Thursday, May 15, 2025
28.8 C
Beni
28.8 C
Beni
Thursday, May 15, 2025
Home Blog Page 795

कालिगण्डकीमा बेपत्ता बालिकाको खोजीकार्य जारी

0

म्याग्दीका सदमुकाम बेनीस्थित कालिपुलबाट कालिगण्डकी नदीले बगाउँदा बेपत्ता भएकी बालिकाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५, स्वातभित्ता घर भै हाल कालीपुलमा होटल ब्यवसाय गर्दै आएका तासबहादुर÷एनकुमारी पाइजाकी ७ बर्षिया छोरी साथीसँगै खेल्ने क्रममा कालीपुलको पुरानो पुल नजिकबाट नदीले बगाएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

‘तटिय क्षेत्रमा खोजीकार्य जारी छ,‘बर्खाको समय भएकाले समस्या भइरहेको छ’ प्रनाउ भारतीले भन्नुभयो । शनिवार दिउँसो नदी किनारामा खेल्नेक्रमा छालले बालिकालाइ बगाएपछि सँगै खेल्न गएका साथीले घरमा आएर खवर गरेपछि मात्रै घटना सार्वजनिक भएको थियो ।

बेपत्ता भएकी बालिकाको खोजीमा प्रहरी, आफन्त सहितका टोली जुटेपनि आइतबार साँझसम्म फेला पर्न सकेको छैन । यता बर्खाको समयमा बालबालिकालाई नदी,खोला तथा जोखिमपूर्ण क्षेत्रमा जान निगरानी गर्न समेत अभिभावकलाई अनुरोध गरिएको छ । बर्खाको समयमा तटिय क्षेत्रमा जोखिम मोलेर दाउरा संकलन गर्ने लगायतका गतिविधि समेत हुने गरेको छ ।

बुवाको स्मृतिमा अक्षर चिनेको विद्यालयमा सहयोग

0

स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबाकिलालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना आधारभुत विद्यालयमा अध्ययनरत १३ विद्यार्थीलाई रू १० हजार बराबरको पोशाक वितरण गर्नुभएको थियो ।

आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा स्वर्गीय गौतमले प्राथमिकतहसम्मको शिक्षा लिएको विद्यालयमा छोरामार्फत निरन्तर प्राप्त सहयोगले सहज भएको प्रधानाध्यापक टेकनाथ शर्माले बताउनुभयो । यसअगाडी समेत पत्रकार गौतमार्फत सम्पूर्ण बालबालिकालाई आवश्यक पर्ने स्टेशनरी सहित शैक्षिक साम्रागी सहयोग र गैरसरकारी संस्थामार्फत पुस्तकालय कार्यक्रम समेत प्राप्त भएको प्रअ शर्माको भनाई थियो ।

स्वर्गीय बालकृष्ण गौतम साविकको पूलाचौर गाविस वडा नं १ मा जन्मिएर विद्यालयबाट शिक्षा लिनुभएको थियो । कार्यक्रममा विब्यस अध्यक्ष तेजप्रकाश बानियाँ, शिक्षक अभिभावक संघ अध्यक्षका अध्यक्ष कर्णबहादुर बानियाँले सन्तानमार्फत स्वर्गीय पिताको सम्झनामा प्राप्त सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिन अनुरोध गर्नुभएको थियो ।

म्याग्दीका द्वन्द्वपीडितलाई सम्मान, बेनी आक्रमणका शहिदहरुको सम्मानमा युद्ध सङ्ग्रहालय बनाइने

0

सदरमुकाम बेनीमा आज (आइतबार) स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, द्वन्द्वपीडितहरुलाई सम्मान तथा स्मृति कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ‘यातनापीडितको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस’को सन्दर्भ पारेर द्वन्द्वपीडित अधिकार मञ्च बेनी, म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो ।

