कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा सञ्चालक रहेको कम्पनीको काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-११ मा अवस्थित कार्यालयमा आगलागी भएपछि उनको कम्पनीले घरधनीलाई आर्थिक सहायता दिने भएको छ।  पूर्जाका साथै मिंग्मा ग्याबु शेर्पा (डेभिड) र मिंग्मा तेञ्जी शेर्पासहित तीन जनाद्वारा सञ्चालित इलाइट हिमालयन एड्भेन्चर प्रालिले घरधनीलाई एक करोड रुपैयाँ सहयोग घोषणा गरेको हो ।

कम्पनीका एक सञ्चालक मिंग्मा ग्याबु शेर्पाले एक वक्तव्य जारी गरी आगलागीका कारण घरधनीलाई क्षति पुगेकोमा दु:ख व्यक्त गर्दै कम्पनीका तर्फबाट सहयोग घोषणा गरिएको जनाएका छन् ।  आगलागीका कारण घरमा अनुमानित एक करोड २० लाख रुपैयां क्षति पुगेको र २० लाख त्यहाँ रहेका सामग्रीहरुको पुन:प्रयोगबाट पूर्ति हुन सक्ने भएकाले १ करोड सहयोग उपलब्ध गराउने निर्णय गरिएको कम्पनीको भनाइ छ ।

आगलागीबाट कम्पनीका तीन कर्मचारीको निधन भएको एवम् करोडौँको क्षति पुगेका बेला समेत घरको आवश्यक मर्मतको बन्दोबस्त हुने गरी सहयोग दिइने जनाइएको छ।

यसैबीच, आगलागीपछि घरधनीले विभिन्न मिडिया र सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्ति र आरोपहरुको कम्पनीले खण्डन गरेको छ।कम्पनीको सामर्थ्यले भ्याउन नसक्ने परिमाणको क्षतिपूर्ति मागिएको तथा कम्पनी र सञ्चालकहरुको मान प्रतिष्ठामा आँच पुग्ने गरी भ्रम फैलाइएको आरोप वक्तव्यमा लगाइएको छ।

उता, बेलायतस्थित निर्मल पूर्जाको परिवारले पनि भ्रामक समाचार फैलाइएको भन्दै आपत्ति जनाएको छ । निर्मलका दाई कमलप्रसाद पूर्जाले आफ्नो भाइ निर्दोष रहेको उल्लेख गर्दै उनको लोकप्रियता देखेर रिस गर्नेहरुले इज्जत प्रतिष्ठामा आंच आउने गरि कपोलकल्पित अनावश्यक हल्ला फिंजाएको बताए ।

निर्मल पूर्जाले ब्रिटिश आर्मीको जागिर छाडेर हिमाल आरोहणमा नयां विश्व कीर्तिमान राख्न नेपाल गएका थिए । उनी बेलायत आउजाउ गरिरहन्छन् ।

Leave a Reply