म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा मंगलबार एकिकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सम्पन्न भएको छ ।
बेनी नगरपालिकाको आर्थिक सहयोगमा हरियाली कृषक समूहले १८ हप्तासम्म गोलभेडा र काँक्रो खेतीमा आईपिएम कृषक पाठशाला सञ्चालन गरेको हो । कृषकहरुलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङगारिक विधीबाट खेती गर्ने ज्ञान सिप प्रदान गर्न पाठशाला सञ्चालन भएको समूहका अध्यक्ष तेजबहादुर बानियाले जानकारी दिनुभयो ।
समूहका सचिव दिनेश गुरुङले स्थानीय स्तरमा उपलब्ध प्राङगारिक मल, गाइभैसीको मुत्र र जैविक बिषादीको प्रयोगबाट रोगकिरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला सञ्चालन गरिएको बताउनुभयो ।
“तितेपाती, असुरो, खरानी, गाइभैसीको मुत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग किरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउने सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरेका छौ,” पाठशालामा सहभागी कृषक बिष्णुकुमारी श्रीसले भन्नुभयो “रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्युनीकरणका लागि प्राङगारिक खेतीमा जोड दिन थालेका छौ ।”
खेतीबालीमा शुत्र जिब मात्र हुदैन, मित्र जिब पनि हुन्छन् भन्ने ज्ञानको कमी छ । भन्नुभयो कुन जिब मित्र र शुत्र हो भन्ने पहिचान नगरी जथाभावी बिषादी प्रयोग गर्दा बेफाइदा गर्ने भएकाले शुत्र जिबलाई जैबिक बिषादीबाट नष्ट गर्ने ज्ञान, सिप सिक्न पाठशालामा सहभागि भएका हुन् ।
पाठशालामा सिंगा र आसपासका गाउँका २५ जना कृषकहरु सहभागि भएका थिए । हरेक मंगलबार बिहान ८ देखि १२ बजेसम्म कृषकलाई भेला गराएर सैद्धान्तिक बिषयमा अभिमुखीकरणका साथै प्रयोगात्मक अभ्यास गराइएको आइपिएम सहजकर्ता सोवित शर्माले बताउनुभयो ।
प्रयोगात्मक अभ्यासका लागि १ रोपनी जमिनमा चार वटा पल्ट बनाएर सामुहिक टमाटर खेती गरिएको अर्का कृषक क्षेत्रबहादुर कटुवालले बताउनुभयो । “आइपिएम, परम्परागत र प्रर्दशनी बिधीबाट फरक फरक जातका गोलभेडाका बिरुवा रोपेका थियौ,” उहाँले भन्नुभयो “परम्परागत तुलनामा आइपिएम बिधीबाट खेती गर्दा धेरै उत्पादन लिन सकिने देखिएको छ ।”
तरकारी खेती गर्ने कृषकलाई लक्षित गरेर पाठशाला सञ्चालन गरेको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । स्वच्छ तरकारी, फलफुल उत्पादनमा नगरपालिकाले जोड दिएको बताउँदै जिल्लाको उत्पादनले बजार नपाएको अवस्थामा आयातलाई प्रतिवन्ध लगाइने उपप्रमुख लामिछानेले बताउनुभयो ।
चालु आर्थिक वर्षमा सिंगाको साथै वडा नम्बर १ को उपल्लाचौरमा आलु तथा वडा नम्बर ६ को छापमा टमाटर सबन्धी आइपिएम कृषक पाठशाला सञ्चालन गरेको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । कृषकहरुले हाँसिल गरेको ज्ञान र चासोले राज्यको लगानी उपयुक्त ठाउँमा भएको महशुस गरेको उहाँले बताउनुभयो ।
बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले आगामी वर्ष कृषि र पशुपालन क्षेत्रमा वडाबाट रु. दश लाख बजेट प्रस्ताव गरेको बताउँदै उत्पादन बढाउन अनुरोध गर्नुभयो । कृषि उपज संकलन, भण्डारण र बजारीकरणमा सघाउन नगरपालिकाले संघीयी सरकारसँगको साझेदारीमा सिंगामा चिस्यान गृह पनि बनाउन लागिएको बताउनुभयो ।
नगरपालिकाले एक वटा पाठशाला सञ्चालन गर्न रु. एक लाख पचास हजारका दरले बजेट बिनियोजन गरेको छ । वडा नम्बर २ को भकुण्डेमा क्षेत्रीय वाली संरक्षण प्रयोगशाला मार्फत आइपिएम सञ्चालन भएको छ ।

Leave a Reply