बेनी नगरपालिका र एड्भोकेसी फोरमको सहयोग, अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालको समन्वयमा जनप्रतिनिधि, सरोकारवाला र द्वन्द्वपीडितहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको थियो । स्मृति कार्यशाला गोष्ठीमा प्रशिक्षक रमेश अधिकारीले १० वर्षे सशस्त्र द्वन्द्वले पारेको प्रभावलाई स्मृतिमा कसरी उतार्ने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले दशवर्षे द्वन्द्वले पारेको प्रभाव र त्यतिबेला भएका घटनाप्रति अब प्रतिशोधको भावना नराखी स्मृतिको रुपमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले १० वर्षको अवधिमा नेपालमा भएका लँडाइहरुमध्ये म्याग्दी आक्रमण पनि निकै ठूलो भएको बताउँदै नगरपालिकामार्फत तत्कालीन आक्रमणलाई सम्झने खालको संरचना बनाइने बताउनुभयो । उहाँले बेनी आक्रमणमा परी मृत्युवरण गरेका शहिदहरुको सम्मानमा युद्ध सङ्ग्रहालय बनाई जिल्लामा पर्यटन प्रवद्र्धन गरिने जानकारी दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले आफू पनि दशवर्षे सशस्त्र द्वन्द्वबाट पीडित व्यक्ति भएकाले अब नगरपालिकाबाट द्वन्द्वपीडितको घाउमा मल्हम लगाउन आवश्यक पहल थालिने बताउनुभयो । उहाँले दशवर्षे द्वन्द्वले देशमा गणतन्त्र, सङ्घीयता ल्याएको र कतिपय अधिकारहरु संविधानमा लेखिएकाले अब कार्यान्वयन गर्नका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले छुट भएका द्वन्द्वपीडितहरुको नाम समावेश गर्न स्थानीय तहले आवश्यक पहल गर्नुपर्ने बताउँदै द्वन्द्वपीडितलाई जुनसुकै समयमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीका उपसभापति अमर बानियाँ र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल जिल्ला अध्यक्ष देवी केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । बेनी नगरपालिकाको विभिन्न वडाका वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य र द्वन्द्वपीडितहरुको परिवारका सदस्यहरु सहभागी कार्यक्रम द्वन्द्वपीडित अधिकार मञ्चका जिल्ला अध्यक्ष भीमबहादुर रिजालको अध्यक्षता, सचिव सुरेन्द्र खत्रीको सञ्चालन र सहसचिव मिना कार्कीको स्वागतमा सम्पन्न भएको थियो ।

यसैबीच स्मृति कार्यशाला गोष्ठीको अवसरमा आयोजित द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनले पुनः भीमबहादुर रिजालको अध्यक्षतामा नयाँ समिति पुनर्गठन गरेको छ । समितिको उपाध्यक्षमा मिना कार्की, सचिवमा सुरेन्द्र खत्री, कोषाध्यक्षमा देवीकुमारी केसी, सहसचिवमा डोलकुमारी बानियाँ, सदस्यहरुमा योगेन्द्र बानियाँ, जमुना खत्री, ठकबहादुर पूर्जा र देउमाया बुढाथोकी रहनुभएको छ ।

मकै उत्पादनमा आत्मनिर्भर बन्दै म्याग्दी

0

म्याग्दीको फाँटैभरि यतिबेला मकैबाली झुलिरहेको छ । रासायनिक मल अभाव र फौजी किराको प्रकोप देखिएपछि उत्पादन राम्रो हुँदैन कि भनेर चिन्तित बनेका किसान समयमै पानी परेकाले मकैबाली सप्रिदा दङ्ग छन् ।

पाँच वर्षयता म्याग्दी मकै उत्पादनमा आत्मनिर्भर बन्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दैनिक उपभोग गर्नेबाहेक बीउका लागि यहाँ फलेको मकै बाहिरी जिल्लामा समेत बिक्रीवितरण गर्न थालिएको छ । लेकदेखि बेँसीसम्मका अधिकांश जमिनमा मकै खेती हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको ११ हजार हेक्टर जमिनमा वार्षिक ३७ हजार ८१७ टन मकै उत्पादन हुन्छ ।

