आउँदो स्थानीय तहको निर्वाचनमा वडातहमा धमाधम उम्मेदवार छनौट प्रक्रिया अगाडी बढेपनि तीन मुख्य दललाई स्थानीय तहको प्रमुखको उम्मेदवार छनोटको प्रक्रिया चुनौतीपूर्ण बन्ने देखिएको छ। जिल्लामा रहेको १ नगर र पाँच गाउँपालिका प्रमुखमा उम्मेदवार हुन चाहने धेरै भएपछि कसलाई छान्ने भन्ने अन्योलमा छन्।

चुनाव लक्षित घरदैलो अभियान सहितका कार्यक्रममा व्यस्त रहेका ठूला दलले अहिलेसम्म वडामा उम्मेदवार टुंगाउन थालेको अवस्थामा नगर र पालिकामा आकांक्षी धेरै भएपछि आन्तरिक छलफलमा ब्यस्त छन्। सत्ता गठबन्धन पहिलो अनौपचारिक बैठक बसेपनि ठोस निर्णयमा पुग्न सकेको छैन। गठबन्धनको छलफलमा जुटेपनि नेपाली कांग्रेस घरदैलो अभियानमा सक्रिय छ।

अहिलेसम्म कांग्रेसले कुनैपनि पालिकामा वडा अध्यक्ष समेत छनौट गरेको छैन भने नग र र पालिकाभित्रका उम्मेदबारका बारेमा समेत बोलेको छैन्। कांग्रेसको बेनी नगरमा आधा दर्जनभन्दा बढी आकाँक्षी छन् भने केहीले सर्वसम्मतिमा मात्रै मैदानमा उत्रिने भन्दै नेतृत्वलाई मनोबैज्ञानिक दवाव दिइरहेको देखिन्छ।

माओवादी केन्द्रले विभिन्न वडामा अध्यक्षको उम्मेदवार छनौट गरेको छ भने पालिका अध्यक्षमा समेत नेतृत्व तहबाट तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिइएको छ। माओवादीले वडामै उम्मेदवार घोषणा गरेपछि  गठबन्धन भएमा उम्मेदवारलाई ब्यवस्थापन गर्न समस्या हुने देखिन्छ। यता नेकपा एमालमा समेत आँकाक्षीको संख्या धेरै भएपछि आन्तरिक तयारीमा जुटेको छ।

एमालेभित्र नगरपालिकामा चारजना आकाँक्षी छन्। कांग्रेस र नेकपा एमालेमा वडादेखि प्रमुखसम्म हालका जनप्रतिनिधि दोहोरिन चाहन्छन् भने उपप्रमुखहरूले प्रमुखमा प्रतिस्पर्धा गर्न तयार रहेको देखिन्छ। कांग्रेसले जितेको स्थानीय तहमा एमालेबाट उपप्रमुखमा रहेकाहरूलाई अवसर दिनुपर्ने नेकपा एमालेभित्र चर्को दवाव छ।जनमतको हिसाव,अनुभव र मतदातासँग घुलमिल भएकाले पनि पार्टीभित्र लविङ गरेको देखिन्छ भने नेपाली कांग्रेसबाट प्रमुखमा जितेकाहरु दोहोरिएमा उपप्रमुखले समेत आफ्नो तर्क सहितको दावेदारी प्रस्तुत गरेका छन्।यसपटक ठुला दललाई साना दलले समेत चुनावी मैदानबाटै प्रतिस्पर्धाको संकेत गरेका छन्।

एकिकृत समाजवादीले संगठन विस्तारमा ध्यान दिएपनि सातदलीय गठबन्धनमै ध्यान केन्द्रित गरेको छ। नेशनल मंगोलबाट सबै पालिकामा उम्मेदवारीका लागि वडा अध्यक्ष चुन्न थालेको छ  भने राप्रपाले अहिलेसम्म एकल प्रतिस्पर्धा भनेपनि थप छलफल गरेको छैन्। रघुगंगा गाउँपालिकामा स्वतन्त्रका उम्मेदवारको समेत रहरलाग्दो तयारीले थप माहोल तातेको छ। नगर र गाउँपालिकामा प्रमुख र उपप्रमुखमा उम्मेदवार हुन चाहनेको पंक्ति लामै भएकाले सहमति नत्र प्रदेशबाट टुंगो लगाउने ठूला दलको भनाई छ।

जिल्लामा उम्मेदवार छनौटमा कांग्रेस र एमालेमा दवाव र नेकपा माओवादी केन्द्र सहित अन्य साना दलमा सहज देखिन्छ।एउटा पालिकामा ५/७ जनाभन्दा बढी आकांक्षी देखिएका छन्। पार्टीको अभियानमै रहेका नेताहरू उम्मेदवारको आकांक्षी भएपनि आफ्नो चाहना खुलेर बताउन सकेका छैनन भने निकटहरुबाट सामाजिक सञ्जालमा पोष्ट गरी पार्टीमा दवाव दिन खोजेका छन्। ग्रामिण क्षेत्रमा चुनावी चहलपहल बढेसँगै सम्भावित उम्मेदवारबारे चर्चा हुन थालेको मतदाता बताउँछन्।

जिल्लाभित्र वडातहमा समेत अधिकांस पुरानै अनुहार उम्मेदवार बन्ने भएका छन्। अघिल्लो निर्वाचनमा जितेका, जित्ने सम्भावना बोकेका अनुहारलाई प्राथमिकता दिने ठूलो दलको दाउ छ। कांग्रेसको जिल्ला र महाधिवेशनको गुटको प्रभाव देखिने, एमालेभित्र समेत आकाँक्षीको पावर सेन्टरमा चहलपहल र माओवादीले तालमेलबाट जित्ने ठाउँमा उम्मेदवार बन्न निकै पहल गरेको छ।

चैत्र महिनाभित्र सबै दलले उम्मेदवार टुंगो लगाउने निश्चित जस्तै छ। नगर, गाउँपालिका र वडा तहअनुसार आकांक्षीहरूलाई सर्वसम्मत बनाउन दलहरूले कार्यतालिका कसिलो बनाइरहेका छन्। स्थानीय तहको निर्वाचनमा धेरै पालिका जित्ने दललाई आगामी प्रदेश र प्रतिनिधिसभाको यात्रा सहज हुने भएकाले पनि दलहरू आफ्नो सम्पूर्ण शक्ती चुनावमा केन्द्रित गरेका छन्।

Leave a Reply