ्नो ३६ वर्षीय छोराको कोरोनाका कारण मृत्यु भएपछि बेदप्रसाद एकोहोरिएका छन्। बेनी बजारमा व्यापार व्यवसाय गरेर बस्ने छोराको अचानक मृत्यु भयो । माइलो छोरा पाँच वर्षदेखि सम्पर्कविहीन छन्। वैदेशिक रोजगारीका लागि पाँच वर्षअघि युएईमा गएका विदुर न फोन गर्छन् न घर नै आउँछन्।

उनका श्रीमती र छोरा छन्। श्रीमती माइतीमा बसेकी छन्। माथिका यी प्रतिनिधिपात्र मात्र हुन्। अहिले गाउँका वृद्धवृद्धाको काल पर्खने र दिन कटाउने ठाउँ आफ्नै थातथलो बनेको छ । गाउँ वृद्धाआश्रममा परिणत हुँदै जान थालेको मालिका गाउँपालिका–६ का टेकबहादुर सिउथानी मगरले बताए।

दसैं मनाउनका लागि विदेश र सहरबाट गाउँमा आएका युवा आ–आफ्नो कार्यक्षेत्रमा फर्किन थालेपछि गाउँघर सुनसान हुन थालेको उनको गुनासो थियोे ।

वृद्धवृद्धा गाउँ कुरुवा

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसबाङमा २६ घर परिवारको बसोबास छ । ती २६ घरमा एक सय नौ जना छन् । तीमध्ये युवाको सङ्ख्या ११ छ भने अरु सबै वृद्धवृद्धा र विद्यालय उमेरका बालबालिका छन् । बेनी नगरपालिका–२ बगरफाँटमा एक सय ६९ घर छ । सदरमुकाम बेनी बजारसँगै जोडिएको बगरफाँट गाउँमा विकासका पूर्वाधार र अवसरको कुनै कमी छैन ।

यहाँ व्यापार व्यवसायदेखि कृषि, पशुपालन तथा स्वरोजगारका प्रशस्तै सम्भावनाहरु रहेका छन् तर यहाँका अनेकौंँ सम्भावनाप्रति स्थानीय युवाको कुनै रुचि छैन । यहाँका युवा अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडालगायत मुलुकमा पुगेका छन् । त्यसैगरी वैदेशिक रोजगारीका लागि साउदीअरब, कतार, युएईलगायत मुलुकमा पनि प्रशस्तै युवा छन् । रहेबचेका युवा कोही सहरतिर छन् । दसैंँ मनाउन जापानबाट पाँच युवा गाउँ आउँदा गाउँको रौनक नै बेग्लै भएको स्थानीयवासी सुनिल थापाले बताए।

नौ वर्ष जापान बसेर गाउँ फर्किएका उनी अहिले गाउँमा नै व्यवसाय गरेर बसेका छन्। थापालगायत १२ जना युवा मात्रै अहिले गाउँमा छन्। तीमध्ये पनि सात युवा वैदेशिक रोजगारीका लागि विदेश जाने तारतम्य मिलाउँदै गरेका उनले बताए।

गाउँमा ६० वर्षदेखि ९९ वर्षसम्मका वृद्धवृद्धाको सङ्ख्या दुई सयभन्दा बढी छ । महिला र विद्यालय जाने उमेरका बालबालिका घरमा छन् । युवाको सङ्ख्या अत्यन्तै न्यून रहेको अर्का स्थनीयवासी टेकबहादुर कार्कीले बताए।

“गाउँ वृद्धाश्रम जस्तो देखिन्छ, बुढाबुढी बाहेक अरु गाउँमा देखिदैनन्” उनले भने “मर्दापर्दा र बिमार हुँदा खबर गर्ने मान्छे गाउँमा छैनन् ।”

सुविधा भएर पनि गाउँका युवा विदेशमा

विसं २०६० मा तत्कालिन नेकपा माओवादीले म्याग्दीको सदरमुकाम बेनी आक्रमण गरेपछि यहाँको भौतिक विकासमा पनि परिवर्तन आयो । त्यसअघि लाहुरेहरुको जिल्ला भनेर मात्र चिनिने म्याग्दीको परिचय पनि फराकिलो बन्दै गयो । विकासका पूर्वाधार ठडिन थाले । सडक र संचारको विकासले सहरको सुविधा र अवसर गाउँ गाउँमा पुगेपनि यहाँका युवाहरुका लागि विदेशिने बहाना बनिरहयोे ।

