Thursday, May 15, 2025
21.1 C
Beni
21.1 C
Beni
Thursday, May 15, 2025
Home Blog Page 794

धानको उत्पादन बढाउन जैविक विविधताको सम्वर्द्धन आवश्यक

0

आज असारको पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस । नेपालमा विविध कार्यक्रमका साथ औपचारिक रुपमा १९औँ धान दिवस मनाइदै छ ।

नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणले प्रत्येक वर्षको असार १५लाई धान दिवस मनाउने निर्णय गरेपछि जनस्तरमासमेत स्थानीय कृषि सहकारी संस्था तथा अन्य समूहले पनि औपचारिक रुपले धान दिवस मनाउँदै आएका छन् ।

असार पन्धकै दिन नेपालमा दही चिउरा खाने प्रचलन पनि छ । यसवर्ष धान दिवसको नारा “धानबालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग” भन्ने रहेको छ ।

बाली लगाउने समयमा रासायनिक मलको अभाव,समयमा नै पानी नपर्नु,उन्नत मल, बिऊ र सिंचाइको उचित व्यवस्थापन हुन नसक्नु जस्ता कारणले वर्षेनी धान उत्पादनमा कमी आउँदा आयातित चामल लगाएतका खाद्यान्नमा निर्भर रहनुपर्ने नेपालको वाध्यता बन्दै गएको अवस्थामा नेपालका कृषि वैज्ञानिकहरुले धानको उत्पादन बढाउन जैविक विविधताको सम्वद्र्धनमा जोड दिएका छन् ।

धान नेपालीहरुका लागि केवल खाद्यान्न मात्र नभएर यसको महत्व धर्म र नेपाली संस्कृतिसँग पनि जोडिएको छ ।
धान विश्वको मकै पछिको दोस्रो महत्वपूर्ण खाद्यान्न बाली हो।यो विश्वको करिब ३.५ अरब जनसंख्याको लागि आधारभूत खाद्यवस्तु एवं शरिरलाई आवश्यक पर्ने क्यालोरीको प्रमुख श्रोत भएको कृषि वैज्ञानिकहरुको भनाइरहेको छ ।

विश्वमा करीब १६ करोड ४१ लाख ९० हजार हेक्टरमा खेती भई ७५ करोड ५४ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको अन्तराष्ट्रि कृषि वैज्ञानिक डा. टीकाबहादुर कार्कीले जानकारी दिनुभयो ।

डा. कार्कीका अनुसार कूल उत्पादन मध्ये ९० प्रतिशत उत्पादन तथा खपत एशियाली मुलुकहरुमा हुनेगरेको छ । उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ र त्यसपछि क्रमशः भारत, इन्डोनेशिया, बंगलादेश, भियतनाम प्रमुख धान उत्पादक राष्ट्रहरु हुन् भने नेपाल १६औं स्थानमा पर्ने उहाँको भनाइरहेको छ ।
धान नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समेत महत्वपूर्ण बाली हो ।

नेपाली समाजका हरेक सामाजिक एवम् सांस्कृतिक कार्यहरुमा धानकै प्रधान्यता रहने हुँदा नेपाली समाजमा धान अभिन्न रुपमा स्थापित भइसकेको बताइन्छ ।हरेक नेपालीको जन्मदेखि मृत्यु सम्मका कर्ममा धानको प्रयोग अपरिहार्य हुन्छ भने वर्षभरी मनाइने विभिन्न चाडपर्वहरुमा समेत यसकै बर्चस्व रहन्छ ।

नेपालको हिमाल, पहाड तराइ सबै भूगोलमा चामलको उत्तिकै महत्व र वैभव रहेको छ ।धान हाम्रो खाद्यान्न मात्र नभएर संस्कृतिको धरोहर पनि हो ।समुन्द्रि सतहबाट तराईमा ६० मिटर देखि संसारको सवैभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा ३,०५० मिटर उचाइसम्म धानको खेती गरिने कृषि विभागमा महानिर्देशक रेवतीरमण पौडेलको भनाइ छ ।

नेपालमा मौसमको आधारमा वर्षे धान,चैते धान, भदैया धान, घैया धान र हिउँदे धान (बोरो धान) को रुपमा धान खेती हुने गर्दछ । नेपालमा खेती गरिने कूल क्षेत्रफलको ४७.७ प्रतिशत जमिनमा धान खेती गरिन्छ जस मध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा वढी रहेको कृषि विभागको तथ्याङ्कमा उल्लेख छ ।

अन्नबाली उत्पादनको कूल क्षेत्रफलको करीब ४५ प्रतिशतमा धान खेती हुने गरेको र कूल अन्नबाली उत्पादनमा ५० प्रतिशत भन्दा बढी धानको हिस्सा रहेको तथ्याङ्कमा देखाइएको छ ।

नेपालमा बार्षिक करिब २ खर्ब रुपैयाँ बराबरको धान तथा यसका उप–उत्पादनहरु प्राप्त हुने कृषि वैज्ञानिका डा. कार्कीले बताउनुभयो । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करीब २५ प्रतिशत अंश कृषिको रहेकोमा धानको कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा १५ प्रतिशत योगदान रहेको तथ्यले धानले नेपालीको खाद्य तथा पोषण सुरक्षाको सुनिश्चिता कायम गराउनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ छ ।

धानको बहुआयामिक महत्वलाई थप उजागर गरी यसको उत्पादन तथा उत्पादकत्व वृद्धि तथा व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उद्धेश्यका साथ आर्थिक बर्ष २०६१÷६२ मा अन्तराष्ट्रिय धान वर्ष ( मनाउने सन्दर्भ पारेर नेपालमा असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मनाउने घोषणा भई यस दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन थालनी गरिएको हो ।

यसै सन्दर्भमा देशको समयानुकूल आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न नाराहरु तय गर्ने सिलसिलामा यस वर्ष खाद्य तथा पोषण सुरक्षा सम्बन्धमा विश्व परिवेश तथा यस परिस्थितिमा नेपाल जस्तो कृषिमा आधारित अति कम विकसित मुलुकको आवश्यकता र प्राथमिकतालाई मध्यनजर गरी धान दिवसको नारा “धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” तय गरिएको डा.कार्कीले बताउनुभयो ।

आ. ब २०७८÷०७९ मा १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भई ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको उहाँले जानकारी दिनुभयो ।उहाँका अनुसार अघिल्लो बर्षको तुलनामा धानको क्षेत्रफल ०.२६ प्रतिशतले बृद्धि भएतापनि उत्पादन भने ८.७४ प्रतिशतले घटेको छ ।

यसरी क्षेत्रफल बढेता पनि उत्पादन घट्नुमा २०७८ असोज ३१ देखि कार्तिक ३ गतेसम्म परेको बेमौसमी बर्षाले धान थन्क्याउने बेलामा खास गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कन्चनपुर, बर्दिया, बाँके तथा कपिलवस्तु जिल्लामा पारेको क्षति मुख्य कारण रहेको उहाँको भनाइ छ ।

विगतका बर्षहरु देखिनै धान बालीमा अनुसन्धान र विकास, सिंचाई सुविधा विस्तार, मसिना धान प्रवर्द्धन, हिउँदे र चैते धान प्रवर्द्धन, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार, सार्वजनिक वितरण प्रणालीमा सुधार, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन, बाली बीमाको प्रवर्द्धन, जलवायु मैत्री प्रविधिको विकास, धान उत्पादन तथा बजारीकरणमा निजी तथा सहकारी क्षेत्रको संलग्नता, बाँझो जमिनको सदुपयोग जस्ता कार्यक्रमहरु सन्चालन हुँदै आएको कृषि विभागका महानिर्देशक पौडेलले जानकारी दिनुभयो ।

उत्पादन वृद्धिका लागि उन्नत जातको प्रयोगलाई वढवा दिन हालसम्म नेपालमा तराई, मध्य पहाड र उच्च पहाडको लागि सूचित गरिएका खुल्ला सेचित र हाइब्रिड गरी ८ वटा स्थानीय र रैथाने जात सहित जम्मा १४४ वटा धानका जातहरु सिफारिस भैसकेका जनाइएको छ । त्यसैगरी बर्णशंकर जातको बढ्दो मागलाई सम्बोधन गर्न २ वटा स्वदेशी हाइव्रिड धानका जातहरु सूचित भई कृषकमाझ उपलब्ध रहेका कृषि विभागले जनाएको छ ।

त्यसैगरी सुख्खा तथा अर्धसिंचित अवस्थालाई मध्यनजर राखी डुवान तथा सुख्खा सहन गर्न सक्ने केही धानका जातहरु समेत विकास भई कृषकहरु माझ लोकप्रिय भएका छन्। उन्नत बीउ विजनको मात्र प्रयोगले १५ देखि २० प्रतिशत उत्पादकत्व वृद्धि गर्न सकिने नेपालका कृषि वैज्ञानिक तथा कृषि अनुसन्धानकर्ताहरुको राय रहेको छ ।

उनीहरुको यही रायलाई मध्यनजर गर्दै धानको स्रोत बीउ र उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान तथा उन्नत बीउ प्रयोगकर्तामा मूल्य अनुदान कार्यक्रम कार्यान्वयनमा ल्याइएको कृषि विभागले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत धानबालीको लागि पकेट, व्लक, जोन तथा सुपर जोन जस्ता विशिष्टिकृत उत्पादन क्षेत्रहरु निर्धारण गरी त्यस्ता उत्पादन क्षेत्रहरुमा धान बालीको व्यवसायीकरण, यान्त्रिकीकरण तथा औद्योगिकीकरणलाई प्रवर्द्धन गर्न विभिन्न कृयाकलापहरु सन्चालन गरिएका जनाइएको छ ।

चालु आर्थिक वर्षमा सर्शत वित्तिय हस्तान्तरणमा धान उत्पादनको प्रचुर संभावना बोकेका प्रमख क्षेत्रहरु र नेपाल सरकारबाट निर्मित साना, मझौला तथा ठूला सिंचाई आयोजनाहरुको कमाण्ड क्षेत्र भित्र पर्ने ५९ वटा स्थानीय तहहरु मार्फत धान उत्पादन प्रवर्द्धन कार्यक्रम संचालनमा रहेकोमा आगामी आर्थिक वर्षमा ६८ वटा स्थानीय तहहरु र ७ वटै प्रदेशका कृषिसंग सम्बन्धित प्रादेशिक मन्त्रालयहरु मार्फत सो कार्यक्रमलाई निरन्तरता दिइएको कृषि विभागले जनाएको छ ।

अन्य बालीमा जस्तै धानबालीमा पनि बीमाको व्यवस्था गर्दै ८० प्रतिशत प्रिमियम सरकारले नै उपलब्ध गराउने व्यवस्था मिलाइएको विभागका निर्देशक पौडेलले बताउनुभयो ।

धानको उत्पादकत्व वृद्धिका लागि रासायनिक मलको सहज तथा सुलभ उपलब्धताको लागि अनुदानमा मलखाद वितरणलाई विशेष प्राथमिकतामा राखिएको छ ।

उल्लेखित प्रयासहरुबाट धान एवं धानमा आधारित उद्योगको विकास र विस्तारको साथै धान मूल्य श्रंखला विकास मार्फत् देशलाई समृद्धिको दिशामा अघि बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

हाल नेपालमा कूल ४० लाख मेट्रिक टन चामलको माग रहेकोमा स्वदेशी उत्पादनबाट ३४ लाख मेटन मात्र उपलब्ध हुने भएकाले करीब ६ लाख मेटन चामल आयातका लागि करिब ३० अर्ब भन्दा बढी रकम खर्चिनु परेको अवस्था रहेको कृषि वैज्ञानिक कार्कीले बताउनुभयो ।

स्वदेशी माटोमा प्रयाप्त परिमाणमा उत्पादन नभई धान चामलमा परनिर्भरता हुनुमा बढ्दो जनसख्या बृद्धिको तुलनामा धान उत्पादनको बृद्धि दर कम हुनु, खेतीयोग्य जमिन खण्डिकरण तथा घडेरिकरण, श्रम शक्तिको अभाव, सिंचाई, भण्डारण तथा बजार पूर्वाधार प्रयाप्त नुहुनु आदि प्रमुख कारणहरु भएका उहाँको भनाइ छ ।

म्याग्दीमा हाल ३ हजार ९२५ हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको छ । यहाँ १३ हजार ६२६ मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । धान खेति गरेको मध्ये १२ प्रतिशत जमिनमा मात्र उन्नत जातको गुणस्तरीय बिउको प्रयोग भैरहेकोछ ।

यसो हुनुमा गुणस्तरीय बिउको अभाव तथा नयाँ र उच्च उत्पादन दिने जात भन्दा पुरानै जातहरु कृषकको रोजाइमा पर्नु, बीउ तथा जात फेर्ने परिपाटिको विकास नहुनु, मसिना तथा वासनादार चामलको उपयोगमा वृद्धि तथा खाद्यान्न बालीको उपयोगमा विविधिकरण नुहुनु, आयातीत धानको गुणस्तर र मूल्यमा स्वदेशी धानले प्रतिस्पर्धा गर्न नसक्नु जस्ता कारणहरु रहेका कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो ।
उत्पादन र उत्पादकत्व कसरी बढाउने ?

पछिल्लो समयमा विश्व भू–राजनीतिमा देखिएको असहज परिस्थितिका कारण विश्व व्यापी रुपमा खाद्य संकटको अवस्था गम्भिर हुँदै जाने र यसले अति कम विकसित राष्ट्रलाई नराम्ररी प्रभाव पार्ने भनी विश्व जगत नै त्रसित अवस्थामा रहेको छ ।

नेपाललाई यस विकसित पछिल्लो अवस्थाका कारण खाद्य संकटको चपेटामा पर्न बाट रोक्न अव सबै प्रयासहरु त्यस तर्फ केन्द्रित हुनु पर्ने कृषि विज्ञहरुको राय रहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को महामारीको असरले नेपालको अर्थतन्त्र, जीवन पद्धति र दिनचर्यामा समेत नकारात्मक प्रभाव हालसम्म पनि कायम नै छ ।

तसर्थ, हालको प्रतिकूल अवस्थामा खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता, रोजगारीको सिर्जना, खाद्य आपूर्ति श्रृंखलालाई थप व्यवस्थित गर्नु पर्ने थप चुनौती रहेको बताइएको छ । खाद्य तथा पोषण सुरक्षाको दृष्टिकोण र हाल खाद्य वस्तुको आयातको तथ्याङ्कबाट धान चामलको उत्पादत र उत्पाकत्व वृद्धि नै उल्लेखित चुनौतीको सामना गर्ने उपयुक्त उपाय भएको कृषि वैज्ञानिक डा.कार्कीको भनाइ छ ।

नेपालमा धानको कूल क्षेत्रफल मध्ये करीब १० प्रतिशत क्षेत्रफल रैथाने तथा स्थानीय धानका जातहरुले ओगटेको छ भने नेपालमा २५०० भन्दा बढी धानका रैथाने जातहरु रहेकोमा १५० भन्दा बढी जातहरु कृषकहरुले खेती गर्दै आइरहेका कृषि विभागको तथ्याङ्कले देखाएको छ ।

रैथाने धानका जातहरु जलवायु अनुकुलित हुनुका साथै पोषणयुक्त एवम् रोग कीरा सहन सक्ने भएकाले खाद्य तथा पोषण सुरक्षामा धान बालीका जैविक विविधताको अत्यन्त महत्वपूर्ण भूमिका रहने बरिष्ठ कृषि वैज्ञानिक डा.कार्कीले बताउनुभयो ।

नेपालमा पाइने रैथाने तथा स्थानीय धानका जातहरु उच्च उत्पादन दिने उन्नत तथा वर्णशंकर धानका जातहरुको विकासका लागि उपयोग गर्न सकेमा निश्चय पनि धान चामलको बढ्दो आयातलाई न्यूनीकरण गर्नमा सहयोगी हुन सक्ने उहाँको राय छ।
तराई, पहाड र हिमाली क्षेत्रमा पाइने धानका रैथाने जातहरुको प्रवर्द्धन गरी उत्पादन विविधिकरण तथा उपयोगमा प्राथमिकता दिन सके यी जातहरुले धान चामलको उपलब्धता बढाई आयात प्रतिस्थापनमा सहयोगका साथै खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउन सक्ने उहाँले बताउनुभयो ।

जंगलमा फैलिएको बोझो…

0

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाको मोतिचौरको जंगलमा फैलिएको बोझो । यहाँ यार्सागुम्बा, चिराइतो, जटामसी, पाँचऔँले लगायतका विभिन्न जडिबुटी पाइन्छ । बोझो यो घाँटी बसेको निको पार्न, भोक जगाउन र पिनासको उपचार गर्न प्रयोग गरिने सामान्य जडिबुटी हो आयुर्वेदिय पद्धतिअनुसार यस जडीबुटीको काण्ड ग्रन्थी , बाथ , ज्वरो , शुल , कफदोष इत्यादिमा प्रयोग गरिन्छ। यसले भोग जगाउँछ , कण्ठ रोगलाई हित गर्दछ। तस्वीर : बेनीअनलाइन

हराउँदै रोपाइँको मौलिकता, सुनिनै छोडे असारे भाका

0

असारै खाउला दुधिलो मकै, साउने खाउला खिर,
घरमा छैन शितलु वचन, मनमा छैन थिर ।
छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल
जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।

लोकगायिका हरिदेवी कोइरालाले गाउनुभएका यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् ।

आज असार १५ राष्ट्रिय धान दिवस भए पनि किसानका खेत अहिलेसम्म पनि बाँझै छन् । केही सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले रमाइलोका लागि खेतमा गएर रोपाइँ गरे पनि पर्याप्त वर्षा नभएकाले न किसान रोपाइँमा व्यस्त हुन पाएका छन् न त भएका रोपाइँमा पनि असारे गीत सुनिएको छ ।

नेपालमा धान रोप्दा गाइने असारे गीत रोपाइँमा दिनभर थाकेको बाउसे र रोपाराहरू एकअर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सने गर्दथे ।

खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङ्छङ आवाजसँगै असारे भाका गाउँदा सुन्नेहरू पनि लठ्ठ पर्ने गर्दथे । तर ती दिनहरू अब इतिहास नै बनेका म्याग्दीकी पुरानो लोकगायिका धनकुमारी थापाले बताए ।

पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि असारे गीत नसुनिएको लोकगायिका थापाले बताए ।

मानो खाएर मुरी उब्जाउने असार महिनामा पहिलेजस्तो उल्लास आजकल पाइन छाडेको थापाले बताए । आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउने छाडेकाले भाकासमेत लोप भएको बूढापाका बताउँछन् ।

नयाँ पिँढीलाई असारे गीत गाउन आउँदा पनि आउँदैन । रोपाइँका बेला बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्ने हुँदा उत्सवजस्तै मानिने असारे रोपाइँको रौनक घटेको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले बताए ।

पछिल्लो सयममा रोपाइँको क्रममा असारे गीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको पुराना गायक नेत्रबहादुर महतले बताए । ‘रोपाइँमा त सुनिन छाड्यो, छाड्यो, आजभोलि रेडियो, टिभीबाट समेत गीत सुनिदैन’ उनले भने ।

पहिले रेकर्ड गरिएका गीतहरु प्राविधिका कारण सङ्ग्रहमा छैनन् भने पछिल्लो पुस्ताका कलाकारले सांस्कृतिक गीतभन्दा पनि व्यावसायिक गीतलाई प्राथमकिता दिँदा थप समस्या भएको म्याग्दीकाली एफएमका स्टेशन म्यानेजर राकेश शर्माले बताए ।

नेपाली लोकगीतमा विभिन्न चाडपर्व, ऋतु, खेतीपाती गर्दा गाइने सांस्कृतिक भाका र भाव मिसिएका पाइन्छन् तर यस्ता गीतको संरक्षण र संवद्र्धन भने हुन सकेको छैन । संस्कृतिमूलक गीत लोप हुँदैछन् । यस्ता गीतलाई संरक्षण गर्न अतिआवश्यक रहेको बूढापाकाको भनाइ छ ।

आजकल रोपाइँको मौलिकता हराउँदै गएकामा पाका नागरिक चिन्तित छन् । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनीट्रिलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छाडेको छ ।

‘पहिला–पहिला धान राम्रो फलोस् भनेर बराहा र सीमेभुमेलाई पूजा गरी बीउ चढाएर रोपाहारले असारे गीतको भाकासँगै धान रोप्न सुरु गर्दथे’, बेनी नगरपालिका–२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद उपाध्यायले भने, ‘तर अहिले यी सबै कुरा हराउँदै गएका छन् । खेतका फाँटमा रोपाइँ सकियो तर न हलो–जुवा र गोरु देखिए न असारे भाका नै सुनियो ।’

‘सिमसिमे पानी परेको बेला केही छैन ओत लाग्ने
जति नै राम्रो गर्छु तै पनि मैलाई हो खोट लाग्ने ।’

यस्तै–यस्तै शब्दहरूमा असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने गरेको बगरफाँटकी ६८ वर्षीया यामकुमारी शर्मा झलझली सम्झिन्छन् ।

‘बिहान खेतमा पसेदेखि मेलो नसकुञ्जेल गाइरहन्थ्यौँ, सबै साथीले भाका मिलाएर गाउँदा दिन बितेको पत्तो नै हुँदैनथ्यो, तर आजकल यी सबै कुरा कथाजस्ता हुन लागिसके’, उनले भने ।

अहिले न असारे भाका गाउन जान्ने फगामीका दौँतरी छन्, न त छोरीबुहारीले गाउन जानेका छन् । धान रोप्दै गाइने असारे गीतमा दुःख, पीडा, हँस्यौली–ठट्यौली, मायापिरतीका कुरा पनि समेट्ने गरेको उनले सुनाए ।

अहिलेका युवापुस्ता प्रविधितर्फ आकर्षित भएकाले परम्परागत सीप, साधन, कला र संस्कृति हराउँदै जान थालेकामा स्थानीय बूढापाकाले चिन्ता व्यक्त गरेका छन् ।

‘कृषिमा प्रविधिको प्रयोग गरी कम लागतमा बढी आम्दानी लिनु त राम्रो कुरा हो’, बेनी नगरपालिका–४ का कृषक नारायण पौडेलले भने, ‘तर परम्परागत सीप र साधनमा जैविक विधिबाट गरिने कृषि पद्धतिलाई पनि चटक्कै बिर्सनु भने हुँदैन ।’

कृषिसँग नेपालीको जीवन पद्धति पनि जोडिएको छ । ऐँचोपैँचो, सर–सापट, अर्म–पर्म, हुद्धा–डफ्फा, श्रमदान, सघाइ यी चलन नेपालीका मौलिक चलन हुन् र यी कृषिसँग नै सम्बन्धित चलन भएका बूढापाका बताउँछन् । यिनै प्रचलनको जगमा नै नेपाली समाजको एकता र विविधता दुवै समेटिएको बेनीका पुराना लोक कलाकार प्रकाश श्रेष्ठले बताए ।

असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन पनि गाउँघरमा विस्तारै हराउँदै छ । म्याग्दीमा असार दोस्रो सातासम्म जम्मा २० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

लेकको चरी बेँसीमा झ¥यो पाकेको बर खान
हाड–मासु चल्यो हृदय जल्यो गाह्रो भो घर खान
असारमास कुटेका चिउरा म कति साँचुला
सौताको हात दुई कुड्की भात म कति बाँचुला ।

धवलागिरीमा सञ्चार सम्पर्क विच्छेद

0

म्याग्दीको धवलागिरी गाउँपालिकामा गएरातीदेखि सञ्चार सम्पर्क विच्छेद भएको छ । गएरातीदेखि सेवामा जिएसएम मोबाइल सेवा अवरुद्ध भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो ।

विद्यतु आपूर्तीमा समस्या भएपछि मराङ र मुदीको स्टेशन डाउन भएकाले सेवा अवरुद्ध भएको नेपाल टेलिकम म्याग्दीले जनाएको छ । नेपाल टेलिकमको सिडिएए प्रविधिको टेलिफोन र मोबाइलमा समस्या भएपनि इन्टरनेट सेवा भने सुचारु रहेको छ ।

चट्याङ लागेर एकको मृत्यु, पहिरोले घर पु¥यो

0

बागलुङमा आजराती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बागलुङ जिल्लाको काठेखोला गाउपालिका–४ तग्राम फापरखेत बस्ने गजेन्द्र पुनको श्रीमती २८ वर्षीया सुस्मा पुनको मृत्यु भएको छ ।

पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ परी घाईते भई उपचारको लागि धवलागिरि अस्पताल बागलुङ ल्याईएकोमा उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव निरिक्षक इन्द बहादुर रानाले जानकारी दिनुभयो ।

यस्तै अबिरल वर्षाका कारण आएको पहिरोले आज रातीनै बागलुङको गलकोट नगरपालिका–११ रिघा स्थित दिपदोल बस्ने बर्ष ८३ को कृष्ण बहादुर कामीको घर पुरेको छ ।ढुङगा माटोले बनेको टिनको छानो भएको तिन तले कच्चि घरमा ६० मिटर घरमाथिबाट पहिरो आई घर पुरिएको छ । घर पुरदिा मानविय र चौपाय क्षेति नभएपनि अन्नपात, लत्ताकपडा लगायत पुरिएको छ ।

पहिरोले बागलुङ-म्याग्दी सडक अवरुद्ध

0

निरन्तरको वर्षातका कारण बागलुङदेखि म्याग्दी जाने सडक पहिराले पूर्ण रुपमा अवरुद्ध बनाएको छ ।म्याग्दी जिल्ला जोड्ने मुख्य सडक समेत पहिरेले अवरुद्ध बनाएको छ ।

बागलुङ नगरपालिका ४ र म्याग्दी जिल्लाको बेनी नगरपालिका १ को सिमाना स्थित डम्मरेखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको छ ।

 

प्रेस चौतारी म्याग्दीद्वारा स्व. मदन भण्डारीको जन्मजयन्तीमा कार्यक्रम

0

‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित आज (मङ्गलवार) म्याग्दीको सदरमुकाम बेनीमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा स्वर्गीय जननेता मदनकुमार भण्डारीको ७१औं जन्मजयन्तीको अवसरमा कार्यक्रमगरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले स्व.जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमले अहिले देशलाई अगुवाई गरिरहेको बताउनुभयो । उहाँले विश्वमा कम्युनिष्ट आन्दोलनले धक्का खाएको अवस्थामा नेपालमा भने कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाएपछि विश्वमा जबजले आश्चर्यचकित बनाएको धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले नेकपा एमालेले गरेको कामलाई प्रचारप्रसार गर्ने मुख्य जिम्मेवारी प्रेस चौतारीको भएको बताउँदै सङ्गठनलाई आगामी दिनमा थप चलायमान र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमाले जिल्ला सचिव एवं बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपसचिव थमसरा पुन, सचिवालय सदस्य एवं प्रेस चौतारी इन्चार्ज डिपी शर्मा र चौतारीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्ज प्रकाश पौडेलले आ–आफ्नो धारणासहित बोल्नुभएको थियो ।

प्रेस चौतारी म्याग्दीको पाँचौं पूर्ण वैठकसहित आयोजना गरिएको उक्त अन्तत्र्रिmया कार्यक्रममा चौतारीको साधारण सदस्यता विस्तार, स्थानीय तह निर्वाचनको समीक्षा गर्नुका साथै भावी योजना र रणनीतिसहित विविध विषयहरुमा छलफल र निर्णय गरिएको छ । प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता, उपाध्यक्ष देवी जिसीको स्वागत र सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा चौतारीका पूर्व तथा वर्तमान पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

बेनीमा सञ्चालित १५ दिने उद्घोषण कलासम्बन्धी तालिम सकियो

0

म्याग्दीको सदरमुकाम बेनीमा १५ दिने उद्घोषण, भाषण कला तथा क्षमता विकास तालिम समापन भएको छ । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र पवर्तको आयोजना तथा अपाङ्ग संघ म्याग्दीको संयोजनमा अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यलाई लक्षित गरी तालिमको आयोजना गरिएको थियो ।

तालिमको समापना कार्यक्रमको अवसरमा बोल्दै सहायक प्रजिअ अर्जुन शर्माले अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सञ्चालनका लागि क्षमता विकासका कार्यक्रम आवश्यकता रहेको बताउनुभयो ।

उहाँले हरेक क्षेत्रमा भाषणकालको आवश्यकता रहेको बताउँदै तालिममा सिकेको सीपलाई ब्यवहारमा उर्तान समेत अनुरोध गर्नुभयो । बेनी नगरपालिकाका शाखा अधिकृत यूवराज थापाले ब्यक्तित्व विकास सबैभन्दा ठूलो सम्पत्ती भएकाले निर्धक्कसंग आफ्नो कुरा राख्न सक्ने हुनु ठूलो उपलब्धी भएको बताउनुभयो ।ब्यवसायिक सिप विकास केन्द्र पर्वतका अधिृकत नवराज पौडेलले अझै पनि बोल्ने कलाको विकास हुन नसक्दा अपाङ्ता भएकालाई समस्या भएकाले तालिमको आयोजना गरिएको बताउनुभयो।

तालिमको अवसरमा सहभागीको तर्फबाट आषिश पौडेल, सोमप्रसाद सापकोटा,कृष्ण कुशुम चन्द शाहीले तालिमले नेतृत्व विकाससँगै क्षमता अभिवृद्धि र उद्घोषण कलामा ब्यापक सुधार आएको बताउनुभयो । सहभागीले अव भाषण तथा औपचारिक कार्यक्रम सञ्चालनमा कुनै समस्या नहुने बताउनुभयो ।

सोही अवसरमा ब्यवसायिक सिप विकास केन्द्र पर्वतका अधिृकत नवराज पौडेलले अझै पनि बोल्ने कलाको विकास हुन नसक्दा अपाङ्ता भएकालाई समस्या भएकाले तालिमको आयोजना गरिएको बताउनुभयो। तालिको प्रशिक्षण पत्रकार हरिकृष्ण गौतमले औपचारिक कार्यक्रम संचालन विधि प्रक्रिया र भाषण कला,माइन्यूट लेखन लगायतका बारेमा जानकारी सहित माइकमा बोल्ने कलाको अभ्यास गराउनुभएको थियो ।

तालिमको अध्यक्षता तालिम केन्द्रका प्रमुख सन्तोष पौडेल, स्वागत प्रशिक्षार्थी सुप्रेणा किसान र सञ्चालन प्रशिक्षार्थी सिता थापाले गर्नुभएको थियो ।गएको जेठ २९ गतेदेखि सुरू भएको तालिममा म्याग्दी र पर्वतका गरी २२ सहभागिको उपस्थिती रहेको थियो । तालिमको उद्घाटन बेनी नगरपालिका वडा नं ७ का अध्यक्ष एवम् प्रबक्ता रमेशकुमार श्रेष्ठले गर्नुभएको थियो ।

 

लोमान्थाङमा नौ होलको गल्फकोर्ष

0

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा गल्फ कोर्ष बनाउन शुरु गरिएको छ। लोमान्थाङबाट निर्वाचित गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टको अगुवाईमा लोमान्थाङमा नौ होलको कोर्ष बनाउन शुरु गरिएको हो। कोर्षको अब ग्रीन मात्रै बनाउन बाँकी छ। अरु सबैजसो बनाई सकिएको सदस्य विष्टले बताए।

‘नौ होलको कोर्ष बनाएका छौं। बंकर र टी बक्स तयार भईसकेको छ,’ विष्टले भने, ‘अब ग्रीन तयार गर्ने छौं। ग्रीनको लागि नेपाल गल्फ संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला गल्फ संघका सल्लाहकार भूबहादुर (भुवन) गुरुङ आएपछि तयार पारिने छ।’ कोर्ष तयार भएपछि यो विश्वकै उच्च उचाईको कोर्ष बन्ने छ। कोर्ष समुद्री सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाईस्थित लोमान्थाङ–५ लोवाथाङ बनाइएको छ। हाईअल्टिच्युड गल्फ कोर्षले आन्तरिकसँगै बाह्य पर्यटन प्रवद्र्धनमा कोशेढुंगा हुने विश्वास छ।

अहिले विश्वकै सर्वाधिक उचाईको गल्फ क्लब भारतको सिक्किममा छ। सिक्किमको ३ हजार ९ सय ७० मिटरको उचाई याक गल्फ क्लब छ। बोलिभिको ला पाज गल्फ क्लब ३ हजार २ सय ६० मिटरको उचाईमा छ। जुन विश्वकै दोस्रो अग्लो स्थानको गल्फ क्लब हो। त्यस्तै चीनको जाडे ड्रागन माउण्टेन गल्फ क्लब ३ हजार ३८ मिटरको उचाईमा छ। अमेरिकाको कुपर क्रिक गल्फ क्लब ३ हजार ६ मिटरको उचाईमा छ।

कोर्ष बनाउन प्रदेश सदस्य विष्टले १० लाख रुपैयाँ खर्चिएका छन्। पूर्वाधार विकास अन्तर्गत उनले कोर्ष बनाउन खर्चिएका हुन्। विष्ट आफैं पनि पछिल्लो समय गल्फप्रति चाख राख्दै आएका छन। विष्टले पोखराको हिमालयन गल्फ क्लब र काठमाडौंको गोकर्ण गल्फ क्लबमा समेत एमेच्योर प्रतिस्पर्धा गरिसकेका छन्। त्यसैले पनि उनले लोमान्थाङमा हाईअल्टिच्युड गल्फ कोर्ष बनाउन चासो दिदैं आएका थिए।

गल्फको प्रवद्र्धन गर्न स्थानीय तहले समेत प्रतियोगितात्मक कार्यक्रमको लागि १० लाख रुपैयाँ छुट्टाएको छ। ‘लोमान्थाङ गाँउपालिकाले गल्फ प्रतियोगिताको लागि १० लाख रुपैयाँ छट्टाएको छ,’ उनले भने, ‘हामीले लोमान्थाङमा हाईअल्टिच्युड कोर्षमा प्रतियोगिता आयोजना गरेर साहसिक खेलको रुपमा प्रवद्र्धन गर्ने लक्ष्य लिएका छौं।’

‘पहिला फिल्ड हेर्नुपर्छ। फिल्ड हेरेपछि मात्रै नौ होल या १८ होल कुन उपयुक्त हुन्छ त्यही बनाउने विषयमा निर्णय हुन्छ,’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य भुबहादुर गुरुङ(भुवन)ले भने, ‘फिल्ड भएसम्म फराकिलो बनाउन उपयुक्त हुन्छ।’ उनका अनुसार नौ होललाई फिल्ड भएअनुसार ४ हजार यार्डसम्म बनाउन सकिन्छ। ‘टि बक्स, फेयर वे, गी्रन बनाउनुपर्छ,’ उनले भने, ‘फ्रन्ट नाईन र व्याक नाईनको टिबक्स हुनुपर्छ।’

लोमान्थाङको प्रकृति र बस्तुस्थिति झल्कने गरी होलहरुको नाम राख्ने योजना छ। ग्री्रनको डिजाईन अन्यको भन्दा ‘युनिक’ बनाईने सदस्य विष्टको भनाई थियो। लोमान्थाङ प्राकृतिक रुपमा मात्रै नभइ अब हाई अल्टिच्युड खेलकुदको गन्तव्य बन्ने अभियानमा छ। फुटबल मैदानसहित बास्केटबल, भलिबलको कोर्ट समेत निर्माणाधिन अवस्थामा छन्।  nagariknews.com

म्याग्दीमा असार २० र २१ गते राष्ट्रपति रनिङ शिल्ड हुने

0

म्याग्दीको बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता संचालन हुने भएको छ ।मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीको यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको जानकारी गराउनुभएको हो ।

प्रदेश खेलकुद परिषद् गण्डकीको असार ८ गतेको पत्रानुसार असार २३ र २४ गते प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने भएकोले सो प्रतियोगीतामा सहभागी पठाउनका लागि छनौट स्वरुप जिल्ला स्तरीय प्रतियोगिता संचालनका लागि तयारी थालिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

अध्यक्ष केसीका अनुसार प्रतियोगिता सञ्चालनलाई व्यवस्थित बनाउनका लागि विभिन्न उपसमितिहरु समेत बनाइएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि खेलकुद विकास समितिका सचिव तारामान रोकाको संयोजकत्वमा सचिवालय उपसमिति, सदस्य कविता रोका तथा सिर्जना पाइजा र जिल्ला भलिवल संघ संयोजक रहेको छात्रा भलिवल सञ्चालन उपसमिति चयन गरिएको छ ।

त्यस्तै छात्र भलिबलका लागि सविस चोखाल, कुमार किसान र भलिबल संघको संयोजन रहनेगरि उपसमिति गठन गरिएको छ । एथलेटिक्स खेल सञ्चालनका लागि बाबुराम चोखाल, आशा रोका, विनोद घर्ती, दिपेन राई, श्यामबहादुर रोका रहेको एथलेटिक्स व्यवस्थापन उपसमिति गठन गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

कवड्डी प्रतियोगिता सञ्चालनका लागि राजकुमार परियार संयोजक, साजन फगामी र सन्तोष परियार सदस्य रहेको उपसमिति गठन भएको छ । त्यस्तै मार्सल आर्ट प्रतियोगिता संचालनका लागि जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक कर्ण प्रधानको संयोजकत्वमा जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि बाबुराम चोखाल, कराते संघका प्रतिनिधि सुमन बानियाँ, उसु संघका प्रतिनिधि आशा रोका र सुशिल श्रेष्ठ रहेको उपसमिति गठन गरिएको जिल्ला खेलकुद विकास समिति म्याग्दीले जनाएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशीकाले तोके बमोजिमका सबै खेलकुदहरु प्रतियोगितामा समावेस गरिने पनि अध्यक्ष केसीले जानकारी दिनुभएको छ ।भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आर्टतर्फ कराँते, तेक्वान्दो, उसु खेल संचालन गरिने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दान बहादुर राईले बताउनुभयो ।

एथ्लेटिक्सतर्फका खेलहरु बेनीको खुल्ला मञ्चमा, भलिबल बेनीकै कुनै एउटा विद्यालयमा र मार्सल आर्टका खेलहरु कभरहलमा संचालन गर्ने गरि तयारी गरिएको प्रमुख राईले बताउनुभयो ।

विद्यालयमा कक्षा १२ मा अध्ययन गरिरहेका १८ बर्ष मुनिका विद्यार्थीहरु प्रतियोगीतामा सहभागीहुन पाउनेछन । असार २३ र २४ गते पोखरामा आयोजना हुने प्रदेश स्तरीय प्रतियोगीताका लागि जिल्लाबाट प्रशिक्षक सहित १११ जनाको टोली छनौट गरिने भएको छ । जिल्ला स्थित सम्पूर्ण माविहरुलाई खेलाडि सहभागी गराईदिनका लागि अध्यक्ष केसीले अनुरोध समेत गर्नुभएको छ । उहाँले प्रतियोगीता संचालनमा सहयोगका लागि जिल्ला स्थित सवै विद्यालय तथा संघ संस्थालाई आव्हान समेत गर्नुभएको छ ।

प्रदेश खेलकुद परिषदको निर्देशन अनुसार बर्षाको समयमै भएपनि प्रतियोगीता संचालन गर्नुपरेको केसीको भनाई छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सचिव तारामान रोका, भलिबल संघका महासचिव कुमार किसान, तेक्वान्दो प्रशिक्षक कर्ण प्रधान र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।