म्याग्दीको परिचय लाहुरेहरुको जिल्लाबाट सुरु भएर प्रकृति, पौरखी र प्रतिभावानहरुको संगम भएको ठाउँ भनेर चिनिने अवस्थासम्म आइपुगेको छ । म्याग्दीलाई यहाँसम्म ल्याइपु¥याउन धेरै व्यक्तिहरुले विभिन्न क्षेत्रहरुमा महत्वपूर्ण योगदान र अनुकरणीय कामहरु गरेका छन् ।

पछिल्लो समय म्याग्दीलाई महावीर पुनको जिल्ला,निर्मल पूर्जाको जिल्ला,खड्ग गर्बुजाको जिल्ला,घोडेपानी र धौलागिरिको जिल्ला,टिम्मुर र सिस्नो विदेश पठाउने जिल्ला,जलविद्युतको जिल्ला,कला र संस्कृतिको धनी जिल्ला,धेरै रेमिट्यान्स भित्रिने जिल्ला भनेर चिनिन थालिए पनि भौतिक पूर्वाधार र विकासलाई पर्यटनसँग जोडेर यहाँको प्रकृति र पहिचानलाई संसारसम्म पु¥याउन भने अझ बाँकी नै छ ।

म्याग्दी चिनाउने अभियान अन्तर्गत प्रयासहरु हुँदै नभएका भने होइनन् । समयसमयमा धेरै प्रयासहरु गरिए पनि ती प्रयासहरुले सार्थकता पाउन भने अझै पनि सकिरहेका छैनन् । विकास राजनीतिसँग जोडिने विषय हो ।

राजनीतिक पहुँच र नेतृत्वसँगको बलियो पकड भएका जिल्लाहरु छोटो समयमा नै विकासको सोपान चढ्न सफल भएका छन् । उदाहरणको लागि छिमेकी जिल्ला पर्वतलाई लिन सकिन्छ ।

विकासको दृष्टिकोणले हेर्ने हो भने म्याग्दीको राजनीति सन्तोष मान्ने अवस्थामा नरहे पनि राजनीति इतरका अन्य क्षेत्रहरु भने विस्तारै उकालो लागिरहेका अनुभव गर्न सकिन्छ । म्याग्दीको मुहार उजिल्याउने उद्धेश्य बताउँदै समय समयमा विभिन्न संघसंस्था र समुदायहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरेका छन् । ती कार्यक्रममध्येको एउटा कार्यक्रम हो म्याग्दी महोत्वसको कार्यक्रम ।

म्याग्दी महोत्सवमार्फत जिल्लाको पहिचान कति बन्यो त्यो समिक्षाको अलग्गै विषय बन्ला । तर कला,संस्कृति,पर्यटन,व्यापार–व्यवसाय र स्थानीय उत्पादनसँग साइनो लगाएर आयोजना हुँदै आएका महोत्सवका ६ वटा श्रृङ्खला मनोरञ्जनका माध्यम मात्रै भए वा उद्धेश्य अनुरुपको उपलव्धी पनि भयो ? यसको जवाफ आयोजक संस्था उद्योग वाणिज्य संघले देला नै ।

यही पुस २८ गतेदेखि सातौं म्याग्दी महोत्वस सदरमुकाम बेनीमा सुरु हुँदै छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ देखि माघ ७ गतेसम्म बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागिएको हो ।

बेनीमा माघे संक्रान्ति पर्वको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलालाई निरन्तरता दिँदै कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धन र सम्भावनाहरुको उजागरमा सघाउन महोत्सव आयोजना गरिएको आयोजक संस्था म्याग्दी उद्योग बाणिज्य संघले जनाएको छ ।

म्याग्दी महोत्सवमार्फत जिल्लाको पहिचानलाई व्यापक बनाउने र थप सम्भावनाहरुको खोजी सहित साविकका सम्भावनाहरुको सदुपयोग गरी जिल्लालाई समृद्धितर्फ अघि बढाउने उद्धेश्यले आयोजना गरिएको म्याग्दी महोत्सवमा म्याग्दी भ्रमणमा आउन आयोजक म्याग्दी उद्योग वाणिज्य संघले सबैलाई निमन्त्रणा गरेको छ ।

