Thursday, June 26, 2025
25.4 C
Beni
25.4 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 63

भलिबलको साख फर्काउने अरुणाको चाहना

राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले पोखरा–३ नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गर्नुभएको छ ।

सो एकेडेमीमा महिला खेलाडीलाई नियमित प्रशिक्षण प्रदान गरिँदै आइएको छ । एकेडेमीबाट क्षमतावान् महिला भलिबल खेलाडी उत्पादन गरेर विगतको गण्डकीको भलिबलको साख फर्काउने चाहना अरुणाको छ ।

एकेडेमी चलाउनका लागि भने आर्थिक रूपमा समस्या भएकाले स्रोत जुटाउनका लागि यही चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । एकेडेमीमै हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा टेवा पुग्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवं एकेडेमीकी प्रशिक्षक शाहीले बताउनुभयो ।

प्रतियोगिता संयोजकसमेत रहनुभएकी अरुणाले प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतियोगिताबाट आएका उत्कृष्ट खेलाडीलाई पठनपाठनमा छात्रवृत्तिसँगै निःशुल्क प्रशिक्षण गराउनेछौँ । त्यसले भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने हाम्रो विश्वास छ ।” एकेडेमीले उत्कृष्ट दुई महिला खेलाडीलाई पठनपाठनसँगै निःशुल्क प्रशिक्षण गराउने जनाएको छ ।

विशेषगरी महिला भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य एकेडेमीको रहेको शाही बताउँछिन् । “पुरुषभन्दा पनि महिला खेलाडी उत्पादन गर्नु हाम्रो एकेडेमीको लक्ष्य हो । कसरी हुन्छ, पहिलाको जुन साख छ पोखरा र गण्डकीको त्यसलाई उजागर गर्ने हाम्रो उद्देश्य हो”, शाहीले भन्नुभयो ।

प्रतियोगितामा पुरुषतर्फको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेतालाई रु ५० हजार र उपविजेतालाई रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले रु पाँच हजार र सर्वोत्कृष्ट महिला खेलाडीले रु तीन  हजार प्राप्त गर्नेछन् ।

विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान रु दुई हजार र महिलातर्फ समान रु एक हजार ५०० प्रदान गरिनेछ । पुरुषतर्फ दर्ता शुल्क रु छ हजार ५०० र महिलातर्फ रु तीन हजार ५०० तोकिएको छ । दुवैतर्फ टिममा सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुद र अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा दुई जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिता संयोजक शाहीले बताउनुभयो ।

हालसम्म पुरुषतर्फ नौ र महिलातर्फ सात टोलीले नाम दर्ता गराएको खेल संयोजक तथा एकेडेमीका प्रशिक्षक मलिन रोकाले जानकारी दिनुभयो । महिला भलिबलका कप्तान शाहीसहित तीन जना मिलेर नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेका छन् । उनीहरूले महिला खेलाडीलाई नियमित प्रशिक्षण गराउँदै आएका छन् । रासस 

सर्वोच्चको फुकुवापछि कालीगण्डकीमा उत्खनन शुरू

कालीगण्डकी नदी उत्खननका विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि उत्खनन गर्न शुरू भएको छ ।

सर्वोच्च अदालतले २०७८ साल असार २९ गते अन्तरिम आदेश जारी गर्दै नदी उत्खननसम्बन्धी सम्पूर्ण कार्य रोक्न आदेश दिएपछि चार वर्षदेखि रोकिएको उत्खनन पुनः शुरू भएको हो । गएको कात्तिक ११ गते सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुँडाल र विनोद शर्माको इजलासले याे रिट खारेज गरेको थियो ।

सर्वोच्च अदालतमा म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र तनहुँ भएर बग्ने कालीगण्डकी नदी प्रवाहित क्षेत्रमा नदीजन्य पदार्थको अवैध चोरी निकासी भएको र नदी दोहन भएको भनी रिट परेको थियो । कालीगण्डकी नदीमा अवैध तरिकाले उत्खनन हुने गरेका घटना बढेपछि सरोकारवालाहरूले यसको रोकथामका लागि सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।