यहाँ उत्पादन भएको करिब २५ टन मकैको बीउ पर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा, जुम्लालगायत जिल्लासम्म बिक्रीवितरण हुने गरेको छ । कृषि प्राविधिक जगत बानियाँ बीउ मकै उत्पादन गरी बाहिरी जिल्ला पठाउने गरिएको बताउछन् । सिँचाइ, फौजीकिरा नियन्त्रण र आवश्यक मलको प्रबन्ध गर्नसके कृषकले मकैबाट पर्याप्त आम्दानी गर्न सक्ने उनको भनाइ छ । जिल्लामा पपकन सेतो र पपकन पहेंलो जातका मकै १५० हेक्टरमा लगाउने गरिएको छ ।

जिल्लाको एक हजार ६०० मिटरभन्दा तल्लो क्षेत्रमा मनकामना १, ३, देउती, सितला तथा उपल्लो क्षेत्रमा अरुण १, २, हिलपुल सेतो र स्थानीय जातको मकैखेती गरिन्छ । रत्नेचौर, बगरफाँट, घतान, पुलाचौर, सिँगा, पात्लेखेत, झीँ, भगवती, घार र बाबियाचौर क्षेत्रमा मकै खेती बढी गरिन्छ । पछिल्लो समय हरियो मकै बिक्री गरी आम्दानी गर्ने क्रम बढ्दै गएको छ ।रासस

नेपालमै पहिलोपटक द क्लिफमा स्काइ ग्लाइडिङ सञ्चालनमा, कति छ शुल्क ?

0

विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नयाँ साहसिक खेल ‘स्काइ ग्लाइडिङ’ सञ्चालनमा आएको छ ।

स्काइ ग्लाइडिङका लागि करिब १ सय मिटर लामो डोरीको दुईतर्फ टावर निर्माण गरिएको छ । एउटा टावरबाट अर्को टावर जानका लागि तल्लो डोरीमा स्केटबोर्ड राखेर टेक्ने र शरीरमा हार्नेस बाँधेर क्याराविनरको मद्दतले लठ्ठा (फलामे डोरी’ माथि घिर्निमा झुण्डिँदै एक टावरबाट अर्को टावरसम्म चिप्लिँदै पुग्न सकिन्छ ।

टावरमा समानान्तर दुई डोरी भएकाले एकै पटकमा दुई जना सँगै खेल्न सकिन्छ । स्काइ ग्लाइडिङ खेल्न प्रतिब्यक्ती बाह्र सय लाग्ने बताइएको छ । उक्त शुल्कमा सेवाग्राहीले थ्रीसिक्स्टी क्यामेराले कैद गरेको फोटो र भिडियो समेत प्राप्त गर्नेछन् ।

एड्भेन्चरका पारखी आन्तरिक पर्यटकलाई नयाँ अनुभव दिने उदेश्यले स्काइ ग्लाइडिङ सञ्चालनमा ल्याएको द क्लिफ प्रालिका अध्यक्ष राजु कार्की बताउँछन् । बन्जीको र स्विङका लागि प्रख्यात द क्लिफमा अहिले ११ वटा साहसिक खेलहरू सञ्चालनमा छन् । स्काइ क्याफे, हर्स राईडिङ, स्काइ चियर, फ्यामिली पिङ, वसिङ ह्याण्ड, क्रेवी ब्रिज, जाइन्ट पिङ निकै लोकप्रिय छन् ।

स्काइ ग्लाइडिङ सञ्चालनमा आएपछि कुल १२ वटा साहसिक खेल सञ्चालनमा रहने कार्की बताउँछन् । उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गरिएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।

