तीन राष्ट्रिय कीर्तिमानसहित म्याग्दीकी तारादेवी पुनले नवौं राष्ट्रिय खेलकुदको भाराेत्ताेलनमा स्वर्ण पदक जितेकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगिताको तेस्रो दिन महिला ८१ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीन वटा राष्ट्रिय कीर्तिमान बनाइन् ।
उनले स्न्याचमा ७० केजी र क्लिन एण्ड जर्कमा १०२ गरी कुल १७२ केजी भार वहन गरिन् । यो स्पर्धामा यसअघि लक्ष्मी बमको नाममा राष्ट्रिय कीर्तिमान थियो । उनले १३औं दक्षिण एसियाली खेलकुद सागमा लक्ष्मीले स्न्याचमा ६९, क्लिन एण्ड जर्कमा ८७ गरी कुल १५६ केजी भार वहन गरी राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।
तीन वटा कीर्तिमान बनाएकी तारदेदी राष्ट्रिय खेलकुदमा लगातार ६ स्वर्ण जित्ने एकमात्र खेलाडी हुन् । उनले २०५५ मा मध्यपश्चिममा भएको चाैथाे राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चल भलिबल टिमबाट स्वर्ण जितेकी थिइन् ।
नेपाल पुलिसमा अनुबन्ध भएयता भाराेत्ताेलन खेल्न थालेकी उनले पाँचाैदेखि नवाैं राष्ट्रिय खेलकुदसम्म लगातार स्वर्ण जितिन् । १०० किलो भन्दा बढी भार वहन गर्ने उनी एकमात्र नेपाली महिला खेलाडी हुन्। महिला ८१ केजी तौल समूहमा एपीएफकी अञ्जली श्रेष्ठले स्न्याचमा ५३ र क्लिन एण्ड जर्कमा ६९ गरी कुल १२१ केजी भार वहन गरी रजत जितिन् ।
सुदूरपश्चिमकी चम्पाकुमारी ठकुल्ला ले कांस्य जितिन् । उनले स्न्याचमा ४० र क्लिन एण्ड जर्कमा ६० गरी कुल १०० केजी भार वहन गरिन् ।