रिट खारेजीको आदेशपछि पनि पवित्र कालीगण्डकी नदीको संरक्षण, शालग्राम शिलाको अवैध चोरी निकासी हुन नदिनका लागि जिल्ला अनुगमन समितिलाई संरक्षण र अनुगमनका लागि सक्रियता देखाउन भनिएको छ ।

सर्वोच्च अदालतले रोक लगाउँदा पालिकाहरूले ठेक्का लगाउन नपाए पनि अवैध उत्खनन भने चलिरहेको थियो ।

विद्यार्थीलाई भाडामा ३० प्रतिशतसम्म छुट दिने कोरला यातायातको घोषणा

म्याग्दी कोराला यातायात प्रालिले विद्यार्थीलाई परिचयपत्रको आधारमा विद्यार्थीलाई छुट सुविधा सार्वजनिक गरेको छ । कोरला यातायात प्रालिले लामो दुरीको यातायात भाडा दरमा विद्यार्थीलाई सहुलियत छुट दिने घोषणा गरेको हो ।

म्याग्दी कोरला यातायात प्रालिले म्याग्दी जिल्ला भित्र र पर्वतको जलजला गाउँपालिका भित्रका विद्यार्थीकालागी परिक्षण स्वरुप गत शुक्रवार साँझदेखी लागु हुने गरी बेनी–काठमाण्डौ, पोखरा समेतका लामो दुरीका बसमा छुट दिन लागेको प्रालिका अध्यक्ष मोहन केसीले बताउनुभयो ।

बेनीदेखी काठमाण्डौसम्मका बस भाडा एक हजार पाँच सय र पोखरासम्मको भाडा ५ सय रहेकोमा कोरला वसले पहिलो चरणमा तोकिएका क्षेत्रका २५ बर्ष भित्रका विद्यार्थीका लागी ३० प्रतिशत र २५ बर्षभन्दा माथीका विद्यार्थीकालागी १५ प्रतिशत टिकटमा छुट दिन लागेको अध्यक्ष केसीको भनाई छ ।

यसअगाडी दिर्घरोगी र ओमकुमारी शान्ति कोषको सिफारिसमा बिरामीलाई निशुल्क सेवा दिइरहेको कोरलाले अपाङ्गता भएका व्यक्तिहरू र जेष्ठ नागरिकहरूका लागि ५० प्रतिशत छुट नियमित प्रदान गर्ने गरेको छ ।

कोरालाका अनुसार परीक्षण अवधिमा छुट सुविधा जारी रहनेछ र जिल्लास्तरीय सरोकारवाला निकायले अन्य निर्णय नगरेसम्म यो व्यवस्था कायम रहनेछ । हरेक महिना छुट दिएका विद्यार्थीको विवरण सहितको जानकारी सम्बन्धित निकायलाई समेत उपलब्ध गराइने छ । म्याग्दीका विद्यार्थी संगठनले जिल्लाभित्र र बाहिरी सहरमा जाने सार्वजनिक सवारीसाधनमा छुटको माग गरिरहेको अवस्थामा कोरला बसले पहिलो छुट सुविधा घोषणा गरेको हो ।

 

 

 

 

आज रामनवमी : भगवान् रामको जन्मोत्सवमा श्रद्धा र भक्तिको उल्लास

चैत्र शुक्ल नवमीको दिन मनाइने रामनवमी पर्व आज भगवान् रामचन्द्रको पूजा र आराधना गरी मनाइँदै छ।

त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याको छोराका रूपमा रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीमै भएको थियो। विष्णुको सातौँ अवतार मानिने उनको जन्म पुनर्वसु नक्षत्रमा भएको थियो। कुण्डलीमा चन्द्रमा र वृहस्पतिसहित कर्कट लग्नको योग थियो।