विपन्नको झुपडीमा पुगेर जन्मदिन

0

जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरुको बिचमा आइतबार विहानै बालबालिकाकी अभियान्ता सुनिता बेलबासेले अभावै अभावमा रहेका एक विपन्नको घरमा पुगेर जन्मदिन मनाउनुभएको छ ।

म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौर नालिङ्गबारीमा अर्काको जग्गामा छाप्रो बनाएर बस्नुभएका २३ बर्षदेखि पक्षघात(प्यारालाइसिस)ले ग्रसित७४ बर्षिय लालबहादुर किसानलाई खाद्यान्न,लत्ताकपडा लगायतका अन्य सहयोग गर्नुभएको छ। म्याग्दी जेसीजको प्रस्तावित सदस्य समेत रहनुभएकी बेलबासले म्याग्दी जेसीजका अध्यक्ष सन्दिप खत्री, उपाध्यक्ष विनोद क्षत्री, शाखा सम्पादक दिनेशकुमार विश्वकर्माको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहयोगदाता बेलबासेले जन्मदिनमा अनावश्यक खर्चभन्दा मानवीय सेवामा सहयोग गर्ने आफ्नो चाहना पूरा भएको बताउनुभयो । बेनीअनलाइनले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका लालबहादुरको कम्मरमुनिको भाग राम्रोसँग नचल्ने सहित अवस्थाका बारेमा समाचार प्रकाशित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ घर भई हाल दक्षिण कोरियामा रहनुभएका याम पूर्जा पुनले समेत १० हजारको खाद्यान्न र नगद सहयोग गर्नुभएको थियो ।

म्याग्दीकी लोकगायिका धनकुमारी थापालाई गण्डकी प्रज्ञा नृत्य सम्मान

0

म्याग्दीकी लोकगायिका धनकुमारी थापा गण्डकी प्रज्ञा प्रतिष्ठानबाट सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सव अवसरमा पोखरामा सम्पन्न भएको ‘गण्डकी प्रज्ञा उत्सव’ को अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला स्थायी घर भएकी थापालाई गण्डकी प्रज्ञा नृत्य सम्मानबाट नगद २५ हजार, कदरपत्र र दोसल्लाहले सम्मान गरिएको हो ।

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, प्रतिष्ठान उपकुलपति गोरे गुरुङले सम्मान गर्नुभएको थियो । चिमखोलामा जन्मिएर लोकगित लोकसंगित, लोकदोहोरी, लोकसंगीतलाई जिवन्त तुल्याउन महत्वपूर्ण भूमिका निभाउनु भएको छ ।

बि.स २०४२ सालमा रेडियो नेपालबाट स्वर परीक्षण पास गरेपश्चात निरन्तर लोकसंगीतमा सक्रिय थापा२०४३ सालमा पुराना लोकगीत, भाकाहरु आफ्नै स्वरमा संकलन गरी शिरफुले, सालैजो,यानीमायाँ, मारुनी, साइनो भाका लगायत थुप्रै लोपउन्मुख भाकाहरूमा आफ्नो आवाज दिनुभएको छ ।

सम्मानित थापाले लोकसंगीतमा अझै निरन्तर सक्रिय हुने बताउनुभयो । ‘म्याग्दीको मौलिक कला र संस्कृतिको जर्गेना अझै गर्नुपर्ने छ,‘पूराना भाका सन्ततीहरुका लागि उपहार पनि हो’ थापाले भन्नुभयो । म्याग्दीका हरेक लोकसंगीत कार्यक्रममा अझैपनि लोकगायिका थापा सक्रिय हुनुहुन्छ । म्याग्दीलाई चिनाउने मौलिक गीतसंगीतमा सक्रिय थापाले यसअगाडी समेत थुप्रै स्थानीय तथा राष्ट्रिय सम्मान पाउनुभएको छ ।

म्याग्दीका स्थानीय तहको अनुमानित बजेट ३ अर्ब ८४ लाख

0

म्याग्दीका स्थानीय तहले आर्थिक बर्ष २०७९/०८० का लागि ३ अरर्ब ८४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १ नगरपालिका र ५ गाउँपालिकाले शुक्रबार नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।

