धवलागिरि गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनमा बजेट अभाव भएको छ। गाउँपालिकाले वडा नम्बर ३ घट्टेखोलामा निर्माणाधीन भइरहेको भवनमा संघीय सरकारबाट आउनुपर्ने बजेट समयमै नआएको कारण भवन निर्माण प्रभावित बन्ने जोखिम बढेको र समयमै सम्पन्न नहुने समस्या बढ्दै गएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो।

संघीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत बजेट साझेदारीमा सुरु भएको प्रशासकीय भवनलाई संघीय सरकारबाट आउनुपर्ने बजेट समयमै आउने निश्चित नभएको कारण समस्या भएको गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो । “हालसम्म संघीय सरकारबाट ७५ लाख आएको छ।

अहिलेसम्म भवनको प्रगति अनुसार निर्माण व्यवसायीलाई भुक्तानी पालिकाले गरेको छ। गाउँपालिकाले गरेको अपेक्षा अनुसार संघीय सरकारमार्फत भुक्तानी गर्न सकेको छैन ।”– उहाँले भन्नुभयो । “आगामी आर्थिक वर्षमा भवन निर्माणलाई पूर्णता दिने गरी संघीय सरकारको बजेट अपेक्षा गरेका छौ । गाउँसभाबाट आवश्यक बजेटलाई सुनिश्चित गर्ने योजना छ।”

स्थानीय सेवा सुविधा एउटै भवनबाट उपलब्ध गराउने योजनासँगै अघिल्लो आर्थिक वर्षको असारमा सम्झौता र चालू आर्थिक वर्षको गत मङ्सिर १९ गतेबाट निर्माण सुरु भएको भवनको ३५ प्रतिशत प्रगति भएको गाउँपालिका प्राविधिक लोकेन्द्रबहादुर रावलले बताउनुभयो ।

“आगामी पुषमा सम्पन्न गर्नुपर्ने भवनमा संघीय सरकारबाट आउनुपर्ने ४ करोड ६३ लाख रकममध्ये हालसम्म ७५ लाख रुपैयाँ मात्र आएको छ । सङ्घबाट आउनुपर्ने रकम नआउँदा कामअनुसारको भुक्तानी दिन समस्या भएको छ ।” उहाँले भन्नुभयो । “हालसम्म निर्माण व्यवसायीलाई एक करोड ७५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । आगामी आर्थिक वर्षमा काम सम्पन्न गराउनका लागि तत्काल सङ्घले केही रकम उपलब्ध गराउन सकेमा काम अनुसार निर्माण व्यवसायीलाई भुक्तानी दिन सहज हुने छ।”

उहाँले भुक्तानीको लागि स्रोत सुनिश्चितताको अभाव हुँदा निर्माण व्यवसायीलाई निर्माणलाई तीव्र गतिमा काम अघि बढाउनका लागि दबाब सिर्जना गर्न ग्राहो भएको प्राविधिक रावलले भन्नुभयो । तीन तले भवनमा २७ वटा कोठा, एक÷एक वटा सभाहल र बैठक कक्ष हुने भवन निर्माणका लागि आर्थिक वर्ष २०७६÷७७ मा स्थानीयबासीहरुबाट १४ रोपनी जग्गा निशूल्क उपलब्ध गराएको थियो। जनताले एउटै भवनबाट सबै सेवा सुविधा पाउने किसिमले निर्माण सुरु भएको भवनको बजेट सुनिश्चितताका लागि म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजालाई जानकारी गराएको अध्यक्ष पुनले भन्नुभयो ।

भवन निर्माणका लागि प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीले गाउँपालिकासँग सात करोड ७१ लाख ८९ हजार ६६६ रुपैयाँमा गत आर्थिक वर्षको असार ३ गते ठेक्का सम्झौता गरेको थियो । २०८० पुष ३ गतेसम्म भवन निर्माण गर्ने सम्झौता छ ।

Leave a Reply