निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने व्यक्तिले कर, राजस्व, शुल्क, दस्तुर तिर्न बाँकी नरहेको घोषणा गर्नुपर्ने  जनाएको छ । उम्मेदवार दर्ताको दुई दिनअघि आयोगले विज्ञप्ति जारी गर्दै उम्मेदवार बन्नेहरूले स्वघोषणा गर्नुपर्ने सूचीमा सरकारी पेस्की, बेरुजु तिर्न बाँकी नरहेको घोषणा गर्नुपर्ने उल्लेख छ । त्यसैगरी उम्मेदवार हुने व्यक्तिले विदेशको स्थायी आवासीय अनुमति पत्र (डीभी/पीआर) नलिएको हुनुपर्ने बताए ।

‘स्वघोषणा प्रत्येक उम्मेदवारले आफ्नो मनोनयनपत्र पेश गर्नुपर्ने भएकाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मिति २०७९ असोज २३ गते बिहान १० बजेदेखि अपराह्न ६ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने भएकाले मनोनयन दर्ता गर्नुअगावै स्पष्ट भई स्वघोषणापत्रमा दस्तखत गर्नुहुन जानकारी गराइन्छ,’ आयोगले भनेको छ‚ ‘उम्मेदवारले आफैं घोषणा गरेको विषयमा कुनै प्रश्न उठेमा सोको निरूपण गर्ने दायित्व उम्मेदवार स्वयंको हुने व्यहोरासमेत सर्वसाधारणको जानकारीका लागि अनुरोध गरिन्छ ।’

निर्वाचन आयोगले जारी गरेको सूची गर्न हुने वा नहुने विषयहरू निम्नानुसार रहेका छन्:

स्वघोषणा गर्नुपर्ने विषय

(क) नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको ।

(ख) पच्चीस वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको ।

(ग) प्रतिनिधिसभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको,

(घ) कुनै सङ्घीय कानूनले अयोग्य नभएको ।

(ङ) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको ।

(च) सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको ।

(छ) प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ग), (घ), (ङ), (च), (छ), (ज), (झ) र (ञ)÷ प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ग), (घ), (ङ), (च), (छ), (ज), (झ) र (ञ) बमोजिमको अयोग्यता नभएको ।

(ज) निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (३) बमोजिम कारवाही नभएको ।

(झ) प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको लागि कुनै दलको बन्दसूचीमा नाम नरहेको ।

(ञ) प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि अन्य कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारको लागि मनोनयन पत्र पेश नगरेको ।

(ट) कुनै पनि सरकारी निकायलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको ।

(ठ) सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको ।

(ड) संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमति पत्र (डिभी/पीआर) नलिएको ।

(ढ) न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिवाना तिर्न बुझाउन बाँकी नरहेको ।

(ण) प्रचलित कानून बमोजिम कुनै सरकारी निकायलाई बुझाउनु पर्ने कर, राजस्व, शुल्क, दस्तुर तिर्न बुझाउन बाँकी नरहेको ।

(त) निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिवद्ध रहेको ।

(थ) नेपालको संविधान, कानून र निर्वाचन ऐन, नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिवद्ध रहेको ।

(द) म उम्मेदवार भएको पदमा निर्वाचित भएको अवस्थामा मैले मनोनयन पत्र साथ सिलबन्दी रूपमा पेश गरेको सम्पत्ति विवरण निर्वाचन आयोगबाट सार्वजनिक गर्न मेरो मञ्जुरी छ ।

कसले उम्मेदवार बन्न पाउँदैनन्

१. प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ग), (घ), (ङ), (च), (छ), (ज), (झ) र (ञ) को व्यवस्था

(ग) निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,

(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो पैmसला अन्तिम भएको,

(ङ) सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तब्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(च) जातीय भेदभाव तथा छुवाछूत, बोक्सा बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,

(छ) खण्ड (घ) र (ङ) मा उल्लिखित कसूर बाहेक अन्य कसूरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(ज) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभर,

(झ) कैदमा बसेकोमा कैद बसेको अवधिभर,

(ञ) मानसिक सन्तुलन ठीक नभएको,

२. प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ग), (घ), (ङ), (च), छ), (ज), (झ) र (ञ) को व्यवस्था ः

(ग) निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,

(घ)भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,

(ङ) सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(च) जातीय भेदभाव तथा छुवाछूत, बोक्सा बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,

(छ) खण्ड (घ) र (ङ) मा उल्लिखित कसूर बाहेक अन्य कसूरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(ज) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभर,

(झ) कैदमा बसेकोमा कैद बसेको अवधिभर,

(ञ) मानसिक सन्तुलन ठीक नभएको ।

Leave a Reply