पोखरा पुनलाई छुट्टै जातीका रुपमा सूचिकृत गर्ने अभियानमा जुटेको पुन समाज नेपाल केन्द्रीय समितिले आफ्नो भाषा, धर्म र संस्कृतिको चिनारी दिने पुस्तक ‘पुन जाति र भाषा’ प्रकाशन गरेको छ। उक्त पुस्तक शनिबार पोखरामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति संस्कृतिविद् प्रा.डा. जगमान गुरुङले लोकापर्ण गर्नुभयो।

संस्कृतिविद् डा. तुलसी प्रभास खनालले सम्पादन गरेको पुस्तकमा पुन जातिको संस्कार, संस्कृति, गीत, संगीत, पुन जातिको लिखित र अलिखित इतिहास, पौराणिक किवंदन्ती । शव्दावली समावेश छन्। पुन जातिको भाषा, धर्म, संस्कार, संस्कृति, भेषभुषा, भुगोल, इतिहास आदिको प्रमाणिकरण तथा संरक्षण सम्बर्धन गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको पुन समाज नेपालका विदेश विभाग प्रमुख चामबहादुर पुनले जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथि निमित्त कुलपति गुरुङले सबै जाति तथा समुदायले आफ्नो भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो । विभिन्न जातजातिको सांस्कृतिक विविधतालेनै नेपाल समुन्नथ राष्ट्र रहेकाले नेपाल सांस्कृतिक रुपमा विश्वमै धनी रहेको र यसले राष्ट्रिय एकतालाई मजुवत बनाउने उहाँले बताउनु भयो। पुन समाज नेपालका अध्यक्ष भीमबहादुर फगामी पुनले पुनहरु एउटा जाति रहेको र उनीहरुको भाषा, धर्म, संस्कार र संस्कृतिको राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो पहिचान नखोज्ने तर अरुको पहिचानमा रमाउने प्रवित्ति आत्मघाती हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभिन्न जाति तथा समाजका अध्यक्ष तथा प्रतिनिधिहरुले पुस्तक प्रकाशन भएकामा खुशी व्यक्त गर्दै आफ्नो संस्कार र संस्कृति संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभएको थियो । पुन समाज नेपालका अध्यक्ष भीमबहादुर फगामी पुनको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गर्वुजा पुन र सञ्चालन महासचिव खिमन सेर्पुजा पुनले गर्नुभएको थियो । कार्यक्रममा पुनहरुको पौराणिक नृत्य सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Leave a Reply