भारतीय सेनाको प्रारम्भिक छनाेटमा परी कागजात लिन नेपाल आएका म्याग्दीका सुरेन्द्र खत्री २०६३ असार १२ गतेदेखि कहिल्यै भारत फर्किएनन् । घर नजिकै बाख्रा चराउन गएका खत्रीको तत्कालीन विद्रोही माओवादीले वेवारिसे छाडेको बम पड्किदा दुवै हात गुमाए । त्यसपछि उनले भारतीय सेना बन्ने सपना सदाका लागि बिट मारे ।

प्लाष्टिकमा बेरिएको अवस्थामा भेटिएको अज्ञात वस्तु खोल्न खोज्दा एक्कासी पड्किएपछि केसीका दवै हात गुमे । तत्कालीन समयमा राज्य पक्ष र विद्रोही पक्ष दुवैबाट त्रसित हुनुपर्ने अवस्था थियो । त्यो क्षण सम्झदै केसी भन्छन्, ‘त्यतिबेला गाडीको सहज पहुँच थिएन, उपचार गर्न पोखरा जान दुई नदी तर्नु पर्थ्याे, राज्यपक्षले माओवादी भनेर दु:ख दिन्थ्याे ।’ शरीरमा बमका छर्रासहित उनलाई पोखरा क्षेत्रीय अस्पताल लगियो ।

अस्पताल नजिक नहुँदा उपचारमा भएको ढिलाइले उनका दुवै हात काटियो । पहिलो पटक होस् आएपछिको क्षण सम्झदै खत्रीले भने, ‘पहिलो पटक दुवै हात काटिएको अवस्थामा आफैलाई देख्दा पृथ्वी नै रोकिएको भान भयो, जीवनमा कति सपना थिए, के के गरौंला भन्ने आँट थियो, सबै सकिए जस्तो लाग्यो ।’

सुरुमा जीवन नै अर्थहीन लागेको सुनाउँदै गाउँघरमा अवोध ३ महिने छोरी जन्मिएपछि यस्तो भयो भनेर छोरीलाई अलक्षिणासम्म भन्न भ्याएको तितो सत्य आफूसँग रहेको खत्री बताउँछन् ।

उनका बाबु भारतीय सेनामा कार्यरत थिए । उनका बुबाले सुरेन्द्रलाई पनि भारतीय सेना बनाउँन खोजेका थिए । तर, उनको सपना भने पूरा हुन सकेन । दुवै हात गुमाएपछि जीवन नै सकिएको निष्कर्ष निकालेका खत्रीको पीडामा भने उनकी श्रीमती एलिना खत्री उनका हात बनिन् । माइतीले अब यसले केही गर्न सक्दैन अर्को विवाह गर भन्दा पनि एलिनाले सुरेन्द्रको साथ छोडिनन् । उनको घटना भएपछि पत्रिकामा स्टोरीपछि अष्ट्रेलियन नागरिकले उनलाई थप उपचार गर्न अष्ट्रेलिय लगे । अष्ट्रेलिया हुँदाको अनुभवले नेपालमा फर्केर अपाङ्गता क्षेत्रमा काम गर्ने हौसला बढेको उनी सुनाउँछन् ।

उनी भन्छन्, ‘अष्ट्रेलियामा बिताएका तीन महिना नै मेरो जीवन जिउने आत्मविश्वास बन्यो, हामीलाई अपाङ्गताको महशुस गराउने त हामीले बनाएका भौतिक संरचना र सामाजिक दृष्टिकोण पो रहेछन्, यो संसारमा कोही पनि शारीरिक रुपमा सर्वगुण सम्पन्न त छैनन् नि ।’ अपाङ्गता भएकै कारण समाजमा अपहेलित हुनुपर्दा भने मन दुख्ने गरेको उनको दुखेसो छ । राज्यले १० वर्षे ‘जनयुद्ध’मा बन्दुक बोकेका र मारिएका व्यक्तिलाई मात्र घाइते भन्ने गरेको भन्दै द्वन्द्वको चपेटामा परी घाइते भएका नागरिकलाई भने वेवास्था गरेको उनको गुनासो छ ।

304909238_1228511381324952_1921799745738131505_n1662294682.jpg
यस्तै बर्दियाका अशोक सोडारीलाई अझै पनि खुट्टा आफैसँग छ जस्तो लाग्ने रहेछ । २०५८ मंसिर २६ गते राति सोडारीले दाहिने खुट्टा सदाका लागि गुमाए । तत्कालीन विद्रोही समूह माओवादीले काकासँगको जग्गा विवादलाई लिएर उनको एउटा खुट्टा नै काम नलाग्ने गरी यातना दिए ।

त्यतिबेला गाउँ माओवादीमय थियो । तर उनी तरुण दलको गाउँ इकाई सचिव थिए । तत्कालीन समयमा उनका बुवा र काकाबीच भएको जग्गा विवाद अदालतसम्म पुगेको थियो । मुद्दा हारेको झोंकमा उनका काकाले परिवारै सिध्याई दिने धम्की दिएका थिए ।

काका माओवादीमा थिए । राति करिव ११ बजेतिर उनको घरमा करिव दुई सयको संख्यामा आएका माओवादीहरूले उनका दुवै खुट्टा अचानोमा राखी बञ्चरोले हानी निर्मम कुटपिट गरी बाटोमा लगेर फाली दिए । घटना पश्चात उनकी श्रीमतीले उनलाई उपचारका लागि नेपालगन्ज लगिन् । नेपालगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगियो तर, उनको खुट्टा भने फर्किएन । ‘राति सुतेको बेला खुट्टा छ जस्तो लाग्ने रहेछ, जब उठेर टेक्न खोज्छु भुईंमा पछारिन्छु, कहिलेकाही त बेहोस नै हुन्छु’, सोडारीले भने ।

जेनतेन भएको पैसाले किर्तिम खुट्टा त हाले तर, अहिले आर्थिक अभावले परिवारै पाल्न धौ धौ बनेको सोडारीको गुनासो छ । सोडारी भन्छन्, ‘खुट्टा गुमेकै कारण सबै भताभुङ्ग भयो, मन त छ अलि ठूलो व्यापार गरुँ, भताभुङ्ग भएको परिवारिक स्थितिलाई फेरि ठिकठाक गरुँ, तर न त पैसाले साथ दिन्छ न त स्वास्थ्यले नै ।’

भावुक मुद्रामा आफ्नो तस्वीर देखाउँदै दोषीलाई कारवाही गरी चौपट बनेको परिवारको स्थिति सुधार्ने मेसो सरकारले जुटाई दिए आफूमाथि ठूलो राहत हुने सोडारीको भनाइ छ ।

304787864_1223620191826814_5735793710721211438_n1662294702.jpg
उल्लेखित दुई पात्र दशक लामो द्वन्द्वमा परी घाइते हुने सर्वसाधारण नागरिकका प्रतिनिधिमुलक पात्र मात्र हुन् । २०५२ देखि २०६३ बीच चर्केको एक दशक लामो द्वन्द्वमा १७ हजार बढीले ज्यान गुमाए । १३ सय ५० भन्दा धेरै वेपत्ता पारिए, भने हजारौंले यातना भोगे, घाइते भए, विस्थापित भए, यौन हिंसाको सिकार बने । फस्वरुप थुप्रै द्वन्द्वपीडित द्वन्द्वले सिर्जेका अपाङ्गतासहित बाँचिरहेका छन् । बम विष्फोटन, भौतिक यातना तथा अन्य कारणले अपाङ्ग बनाइएका व्यक्तिहरूको एकिन तथ्यांक भने छैन ।

२०६३ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएयता स्थापना भएको सत्य निरुपण तथा मेलमिलाप आयोगको स्थापनापछि पीडितहरू राज्यले आफ्नो घाउमा मल्हम लगाउला भन्ने आशामा बाँचिरहेका छन् ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालको आयोजनामा तत्कालीन युद्धका कारण पीडा भोग्न बाध्य सर्वसाधारणको कथा भन्ने तस्वीर प्रदर्शन गरिएको छ ।

घाइते भएपछि उनीहरूले अहिले भोगिरहेका समस्या, राज्यप्रति उनीहरूका गुनासो, घटनाको विवरण समेटेर बनाइएको कथाको सारांश तस्वीरको दायाँ, बायाँ वा तल, माथि नेपाली र अंग्रेजी दुवै भाषामा राखिएको छ ।

उनीहरूको कथा अडियोमासमेत सुन्ने व्यवस्था गरिएको छ । तस्वीर अवलोकन गर्न पुगेका वीरेन्द्रनगर ३ का बुद्धिसिंह ठकुरीले बर्दीयाका हेमराज थारूको तस्वीर हेरेपछि युद्धका जीवित स्मृतिको रुपमा पाएको बताए । दायाँ हात गुमाएका हेमराजले बायाँ हातले साइकलको ह्याण्डल समातेर नियन्त्रण गरिरहेका छन् । राज्यले युद्धमा परी घाइते भएकाहरूको यो अवस्था नदेख्नु पीडितहरूप्रतिको उपेक्षा रहेको सिंहको भनाइ ।

राज्यले पीडितलाई न्याय दिलाउने कानुन पीडितको पक्षमा हुनेगरी संशोधन हुनुपर्ने सञ्जालका अध्यक्ष सुरेन्द्र खत्री बताउँछन् । द्वन्द्वका कारण हामी जस्ता सर्वसाधारणहरू पीडा भोगिरहेका छौं, पछिल्लो पुस्ताले जानोस् र भोलि हुन सक्ने यस्ता पीडादायी युद्धलाई अस्वीकार गर्ने भावना जागोस् भन्ने उद्देश्य आफूहरूको रहेका अध्यक्ष खत्रीको भनाइ छ । पीडा भोगेका सर्वसाधारणको घटनाको बारेमा सत्यतथ्य छानबिन गरी सरकारले यथाशीघ्र न्याय दिनुपर्ने माग खत्रीको छ ।

304770430_790964995382265_3444228782697081122_n1662294723.jpg
तत्कालीन युद्धरत पक्षबट पाएको यातना, विष्फोटक पदार्थ विष्फोटन गोली वा अन्य चोटका कारणले अपाङ्गताका साथ बाँचिरहेका सर्वसाधरण द्वन्द्व  पीडितहरूको साझा संगठनको रुपमा स्थापना भएको संस्थाले देशभर छरिएर रहेका अपाङ्गता भएका द्वन्द्व पीडितहरूलाई संगठित गरी उनीहरूको आवाज र कथालाई प्रभावकारी रुपमा अगाडि ल्याउने उद्देश्य राखेको सञ्जालले कुनै पनि रुपमा पनि युद्धरत पक्षसँग सम्लग्न नभएका तर द्वन्द्वबाट पीडित बनेका ३ सय जना सर्वसाधारणको तस्वीर र कथा समेटेको छ । यो अभियान कर्णालीका दुई जिल्ला सुर्खेत र कालिकोट हुँदै सुदूरपश्चिमको कैलाली पुगेर समापन हुने सञ्जालका अध्यक्ष खत्रीले बताए । Source:-shilapatra.com

Leave a Reply