आँखै अगाडी धौलागिरी, अन्नपूर्ण सहित दर्जन हिमश्रृंखला देखिन्छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण तथा प्रचुर प्राकृतिक सम्भाव्यता बोकेको जिल्लाको रघुगङ्गा, मङ्गला,गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित रहेको पर्यटकीयस्थल टोड्केमा हाइअल्टीच्युड खेलमैदान निर्माण हुदै छ।

हिमाल हेदैं खेलकुद प्रतियोगिता समेत सञ्चालन गर्न सक्ने गरी आधुनिक तथा ब्यवस्थित मैदान निर्माणको कार्य सुरू भएको छ । टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन मनिषा निर्माण सेवाले पहिलो चरणमा रु २३ लाख २३ हजार ९१४ मा ठेक्का सम्झौता गरेको छ ।

पर्खाल सहित भलिबल, बास्केटबल लगायतका खेलकुद गतिविधिलाई सञ्चालन गर्न मिल्ने खेलमैदान बनाइने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । ‘नजिकै धौलागिरी हिमाल देखिन्छ,‘खेलमैदान नेपालमै नमुना बनाउन सम्भव छ’ सुबेदीले भने । टोड्केको मालिका मन्दिर आसपासमा बन्ने खेलमैदान नजिकै गुराँसको घना जंगल समेत रहेकाले सिजनमा राताम्मे गुराँस, चाँदी जस्तै टल्किने हिमाल हेदैं खेलकुद गतिविधिको अवलोकन समेत गर्न सकिने बताइएको छ ।

खेलमैदान निर्माण गर्न रु ५१ लाख २० हजार ८८० लागत अनुमान गरिएपनि कुल ५ करोडभन्दा बढी लागतमा थप संरचना समेत बनाइने जनाइएको छ । नेपालमा हाइअल्टीच्युडका खेलमैदानको संख्या कम भएकाले पनि टोड्केमा खेलकुदको माध्यमबाट पर्यटक समेत भित्राउन सकिने टोड्के हिल रिसोर्टका सञ्चालक भिम शेरचनले बताए । ‘यहाँको सम्भावनालाई बेच्न सकेमा पर्यटक थामिनसक्ने आउँछन्,‘अहिले पूर्वाधार विस्तार भएकाले चहलपहल धेरै छ’ उनले भने ।

हाल पर्यटकीयस्थल टोड्केमा पूर्वाधार बनाउन तीन योजना सञ्चालनमा आएको छ । रघुगङ्गा गाउँपालिकाले पदमार्ग, उद्यान, सडक निर्माण गरिरहेको छ । गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा झिँबाट टोड्के जोड्ने पदमार्ग निर्माण भइरहेक अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

उनका अनुसार वडा नं ५ मा पर्ने झिँ गाउँबाट टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुशी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित ५८ लाख दुई हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो । दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुईवटा प्रतीक्षालय र दृष्यावलोकन गर्ने स्थलसहितको उद्यान निर्माणको अन्तिम चरणमा रहेको छ । झिँ–टोड्के सडक निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

सडक र पदमार्ग निर्माण भएसँगै पर्यटकलाई आवतजावतमा सहज हुने छ। टोड्के प्राकृतिको अनुपम उपहार, स्वर्गद्धारीको शाखा आश्रम समेत रहेकाले देशका विभिन्न जिल्लाबाट समय समयमा आएर ऋषिमुनिहरु आएर तपस्या गर्ने गरेका छन् । टोड्केको पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सिमाना जोडिएका तीनै स्थानीय तहले प्रतिबद्धता समेत जनाइसकेका छन् ।

Leave a Reply