सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री–वितरण, कला, संस्कृति र भेषभूषाको जगेर्ना साथै म्याग्दीका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

अध्यक्ष कटुवालको संयोजकत्वमा मूल व्यवस्थापन समितिसहित विभिन्न ३९ वटा उपसमितिहरु गठन गरेर महोत्सवको तयारीलाई अगाडि बढाइएको छ । महोत्सवमा आयतर्फ कुल एक करोड २४ लाख ८७ हजार रुपैयाँ प्रस्ताव गरिएको छ भने व्ययतर्फ एक करोड १५ लाख ७७ हजार दुईसय ११ रुपैयाँ प्रस्ताव गरिएको छ ।

म्याग्दीको बेनीमा २०५७ सालदेखि माघेसङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो । हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौं महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण यसवर्ष आयोजना गरिएको हो। अध्यक्ष बेलबहादुर कटुवालसँग बेनीअनलाइनले गरेको कुराकानीको संक्षेप ः

म्याग्दी महोत्सवको तयारी कहाँ पुग्यो ?
म्याग्दीको सदरमुकाम बेनीमा पुस महिनाको २८ गतेदेखि माघ ७ गतेसम्म (१० दिन) सातौं संस्करणको म्याग्दी महोत्सवको तयारी तिब्र छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको करिब ७० प्रतिशतभन्दा धेरै भौतिक प्रगति भएको छ । खुल्लामञ्चमा स्टल र स्टेज निर्माणको काम भइरहेको छ । प्रचारप्रसार, पत्रकार भेटघाट, बेनीबजार महोत्सवस्थल सरसफाइजस्ता काम भएका छन्। महोत्सवलाई भव्य, सभ्य र फलदायी बनाउने सबैखाले तयारी भइरहेको छ । महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरु रहने छन्भने फोटो र वृत्तचित्र प्रदर्शनी गरिनेछ । मुल आयोजकको सम्पूर्ण शक्ती महोत्सवलाई केन्द्रित गरेका छौ ।

महोत्सवको मुख्य उद्देश्य र आकर्षण के कस्ता छन् ?
महोत्सवमा हामीले म्याग्दी जिल्लाभित्रको उत्पादनलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेका छौ । महोत्सवको स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्राउने र व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको छ । म्याग्दी जिल्लाका उत्पादन, स्थानीय तहमार्फत सिफारिस गरिएकास्थानीय उत्पादनका कक्षलाई निःशुल्क प्रदर्शनीको व्यवस्था मिलाइएकोछ ।

आकर्षणतर्फ कालीगण्डकी नदीमा –याफ्टिङ, लभ्लीहिलसम्म घोडा सफारी, धौलागिरि बेसक्याम्पसम्म हेलिकप्टरमा सयर, खुल्ला लोकदोहोरी तथा रत्यौली गीत प्रतियोगिता, जातजाति, जनजातिका झाँकी र भेषभूषाको प्रदर्शनी, पालिकास्तरीय पुख्र्यौली नाच प्रतियोगितालगायत रहेको छ ।त्यस्तै महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु एवं सेवाहरुको स्टल प्रदर्शनी खेलकुद तथा रमाइलो मेला समेत गरिने छ ।

महोत्सवस्थलभित्र रहेका स्टलमा सेयर बजार, वित्तिय संस्थामा खाता खोल्ने, विज्ञान र प्रविधिका गतिविधि, पालिकास्तरीय महिला पुरुष भलिबल, वडास्तरीय बास्केटबल, पुख्यौली नृत्य, राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको प्रस्तुती, रमाइलो मेला महोत्सवको आकर्षण छ । हामीले यसअगाडी बि.स२०६०, २०६२, २०६५, २०६८, २०७१ र २०७४ सालमा म्याग्दी महोत्सव तथा २०५८, २०५९, २०६२, २०६४, २०६६, २०६७, २०६९, २०७०, २०७२ र २०७३ सालमा सडक खाना महोत्सव एवं माघेसङ्क्रान्ति मेला लगाइएकोमा त्यसबाट थप नयाँ सिक्दै अहिले केही नयाँपन दिने तयारीमा छौ ।

 

कोरोनाको लहरपछि पहिलोपटक महोत्सव हुदैंछ, यो बेलामा आर्थिक मन्दी छ, महोत्सव सफल बनाउन थुप्रै चुनौती देखिन्छ त ?
कोभिड १९ को दोस्रो लहर कम भएसँगै पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको आगमन बढेको छ । कोरोना महमारीका कारण पर्यटक आगमन शुन्य भएको क्षेत्रमा समेत महोत्सवले चहलपहलमा सघाउँछ । अर्कोतर्फ आर्थिक मन्दीले थलिएको व्यवसायलाई पुनरुत्थान गर्नका लागि पुनः प्रचार प्रसारलाई जोड दिन समेत महोत्सवलाई हामीले माध्यम बनाउने छौ । महोत्सवमा आन्तरिक क्षेत्रमै आर्थिक गतिविधि केन्द्रित हुने गरी स्टलदेखि बजारसम्म ब्यवसायीलाई उत्साहित बनाउने तर्फ केन्द्रित भएका छौ । महोत्सवले जिल्लाभित्रको आर्थिकलाई पलायन बनाउन सघाउँछ भन्ने सन्देशलाई हामीले यसपटक जिल्लाकै ब्यवसायीले लाभ लिने र बजारमा चहलपहल हुने गरी धेरै प्रयत्न गरेका छौ । त्यसैले चुनौती धेरै भएपनि महोत्सव आर्थिक कारोबार, बजारलाई चलायमान बनाउन सघाउने छ ।

जिल्लाको अर्थतन्त्रमा कस्तो असर पार्ला ?
मैले यसअगाडी नै प्रष्ट पारेको छु । महोत्सव आर्थिक कारोबारलाई चलायमान बनाउने, ब्यवसायीलाई उत्साहित बनाउने र मनोरञ्जन सहित जिल्लाभित्रका उत्पादनलाई एकै ठाउँमा खरिदबिक्रीलाई सघाउने अवसर हो । महोत्सव हुँदा म्याग्दीको ग्रामिण क्षेत्रको स्थानीय उत्पादनले बजार पाउने छ । कृषि, हस्तकला सहित अन्य उत्पादनको प्रचारप्रसारमा समेत महत्वपूर्ण भूमिका खेल्ने छ । सम्रग महोत्सवमा करिब ३ करोडभन्दा धेरै कारोबार हुन्छ ।

अर्कोतर्फ महोत्सवको अवलोकन गर्न आउनेहरुले नजिकैको धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन समेत गर्ने अवसर मिल्छ । धार्मिक र पर्यटनको हव बेनीबजार आसपासका क्षेत्रसँगै कालिगण्डकीमा हुने जलयात्राले पनि नयाँ सन्देश प्रवाह गर्नेछ । गलेश्वरबाट दोभान हुदै मालढुंगासम्म नियमित जलयात्रा सञ्चालन हुने भएकाले यसपटकको महोत्सवले दिर्घकालिन सन्देश प्रवाह गर्नेछ । जलयात्राका लागि ब्यवसायीलाई हामीले प्रोत्साहन गरेकाले सफल हुनेछौ । सम्रगमा भन्नुपर्दा महोत्सव आर्थिक कारोबार र सम्भावनाको खोजीका लागि कोशेढुंगा सावित हुने छ ।

कालिगण्डकी नदीको म्याग्दी खण्डमा सिजनमा नियमित जलयात्रा सम्भव छ ?
छोटो र पारिवारीक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनीएको कालीगण्डकी नदीको म्याग्दी खण्डमा नियमित जलयात्रा (¥याफटिङ्ग) सञ्चालनका लागि विगतमा पनि धेरै अध्ययन भएको थियो । यसपटक बेनी नगरपालिका–८,कालीपुलमा हालै सञ्चालनमा आएको कालीगण्डकी होटलका सञ्चालक गमबहादुर पुनले अग्रसर लिनुभएको छ ।

प्रसिद्ध धार्मिकस्थल गलेश्वरबाट म्याग्दी र कालिगण्डकीको संगमस्थलसम्म छोटो दुरी तथा गलेश्वर–मालढुंगासम्मको दुरीमा म्याग्दी, बागलुङ र पर्वतबाट समेत विदा सहित अन्य समयमा जलयात्राका लागि आर्कषित गर्न सकिने भएकाले गलेश्वरदेखि मिमीसम्मको तीनवटा प्याकेट तयार गरिएको छ।

पर्वतको जलजला गाउँपालिकाको नाईलिवाङदेखि पानीको सतह घटेसँगै तीन दिने लामो जलयात्रा मालढुंगा हुदै स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशय सबैभन्दा लामो यात्रा मानिन्छ।लामो, समथर र कम बहाब भएकाले पनि कालिगण्डकीका जलयात्रा गर्ने गरिन्छ ।

एक पटक १० जनासम्म चढ्न मिल्छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटकहरु आर्कषित हुने गरेकाले अब हामीले पनि मंसिरदेखि बैशाख महिनासम्म नियमित सञ्चालन गर्न आर्थिक,भौतिक र नैतिक सहयोग गर्नेछौ ।

मेला महोत्सवले विकृति पनि फैलिने गरेको भन्ने गुनासो सुनिन्छ, तपाईले यसलाई कसरी लिनुहुन्छ ?
उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित हामीले म्याग्दी महोत्सवको आयोजना गरेका छौ। महोत्सवले विकृति मौलाउँछ, आनिवानी परिवर्तन गर्छ भन्दै तर्क गर्नेहरूलाई हामीले अहिलेसम्म म्याग्दी महोत्सवबाट भएका राम्रा अभ्यास र जिल्लाबासीले प्राप्त गरेको लाभका बारेमा समेत बुझ्न अनुरोध गर्दछु। म्याग्दी महोत्सव विगतमा पनि मनोरञ्जन लगायतका गतिविधिमा मात्रै केन्द्रित भएको छैन् ।

महोत्सवकै बेलामा सदरमुकाम बेनीमा बहुउदेश्यीय मैदान निर्माण भएको छ भने लभ्लीहिल जाने पदमार्ग, जिल्लाभित्र विभिन्न पूर्वाधार निर्माणमा समेत म्याग्दी उद्योग वाणिज्य संघले भूमिका खेलेको छ । हामीले म्याग्दी भ्रमण बर्षलाई बर्षभरी अभियानको रुपमा सञ्चालन समेत गरेका थियौं । महोत्सवका नाममा बिकृति फैलिएको अवस्थामा हामीले यसको नियन्त्रणमा हामीले सबै ध्यान दिन्छौ । त्यसैले महोत्सवलाई नकारात्मक चस्मा लगाएर हेर्नु हुदैन् । विगतका हरेक महोत्सवमा नयाँपन पक्कै छ । यसपटक पनि हामीले स्टलदेखि स्टेजसम्म नै नयाँपन दिने प्रयासमा छौ । महोत्सवका नाममा जे बिकृति छ। त्यसलाई नियन्त्रण गर्ने र समाजलाई सकारात्मक सन्देश दिन सबैको साथ र सहयोग आवश्यकता पर्छ । महोत्सव बिकृति फैलाउने खालको नभएर सकारात्मक सन्देश दिने खालको हुन्छ ।

महोत्सवमा केही कलाकारको प्रस्तुती समेत विकृति भित्राउने गरेको छ, यसपटक कलाकार छनौट कसरी हुदैछ ?
निकै महत्वपूर्ण प्रश्न गर्नुभयो । म्याग्दी महोत्सवमा हामीले बिकृती फैलाउने, स्टेजबाट उत्तेजित हुने कलाकारलाई अवसर दिने छैनौ ।म्याग्दी महोत्सवले म्याग्दीको संस्कृतिको प्रर्वधन समेत गर्ने भएकाले यसपटक हामीले म्याग्दीको पहिचान मानिएको पुख्यौली नाच, हनुमान नाच सहित लोकसंगीतलाई प्रर्वधन गर्न सांस्कृतिक कार्यक्रम अन्तर्गत लुकेको प्रतिभाको खोजी अभियान अन्तरर्गत पहिलो पटक गण्डकी आइडलको समेत आयोजना गरिएको छ ।

स्थानीय उत्पादन विकास एवम् समृद्धि हुने विश्वास र उद्देश्यका साथ महोत्सव आयोजना गरिएकाले राष्ट्रिय कलाकारका मनोरञ्जनात्मक प्रस्तुती रहने भएपनि बिकृती फैलाउने कलाकारलाई निषेध गरिएको छ । हामीले स्थानीय कला र संस्कृतिको पहिचान र प्रचारमा सघाउने थप नयाँ केही योजनाहरु समेत बनाएको तपाईमार्फत जानकारी गराउन चाहन्छौ ।

अन्त्यमा केही भन्नु छ ?

यो अवसरका लागि धन्यवाद । म्याग्दीमा विशेष उत्साह र उमङ्गका साथ विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्ति पर्वसँगै म्याग्दी महोत्सवले समेत मौलिकता, परम्परा र सांस्कृतिकको जर्गेनामा सघाउने छ । महोत्सवलाई सफल बनाउन आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौ । महोत्सवलाई सफल बनाउन थप साथ र सहयोगको अपेक्षा समेत गर्दछौ ।

 

 

Leave a Reply