म्याग्दीको मालिका गाउँपालिका-५,देविस्थान पन्थोकीकी लक्ष्मी कुमारी मल्ल पुर्जाले स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको केहीबर्षमै मध्यरातमा जंगलको बाटो यात्रा गरी लगातार २४ घण्टासम्म प्रसव पीडा भएर पनि बच्चा जन्माउन नसकेको ओखरबोट सिस्नेरीकी गर्भवती महिलाको ज्यान जोगाईन्।

लक्ष्मीले जोखिम मोलेर समयमै पुगेकै कारण परिवारले समेतआशा मारिसकेकी महिलाले पुनर्जन्म पाईन्। दुई दशकसम्म देबिस्थान स्वास्थ्य चौकीमा कार्यरत रहँदा लक्ष्मीले जोखिम मोलेर यात्रा गरी बिरामीको उपचार गरेपनि यो घटनालाई सधै सम्झिन्छिन्।

गर्भावस्थामा अत्यधिक रक्तश्राव भएका, बच्चा जन्मिसकेपछि पनि सालनाल अड्किएर ज्यान जोखिममा परेका धेरै गर्भवती तथा सुत्केरी महिलाको सेवा गरेकी छन्।

बि.स २०५० साल असार २० गते देविस्थान स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवामा प्रवेश गरेकी लक्ष्मीले देविस्थान र ओखरबोटमा सुत्केरी हुँदा आइपर्ने जटिल समस्यालाई घर–घरमा पुगेर नयाँ जीवन दिएकी छन् । करिब २२ बर्षसम्म देविस्थानको स्वास्थ्यचौकीमा कार्यरत लक्ष्मीलाई गाउँमा सबैले प्रिय ठान्छन् ।

२४ घण्टा गाउँलेको सेवामा खटिएकी लक्ष्मीलाई गाउँलेले ‘डाक्टर’ भन्छन्। गर्भवती र सुत्केरी महिलालाई जोगाउने क्रममा उनीसँग काहलीलाग्दो भोगाइको धेरै अनुभव छ । ‘रगतमै लतपतिएका धेरै महिलाको उपचार गरेकी उनले ग्रामिण क्षेत्रमा महिलाको सेवा तथा नियमित उपचारमा संलग्न हुदाँ छुट्टै आनन्द आउने बताईन्। उनले हालसम्म करिब २ हजारभन्दा धेरै गर्भवती र सुत्केरीको सेवा गरेको बताईन् । उनलाई गाउँमा सबैले प्रिय ठान्छन् ।

गाउँमा कोही बिरामी भयो, कसैलाई स्वास्थ्य सल्लाह चाहियो या नवजात शिशु र सुत्केरीहरूको स्याहारबारे सोध्नुपर्दा अन्य समयमा समेत घरबाटै लक्ष्मीलाई नै सम्झ्न्छन् ।

हाल दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अनमी लक्ष्मीले आफूले गरेको उपचारले धेरै नवजात शिशु र गर्भवती महिलाको ज्यान जोगिँदा जीवनकै सबैभन्दा ठूलो खुसीको अनुभूति हुने गरेको बताईन्। ‘उबेलामा सेवा लिएकाहरूले अहिले पनि बाटोमा भेटेपछि बोलाउँछन्,‘अहिले पनि घरबाटै समस्या परेमा सम्झिन्छन’ उनले भनिन् ।

सुत्केरी हुँदा दिनरात नभनी दौड्ने कामबाट सन्तुष्ट लक्ष्मी स्वास्थ्य सेवा पु¥याउन पाउँदा उनलाई पनि आत्मसन्तुष्टि मिल्ने लक्ष्मीको भनाई छ । दरबाङमा दैनिक महिलाका स्वास्थ्य समस्यामा केन्द्रित हुने लक्ष्मीले पश्चिम म्याग्दीको मालिका र धवलागिरी गाउँपालिका र छिमेकी बागलुङका केही वडाबाट आउने महिलाहरु दैनिकजसो केन्द्रमा आउने गरेका छन् ।

घरमा बच्चा जन्माउन हुन्न भन्ने सन्देश फैलाएकै कारण धेरै महिलाहरू स्वास्थ्य चौकीमै सेवा लिन आउने गरेको समेत बताईन् । देविस्थानबाट प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी लक्ष्मीलाई कोही बिरामी भयो, कसैलाई स्वास्थ्य सल्लाह चाहियो या नवजात शिशु रसुत्केरीहरूको स्याहारबारे दैनिकजसो गाउँबाट फोन आउने गरेको छ ।

सिनियर अनमी लक्ष्मीको सेवाबाट मालिका गाउँपालिका तथा प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक, ब्यवस्थापन समिति समेत सन्तुष्ट छन् । लक्ष्मीले दूरदराजका गाउँमा स्वास्थ्य चेतना फैलाइरहेका महिला स्वास्थ्य स्वयम्सेविका, मातृ–शिशु कार्यकर्तालाई समेत आवश्यकता अनुसार सिकाउने गरेकी छन् ।

उनले महिला स्वंयमसेवकलाई सुत्केरीको स्वास्थ्य हेर्ने, आइरन चक्की खुवाउने, नवजात शिशुको हेरचाह गर्ने, जीवनजल, कोट्रिम जस्ता औषधि खुवाउने काम लगायत स्वास्थ्यकर्मीलाई समेत जिम्मेबारी बनाउने गरेकी छन् । उनलाई निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा जनसेवाश्री पदकबाट विभूषित समेत गरिएको थियो ।

Leave a Reply