विसं २०७८ मा गरिएको जनगणनाअनुसार जिल्लामा जम्मा परिवार सङ्ख्या २८ हजार आठ सय ३० रहेकामा कूल जनसङ्ख्या एक साख सात हजार ३३ रहेको छ । २०६८ को जनगणनाअनुसार जिल्लाको कूल परिवार सङ्ख्या २७ हजार सात सय ६२ रहेकामा त्यतिबेला कूल जनसङ्ख्या एक लाख १३ हजार ६ सय ४१ रहेको थियो । २०७८ को जनगणनाअनुसार परिवार सङ्ख्या बढेको भए पनि जनसङ्ख्या भने घटेको छ ।

पछिल्लो जनगणनाको नतिजाअनुसार जिल्लामा पुरुषको जनसङ्ख्या ५२ हजार एक सय ५३ रहेको छ भने महिलाको ५४ हजार आठ सय ८० रहेको छ । यसैगरी परिवारको औषत आकार तीन दशमलव ७१ प्रतिशत रहेको छ भने लैङ्गिक अनुपात एकसय महिलामा पुरुषको सङ्ख्या ९५ दशमलव ०३ प्रतिशत रहेको छ ।

त्यस्तै जनघनत्व प्रतिवर्ग किलोमिटर ४७ जनाको बसोबास रहेको छ । वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेकोमा माइनस शून्य दशमलव ५७ प्रतिशत रहेको जिल्लास्थित तथ्याङ्क कार्यालयले जनाएको छ । जनगणनामा अनुपस्थित (विदेशमा बस्ने) जनसङ्ख्यातर्फ कूल परिवार सङ्ख्यामध्ये आठ हजार तीन सय २० रहेकामा जनसङ्ख्या भने १० हजार सात सय ६६ जना रहेको तथ्याङ्कले देखाएको छ।

यसमध्ये पुरुष आठ हजार नौ सय ६१ र महिला एक हजार आठ सय पाँच रहेकामा कूल जनसङ्ख्याको शून्य दशमलव ४९ प्रतिशत विदेशमा रहेको तथ्याङ्क छ । अहिले गाउँमा कपाल सेताम्य फूलेका बुढा बाआमा मात्र भेटिन्छन् । कति लौरी टेक्दै खेतबारी र गोठमा काम गर्दै गरेका त कति रोगी शरीर लिएर घरको पेटी र आगँनमा हेरचाह गर्ने, स्याहारसुसार गर्ने छोराछोरीको हातको न्यानो स्पर्श पर्खिरहेका छन् ।

अधिकाशंको काठमाडौँ, चितवन, पोखरा र बेनी बजारमा घर छ । पुराना मानिसमा बुढ्यौली लागे पनि आँफू जन्मे हुर्केका थाँतथलो छोड्न तयार छैनन् । बरु उनीहरु सन्तानको भावी जीवनका लागि आँफ्ना बुढेसकालका पीर र व्यथा लुकाउन चाहन्छन् । गाउँहरु वृद्धाआश्रम जस्तै बन्दै गएपछि संस्कार,संस्कृति र परम्परा पनि हराउँदै जान थालेका छन् ।

भ्रमण संस्कृति : सहरका गाउँमा, गाउँका सहरमा

शारदीययामसँगै भ्रमणको मौसम सुरु भएको छ । चाडपर्वको रौनकसँगै गाउँघरतिर मेलापर्व चलिरहेका छन् । सहरबजारतिर व्यापार व्यसायको याम छ । आकास खुलेको छ । हिमाल टल्कीएका छन् । वर्षा हुन रोकिएको छ । यही मौकामा घुमफिर गर्न र रमाउन सहरतिरका युवायुवती म्याग्दीका पर्यटकीयस्थलमा उक्लिएका छन् भने गाउँका विद्यार्थी, युवा र प्रौढ आफन्तसँग भेटघाट गर्न, घुम्न र रमाउन सहरबजारतिर झरेका छन् ।

