हिन्दू धर्मावलम्वीहरूले भगवान विष्णुको अंश मानेर पुजा गर्ने पवित्र शिला ‘शालिग्राम’ पाइने विश्वकै एकमात्र नदी हो कालीगण्डकी । दामोदर कुण्डदेखि मुक्तिनाथ र म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर हुँदै गुल्मीको रिडीसम्मको क्षेत्रमा धार्मिक तथा वैज्ञानिक रूपले समेत महत्वपूर्ण मानिएको शालिग्राम शिला पाइन्छ। बहुमूल्य शालिग्राम पाइने कालीगण्डकी यही क्षेत्र सबैभन्दा बढी दोहन भैरहेको छ।

राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकको गलेश्वर क्षेत्र, कालिपुल बसपार्कमा ठेकेदारले खुलेआम नदीको उत्खनन् गरी ढुंगा निकालेर मनपरी गरिरहेको छ । ग्याबिन जाली र वाल लगाउने वहानामा जमेर बसेका ढुंगालाई स्काभेटरको सहायताले नदीको बीचबाट निकालेर फुटाली झन् जोखिम निम्त्याइँदा समेत सरोकारवाला निकायले मुख खोल्न र काम रोक्न सकेका छैनन्।

जमिनमा एकपटक बसिसकेको ढुंगालाई बगिरहेको नदीको बीचबाट निकालेर भारी मेसिन (स्काभेटर) प्रयोग गरी छियाछिया पारिएको छ। तटबन्ध गरिएको क्षेत्रमा नदी कटान तीव्र रूपमा भैरहेको अवस्थामा नदी उत्खनन् र नदीजन्य वस्तुको चोरी निकासी गर्न सजिलो हुने गरी एक्साभेटर र टिप्पर पु¥याउन सडकसमेत बनाइएको छ। कुनै निकायसँग सम्झौता पनि नगरी र नदी उत्खनन्को मापदण्ड विपरित नदी दोहनलाई सरोकारवाला निकायले टुलुटुलु हेरेर बसेका छन् ।

गत वर्ष कालिगण्डकीमा आएको बाढीले नदीको धार परिवर्तन गरेको स्थानमा तटबन्धका लागि अन्यत्रबाट ढुंगा ल्याएर काम गर्नुपर्नेमा हेभी इक्युपमेण्ट जथाभावी प्रयोग गरी नदीबाट ढुंगा झिक्दा नदीको सतह गहिरिएको छ भने सदरमुकाम कालीपुल सहितको क्षेत्र कटानको जोखिममा छ। सडक र संरक्षणका लागि कालीगण्डकी नदीमा तटबन्ध गर्न थालेको वर्षौं भएको छ। तटबन्धका लागि ठेक्का लिएका ठेकेदारहरूले भने नदी उत्खनन्लाई वहाना बनाए र टन्नै कमाइरहेका छन् ।

उच्च जोखिमयुक्त सदरमुकामको सूचीमा राखिएको म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा नदी नियन्त्रणको वहानामा नदीको तीव्र वेग रोक्नसक्ने ढुंगा निकाल्दा समेत ठेकेदारको प्रभावमा परेर हो वा जिम्मेवारीबाट तल झरेर हो–सरोकारवालाहरूले मुख खोलेका छैनन्।

न कुनै अनुगमन भयो, न त जथाभावी रूपमा नदीको अस्तित्व मासेर टन्ने कुम्ल्याउनेहरूलाई कुनै कारबाही नै! बरु सरोकारवालाहरूको वेवास्ताको फाइदा उठाउँदै ठेकेदारहरूलाई नदी दोहन गर्न थप बल पुगिरह्यो।वातावरणीय परीक्षण प्रतिवेदन र सम्वन्धित कार्यालयसँग भएको सम्झौता विपरित नदीको उत्खनन् हुने गरेको भन्दै रोक्न पटक पटक अनुरोध गर्दा समेत रोक्न नसक्नुमा अदृष्य भूमिका खेलेको देखिन्छ ।

नदीमा रहेका ढुंगाले वर्षामा नदीको वेगलाई रोक्न सघाउँछन्, नदीको छेउछाउ र बीच भागमा रहेका ठूला ढुंगा फुटाउँदा विगतमा कालिगण्डकीले बजार आसपासमा कटान गरेको छ। अब पनि नदी दोहनमा भइरहेको मनपरी रोक्न सजग र सचेत हुन आवश्यक छ । मानवीय त्रुटीले लगातार क्षती हुदाँ अब टुलटुलु हेरेर बस्दा भविस्यमा पछुताउनुको विकल्प हाम्रो सामु हुने छैन् ।

Leave a Reply