वैशाख यता मात्रै बागलुङमा चट्याङबाट पाँच जनाले ज्यान गुमाइसकेका छन् । बागलुङमा चट्याङबाट बर्सेनि ठूलो जनधनको क्षति भइरहेको छ । चट्याङबाट बच्न नागरिक सेचत हुन आवश्यक छ ।

जिल्लामा मनसुन जन्य प्राकृतिक प्रकोप बढ्दो अवस्थामा रहँदा विपद् व्यवस्थापन कार्यको तयारी थालिएको छ । भनिन्छ–‘विपति बाजा बजाएर आउँदैन ।’ त्यसैले हरेक वर्षायामसँगै अपुरणीय जनधनको क्षति हुन्छ ।

यस्तो क्षतिमा स्थानीय सरकार, सरोकारवाला र स्वयं आमनागरिकले पूर्ववत् सचेतता, योजना र तयारीमा यथेष्ट ध्यान दिनसके विपत्ति रोक्न सकिने ठाउँमा नियन्त्रणसमेत गर्न सकिन्छ भने विपत्ति रोक्न नसकिने अवस्थामा क्षति न्यूनीकरण गर्न सकिन्छ ।

त्यसैले मनसुनको समयमा जिल्ला विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापनको पूर्वतयारी गर्ने गरेको पाइन्छ ।

जिल्लाभरमा जोखिमयुक्त क्षेत्रको पहिचान, त्यसको संवेदनशीलताको आधारमा वर्गीकरण, जोखिम प्रभावित क्षेत्रका नागरिकलाई स्थान्तरण या सचेतता, सहयोग, विपद् या भवितव्यमा उद्धारका लागि जनशक्ति, यन्त्र उपकरण र स्रोत साधनको यथोचित व्यवस्थापनमा भएको खण्डमा विपद्जन्य घटनामा केही भए पनि कम हुनेछन् ।

जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन समितिको बैठकबाट विपद् न्यूनीकरणका लागि सम्पूर्ण सरोकारवाला निकायलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिए ।

“विपद् व्यवस्थापनको तयारी जुनसुकै समयमा गरिन्छ तर बर्सातको समयमा अली बढी सचेत हुनै आवश्यक छ, हामीले सबै पालिकामा रहेका विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाएका छौँ, विपद्का लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आफ्नै तयारी गरिरहेका छन्”, सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “विपद्जन्य घटनाबाट कम क्षति हुनलाई पूर्वतयारी आवश्यक छ, स्थानीय तहमा भएका औजार, उपकरण, दमकल तथा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न भनिएको छ, जहाँ विपद्को घटना हुन्छ त्यही पालिकामा भएको संरचना परिचालन हुन्छ, आवश्यक परे जिल्लास्तरीय विपद् व्यवस्थापन समिति परिचालन हुन्छ ।”

विपद्का घटना न्यूनीकरणका लागि सबै स्थानीय तहमा क्विक रेस्पोन्स टिमसमेत बनाइएको छ । बागलुङ जिल्ला प्रशासनले लाइफलाइन सडकका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरलाई नियमित सञ्चालन, विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने डोजर, एस्काभेटर, एम्बुलेन्स, दमकललगायतका स्रोत साधन तत्कालै पठाउन मिल्ने गरी तयारी अवस्थामा राख्न सडक डिभिजन, अस्पताल तथा आयोजना कार्यालयलाई निर्देशन गरिएको छ भने पालिकालाई आफ्नो पालिकाभित्रको पहिरो पन्छाउन सहयोग पुग्ने आवश्यक उपकरण तयारी अवस्थामा राख्न भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षा निकायलाई तयारी अवस्था राखिएको, स्वास्थ्यकर्मीको समूह तयार गरिएको बताउँदै उद्धारमा कुनै समस्या नहुनेगरी आवश्यक पूर्वतयारी गरिएको जनाएको छ ।

Leave a Reply