रामचन्द्रको कुण्डलीमा सूर्य, मंगल, गुरु, शुक्र र शनि गरी पाँच ग्रह एकसाथ हुने दुर्लभ योग थियो। वर्षका चार नवरात्रमध्ये वासन्तीय नवरात्रको नवमीमा जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम भन्छन्, ‘रामनवमी मनाउनुको अर्थ रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गर्नु हो।’

उनी थप्छन्, ‘रामको राज्यमा सबै मानिस सुखी थिए। त्यसबेला जनता पनि अनुशासित र मर्यादित थिए। त्यही कारण रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ। हामीले यो अनुसरण गर्न सके मात्र यो पर्वको अर्थ हुन्छ।’

गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीमा अष्ट मातृकाको पूजा गरेर नवमीमा रामचन्द्रको पूजा, जप, पाठ र ध्यान गर्नाले मनले चाहेको काम पूरा हुन्छ। यो अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन हुन्छ। रामनवमीमा देवीको पूजा गरेर रामचन्द्रको आराधना गर्दा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ।

पहिले वासन्तीय नवरात्रलाई नै मुख्य दसैँ मानिन्थ्यो, तर गर्मी बढेपछि असोजमा मनाउन थालिएको भनाइ छ। चैत र असोजको नवरात्रलाई जाग्रत दसैँ र पुस तथा असारको नवरात्रलाई सुप्त दसैँ भनिन्छ।

व्रतार्क ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत र उपवास गरी रामचन्द्रको पूजा गर्नाले धेरै जन्मका पाप नाश भई वैकुण्ठ प्राप्त हुन्छ भनिएको छ। असत्यमाथि सत्यको विजय र भगवान् रामको सम्झनामा मनाइने यो पर्वमा रामका मन्दिरहरूमा पूजापाठ हुन्छ। जनकपुरको रामजानकी मन्दिरमा मेला लाग्छ र नेपाल तथा भारतबाट आउने भक्तजनको भीड हुन्छ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा रामचन्द्रको जन्म भएको सम्झनामा पवित्र नदी, ताल र कुण्डमा स्नान गरी व्रत बस्ने, रामगीता पाठ गर्ने, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने तथा रातभर भजनकीर्तन गर्ने चलन छ।

आज व्रत बसी रामको पूजा र जप गर्नाले चाहेको कुरा पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने व्रतार्क ग्रन्थमा लेखिएको छ। अयोध्याका राजा दशरथका जेठा छोरा तथा विष्णुको सातौँ अवतारका रूपमा जन्मिएका रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेर पापी र दुष्ट राक्षसहरूको नाश गरेका थिए। उनले आफ्ना पिताको कठोर आज्ञा सहजै स्वीकार गरी मानवजातिलाई सत्यको बाटोमा लाग्न प्रेरणा दिएकाले यो पर्व मनाइन्छ भनी धार्मिक ग्रन्थमा उल्लेख छ। रासस

मगर संघ यूकेको अध्यक्षमा म्याग्दीका लालबहादुर पुन निर्विरोध चयन

मगर संघ यूकेको आठौँ अधिवेशनबाट अध्यक्षमा म्याग्दी बेनी नगरपालिका–३, भकिम्लीका लालबहादुर पुनमगर (लालु) निर्विरोध चयन हुनुभएको छ। मोना यूकेका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका पुन मगर यसअघि मगर संघका पनि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

संघको वरिष्ठ उपाध्यक्षमा रुद्र थापामगर निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष निर्वाचनबाट छानिएको हो । रुद्र क्याप्टेन रामबहादुर पुनमगरलाई हराउँदै विजयी बन्नुभयो ।

उपाध्यक्षहरुमा गुमानसिङ थापामगर र विष्णु श्रीसमगर,महासचिवमा गोमान पुन मगर र कोषाध्यक्षमा मोहन थापामगर निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवका लागि पनि निर्वाचन भएको थियो । प्रत्यासी मनोज पुनमगरलाई पराजित गर्दै अनिल थापामगर सचिवमा विजयी भएको संघले जनाएको छ । कार्यसमितिका सदस्यहरुमा पूर्णबहादुर थापामगर, मेगबहादुर बुरामगर र नुनु पाइजा मगर निर्वाचित भएको निर्वाचन मण्डलका प्रमुख आयुक्त डा. प्रेम आलेमगरले जानकारी दिनुभयो ।

आठौँ अधिवेशनबाट निर्वाचित सम्पूर्ण कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई शपथग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरिएको छ ।आठौँ अधिवेशनमा मगर संघ युकेको सांगठानिक, आर्थिक, विभागीय प्रतिवेदनलगायत शाखाका सम्पूर्ण प्रतिवेदनहरु सर्वसम्मतद्वारा पारित भएको मगर संघ यूकेले जनाएको छ । त्यस्तै विधान समितिले संशोधनको लागि प्रस्तावित विधान पनि सर्वसम्मतले पारित गरिएको छ । अध्यक्षमा निर्वाचित लालबहादुर पुनमगरले यूकेमा रहेका मगर समुदायलाई संस्थामा आवद्ध भएर पहिचान सहित लक्ष्य प्राप्तीको अभियानमा लाग्न अनुरोध गर्नुभएको छ ।

मुस्ताङ र म्याग्दी हुलाक सेवा प्रभावकारी बनाइने

मुस्ताङ र म्याग्दीको डाँक सेवा प्रभावकारी बनाउन पहिलोपटक हुलाक कार्यालयको अन्तर समन्वय बैठक तथा अन्तरक्रिया गरिएको छ । सुचना प्रविधिको अत्याधुनिक विकास सँगै जनचाहना अनुसार हुलाक सेवा विस्तार गर्ने उद्देश्यले उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमी मा म्याग्दी र मुस्ताङ हुलाक कार्यालयको बैठक बसेको हो।
बैठकमा म्याग्दी देखि मुस्ताङ सम्मको डाँक रेखा अध्ययन तथा अवलोकन गरी द्रुत हुलाक वस्तुको आदान प्रदान,म्याग्दी देखि मुस्ताङ सम्मको डाँक रेखामा हाल हल्कारा÷हुलाकी मार्फत डाँक ढुवानी भएकोमा सवारीसाधन मार्फत हुलाक वस्तुको ओसार–प्रसार गर्ने म्याग्दी हुलाकका सुचना अधिकारी रमेश अधिकारीले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले पहिलोपटक दुई जिल्ला बिचको बैठकले सिमित स्रोतसाधन र जनशक्ती भएपनि डाँक ढुवानीलाई सवारी साधन मार्फत प्रभावकारी रुपमा सञ्चालनमा कोशेढुगा सावित हुने बताउनुभएको थियो।
बैठकमा जनशक्तिको क्षमता विकास तथा असल अभ्यासका बारेमा अनुभव आदानप्रदान गर्ने, हुलाक सेवाको आम नागरिकसमक्ष जानकारी पुर्याउनका लागि प्रचारप्रसार तथा सेवाको गुणस्तरीयता अभिवृद्धि तथा यातायात व्यवसायीसँगै स्थानीय तहसँग समेत समन्वय गरी डाँकलाई सहज, छिटो र सुरक्षित रुपमा ओसारपसार गर्ने, डाँक ढुवानीका लागि आवश्यक समन्वय गर्न हुलाक निर्देशनालय पोखरालाई समेत जानकारी गराउने, समुदायमा आधारित विभिन्न संघसंस्थालाई हुलाक सेवाको प्रयोग तथा अपनत्व जगाउन आगामी आवका कार्यक्रमहरूमा समावेश गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकमा यातायात ब्यवसायी, स्थानीय तह तथा अन्य सरोकारवाला निकायको सहयोग भएमा मुस्ताङ र म्याग्दीबाट डाँक सेवामार्फत दुई दिनमै सेवा दिन सकिने प्रतिबद्धता समेत जनाइएको थियो । बैठकसँगै तल्लो र उपल्लो मुस्ताङ क्षेत्रमा रहेका हुलाक कार्यालयको अनुगमन तथा अनुभव आदानप्रदान समेत गरिएको थियो ।
अन्तर जिल्ला समन्वय बैठकमा  हुलाक कार्यालय मुस्ताङका निमित्त प्रमुख शिवराम आचार्य, म्याग्दीका प्रमुख थापा, डाँक शाखा प्रमुख सम्झना भण्डारी बानियाँ लगायत दुबै जिल्लाका हुलाक कार्यालयका कर्मचारीको उपस्थिती रहेको थियो। पछिल्लो समय हुलाक कार्यालयले चिठीपत्र बाहेक बहु्मुल्य साम्रागी सहित खाद्यान्न समेत बोक्ने गरेको छ ।

‘म्याग्दीका पर्यटकीयस्थलको जानकारी पर्यटन सूचना केन्द्रमा पाइन्छ’

म्याग्दी जिल्लाभित्रका पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले बेनी नगरपालिका-८,कालिपुल बसपार्कमा रहेको पर्यटन सूचना केन्द्रले म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलमा आउने पर्यटकलाई सहज भएको छ ।

सडकमार्ग हुदै म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलमा जाने पर्यटकलाई रुटमा पर्ने पर्यटकीयस्थलका बारेमा जानकारी सहित जिल्लाभित्र रहेका नयाँ र आर्कषक गन्तब्यस्थलका बारेमा सूचना दिने गरिएको छ ।

बेनी नगरपालिका, पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा वि.सं.२०७५ मा स्थापना गरिएको पर्यटक सूचना केन्द्रमा दैनिक ८ देखि १० जना नियमित आउने गरेको सूचना केन्द्रकी दिलुकुमारी गुरूङले बताउनुभयो ।

सूचना केन्द्रमा आउने अधिकांस म्याग्दीको पर्यटकीयस्थलमा जाने र केही बेनीजोमसोम सडकखण्ड अन्तरगत पर्ने पर्यटकीयस्थलहरूका बारेमा जानकारी लिने गरेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो।‘सूचना केन्द्रमा म्याग्दीभित्रका सबै प्रकारको सूचनाहरू उपलब्ध छ, यहाँ म्याग्दीका पूराना र नयाँ फोटो सहित सबै गन्तब्यहरुका जानकारी छ’अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

मोना अष्टेलियाले आयोजना गरेको फोटो प्रतियोगितामा सहभागि भएका सहित बि.स २०२२ साल तिर खिचिएका म्याग्दीका फोटो तथा हरेक पालिकाको फरक फरक स्थानमा फोटो सहितको जानकारी राखिएको छ ।

म्याग्दी जिल्लाका चर्चित पर्यटकीय तथा धार्मिकस्थल बाहेक सम्भावना भएका क्षेत्र,होमस्टे,होटलको विवरण तथा पर्यटकीयस्थलहरूमा जाने पर्यटकलाई सूचना, स्थानीय तहसँग समेत समन्वय गरी काम गर्ने समेत गर्ने गरिएको छ ।

म्याग्दीका पर्यटकीय हिसाबले सम्भावना बोकेका धेरै क्षेत्र रहेकाले यहाँ आउने पर्यटकले सहज रुपमा पर्यटकीय क्षेत्रको जानकारी लिन सहज भएको म्याग्दीका पर्यटकीयस्थल घुम्न आएका शंकर ढकालले बताउनुभयो ।

जिल्ला ट्राफिक कार्यालय नजिक रहेको पर्यटन सूचना केन्द्रमा म्याग्दीका स्थानीय तहको सेक्सन बनाएर पर्यटकीय स्थलको फ्रेमसहित फोटाहरू, ५१ इन्चको भिडियो डिस्प्ले स्क्रिन, पर्यटकीय क्षेत्रको म्याप, गाइड बुक र ब्रोसर राखिएको छ ।

म्याग्दीमा आउने पर्यटकलाई आवश्यकता अनुसार गाईड समेत गरिने छ ।तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले २०७५ वैशाख ३१ गते उक्त सूचना केन्द्र उद्घाटन गरेका थिए । सूचना केन्द्र बाहिर म्याग्दीमा उत्पादन हुने अर्गानिक सामानको कोशेली घर समेत रहेको छ ।

बागलुङकी एक महिला तीन दिनदेखि बेपत्ता

घरबाट औषधि किन्न बागलुङ बजार झरेकी एक महिला तीनदिनदेखि बेपत्ता भएकी छन् । बागलुङ नगरपालिका-६ लाखुरीबोटकी ३१ बर्षिया सविना किसान आफ्नो मोवाइल घरमै छोडेर सम्र्पकविहिन भएकी हुन् ।

म्याग्दी रघुगंगा गाउँपालिका–३ पिप्ले माइती घर भएकी सविनाले श्रीमान राजु किसानलाई घाँस काट्न जान्छु भनेपनि पछि बागलुङ बजारमा औषधि लिन आएको बताएको राजुले बताए ।

दुई छोराहरुलाई घरमै छोडेर सम्पर्कविहिन भएपछि श्रीमानले आफन्त र प्रहरीमा जानकारी समेत गराए छन् । ‘जहाँ भएपनि सम्पर्कमा आउन अनुरोध गछु’, खोजीकार्य भइरहेको छ’ राजुले भने । उनले माइती पक्ष सहित विभिन्न ठाउँमा रहेका आफन्तहरुलाई समेत जानकारी गराएको बताए ।

श्रीमान् (राजु किसान )को सम्पर्क नम्बर 9818346848 / 9763260015

टिकटकमा ‘लाइभ’ बस्दै कोसेली बेच्दै

बेनीको कालीपुल बसपार्कमा छ म्याग्दी कोशेली घर। यसकी सञ्चालक डिलकुमारी गुरुङ दैनिकजसो एक घण्टा सामाजिक सञ्जाल ‘टिकटकमा लाइभ’ बस्छिन्। टिकटक चलाउनु मनोरञ्जनका लागि भने होइन। यसमार्फत उनले व्यापार बढाएकी छन्।

स्थानीय उत्पादनको बजारीकरण गर्न उनका लागि टिकटक सहयोगी बनेको छ। ‘समाजिक सञ्जाललाई मनोरञ्जन र समय बिताउन मात्र नभएर व्यापार व्यवसायमा पनि प्रयोग गर्न सकिदो रहेछ,’ उनले भनिन्, ‘टिकटकको सहायताले मासिक तीनदेखि चार लाख रुपैयाँको सामान बेच्दै आएकी छु।’

‘टिकटक’को प्रयोग गर्न थालेपछि उद्यमीहरुले उत्पादन गर्ने सामान खरिद गर्न देखि उपभोक्ता र जिल्ला बाहिरका व्यापारीलाई बिक्री गर्न सजिलो भएको उनको अनुभव छ। ‘पहिले पसलमा आवश्यक पर्ने सामान जुटाउन र मासिक एक लाखको सामान बेच्न पनि मुस्किल थियो,’ उनले भनिन्, ‘टिकटकमार्फत अर्डर लिएर महिनाको चार लाखसम्मको बिक्री भइरहेको छ।’

‘टिकटक’कै सहयोगमा गाउँ गाउँमा दिदीबहिनीले उत्पादन गरेका सामान खरिद गर्ने उनले बताइन। उनले आफ्नो ‘टिकटक’ पोस्टमा सामानको भिडियोसहित आफ्नो सम्पर्क नम्बर राख्छिन्। उक्त ‘भिडियो’ हेरेर ग्राहकले सामान अर्डर गर्ने र आफ्नो खातामा पैसा जम्मा गरेपछि गाडी र कुरियर मार्फत सामान पठाउने गरेको गुरुङले बताइन।