यहाँको भ्रमण संस्कृतिविपरीत मनोविज्ञानमा आधारित छ । समय मिल्यो र मन मिल्ने साथी भएभने भ्रमण गर्ने, रमाउने र मोजमस्ती गर्ने युवा र प्रौढ बढेका छन् । तर, भ्रमण संस्कृतिमा भने विपरीत मनोविज्ञान पाइएको म्याग्दीको पर्यटन र सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका ओमकुमारी शान्ति कोषका पूर्वअध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

“घोडेपानी, पुनहिल, टोड्के, झाँक्रीपानी, बेलढुङ्गा, लभ्लीहिललगायतका म्याग्दीका ग्रामीण पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको भीड छ । यी सबै क्षेत्रमा पुगेका अधिकांश पर्यटक सहरबजारबाट गाउँ उक्लिएका हुन्”, शाक्यले भन्नुभयो, “बजार क्षेत्रमा पनि त्यस्तै अवस्था छ, गाउँका युवा, विद्यार्थी र प्रौढहरु घुम्न, रमाइलो गर्न र किनमेल गर्न बजार झरेका छन् ।”

पछिल्लो समय नेपालीमा पनि भ्रमण गर्ने संस्कृतिको विकास हुँदै गएपछि पर्यटकीयस्थल विदेशी पर्यटकलाई मात्र कुर्नुपर्ने बाध्यतामा छैनन् । विदेशमा समेत चर्चित बनेका घोडेपानी, पुनहिल र मुस्ताङलाई नै हेर्ने हो भने पनि सन् २०१९ यता विदेशी कम र आन्तरिक पर्यटकहरु बढी पुगेका छन् ।

घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले भन्नुभयो, “घोडेपानीमा अहिले सदरदर दैनिक चार सय बढी पर्यटक पुग्ने र फर्कने गर्दछन् । तीमध्ये ७५ प्रतिशत आन्तरिक पर्यटक हुन् । त्यसमा पनि सहरबजारबाट घुम्न आउने आन्तरिक पर्यटक ९८ प्रतिशत हुने गर्दछन् ।” चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएका उत्तरी म्याग्दीका घोडेपानी, पुनहिल, भुरुङ तातोपानीमा मात्रै होइन पश्चिमी म्याग्दीका टोड्के, बेलढुङ्गा, दरबाङ,लगायतका पर्यटकीयस्थलमा समेत आन्तरिक पर्यटकको भीड लागेको पर्यटन व्यवसायीको भनाइ छ ।

अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने प्रशिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दैनिक तीन सयदेखि पाँचसय जनासम्म आन्तरिक पर्यटक आएका स्थानीय होटल व्यवसायीहरुले बताएका छन् । अध्यक्ष पुनका अनुसार यस वर्ष भदौ पहिलो सातादेखि नै घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटक विगतका वर्षका तुलनामा धेरै आएका र दसैँ सुरु भएपछि त्योक्रम झन बढेको हो ।

दसैँअघि दैनिक एक सयदेखि तीनसय जनासम्म आउने गरेकामा दसैँ मनाएपछि दैनिक पाँच सयसम्म आन्तरिक पर्यटक घोडेपानीमा आएको उहाँले बताउनुभयो । विदेशी पर्यटकले धमाधम होटल ‘बुकिङ’ गर्न थालेका उहाँले जानकारी दिनुभयो । अध्यक्ष पुनका अनुसार असोजदेखि मंसिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । मुख्य याममा यहाँ दैनिक चार सयदेखि एक हजारसम्म पर्यटक भित्रने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अहिले पर्यटन सिजन सुरु भएपछि विदेशीसँगै आन्तरिक पर्यटकसमेत घोडेपानी आउन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । यहाँ आउने आन्तरिक पर्यटकमा ९८ प्रतिशत बढी व्यक्ति काठमाडौँ, पोखरा, बागलुङ, बेनीलगायतका सहरी क्षेत्रका हुने गरेका उहाँको भनाइ छ । म्याग्दीका सबै पर्यटकीयस्थलमा सडक सञ्जालको पहुँच पुगेपछि निजी सवारी साधनमार्फत आन्तरिक पर्यटक ती क्षेत्रमा पुग्न थालेका धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताउनुभयो ।

