म्याग्दीको बेनी नगरपालिका वडा नं ५ मा पर्ने पुरण्य गाउँमा १०३ दलित घर परिवारको वस्ती छ । वस्तीमा २ सय ५० भन्दा बढी मतदाता संख्या र ४ सय बढी जनसंख्या छ । यति ठूलो वस्तीमा न खानेपानी छ न त सबै घरमा शौचालय नै छ ।
सदरमुकाम बेनी बजारदेखि एक घण्टा (करिब ८ किलोमिटर)को दुरीमा रहेको यो वस्ती चुनावको बेला निकै चर्चामा रहन्छ। नेताहरुको आजजाउ भैरहन्छ । आश्वासन र प्रलोभनको प्रवचन सुनेर यहाँका सोझासाझा दलित समुदायका मतदाताहरु मख्ख पर्छन ।

च्ुाुनावको बेला मात्र नेताहरु आउँछन् । समस्या सोध्छन् । स्थानीयले खानेपानीको माग गर्छन् । आफू र आफ्नो पार्टीलाई भोट दिए खानेपानीको समस्या समाधान गरिदिने,विद्यालयलाई व्यवस्थित बनाइ स्तरोन्नति गरिदिने, घरघरमा शौचालय निर्माण गरिदिने,गरिब र मजदुरका लागि रोजगारी दिने लगाएतका थुप्रै आश्वासन दिन्छन् । भोट पाउँछन् । चुनाव जित्छन् । चुनाव जितेपछि मतदातासंग गरेका वाचा पूरा गर्नु त कता हो कता अर्को चुनाव नआउन्जेलसम्म नाकमुखै देखाउदैनन् ।
पुरण्य गाउँको यो वास्तविकता धेरैका लागि आश्चर्य लाग्नसक्ने विषय हुनसक्छ ।

तर, यहाँका वासिन्दा अझै पनि एक गाग्री पानी लिनको लागि १ घण्टाको समय खर्चिन पर्ने समस्यामा छन् । दिशा पिसाव गर्नका लागि पाखो वा अर्कैको शौचालयमा पालो पर्खन पर्ने वाध्यतामा छन् । २०७४ सालको स्थानीय तहको पहिलो निर्वाचनमा भोट माग्न गाउँमा आएका राजनीतिक दल र तिनका उम्मेदवारहरुले निर्वाचन पछि दुई महिना भित्रमा नै खानेपानीको समस्या समाधान गरिदिने वाचा गरेका थिए ।

पाँच वर्ष वित्यो । गाउँमा न खानेपानीको समस्या समाधान भयो, न त नेताहरु आएर यहाँका जनताको खैखबर बुझ्ने प्रयास नै गरे । ६० वर्षिया गौमती दर्जीले २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा नेताहरुले दिएको आश्वासन अझै विर्सनुभएको छैन । दमको रोगी दर्जी बिहान ५ बजे नै उठेर गाग्री वोकी गाउँको पुछारमा रहेको धारोमा पानी लिन जाँदा जहिले पनि आश्वासन दिने नेताहरुको वचन सम्झनुहुन्छ ।

दर्जी भन्नुहुन्छ “चुनाव आए नेता आउँछन्, मीठा मीठा आश्वासन दिन्छन् तर कहिल्यै पनि खाने पानी दिँदैनन् । ३० गते हुने चुनावमा भोट माग्न आएका नेताहरुलाई पहिला खानेपानी देऊ अनि बल्ल भोट दिन्छौं भनेका छौं ।”स्थानीय बुद दमाई गाउँमा भोट माग्न आउने नेता र समस्याको बारेमा जानकारी लिन आउने पत्रकारहरुसंग निकै रुष्ट हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ “हामीले बोलेर र तपाइँहरुले लेखेर पनि के भयो र खै ? वर्षौदेखि हामी समस्यै समस्यामा छौं,हामी त नेताहरुका लागि भोट मात्र हौं,जनता कहिल्यै भएनौ,यसपालीको निर्वाचनमा पनि धेरै नेताहरु भोट माग्न आएका छन्,हामीले पहिला खानेपानीको समस्या समाधान गर अनि बल्ल भोट दिन्छौं भनेका छौं,हामी अब नेताहरुको बोलिलाई मात्रै विश्वास गर्दैनौं ।