म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको सटरमा गुरुङले गत असारदेखि कोशेली घर सञ्चालनमा ल्याएकी हुन्। कोशेली घरमा म्याग्दीका उद्यमीले उत्पादन गर्ने ढाका, अल्लो, तानमा बुनेका कपडा, राडीपाखी, जातीय पोसाक, नेपाली हाते कागज, भाँगो, कालो भट्ट, रातो च्याउ, सिमीको दाल, सिस्नो पाउडर, घर र भिरमह, टिमुर लगायत वस्तुहरु खरिदबिक्री हुन्छ।

पोखरा, काठमाडौं, बुटवल, चितवनका व्यापारी र विदेशमा रहेका नेपालीहरु ‘टिकटक’को माध्यमबाट कोशेली घरका सञ्चालक गुरुङको सम्पर्कमा आउँछन्। विदेशमा रहेका नेपालीका आफन्तलाई सम्पर्क गरेर सामान पठाउने र भुक्तानी लिने गरेको गुरुङले बताइन।

बेलायत, अष्ट्रेलिया, जापान, पोर्चुगल, अमेरिकामा रहेका नेपालीहरुले सामान माग गर्छन्। सिस्नोको पाउडर, टिमुरको चटनी, फापरको पिठोको विदेशबाट धेरै माग आउने गरेको गुरुङले बताइन।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोशेली घर सञ्चालन गरेपनि स्थानीय उद्यमीले तयार पारेका कृषि, पशु र लघुउद्योगको उत्पादन बजारीकरणमा सहयोग पुगेको बताए। यहाँ आउने पाहुनाहरु फर्किएर जाँदा चिनोस्वरुप कोशेली घरबाट सामान किनेर लैजाने गर्छन्। रासस

मोना कतारले शुभकामना आदानप्रदान तथा सम्मान

तिलु शर्मा पौडेल/ दोहा कतार

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा आन्तरिक वनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ l कतारको समालमा अवस्थित पार्कमा साङ्गीतिक प्रस्तुति सहित सम्पन्न कार्यक्रम सङ्घका अध्यक्ष बाबुराम भण्डारीको सभाध्यक्षता तथा मोना आइइसीका कोषाध्यक्ष नरेन्द्र फगामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो l

कार्यक्रम मार्फत कतार भ्रमणमा रहनु भएको मोना कतारका संरक्षक रमेश पौडेलका ममतामयी आमा टिका पौडेल र छोरा सुप्रिम पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो l कार्यक्रममा मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाइली, मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष विक्रम कार्की लगायत अन्य वक्ताहरूले शुभकामना शुभकामना मन्तव्य राख्दै म्याग्देलीहरुलाइ समेटेर मोनाले आन्तरिक वनभोज मार्फत म्याग्देलिलाइ जोड्ने काम गरेको बताए l

कार्यक्रमका संयोजक तथा सङ्घका वरिष्ठ उपाध्यक्ष देवी कँडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि फगामीले मोना कतारले राम्रो कार्य गर्दै अगाडी बढिरहेको आफूले पाएको हुँदा मोनाका सकारात्मक कार्यमा आफ्नो सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरे l महासचिव शिव खड्काले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष भण्डारीले भर्खरै निर्वाचित भएर आएको नयाँ कार्यसमितिले पहिलो पटक वनभोज कार्यक्रमको आयोजना गरेको र भविष्यमा म्याग्देलीलाइ जोड्ने अन्य थुप्रै कार्य गर्दै जाने बताए l उनले वनभोज सफल बनाउन आ-आफ्नो स्थानबाट सहयोग गर्नु हुने मोनामा आबद्ध तथा उपस्थिति म्याग्देली सहित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए l