सार्वजनिक किरियापुत्रि भवनमा किरिया बस्न माग गर्दा जातिय भेदभाव भएको मुद्धामा जिल्ला अदालत कास्कीले आरोपी तीन जनालाई जनही एक बर्ष कैद, ५० हजार जरिवाना र पीडितलाई एक लाख रुपयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश अवनीमैनाली भट्टराईको ईजलासले सोमवार पोखराको वाटुलेचौरका पीडक देववहादुर थापा, रामवहादुर जिसी र जनक क्षेत्रीलाई जनही एक बर्ष कैद, जनही ५० हजार जरिवानसहित पीडित मोहनकुमार सुनारलाई एक लाख क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो । क्षतिपूर्तिवापतको रकम पीडकवाट नै भराउन फैसलामा उल्लेख छ ।

न्यायाधीश भट्टराईले जातिय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाँय ) ऐन २०६८ को दफा ७ को १ (क) अनुसार फैसला गरेकी हुन । उक्त ऐनको दफामा जातिय विभेद र अन्य भेदभाव गरेमा अभियुक्तलाई तीन महिनादेखि ३ बर्षसम्म कैद सजाय, ५० हजारदेखि २ लाख जरिवाना, पीडितलाई २ लाखसम्म क्षतिपूर्तिको व्यवस्था गरेको छ ।

पोखरा महानगरपालिका १६ वाटुलेचौरमा रहेको सार्वजनिक किरियापुत्रि भवनमा किरिया बस्नका लागि चावी माग्दा कतिथ उपल्लोजातिका केहि व्यक्तिहरुले स्थानीय मोहनकुमार सुनारलाई जातिय भेदभावसहित गालीगलौज गरेपछि पीडित न्यायको प्रहरी र अदालतमा पुगेका थिए । सरकारवादी मुद्धामा जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला सहायक न्यायाधीवक्ता महेश अर्याल र पीडितकोतर्फवाट शिव सुनारले वहस गरेका थिए ।

घटनाको साडे दुई बर्षपछि फैसलाले न्याय मिलेको पीडित मोहनका छोरा प्रकास सुनारले वताए । उनले न्यायका पक्षमा उभिने अदालत, अधिकारकर्मी, संचारकर्मी सबैलाई हार्दिक धन्यवाद व्यक्त गरे । मोहनले दाइ सम्मरवहादुर सुनारको ०७६ चैतमा दुबईमा मृत्यु भएपछि किरिया बस्नको लागि घर नजिकैको गैहको खोरस्थित सार्वजनिक जग्गामा वनाईएको किरियापुत्रि भवन प्रयोग गर्न  चावी मागेका थिए । तर शोकमा रहेका मोहन र सम्मरवहादुरका छोरा मनोजलाई क्षत्री समुदायका केहि व्यक्तिले कथित तल्लो जातलाई दिन नमिल्ने भन्दै गाली गलौजसहित विभेद गरेका थिए ।

पोखराको वाटुलेचौरमा २०७६ साल चैत २७ र २०७७ बैशाख १४ गते किरियापुत्री भवनको चावी माग्दा मोहन सुनारलाई भेदभाव गरिएपछि पीडितले बैशाखको १८ गते जाहेरी दिएका थिए । जाहेरी दिएको केहि समयपछि प्रहरीले आरोपिहरुलाई पक्राउ गरेर अदालतमा थुनछेकको वहस हुँदा उनीहरु जनही १ लाख ७० हजार धरौटीमा रिहा भएका थिए । पीडितकोतर्फवाट वहस गरेका शिव सुनारले अदालतको फैसलाले जातिय विभेदमा परेका पीडितलाई न्याय दिदै भेदभावका विरुद्ध सकारात्मक शशक्त सन्देश दिएको वताए ।

Leave a Reply