स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आज (बिहीबार) सदरमुकाम बेनीमा जिल्लामा क्रियाशील पत्रकारहरुसँग छलफलका साथै अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा स्वास्थ्य कार्यालयमार्फत जिल्लामा सञ्चालित कार्यक्रमहरुको कार्य विवरण प्रगतिको विषयमा समीक्षा गरिएको हो ।

चालु आवमा स्वास्थ्य कार्यालय म्याग्दीबाट जिल्लामा सञ्चालित कार्यक्रमको समग्र विषयमा जानकारी तथा वित्तीय एवं भौतिक प्रगतिबारे समीक्षा गर्ने उद्देश्यसहित छलफल र अन्तत्र्रिmया गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यक्रममाथि सहजीकरण गर्दै स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले चालु वर्षमा सञ्चालित टाईफाइड विरुद्धको खोप अभियान ९६ प्रतिशत सफल भएको बताउनुभयो ।

निमित्त प्रमुख लम्सालले १५ वर्षमूनिका बालबालिकाहरुलाई लक्षित गरेर सञ्चालन भएको टाईफाइड विरुद्धको खोप अभियान जिल्लाको सबै स्थानीय तहमा सञ्चालन गरिएकोमा केही स्थानीय तहमा लक्षित समूहभन्दा धेरैले खोप पाएको जानकारी दिनुभयो । उक्त खोप अभियानअन्तर्गत बेनी नगरपालिकामा सबैभन्दा धेरै १ सय १३ प्रतिशतले खोप पाएका छन्भने मालिका गाउँपालिकामा १ सय ७, धवलागिरिमा १ सय, मंगलामा ८६, रघुगंगामा ७८ र अन्नपूर्ण गाउँपालिकामा सबैभन्दा कम ६७ प्रतिशतले खोप पाएको तथ्याङ्क छ ।

देशैभर सञ्चालित टाईफाइड खोप अभियानअन्तर्गत म्याग्दीका केही स्थानीय तहमा अपेक्षाभन्दा धेरैले खोप पाएको स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कमा उल्लेख गरिएको छ । चालु वर्षमा स्वास्थ्य कार्यालयको भौतिक प्रगतितर्फ ९४ प्रतिशत भएकोमा वित्तीय प्रगति भने ७५ प्रतिशत रहेको छ । तर यो वित्तीय प्रगतिमा भने प्रतिशतका हिसाबले केही तलमाथि पर्न सक्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो । चालु वर्षमा स्वास्थ्य कार्यालयलाई प्राप्त सशर्ततर्फ कुल बजेटको ६५ प्रतिशत खर्च भएको छ भने मुख्यमन्त्री कोरोना मृत्यु दावी रकम भुक्तानीतर्फ ९३ प्रतिशत खर्च भएको छ ।

यसैगरी समानीकरणतर्फ ८३ प्रतिशत र पुँजीगततर्फ ९९ प्रतिशत बजेट खर्च भएको जनाइएको छ । चालु वर्षमा सर्शत, राष्ट्रिय खोप कार्यक्रम र समानीकरणअन्तर्गत विभिन्न शीर्षकमा प्राप्त कार्यक्रमहरु सम्पन्न भएका छन् । कार्यालयमार्फत विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को विरुद्धमा स्वाब सङ्कलन, कन्ट्याक्ट ट्रेसिङ, एन्टिजेन र पिसिआर विधिबाट कोरोना परीक्षण, अनुगमन, निरीक्षण तथा प्रचारप्रसारलगायत उच्च सतकर्ताका लागि प्रभावकारी रुपमा कार्यक्रमहरु सञ्चालन भएका छन् ।

त्यस्तै चालु वर्षमै म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुको नियमित स्वास्थ्य चेकजाँच एवं उपचार तथा स्थानीय तहसँगको समन्वयमा आँखा, नाक, कान, घाँटी, दन्त सेवासहित अन्य स्वास्थ्य सेवाहरु समेत प्रदान गरिएको थियो । कोरोनाबाट मृत्यु भएका मृतकका परिवारले दावी गरेका सबै ५१ जनालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँको दरले राहतस्वरुप आर्थिक सहयोग रकम उपलब्ध गराइएको छ ।

कार्यक्रमको समापन गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले स्वास्थ्य कार्यालय म्याग्दीमार्फत सञ्चालित कार्यक्रमहरु प्रभावकारी रहेकोमा यसलाई थप प्रभावकारी बनाउनका लागि सञ्चार क्षेत्रबाट आवश्यक प्रचारप्रसारमा सहयोग हुने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply