‘इन्गेजमेन्ट’ टुट्दा व्यवसायी घरानाकी एक युवतीले प्रेमीको घरमा पुगेर आत्मदाह गरेकी छन्। केल्मी नेपालकी अपरेसन म्यानेजर २७ वर्षीया पुष्पा न्यौपानेले बीभत्स ढंगबाट आत्मदाह गरेकी हुन्। काठमाडौं महानगरपालिका–४ धुम्बाराहीका २९ वर्षीय सुधन संग्रौलासँग पुष्पाको ‘इन्गेजमेन्ट’ भएको थियो।

पारिवारिक स्रोतका अनुसार दुवैजनाबीच २०७८ माघमा चिनजान भएको थियो। त्यतिबेलादेखि नै उनीहरू प्रेम सम्बन्धमा थिए। त्यसबारे दुवैका अभिभावकलाई समेत जानकारी थियो। सोहीअनुसार भदौ १८ गते एक वर्षभित्र विवाह गर्नेगरी दुवैको ‘इन्गेजमेन्ट’ भएको थियो। संग्रौला परिवारले गत शनिबार काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित न्यौपाने परिवारको घरमै पुगेर इन्गेजमेन्ट तोडेको जानकारी गराएको थियो। यसरी विवाह तोडिएपछि पुष्पा विक्षिप्त अवस्थामा पुगेकी थिइन्।

आइतबार साँझ ७ बजे एकाएक धुम्बाराहीस्थित संग्रौला परिवारको घरअघि पुष्पाले शरीरमा आगो लगाएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। उद्धारपछि उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल बर्न सेन्टरमा पु¥याइएको प्रहरीले जनाएको छ। उपचारकै क्रममा सोमबार बिहान ९ः२२ मा उनको मृत्यु भएको जनाइएको छ।

पुष्पाले दरबारमार्गस्थित केल्मी नेपालको सोरुमको नेतृत्व गर्दै आएकी थिइन्। केल्मी खेलकुद पहिरन र सामग्री उत्पादनमा अन्तर्राष्ट्रिय स्तरमै चर्चित ब्रान्ड हो। पुष्पा अध्ययन र व्यावसायिक नेतृत्वमा अब्बल ढंगबाट अघि बढिरहेको उनका काका उत्तम न्यौपाने बताउँछन्। उत्तम केल्मी नेपालको म्यानेजिङ डाइरेक्टर हुन्।

‘पढाइ र व्यवसाय दुवैमा छोरी अब्बल नै थिई। आफ्नो व्यावसायिक प्रवद्र्धनमा खेलकुद तथा सुरक्षा क्षेत्रका उच्च पदस्थ व्यक्ति र सेलिबे्रटीसँग चिनजान र डिल गर्न सक्ने हैसियत बनाएकी थिई,’ उनले भने।

संग्रौला परिवार पनि व्यवसायमै संलग्न रहेको छ। काठमाडौंको न्युरोडस्थित रञ्जना गल्लीमा उनीहरूको पसल रहेको पुष्पाका काका उत्तमले जानकारी दिए। गत माघमा दरबारमार्गस्थित केल्मीकै सोरुममा आउँदा सुधन र पुष्पाबीच चिनजान भएको पारिवारिक स्रोतको दाबी छ। सोही चिनजानबाट उनीहरू प्रेममा परेको पुष्पाका काका उत्तमले बताए।

‘मलाई छोरीले कुनै कुरा लुकाउँदिनथी। आफ्नो प्रेम सम्बन्धबारे पनि प्रस्टसँगै भनेकी थिई,’ नागरिकसँगको कुराकानीमा उनले भने, ‘उनी (संग्रौला) हरूको परिवारसँग मेरो पहिल्यैदेखि चिनजान थियो।

त्यसो भएकाले हामीले नाइँनास्ती गर्ने कुरै थिएन।’ बरु आफूले दुवैले एकअर्कालाई राम्रोसँग चिनजान गरेर उचित निर्णयमा पुग्न सुझाएको उनले बताए। ‘हामी पनि व्यवसायी र उनीहरू पनि व्यवसायी भएकाले रोजाइ मिल्न गयो। त्यसो भएकाले मैले राम्ररी चिनजान गर्ने, बानीव्यवहार बुझ्ने र अनि निर्णयमा पुग्ने सुझाव दिएको थिएँ,’ उनले भने।

यसै क्रममा दुवै परिवार केटाकेटीसँग परस्पर घुलमिल भएको उत्तमको दाबी छ। ‘सुधनका आमाबुवा नै छोरीसँग बढी घुलमिल भएका थिए। सुधनकी आमा नै खाजादेखि खानासम्म छोरीलाई पु¥याउँथिन्,’ उनले भने।

यति धेरै कुरा अगाडि बढिसकेपछि भदौ १८ गते दुवै परिवारको सहमतिमा एक वर्षभित्र विवाह गर्नेगरी ‘इन्गेजमेन्ट’ भएको थियो। ‘इन्गेजमेन्टपछि पारिवारिक सम्बन्ध झन् झाँगिएको थियो,’ मृतक पुष्पाका काका उत्तमले भने, ‘छोरीको खुसीमा हामी पनि खुसी नै थियौं।’

गत दसैंताका सुधनका बुवा दिनेशले आफूलाई फोन गरेर विवाहबारे सन्देहात्मक कुरा गरेको पुष्पाका काका उत्तम सम्झन्छन्। उनी भन्छन्, ‘उहाँले फोन गर्नुभयो। आफ्नो छोरालाई तनाव दिएको कुरा गर्दै थिए। मैले भेटेर कुरा गरौं भने।’ त्यसपछि भेटेर कुरा गर्दा अहिल्यै आवेगमा कुनै निर्णय नलिन आफूले अनुरोध गरेको बताए।

यसै क्रममा गत शनिबार (१७ गते) बुद्धनगरस्थित न्यौपानेको परिवारको घरमा आएर संग्रौला परिवारले इन्गेजमेन्ट तोडेको पुष्पाका काका उत्तमले जानकारी दिए। त्यसक्रममा इन्गेजमेन्टमा लिएदिएका जनैसुपारी, दक्षिणा र गरगहनासमेत फिर्ता गरिएको उनले बताए। त्यसपछि पनि आइतबार (१८ गते) पुष्पालाई आफ्नो घर बोलाएर मानसिक तनाव दिने काम भएको उत्तमको दाबी छ। ‘सम्बन्ध तोडिसकेपछि किन बोलाउनु ? बारम्बार किन टर्चर दिनु ?’ उनले भने। त्यसपछि बाहिर निस्किएर घरको गेटमा आई पुष्पाले आत्मदाहको प्रयास गरेको उनको दाबी छ।

आत्महत्या दुरुत्साहनको आरोप  

पुष्पाको मृत्युपछि न्यौपाने परिवारले संग्रौला परिवारविरुद्ध आत्महत्या दुरुत्साहनको आरोप लगाएको छ। सोमबारै पुष्पाका काका उत्तमले केटा सुधन, उनका बुवा ५७ वर्षका दिनेश संग्रौला, आमा ५७ वर्षीया बिन्दु र दाइ २९ वर्षीय मधु संग्रौला गरी चारजनाविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को आरोपमा महानगरीय वृत्त महाराजगन्जमा किटानी जाहेरी दिएका छन्।

जाहेरीमा निश्चय भएको विवाह एकाएक तोडेर पुष्पालाई मानसिक यातना दिएको, त्यसअघि पनि मानसिक यातना दिने गरेको, पुष्पाले ‘म मर्नुभन्दा अर्को विकल्प रहेन’ भनेर जानकारी गराउँदागराउँदै पनि फेरि घरमा बोलाएर मानसिक यातना दिएर मर्न बाध्य पारेको उल्लेख छ। यस्तै आफ्नै घरको गेटमा पुगेर पेट्रोल छर्केर आत्महत्या गर्न लाग्दा त्यसलाई रोक्नुको साटो उल्टै दुरुत्साहन गरेको आरोप जाहेरीमा लगाइएको छ। आगो लगाइसकेपछि पनि बचाउनुको सट्टा आफूलाई फोन गरेर ‘तपाईंको छोरीजस्तै लाग्ने महिलाले शरीरमा पेट्रोल खन्याई आगो लगाएर आत्महत्या गर्दै छिन्’ भनेर दुरुत्साहन गरेको जाहेरीमा उल्लेख छ।

‘जेसुकै भए पनि आत्महत्या गर्न खोज्दा बचाउनु मानवीय धर्म हो। उहाँहरूले बचाउनसम्म खोज्नुभएन,’ पुष्पाका काका उत्तमले भने, ‘प्रहरीले आएर उद्धार गर्दासम्म उहाँहरू मूकदर्शक भएर हेरिरहनुभयो।’ जाहेरीपछि सोमबारै प्रहरीले आरोपित चारैजनालाई पक्राउ गरेको थियो। त्यसपछि मंगलबार चारैजनालाई जिल्ला अदालत काठमाडौंमा पेस पनि गरेको थियो। तर अदालतले सुधनबाहेक अन्यलाई हिरासतमा राख्न अनुमति दिएन। त्यसपछि बाँकी तीनजनालाई हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए। nagariknews.com

Leave a Reply