प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी प्रचार कार्यक्रमलाई तीव्र पारेका छन् । म्याग्दीमा पनि नेकपा एमाले र वाम–लोकतान्त्रिक गठबन्धन दल तथा उम्मेदवारले गाउँगाउँमा पुगेर घरदैलोसहित मतदाता भेटघाट गरेका हुन् ।

भोलि (बिहीबार)देखि खुला आमसभा तथा प्रचारप्रसारका कार्यक्रमहरु सञ्चालन गर्न पाइने भएपछि आज (बुधवार)सम्म भने राजनीतिक दल तथा तिनका उम्मेदवारहरुले घरदैलो र मतदाता भेटघाट एवं टोल, वस्तीमा पुगेर भेला गरेका थिए । यसैक्रममा नेकपा एमाले म्याग्दीले बुधबार रघुगंगा गाउँपालिका–३, पिप्लेको विभिन्न टोल तथा वस्तीस्तरमा पुगेर घरदैलोमार्फत मतदातालाई भेटघाट गरी भोट मागेको जनाएको छ ।

एमाले म्याग्दीबाट प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठ, प्रदेश सभा (क)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षत्रीसहित एमाले नेता, कार्यकर्ताहरुको टोलीले घरदैलो कार्यक्रममार्फत एमाले पार्टी र एमालेका उम्मेदवारलाई भोट मागेको हो । घरदैलो कार्यक्रममार्फत मतदातालाई भेटघाट गर्दै प्रतिनिधि सभाका उम्मेदवार श्रेष्ठले जिल्लाको विकास निर्माण तथा आर्थिक समृद्धिको योजनासहित आफू चुनावमा उठेकाले मत दिएर जिताउन आग्रह गर्नुभयो । उहाँले आफू लामो समयदेखि राजनीतिक क्षेत्रमा क्रियाशील रहेको बताउँदै यसपटक जनताको सेवा गर्ने चाहनासहित पार्टीमार्फत उम्मेदवार बनेको हुँदा एमालेको सुुर्य चिन्हमा मतदान गरी विजयी बनाउनुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा प्रदेश सभा (क)का उम्मेदवार क्षत्रीले देशको विकास गर्ने स्पष्ट नीति र भिजन एमालेसँग भएको बताउँदै एमालेको पक्षमा मतदान गर्न मतदाताहरुलाई अपिल गर्नुभयो । उहाँले यसअघि पनि आफू दुईपटक जनप्रतिनिधिको भूमिका निर्वाह गरेको अनुभव सङ्गालेको बताउँदै बाँकी रहेका कामलाई पूर्णता दिन आफू चुनावी मैदानमा उत्रिएकाले सेवा गर्ने अवसर प्रदान गर्नुपर्नेमा मतदातालाई आग्रह गर्नुभएको छ । कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदी, रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष दिपक बिखर्ची, सचिव झलक शर्मा र युवा संघका संयोजक मनोज खत्रीले पनि एमाले पार्टी र उम्मेदवारलाई भोट माग्नुभएको छ ।

यसैगरी प्रदेश सभा (ख)का उम्मेदवार यामबहादुर गर्बुजा, एमाले धवलागिरि गाउँपालिका कमिटी अध्यक्ष रेशम छन्त्याल र प्रदेश सभा (ख) निर्वाचन परिचालन समन्वय कमिटी सचिव प्रगति कार्कीसहितको टोलीले मुदीको विभिन्न टोलमा पुगेर घरदैलो गरी मतदातालाई भेटेर भोट मागेका छन् । सो क्रममा उम्मेदवार गर्बुजाले जिल्लाको स्रोतसाधनको परिचालनसहित समुचित विकास गर्न तथा स्वदेशमै युवा स्वरोजगार सिर्जना गर्ने आफ्नो चुनावी एजेण्डा रहेको भन्दै आफू र एमाले पार्टीको पक्षमा मत दिन अनुरोध गर्नुभयो ।

Leave a Reply