दलित समुदायका व्यक्तिले मन्दिर छोएको भन्दै कुटपिट गरेको आरोपमा बाजुराको त्रिवेणी नगरपालिका–७ का वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् । वडाध्यक्ष जुद्धबहादुर अयडीलगायतले कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि मंगलबार कुटपिट गरेको बाजुरा प्रहरीले जनाएको छ ।

नाटेश्वरी मन्दिर छोएको भन्दै वडाध्यक्षसहित स्थानीय रंग उपाध्याय र विनोद अयडीले कुटपिट गरेको पीडितको आरोप छ । वडाध्यक्ष अयडी बुधबार साँझ र विनोद बिहीबार पक्राउ परिसकेका छन् भने उपाध्याय फरार छन् ।

बाजुराका प्रहरी प्रमुख डीएसपी सूर्यबहादुर थापाका अनुसार पीडित सुनारले दिएको जाहेरीमा उनी नाटेश्वरी मन्दिरमा नवरात्रि पूजामा बसेको अवस्थामा रंग उपाध्याय र विनोद अयडीले मन्दिर छोएको भन्दै पूजा सामग्री फाल्दै कुटपिट गरेको उल्लेख छ ।

उनीहरूलाई सँगै रहेका वडाध्यक्ष अयडीले पनि साथ दिएको सुनारको भनाइ छ । सुनारले ६० हजार नगदसमेत लुटेको आरोप लगाएका छन् । उनको आँखामा गहिरो चोट लागेको छ । वडाध्यक्ष अयडीले भने कुटपिटमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् ।

 

Leave a Reply