‘उद्योग,व्यापार र कलाको विकास गरौं,संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रबद्र्धन गरौं’ भन्ने भन्ने मुख्य उद्धेश्य सहित सातांै म्याग्दी महोत्सव,माघेसक्रान्ति मेला एवम् ४ नम्बर प्रदेश स्तरीय कृषि,पर्यटन,औधोगिक व्यापार मेला—२०७९ आयोजना गरिएको हो ।

मनोरञ्जनका अतिरिक्त लक्षित उद्धेश्य समेत राखिएको यस्ता मेला महोत्सवले जिल्लाको पहिचान र चिनारीलाई फराकिलो बनाउन र सम्भावनाहरुको उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छन् र खेल्नुपर्छ । आसन्न म्याग्दी महोत्सवले पनि म्याग्दी जिल्लाको पहिचानलाई देश विदेशसम्म पु¥याउन, सम्भावनाहरुको सदुपयोग गरी आयआर्जन र पर्यटन विकासमा सघाउ पु¥याउन सहयोगी भूमिका खेल्न सकोस् शुभकामना छ ।

म्याग्दी महोत्सवको सातांै श्रृङ्खलामा पनि विगतका श्रृङ्खलाहरुकै पुनरावृत्ति हुने हो भने यसले लिएको उद्धेश्य सफल हुनेछ र महोत्सव फलदायी हुनेछ भनेर आशा गर्ने ठाउँ रहदैन। महोत्सवको उद्धेश्य जिल्लाका उद्योग,व्यापार र कलाको विकास गर्ने र त्यसैको माध्यमबाट संस्कृति संरक्षण गर्दै पर्यटन प्रर्बद्धन गर्ने हो भने सबैभन्दा पहिला जिल्लाको रैथाने सीप,प्रविधि,उत्पादन,जनजीवन,लोकसंस्कृति र जनशक्तिको सहीरुपमा सदुपयोग र तत्तत् क्षेत्रमा लागेका जनशक्तिलाई अवसर दिइनु पर्दछ ।

जिल्ला बनाउने र जिल्ला चिनाउने अभियानको रुपमा महोत्सवलाई लिइने हो भने आयातित प्रविधि,संस्कृति र जनशक्ति (कलाकारदेखि खेलाडीसम्म) लाई भन्दा बढी स्थानीय प्रविधि,संस्कृति र जनशक्तिलाई महत्व दिइनुपर्दछ।

म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीमा रहेका उद्योगी र व्यापारीहरुको छाता संगठन हो। तर उद्योग वाणिज्य संघ मुख्य आयोजक रहेको म्याग्दी महोत्सव भने उद्योगी र व्यापारीहरुको महोत्सव मात्रै होइन भन्ने कुरा आयोजकले बुझ्नुपर्दछ । महोत्सवमा सीमित व्यक्तिहरुको मात्र मनलाग्दो चल्ने परम्पराको अन्त्य हुनु जरुरी छ । सबै क्षेत्र र वर्गका म्याग्देलीहरुले महोत्सवको अपनत्वबोध गर्ने वातावरण मिलाइनुपर्दछ । जिल्लाको इज्जत र प्रतिष्ठालाई कायम राख्नु सबैको दायित्व हो भन्ने जिम्मेवारी बोध गराउन आयोजक संस्थाका प्रतिनिधिहरुको व्यवहार र कार्यशैलीले पनि महत्वपूर्ण अर्थ राख्दछ ।

म्याग्दी महोत्सव सबै म्याग्देलीको साझा महोत्सव हो । यसले जिल्लाको पहिचानलाई फराकिलो बनाउँदै आर्थिक उपार्जनका सम्भावना र विकासको ढोका खोल्न सक्यो भने मात्र महोत्सव फलदायी बनेको अनुभूत गर्न सकिने छ । अन्यथा रसरङ र खानपानमै रमाउने मेला भन्दा म्याग्दी महोत्सवलाई अन्य अर्थमा बुझ्न नसकिने अवस्था उत्पन्न हुने छ । यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।

Leave a Reply