बेनी नगरपालिकाले ७३ करोड २२ लाख रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।११औं नगर सभामा प्रस्तुत विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ४६ करोड १४ लाख र पुँजीगततर्फ २७ करोड आठ लाख रुपैयाँ रहेको छ ।

रघुगंगा गाउँपालिकाले ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । १३ औँ गाउँ सभामा सामाजिक सुरक्षा भत्ता बाहेक कुल विनियोजन मध्ये चालुतर्फ ३२ करोड ९० लाख ७५ हजार र पुँजीगततर्फ १३ करोड ९५ लाख ५० हजार बजेट विनियोजन गरेको छ।

????????????????????????????????????

मालिका गाउँपालिकाले ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा तथा संरक्षण भत्ता बाहेक बजेटमा चालुतर्फ २९ करोड ९५ लाख ७० हजार रुपैया र पुँजिगत तर्फ १८ करोड २० लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

मंगला गाउँपालिकाले ४२ करोड ३४ लाख ७० हजार रुपैया बजेट सार्वजनिक गरेको छ । १३ औँ गाउँ सभामा प्रस्तुत भएको बजेटमा चालुतर्फ २७ करोड ७९ लाख ७० हजार रुपैयाँ र पुँजीगततर्फ १४ करोड ५५ लाख ( ३४.३५) प्रतिशत बजेट प्रस्तुत भएको छ । धवलागिरी गाउँपालिकाले ४० करोड ४९ लाख ४९ हजार रुपैया बजेट पारित भएको छ । मुनामा सम्पन्न १६ औँ गाउँसभामा बजेटमा सामाजिक सुरक्षा भत्ता बाहेक सो बजेट सार्वजनिक गरेको छ ।

अन्नपुर्ण गाउँपालिकाले अनुमानित ४९ करोड ७३ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । १५ औँ गाउँसभामा सार्वजनिक बजेटमध्ये चालु खर्च तर्फ ३३ करोड १५ लाख ३७ हजार ४०० रुपैया र पूँजीगत तर्फ १२ करोड १७ लाख ९८ हजार ६ सय र कोषतर्फ २ करोड ५० लाख रुपैयाँ बजेट रहेको छ ।

जिल्लाका पालिकाहरूले आगामि आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा कृषि उत्पादन वृद्धि, बेरोजगार बनेका युवाहरूलाई स्वरोजगार बनाउने तालिम तथा सडक, शिक्षा, स्वास्थ्य, पर्यट पूर्वाधार विकास लगायत क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।

अब बेनीका छाडा पशुचौपायाको ब्यवस्थापन गरिने

0

सदरमुकाम बेनीमा छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिमलाई मध्यनजर गदैं बेनी नगरपालिकाले अलपत्र छोडिएका पशु चौपायलाई व्यवस्थापन गर्ने भएको छ ।

डेढ एक दशकयता साँघुरो बेनीबजारमा जिल्लाका ग्रामीण क्षेत्रबाट लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने चलन बढेपछि बजार क्षेत्रमा देखिने पशुचौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको चौतर्फी गुनासोसँगै चरन क्षेत्र वा गौशालामा व्यवस्थापन गर्ने कार्य सुरु गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

‘पशुधनीको पहिचानमै समस्या भइरहेको छ,’ ‘छाडा चौपाया लैजानेलाई सित्तैमा दिन्छौं’ मेयर केसीले भन्नुभयो । १० देखि १५ वटा गाई मुस्ताङको थासाङ गाउँपालिकाका किसानलाई दिने गरि मुस्ताङ पठाउन छलफल भईरहेको बताइएको छ ।

