१२ औँ राष्ट्रिय राष्ट्रपति खेलकुद प्रतियोगितामा म्याग्दीकी गिता थजालीको निकै चर्चा भयो । गण्डकी प्रदेशको कबड्डी टोलीबाट सहभागीअन्नपूर्ण गाउँपालिका–४,नारच्याङकी थजालीले प्रदेशभरीबाट छनौट भएका खेलाडीको नेतृत्व गरिन् । अघिल्ला प्रतियोगितामा महिला कबड्डीमा पदक विहिन हुने गण्डकी प्रदेशले यसपटक दोस्रो हुदै रजत पदक हात पारेपछि खेलाडीहरूलाई प्रदेशका प्रशिक्षक उत्साहित हुदैं बधाई दिए।

फाइनल खेलमा सुदरपश्चिम प्रदेशसँग ६६–३९ ले पराजित भएको गण्डकी प्रदेशले खेलमा रणनीति अनुसार प्रर्दशन गर्न नसकेको प्रशिक्षक टोलीका सदस्य राजकुमार परियारले बताए।

‘पदकविहिन हुने अवस्थाको अन्त्य भयो,‘खेलाडीबिचको तालमेलको अभावले उपविजता भएपनि म्याग्देली खेलाडीको खेल उत्कृष्ट थियो’ परियारले भने । म्याग्दीबाट राष्ट्रिय टोलीमा छनौट भएकी थजालीसँगै गोमा विकको खेल सन्तोषजनक नै रहेको बताउँदै थप प्रशिक्षण् पाएमा राष्ट्रियटोली बाटै खेल्न सक्ने अवस्था रहेको बताइएको छ।

नारच्याङको प्रभा माविबाट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जितेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएकी कप्तान थजालीले म्याग्दीलाई प्रदेशमा समेत प्रथम बनाउन सफल भएकी थिईन् ।

जिल्ला र प्रदेशमा स्वर्ण पदक जितेकी थजालीले राष्ट्रियस्तरमा समेत रजत जितेर यसपटक पदकविहिन हुनबाट जोगाएकी छन्। कबड्डी खेलमा थजालीको नियमित मेहनतले राष्ट्रियस्तरका प्रशिक्षको समेत नजरमा परेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

राष्ट्रिय टोलीमा प्रवेशका लागि यसपटकको खेलले बाटो खोलिदिएको प्रशिक्षक परियारको भनाई छ । जिल्ला र प्रदेशमा दुईपटक सहभागी भएकी थजालीले यसटक राष्ट्रियस्तरको खेलको प्रदेशबाट नेतृत्व गर्न पाउनु अवसर भएको बताईन् । उनले आगामी दिनमा कबड्डीबाट थप प्रगतिका लागि निरन्तर मेहनत गर्ने बताईन् ।

म्याग्दीबाट कबड्डी खेलमा पुरुष टिमको प्रदर्शन प्रदेशमा समेत स्थापित हुन नसकेको अवस्थामा महिला टोलीको खेलले प्रशिक्षक समेत उत्साहित छन् । म्याग्दीमा विद्यालयस्तर प्रतियोगितामा नारच्याङकको प्रभा माविलाई कबड्डीको केन्द्रविन्दु मानिन्छ । जिल्लामा हुने कबड्डीमा खेलमा प्रभा माविको वरीपरी स्वर्णपदक घुमे जस्तै गण्डकी प्रदेशमा समेत म्याग्दीले कबड्डीबाट नाम कमाउन सफल भएको छ ।

प्रशिक्षक र पूर्वाधार अभावका कारण खेलाडीले सोचे अनुसारको सफलता हात पार्न नसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए । उनले यसपटक सिमित तयारीमा जिल्लामा खेल सम्पन्न गरिएकाले खेलाडीको पहिचान राष्ट्रियस्तरसम्म पुगेको बताए ।

पछिल्लो समय म्याग्दीमा फुटबल, भलिबल पछि युवा पुस्तामा यस खेलप्रतिको आकर्षण पनि गज्जबको रहेको अध्यक्ष केसीको भनाई छ । जिल्लाभित्र खेलाडीहरू खेल जीवनले घर धान्न नसकेपछि लामो समय टिकिरहन नसक्ने अवस्था नहुँदा खेलबाट पलायन हुनुपर्ने अवस्था रहेको खेलाडीको भनाई छ ।

 

Leave a Reply