ग्रामीण पर्यटनमा ग्रामीण क्षेत्रकै युवामा भने चासो रहेको नपाइएको मङ्गला गाउँपालिका-२ रणबाङका श्रीराम पौडेलले बताउनुभयो । “गाउँका युवा विदेशमा छन्, रहे बचेका युवाहरुलाई पनि सहरबजार नै रमाइलो लाग्छ, फुर्सद मिल्यो किउनीहरु डुल्न घुम्नका लागि बजारतिर लाग्ने गर्छन्”, उहाँले भन्नुभयो, “सहरबजारका युवायुवती, प्रौढ, व्यापारी, व्यवसायी र कर्मचारी भ्रमणका लागि गाउँ हुँदै जङ्गलतिर उक्लिने गर्दछन् ।”

सहरबाट घुम्नका लागि गाउँ आएका पर्यटकलाई स्थानीय होमस्टे, स्थानीय खानाका परिकार, दृश्यावलोकन र प्राकृतिक सुन्दरताले लठ्याउने गरेको पर्यटकीय क्षेत्र बेलढुङ्गा नजिकको व्यवसायी  गणेश श्रीषले बताउनुभयो । उत्तरतर्फचाँदी झैँ टल्कने सेता हिमाल । चैत, वैशाखमा राताम्यै फुलेका लालीगुराँस । नागबेली परेको म्याग्दी नदी । जङ्गलको एकान्तमा चिटिक्क परेको स्वर्गाश्रम । धवलागिरि क्षेत्रका दर्जनौँ ग्रामीण बस्ती । बेलढुङ्गाको शिरमा चढेपछि आँखै अगाडि देखिने यस्तो रमणीय दृश्यावलोकनका लागि यहाँ बागलुङ, बेनी, कुश्मा र पोखरादेखि दैनिकरुपमा पर्यटक आउन थालेका उहाँले बताउनुभयो ।

समुद्री सतहदेखि दुई हजार छ सय १४ मिटर उचाइमा रहेको बेलढुङ्गामा गत वर्ष करिब सात हजार जना आन्तरिक पर्यटक पुगेकामा यस वर्ष त्यो सङ्ख्या अझै बढ्ने उहाँको भनाइ छ । बेलढुङ्गामा कति पर्यटक आए भन्ने तथ्याङ्क राख्ने आधिकारिक निकाय भने यहाँ छैन । स्थानीयले गाउँको होमस्टेमा बास बस्ने र गाउँका होटल तथा पसलमा चियानास्ता गर्नेको सङ्ख्याका आधारमा कुन वर्ष कति पर्यटक आए भन्ने सङ्ख्या अनुमान गर्नु परेको उहाँले बताउनुभयो ।

बेलढुङ्गाबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका १२ हिमशृङ्खला, म्याग्दी नदी, कालीगण्डकीसहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साविकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका तीन दर्जन बढी गाउँ, वनजङ्गल, जङ्गली जनावर र पक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनी नगरपालिका-३ का वडाध्यक्ष पदमपुनले बताउनुभयो ।

बेलढुङ्गामा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै जान थालेपछि बेनी-३ भकिम्ली र बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका-३ ओखलेबीच विकासका पूर्वाधार निर्माण गर्न होडबाजी नै चलेको स्थानीय युवा टीका पुनले बताउनुभयो । “यहाँ पहिला-पहिला घाँस दाउरा गर्ने, भेडाबाख्रा चराउने र निगालो खोज्ने यहाँ आउँथे, हेर्दाहेर्दै सहरबजारबाट घुम्न र रमाउन थाले”, उहाँले भन्नुभयो, “गाउँका मान्छेहरु हामीहरु) रमाउन सहर झर्छौ, सहरका मान्छे गाउँ हुँदै जङ्गलतिर उक्लन्छन् ।” रासस