त्यस्तै शिखका एक कृषकले पनि आफ्नो घरमा पाल्नका लागि २ वटा गाई लैजाने भएका छन । नगरपालिकाले सूचना मार्फत आफ्ना घरपालुवा पशुचौपायलाई बजारक्षेत्रमा छाडा नछोड्न नगरबासीलाई अनुरोध गरेको छ। छाडा पशुचौपायलाई व्यवस्थापन गर्ने कार्य सुरु भएकाले नजिी घरपालुवा पशुचौपायालाई कतै हस्तान्तरण गरेमा नगरपालिकाले जिम्मेबारी लिन नसक्ने शाखा अधिकृत यूवराज थापाद्धारा सूचनामा उल्लेख छ।

घरमा लगेर पाल्न चाहेमा पशुको कानमा नम्वर ट्याक लगाई पठाउने र केही आर्थिक प्रोत्साहन समेत गर्ने घोषणा गरिएको भएपनि हाल नगरपालिकाद्धारा जारी सूचनामा भने आर्थिकका बारेमा उल्लेख छैन् । हाल बेनीबजारमा छाडा छोडिएका २७ वटा पशुहरु रहेका नगरपालिकाले जनाएको छ ।

दुग्ध कृषकले बाहिरी जिल्लाबाट दुधका लागि ल्याएको जर्सी गाई, बर र खेतबारी जोत्न नसक्ने पशुचौपायालाई छोड्ने क्रम रोकिएको छैन् । विगतमा नगरपालिकाको पटक–पटक ध्यानार्कषण गराउँदा समेत व्यवस्थापनमा चासो देखाएको थिएन् । बजारभित्रका केही दुर्घटनाको कारण छाडा पशुचौपाया भएको ट्राफिक प्रहरीको भनाइ छ।

छाडा चौपायालाई नियन्त्रणमा लिएर बिक्री गर्ने वा कान्जी घर बनाएरसमेत राख्न सकिन्छ। कान्जी घरमा राखेर आवश्यक प्रक्रिया पूरा गरी लिलाम गर्न सकिन्छ। स्थानीय सरकारले कार्यविधि नै बनाएर छाडा चौपाया नियन्त्रण गरी लिलाम बिक्री गर्ने व्यवस्था छ।

 

 

मंगला गाउँपालिकाको प्रबक्तामा एकजित रोका चयन

0

मंगला गाउँपालिकाको प्रबक्तामा एकजित रोका चयन हुनुभएको छ । मंगला गाउँपालिकाको १३औं गाउँ सभा तथा कार्यपालिकाको बैठकबाट वडा नं १ का वडा अध्यक्ष एकजीत रोकालाई प्रवक्ता चयन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले जानकारी दिनुभयो ।

गाउँसभाले रोकालाई विधायन समितिको संयोजकको समेत जिम्मेबारी दिएको छ । प्रबक्ता एवम् विधायन समितिको संयोजकको जिम्मेबारी पाएसँगै रोकाले गाउँपालिकाको गतिविधिका बारेमा जानकारी सहित विभिन्न कार्यहरुमार्फत कार्यसम्पादनलाई थप अगाडी बढाउने बताउनुभयो ।

उहाँले गाउँपालिकाको गतिविधिलाई जिल्लाका पत्रकारहरुसंग समन्वय र सहकार्य गरी कार्यपालिकाको सूचना प्रवाहलाई गाउँपालिकाबासी माझ लैजाने बताउनुभयो ।गाँउपालिकामा अध्यक्ष, उपाध्यक्ष पछि बरियताक्रममा प्रबक्तालाई लिने गरिन्छ।

यसैबीच न्यायिक समिति तथा लेखा समितिको संयोजकमा उपाध्यक्ष प्रेमकुमारी अधिकारी, गाँउसभाबाट शुसासन समितिको संयोजकमा वडा नं ५ का अध्यक्ष भुपेन्द्र खत्रीलाई जिम्मेबारी दिएको छ । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले समृत गाउँपालिका बनाउने अभियानमा जनताले दिएको जिम्मेबारीलाई पूर्णरुपमा पालना गर्न समेत अनुरोध गर्नुभएको छ ।