”उहाँले यही वैशाख २९ गतेसम्म गाउँमा पाइप,बालुवा र सिमेण्ट जसले ल्याइदिन्छ, त्यसैलाई भोट दिने र नल्याइदिएमा मतदान केन्द्रमा गएर मतपत्र खल्तीमा हालेर फर्किने सल्लाह भएको बताउनुभयो ।त्यसैगरी पुरण्य गाउँकै तिलु दमाईले अब नेताहरुको आश्वासनको जवाफ रुखो शब्दले दिने बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रा लागि जुन पार्टी र जो नेता पनि उस्तै भए,सबै कान चिरेका जोगी जस्ता ।

भोट पाए पछि कसैले वास्तै गरेन । एक गाग्री पानी लिन एक घण्टा हिड्नु पर्छ, दिशा पिसाव गर्न अझै पनि पाखो र बारीको कुनोमा लुक्नु पर्छ, यसपालीको चुनावमा त भोट पनि नदिउँ जस्तो लागेको छ ।”

स्थानीय ६८ वर्षिया कालिका दर्जीले “ गाउँमा रहेको एउटा धारोमा बिहान ४ बजेदेखि नै यहाँ भीड लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो “११ वर्षमा बिहे भएर यो गाउँमा आएकी हुँ। त्यतिबेलादेखि नै खानेपानीको समस्या जस्ताको यस्तै छ ।”
दर्जीको जस्तै समस्या यस गाउँका सबै गृहिणीले भोग्दै आएका छन् ।

एक गाग्री पानी भर्नको लागि एक घण्टा नै लाइनमा बस्नु पर्ने बाध्यता भएको स्थानीय पार्वती दर्जीको गुनासो छ । “घरको अरु काम गर्नै भ्याइदैन। विहान धारामै वित्छ,काममा जाने लोग्नेमान्छे र विद्यालय जाने केटाकेटीहरुलाई खाना पकाएर खुवाउन ढिला हुन्छ,अनि गाली आफूले खानुपर्छ” उहाँले भन्नुभयो “अरु गाउँका घरघरमा धारा छन्, हाम्रो गाउँमा गाउँभरीकै मान्छेका लागि जम्मा एउटा धारो छ ।”गाउँको माझमा गणेश दर्जीको भत्किनै लागेको घर छ ।

झट्ट हेर्दा ठाँटी जस्तो देखिने दर्जीको घरमा दुईजना छोराछोरी सहित दर्जी दम्पति गरी ४ जना बस्ने गर्छन । पानी पर्दा चुहिने छानो फेर्न नसकेका दर्जीले ज्याला मजदुरी गरेर गुजारा चलाउनुहुन्छ । उहाँ भन्नुहुन्छ “घर नामको एउटा छाप्रो छ, तर लालपुर्जा छैन, पैसा नभएर शौचालय समेत बनाउन सकेको छैन,हाम्रो व्यथा कसले बुझिदेला ।”

बाक्लो बस्ती भएको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताहरुबाट खुब मीठामीठा आश्वास मिल्ने गरेका तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको स्थानीय अगुवा हिराबहादुर परियारले बताउनुभयो ।
“हामी जहिल्यै पनि राजनीतिक दलहरुका लागि भोट बैंकको रुपमा प्रयोग भयौं ।

दलित भएकै कारण सबै राजनीतिक दलहरुबाट हेपिँदै आएका छौं । अहिलेसम्म चुनावको बेला आश्वासन बाहेक अरु केही पाउन सकेनौं ” उहाँले भन्नुभयो “चुनाव सकियो भने यो गाउँमा नेताहरुले नाकमुखै देखाउँदैनन् ।”

जिल्ला स्थित राजनीतिक दलहरुले मात्रै होइन स्थानीय तहका जनप्रतिनिधिहरुले समेत यस गाउँलाई वेवास्ता गर्ने गरेको उनीहरुको आरोप रहेको छ ।“हाम्रो भोटले नै जितेर गएका जनप्रतिनिधिले चुनावको बेला बाहेक अरु समयमा हामीलाई फर्केर पनि हेर्दैनन । खानेपानी र मोटरबाटोको मर्मतका लागि कति पटक यहाँका जनप्रतिनिधिलाई भन्यौं तर सुनेको नसुन्यै गरे” स्थानीय लालबहादुर परियारले भन्नुभयो ।

यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्षको उम्मेदवार बन्नुभएका यामबहादुर बानियाँले आँफू निर्वाचित भएपछि सवै भन्दा पहिला पुरण्यको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply